भर्खरै :

महिनावारी विभेद : महिलाहरूमाथि हुने एक प्रकारको हिंसा

महिनावारी विभेद : महिलाहरूमाथि हुने एक प्रकारको हिंसा

महिनावारीका कारण हुने विभेद संसारभरि नै छ । यद्यपि, कतै देखिने गरी नै महिनावारी विभेद छ भने कतै नदेखिने गरी । यो आफैँमा यौनिक तथा लैङ्गिक हिंसा हो । यो मानव अधिकारको हनन पनि हो । महिनावारी विभेदले सानै उमेरदेखि नै असमान शक्ति वितरण तथा पितृसत्तालाई सबलीकरण गर्ने काम गर्छ । यसले कुनै समुदायको हकमा भन्ने हो भने त जीवन पर्यन्त नै असर गरिरहेको हुन्छ । यस प्रकारको विभेदले संवैधानिकरूपमा महिलाहरूलाई प्रदान गरिएका करिब १ दर्जनभन्दा बढी अधिकारको हनन भएको हुन्छ ।
महिनावारी विभेद महिलाहरूमाथि हुने एक प्रकारको हिंसा भएका कारण महिला हिंसाविरुद्धको १६ दिने अभियानमा महिनावारी विभेदलाई समेत समावेश गरिएको छ । यस अवसरमा महिनावारीसँग जोडिएका सोच, धारणा तथा विश्वासलाई विश्लेषण तथा सम्बोधन गर्न आवश्यक छ ।
सम्बोधन गरिएका अवस्थामा पनि महिनावारीलाई यस समयमा प्रयोग हुने सामग्रीसँग मात्रै जोडिएको अवस्था छ । महिलाहरूलाई वितरण गरिएका सामग्रीहरू मर्यादित महिनावारी सामग्री हुन् कि होइनन् भन्नेमा कुनै खोज भएको देखिँदैन । महिनावारीसँग जोडिएका कतिपय विषयहरू भौतिक संरचनासँग मात्रै जोडिएको अवस्था छ । यसमा पानी, शौचालय तथा प्रयोग गरिएका सामग्री व्यवस्थापनजस्ता कुराहरू रहेका छन् ।
सामग्री तथा गरिबीसँग जोडिएका कुराहरूले मात्रै जीवन पर्यन्तसँग जोडिएका कुराहरूको सम्बोधन भएको छैन भन्ने मलाई लाग्छ । महिनावारी विभेद आफैँमा लैङ्गिक हिंसा हो, यसले हिंसाप्रति हिंसा ल्याउने गर्छ । यो अन्य प्रकारका हिंसाहरूको कारण र प्रभाव पनि हो । उदाहरणका लागि भनौँ घरका छोरीहरूले करिब ५ –६ वर्षको उमेरदेखि नै आफू छोरी भएका कारण आफ्नो भूमिका भिन्नै भएको महसुस गर्न सक्छन् । पितृसत्ताको जग नै महिनावारी विभेदका कारण सुरु हुने गर्छ ।
पछिल्लो समय नेपालको जनसङ्ख्या हेर्ने हो भने १४ वर्षसम्म उमेर समूहका छोरीहरूको सङ्ख्या एकदमै घटेर गएको छ । गरिबी तथा लिङ्ग पहिचान गरी बच्चा जन्माउने परिपाटीका कारण पछिल्लो समय छोरीहरूको जनसङ्ख्यामा कमी आएको विभिन्न प्रकारका अनुसन्धानहरूले देखाएको छ ।
जलवायु परिवर्तनले पनि महिनावारी विभेदलाई असर गरिरहेको हुन्छ । महिनावारी स्वास्थ्य मात्र विषय होइन । यो अन्य मौलिक हकका विषयसँग पनि जोडिएको छ । महिनावारी विभेदलाई धर्म र संस्कारसँग जोडेर हाउगुजी बनाइएको छ । त्यसलाई चिरफार गर्न आवश्यक छ । हामी दिनहुँ बलात्कार बढिरहेको छ भन्छौँ, तर किन बलात्कार बढिरहेको छ भन्ने विषयमा हामीले बहस नै चलाएका छैनौँ । दिनप्रति दिन बढ्दो अवस्थामा रहेको बलात्कारलाई घटाउनका लागि मर्यादित महिनावारीबारेको बहस चलाउन आवश्यक देखिएको छ ।
जबसम्म महिनावारी विभेदका चक्र मानव अधिकारको विषयका रूपमा सम्बोधन हुँदैनन् तबसम्म कुनै पनि प्रकारको हिंसा न्यूनीकरण गर्न सकिँदैन । ७६ वर्षको मानव अधिकारको विषयमा मर्यादित महिनावारीका विषय मानव अधिकार, लैङ्गिक अधिकार तथा नारीवादको नयाँ दृष्टिकोणले बहुआयामिक तथा नयाँ सिद्धान्त हो ।
किन मनाइन्छ महिनावारी दिवस ?
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो । राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । दक्षिण गोलाद्धिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो । यससँगै यस संस्थासँग जोडिएका देशहरू श्रीलङ्का, पाकिस्तान, युगान्डा, इन्डोनेसिया, अमेरिकालगायतका देशहरूका यस सञ्जालमा रहेका साथीहरूसहित माइती घर मण्डलाबाट बेलुन उडाएर यस दिवस मनाउन सुरु गरिएको हो ।
महिनावारी विभेदलाई मानव अधिकारका विषयसँग जोडेर हेरिनुपर्छ भन्दै हामीले यो दिवस मनाउन सुरु गरेका हौँ । डिसेम्बर ८ कै दिन महिला मन्त्रालयद्वारा काठमाडौँको सिटी हलमा आयोजित एक कार्यक्रमले यस विषयलाई अनुमोदन गरेको थियो । जुन भिडियो युटुबमा पनि राखिएको थियो । तत्कालीन मन्त्री पार्वत गुरुङले संयुक्त राष्ट्र सङ्घअन्तर्गत १६ दिने महिला हिंसासम्बन्धी अभियानको १४ दिनलाई मर्यादित महिनावारी दिवसको दिन बनाउनको लागि प्रस्ताव गरिने बताउनुभएको थियो ।
यौन हिंसा तथा बाल विवाह न्यूनीकरण गर्नका लागि मर्यादित महिनावारी
यस वर्ष यौन हिंसा तथा बाल विवाह न्यूनीकरण गर्नको लागि मर्यादित महिनावारी भन्ने नारासहित यो दिवस मनाइँदै छ । म आफैँ पनि महिनावारी विभेदका कारण आत्महत्याको सोचसमेत आएको व्यक्ति हुँ । म आफैँ पीडित भएका कारण यस प्रकारको अभियानको सुरुवात आफैँले गर्नुपर्छ भन्ने लागि मैले यसको नेतृत्व गरेकी हुँ ।
छोरीहरू ६ देखि ९ वर्षको हुँदा घरबाट नै असमान शक्तिको निर्माण हुने भएकोले यस वर्षको नारा यौन हिंसा तथा बाल विवाहलाई जोडेर राखिएको हो । बाल विवाहसम्बन्धी कानुन विश्वमा आएको ९४ वर्षमात्रै भएको छ । यस अवधिमा महिनावारी विभेदका कारण बाल विवाहको अवधारणा आएको भन्ने महसुस कसैबाट पनि हुन नसकेको अवस्था छ । घर तथा विद्यालयलाई मर्यादित महिनावारी मैत्री बनाउनुपर्छ भन्ने बहस छुटेको अवस्था छ । अझै पनि प्याड बाँडेर बाल विवाह घट्छ भन्ने अवधारणा रहेको छ । महिनावारी भएका बेला यसलाई व्यवस्थापन गर्ने नाममा छात्राहरूको महिनामा ५ दिन सिकाइको प्रक्रिया छुट्ने या सुस्त हुने गर्छ ।
(लेखक साहित्यकार तथा सामाजिक अभियन्ता हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *