के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
आगामी माघ १० गते नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवस हो । नेपाल मजदुर किसान पार्टीको स्थापना २०३१ माघ १० गते भएको थियो । सो सन्दर्भमा अनलाइन मजदुर, मजदुर दैनिक र श्रमिक पत्रिकाका प्रतिनिधिले पार्टीका अध्यक्ष बिजुक्छेंसँग लिएको अन्तरवार्ता प्रस्तुत छः
नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवस मनाउँदै हुनुहुन्छ । ४३ वर्षको समीक्षा कसरी गर्नुहुन्छ ?
नेपाल मजदुर–किसान पार्टीले आफ्नो स्थापनाकालदेखि नै नेपाल र नेपाली कामदार वर्गको हितमा निरन्तर निःस्वार्थ रुपले सङ्घर्ष गर्दै आएको छ । ४२ वर्षसम्म नेमकिपाले पार्टीको सिद्धान्त र राजनीतिक उद्देश्यलाई फेर्नुपरेन । पद र पैसा तथा डर–त्रासले हामीलाई झुकाउन सकेन । यस अर्थमा नेमकिपाले आफूलाई देशको र जनताको एक सच्चा राजनैतिक शक्तिको रुपमा अनुभव गर्दैछ ।
नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टीको स्थापना नभएको भए के फरक हुनेथियो ?
नेमकिपाको स्थापना नभएको भए नेपालको राजनैतिक आन्दोलनमा तलका विषयमा देश र जनताले छलफल र चिन्तन गर्ने अवसर पाउने थिएनन् –
क) नेपालको वर्तमान सन्दर्भमा माक्र्सवाद र लेनिनवादको अर्थ के हो भन्ने ठम्याइ,
ख) संशोधनवाद के हो र त्यसको विरोधमा सैद्धान्तिक सङ्घर्ष,
ग) प्रजग कोरिया, भियतनाम, कम्बोडिया, लाओस, क्युवाजस्ता समाजवादी देशको मुक्ति र साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन र जानकारी नेपालका हिमाल, पहाड र तराईका कामदार जनतासम्म पुग्न धेरै समय लाग्ने थियो,
घ) नेमकिपाको अभावमा २००८ सालदेखि २०१२–१३ सालसम्मको बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी र अन्य जिल्लाको किसान आन्दोलनको झण्डालाई उचाल्ने र स्मरणसमेत नेपाली कामदार जनताले गर्न पाउने थिएनन् । संशोधनवादी दलहरूले ती आन्दोलनलाई जनताको स्मरणबाट मिटाउन चाहन्थे, नेमकिपा त्यसको पक्षमा निरन्तर प्रचार अभियानमा छ ।
ङ) नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनमा एकातिर संशोधनवाद र अर्कोतिर ‘वामपन्थी’ अवसरवाद अर्थात् व्यक्तिहत्याको विरोधमा सङ्घर्ष ग¥यो र पछिल्लो अवधिमा ‘माओवाद’ को नाममा भारतीय एकाधिकार पूँजी र भारतीय विस्तारवादको षड्यन्त्रमा नेपाल र नेपाली जनताको विरोधमा गरिएको ‘जनयुद्ध’ को नाममा गरिएको १० वर्षे विध्वंशका ‘गृहयुद्ध’ को सैद्धान्तिक र राजनैतिक रुपले उदाङ्ग्याउने काम गर्दै आएको छ ।
च) पञ्चायती निरङ्कुशताको विरोधमा नेमकिपाले प्रतिक्रियावादी सङ्घ–संस्थामा समेत गएर कामदार जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई लागू ग¥यो र त्यसले नेपालको अन्यौलको स्थितिबाट पार पाउन सजिलो बनायो ।
छ) स्थानीय निकायको स्वायत्तता र विकेन्द्रीकरणको अधिकारको बारेमा नेमकिपाले २०४८ सालदेखि नै संसद र सडकमा आवाज उठाउँदै आयो । शासक दलहरूले यसबारे गम्भीरता नदेखाउँदा पश्चिमी देशहरू र भारतीय ‘रअ’ को निर्देशनमा सङ्घ राज्यको प्रस्तावको कारण नेपाल पुनः ठूलो भाँडभैलोमा फस्दैछ । प्रस्ट छ – राजनैतिक पार्टी ठूलो हुँदैमा वा शासनमा बारम्बार जाँदैमा तिनीहरूको सोच उपयुक्त हुन्छ भन्ने होइन भन्ने प्रस्ट छ ।
सैद्धान्तिक, राजनैतिक र व्यवहारिक एकरुपता नभएका कम्युनिष्ट दलहरू भएको हुँदा तथा सबै इमानदार र साँचो कम्युनिष्ट पार्टी भइदिएको भए आजसम्म एउटै कम्युनिष्ट पार्टी हुने थियो । तर नेपालका मात्र होइन अन्य देशमा पनि एउटै कम्युनिष्ट पार्टी वा पूँजीवादी दलहरू हुने गरेको छैन ।
ज) नेमकिपाले स्थानीय निकायको पुनःस्थापना वा तत्काल निर्वाचनबारे संसद र सडकमा बारम्बार देशको ध्यान आकर्षित गरेकै हो । तर सुरुमा नेपाली काङ्ग्रेस यसमा सहमत भएन, पछि एमाओवादी सहमत भएन र आज मधेसवादी दलहरू मानेका छैनन् । निर्वाचित स्थानीय निकाय विना प्रजातन्त्र बलियो हुन्न भन्नेबारे शासक दलहरूले निरङ्कुश सोच राखेको हुँदा देशको नयाँ पुस्तालाई प्रजातन्त्र र निर्वाचनबारे अँध्यारोमा राख्ने काम गरे । यसमा पनि पश्चिमी देशहरू र भारत नै जिम्मेवार छन् । स्थानीय निकाय प्रजातन्त्रको जग हो ।
झ) नेमकिपाले राजनैतिक दलहरूको मान्यता सैद्धान्तिक वा एक राजनैतिक दर्शन, एक निश्चित आदर्श समाजको निर्माण र वर्गीय आधारमा स्थापना भएको हुन्छ र त्यसैअनुसार राजनैतिक दलहरूले जनतालाई शिक्षित गर्न जनसभा, प्रदर्शन, अन्तरक्रिया, गोष्ठी र अन्य गतिविधि गर्न र देशको समसामयिक विषयमा राजनैतिक दलहरूले विभिन्न जिल्लामा जनताको माझमा गतिविधि गर्दै आ–आफ्नो दृष्टिकोण प्रस्ट गर्नु आवश्यक छ भन्नेबारे जोड दिन्छ ।
झ) अफगानिस्तान, इराक, लिविया, सिरियाआदि देशहरूमा भइरहेको आक्रमण र विदेशी हस्तक्षेपको विरोध नेमकिपाले लगातार गर्दै आएको छ र विश्व शान्तिको पक्षमा आवाज उठाउँदै आएको छ । त्यस्तै नेमकिपाले एसिया, अफ्रिका, ल्याटिन अमेरिका र संसारका हरेक कुनामा भएको अन्याय–अत्याचारको विरोध र न्यायपूर्ण सङ्घर्षको समर्थन गर्दै आएको छ ।
ञ) नेमकिपाले संसदमा स्थायी प्रतिपक्षको भूमिका खेल्दै आएको छ, आदि ।
यदि नेमकिपाको स्थापना नभएको भए, नेपालमा माथिका विषयमा हिमाल, पहाड र तराईका गाउँ–गाउँसम्म ती विषयमा जानकारी र छलफल जनताको माझमा पुग्ने थिएन ।
अलग पार्टीभन्दा बलियो कम्युनिष्ट पार्टी भएको भए नेपालको कम्युनिष्ट आन्दोलन अझ अघि बढ्ने दृष्टिकोणबारे तपाईंको प्रतिक्रिया के हो ?
सैद्धान्तिक, राजनैतिक र व्यवहारिक एकरुपता नभएका कम्युनिष्ट दलहरू भएको हुँदा तथा सबै इमानदार र साँचो कम्युनिष्ट पार्टी भइदिएको भए आजसम्म एउटै कम्युनिष्ट पार्टी हुने थियो । तर नेपालका मात्र होइन अन्य देशमा पनि एउटै कम्युनिष्ट पार्टी वा पूँजीवादी दलहरू हुने गरेको छैन । कम्युनिष्टहरूकै बारेमा विचार गर्ने हो भने सोभियत कम्युनिष्ट पार्टीको ‘गुप्त दस्तावेज’ ले सबै समस्या प्रस्ट हुनेछ ।
नेमकिपा भारतविरोधी र चीनसमर्थक पार्टी हो ?
नेमकिपा भारतीय कामदार वर्ग र प्रगतिशील जनआन्दोलनको पक्षमा छ, यसकारण नेमकिपा ‘भारतविरोधी’ दल होइन बरु नेमकिपा भारतीय एकाधिकार पूँजी र भारत सरकारको छिमेकीहरूमाथि गर्ने हस्तक्षेप नीतिको विरोध गर्छ ।
त्यस्तै नेमकिपा संसारका सबै प्रजातन्त्र, मुक्ति र समाजवादको सङ्घर्षको समर्थन गर्छ, त्यसको अर्थ हो नेमकिपा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमाथि साम्राज्यवादी हमला, पुरानो र नयाँ उपनिवेशवाद र हस्तक्षेपको विरोध गर्छ । नेमकिपाको सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टी, प्रजग कोरियाको मजदुर पार्टी, क्युवाली कम्युनिष्ट पार्टी, एसिया र युरोपका अन्य पार्टीहरूसँग पनि भाइचारा सम्बन्ध छ ।
नेमकिपा भारतीय कामदार वर्ग र प्रगतिशील जनआन्दोलनको पक्षमा छ, यसकारण नेमकिपा ‘भारतविरोधी’ दल होइन बरु नेमकिपा भारतीय एकाधिकार पूँजी र भारत सरकारको छिमेकीहरूमाथि गर्ने हस्तक्षेप नीतिको विरोध गर्छ ।
कुनै बेलाको अधिकांश भूभागमा फैलिसकेको समाजवादी बन्दोबस्त आज केही साँघुरो भूगोलमा सीमित छ । के समाजवादी युग अझै सम्भव छ ? कसरी ?
राजनैतिक सङ्घर्ष र क्रान्तिलाई समुद्रको ज्वारभाटासँग तुलना गर्ने गर्छन् । समाजवादी क्रान्ति र अन्य प्रजातान्त्रिक आन्दोलनमा पनि यही नियम लागू हुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको आजका प्रमुख चुनौती के हुन् ?
भारतीय एकाधिकार पूँजी र भारतीय विस्तारवादको थिचोमिचोको विरोधमा नेपाल र नेपाली जनताको सङ्घर्ष हो ।
समसामयिक राजनीतिक परिस्थितिबारे कुरा गरौं । प्रचण्ड सरकारले संविधान संशोधन प्रस्ताव पारित भए के होला ?
देशको एकतामा ठूलो विपत्ति आइपर्छ ।
संविधान संशोधन प्रस्ताव पारित नभए तराईमा बल्न सक्ने आगो कसरी निभाउने त ?
तराईका कामदार वर्गको आन्दोलनले त्यस क्षेत्रीय र शोषक वर्गको थिचोमिचोलाई विस्थापित गर्छ ।
आज आएर सङ्घीयताको तपाई कसरी समीक्षा गर्नुहुन्छ ?
स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको सुनिश्चित गरी सबै प्रदेशमा हिमाल, पहाड र तराई पाउनैपर्छ । नेमकिपा १४ प्रदेशको पक्षमा छ ।
एमाले सच्चिएको हो ?
एमालेका अध्यक्ष नयाँ हुन् । देशको स्वतन्त्रता र सार्वभौमिकताबारे आफ्नो अडान नछोड्ने अभिव्यक्ति सकारात्मक छ ।
संरा अमेरिकामा डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपति बनेका छन् । ट्रम्पको उदयले संसारको राजनीतिकमा हेरफेर आउने विश्लेषण गरिएको छ । तपाईको समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिलाई कसरी हेर्नुहुन्छ ?
राष्ट्रपतिको पदको सपथ ग्रहण नगर्दासम्म डोनाल्ड ट्रम्पको अभिव्यक्ति संरा अमेरिकी प्रशासनको आधिकारिक निर्णय भन्न मिल्दैन । आधिकारिक वक्तव्य वा निर्णय के होला पछि थाहा हुनेछ ।
संसारको वर्तमान कम्युनिष्ट आन्दोलनका प्रमुख चुनौती के हुन् ? तिनको सामना कसरी हुन आवश्यक छ ?
विश्व कम्युनिष्ट आन्दोलन विश्रृङ्खलित छ । साम्राज्यवाद अस्तित्वमा रहेसम्म पहिलो र दोस्रो इन्टरनेशनल तथा त्यसपछिको स्थितिमा खास फेरबदल आएको छैन । अहिले संसारमा कुनै कम्युनिष्ट केन्द्र छैन ।
अन्त्यमा केही भन्नुपर्ने कुरा ?
नेपाल मजदुर किसान पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको व्याख्या–विश्लेषण गरेर आफ्नो दृष्टिकोण अगाडि बढाउन सक्षम छ ।
२०७३ माघ ६
Leave a Reply