भर्खरै :

के पार्टी सदस्यता कन्टेनरको कागज हो ?

कम्युनिष्ट पार्टी भनेको कामदार जनताको वर्गीय हितको लागि स्थापना भएको अग्रदस्ता राजनीतिक शक्ति हो । श्रम गर्ने र श्रमप्रति सम्मान गर्ने संस्कृतिमा हुर्केका हुनाले कम्युनिष्टहरु साँस्कृतिक रुपमा पनि पूँजीपति र पूँजीवादी पार्टीहरु भन्दा अघि बढेका र नैतिक रुपमा अगाडि हुने गर्दछन् । मूलतः श्रमिक जनताको हित र अन्ततः समग्र मानव सभ्यताकै हित गर्ने समाजवाद र साम्यवादी व्यवस्था स्थापनासम्मको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीका सदस्यहरु समाजकै लागि उदाहरणीय र आदर्श बन्नु पर्दछ । अनुशासित र आदर्श मानव हुनुपर्ने भएकाले कम्युनिष्ट बन्न सजिलो विषय कदापि होइन । समाजमा विद्यमान पूराना विचारविरुद्ध लड्ने र नयाँ अग्रगामी संस्कृतिको पक्षपाती भएकाले कम्युनिष्ट पार्टीमा जो कोही भित्र बस्न सक्दैन । आदर्शवान कम्युनिष्ट नैतिकतामा बस्न सक्ने मानिसमात्र कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्दछ ।

गुण्डानाइके, भ्रष्ट, अपराधी, बद्मास र ठगहरुलाई पार्टी सदस्य बनाएर उनीहरुले पार्टीमा वर्षौं–वर्ष जीवन दिएर बलिदान गरेका इमान्दार कार्यकर्ताको अपमान गरेका छन् । उनीहरुले पार्टीको सदस्यता पत्रलाई कन्टेनरमा फालिएको काम नलाग्ने कागज जत्तिको पनि इज्जत दिएका छैनन् ।

तर नेपालमा सरकारमा जाने कम्युनिष्ट पार्टीको सदस्य बन्न त्यस्ता कुनै अनुशासन र आदर्श नैतिकताको आवश्यकता हुने गरेको छैन । एमाले र माओवादी केन्द्रले आफूलाई कम्युनिष्ट पार्टी दाबी गर्दै आएका छन् । तर तिनले आफ्नो पार्टी ठूलो बनाउने नाममा जो कोहीलाई भित्र्याएर खासमा कम्युनिष्ट शब्द र आन्दोलनकै बद्नाम गरिरहेका छन् । राजनीतिलाई सजिलै पैसा कमाउने माध्यम, वित्तीय तथा आर्थिक अपराधबाट उन्मुक्ति पाउने बाटो र कालो धनलाई सेतो बनाउने ठाउँको रुपमा बुझ्ने अपराधी मानसिकताका मानिसहरु आज ती कम्युनिष्ट पार्टीभित्र राजनीतिक संरक्षण लिएर बसेका छन् । पार्टीलाई करोडौं रुपैंया चन्दा दिएर आफ्नो कालो धनलाई चोखो बनाउने र राजनीतिक संरक्षणको लागि आज अपराधीहरु पार्टीको सदस्य बन्ने विकृति बढिरहेको छ । त्यस्ता मानिसलाई संरक्षण दिएर ती नाममात्रका कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट शब्दको उच्च नैतिकता र इज्जतलाई माटोमा मिलाइदिएका छन् । खासमा ती दलका नेताहरुले आफ्नो पार्टीलाई पैसामा बेच्ने अनैतिक काम गरिरहेका छन् । गुण्डानाइके, भ्रष्ट, अपराधी, बद्मास र ठगहरुलाई पार्टी सदस्य बनाएर उनीहरुले पार्टीमा वर्षौं–वर्ष जीवन दिएर बलिदान गरेका इमान्दार कार्यकर्ताको अपमान गरेका छन् । उनीहरुले पार्टीको सदस्यता पत्रलाई कन्टेनरमा फालिएको काम नलाग्ने कागज जत्तिको पनि इज्जत दिएका छैनन् ।
त्यस अवस्थाले कम्युनिष्ट आदर्शको कसरी जर्गेना होला ? पार्टीलाई चन्दा दिए पछि जो पनि मानिसलाई कम्युनिष्ट पार्टीको सदस्यता दिनु र पार्टीभित्र हुल्नु कम्युनिष्ट पार्टीको चरित्र कदापि हुन सक्दैन । आज एमाले र माओवादी केन्द्रको पार्टी सदस्यता नीतिले तिनीहरु कम्युनिष्ट पार्टी नभएको प्रमाणित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *