के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
अन्तर्वार्ता
(नेमकिपाका अध्यक्ष का. रोहितको शरीरमा अद्यापि गोली (Pellet) छ भन्ने कुरा धेरै कमलाई मात्र ज्ञात छ । आजभन्दा तेत्तीस वर्षअगाडि अर्थात्् सन् १९७८ अगस्त ३१
(२०३५ भदौ १५) को दिन का. रोहितको ज्यान लिने उद्देश्यले गोली हानिएको थियो । नेमकिपा र यसको नेतृत्वलाई नष्ट गर्ने सुनियोजित षड्यन्त्र दशकौँ अगाडिदेखि हुँदै आएको यो घटनाले पनि पुष्टि गर्छ । भारतको गोरखपुरमा भएको त्यही गोली काण्डको सेरोफेरोमा रही का. रोहितसँग हाम्रा प्रतिनिधि प्रसूनले गर्नुभएको वार्तालाप प्रस्तुत छ–सं.)
गोली लागेको मिति र समय ?
रातभरि किसान भेलाको छलफलमा थिएँ; पार्टी अफिसमा आएर पल्टिएको मात्र के थिएँ; निदाइहालँे । दायाँ हात तकिया बनाएको थिएँ; बायाँ हात र बायाँ तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । समय लगभग बिहानको १०–१०ः३० बजेको होला ! हातमा घडी थिएन ।
गोली लागेपछिको अवस्था बताउनुहुन्छ कि ?
म निदाएको थिएँ । ठूलो आवाजले म बिउँझैँ; धुवाँले कोठा पूरै भरिएको थियो । एकैछिनमा हावाको कारण ढोका देखियो; ढोका नाघ्न खोज्दा मैले असजिलो अनुभव गरँे; बायाँ खुट्टाले ढोकाको सङ्घार नाघ्न गाह्रो भयो । हेरेँ लुङ्गी प्वाल परेको थियो; रगत बगिरहेको थियो; बायाँ हातको बूढी औँलासहितको हत्केला सुन्निएर रगत बग्दै थियो । बाहिर मानिसहरू जम्मा भइसकेका थिए । मैले ‘के भो’ भन्दा एक जना मानिसले ‘स्टोभ पड्केको’ बतायो । तत्काल रिक्साबाट मलाई त्यहाँका मानिसहरूले क्लिनिकमा पु¥याए ।
डाक्टरले तत्काल सलाइन पानी चढाउन सुरु गरे । डाक्टरले सोध्दा मैले ‘स्टोभ पड्केको भन्छन्’ भनेँ । थप सोध्दा मैले भनेँ, “म एक्लै सुतेको थिएँ ।”
कहाँ–कहाँ गोली लाग्यो ?
हात र तिघ्राको माथिल्लो भागमा लागेको रहेछ । गोरखपुर अस्पतालमा मलाई एक्स–रे पनि देखाइएको थिएन । पछि दरभङ्गा अस्पतालमा लिइएको एक्स–रेमा हातमा एउटा र तिघ्रामा २–३ वटा पिलेट (Pellet) वा गोली देखियो । गोरखपुरमा तिघ्राको एउटा गोली झिकिएको थियो र सिसीमा राखिएको थियो । त्यो गोरखपुर अस्पतालमै राखियो ।
गोली लागिसकेपछि के भयो ? कसरी जोगिनुभयो ? कसरी अस्पताल पुग्नुभयो ?
क्लिनिकको डाक्टरले २–३ बजेतिर सरकारी अस्पतालमा जान भने; माने भन्ने व्यक्तिले मलाई रिक्साबाट अस्पतालमा पु¥याउन खोज्दा पैसा नभएर उनी पैसा लिन गए; म बाटो छेउको रुखमुनि रिक्सामै थिएँ । रगतले रिक्साको पाउदानी भरिएको थियो । झन्डै आधा – एक घण्टापछि प्रहरी पुग्यो; मलाई प्रहरी कार्यालयमा लग्यो । डेरा खोजिदिने ‘भान्जा’ हरूलाई प्रहरीले नराम्ररी पिटे । मैले भनँे– “म नेपालको कम्युनिस्ट हुँ; हामी प्रजातन्त्रको निम्ति लड्दै छौँ; यिनीहरूको केही दोष छैन; डेरा खोजिदिएका हुन्; म पार्टीको नेता हुँ ।” हाम्रो कार्यालयमा छापा मारी खानतलासी लिइसकेको रहेछ; धेरै देशीविदेशी कम्युनिस्ट साहित्य बरामद ग¥यो । त्यसबेला भारतको नक्सलवाडी आन्दोलनको बारेमा लेख्ने उद्देश्यले पुस्तक, पर्चा र दस्ताबेजहरू जम्मा गरिएको थियो । सुरुमा प्रहरीले मलाई पनि ‘भारतीय नक्सलवाडी’ सम्झेको थियो; मैले त्यो आरोप अस्वीकार गरेको थिएँ ।
बयानपछि मलाई गोरखपुरको सरकारी अस्पताल लगियो । त्यसबेला ४–५ बजेको होला; डाक्टरले हातको पट्टी खोलेर हेर्नासाथै ‘बारुदको गन्ध’ भनी कागतमा टिप्यो । तब मलाई गोली लागेको शङ्का भयो ।
के तपाईँ पनि हतियार बोक्नुहुन्थ्यो ?
म हतियार बोक्दिनथँे । साथै, कार्यालयमा कुनै हतियार नराख्न पनि आदेश दिएको थिएँ ।
गोली लाग्नुभन्दा अगाडि तपाईँको कसैसँग विवाद भएको थियो ?
व्यक्तिगतरूपले मसँग बाझ्ने गरी कसैसँग झगडा भएको थिएन तर एक रात अगाडिको बैठकमा केही व्यक्तिहरूले व्यक्तिहत्या र मनिएक्सन अर्थात् डकैती गर्नेजस्ता अराजकतावादी प्रस्ताव अगाडि सारेका थिए । त्यो नीतिलाई बैठकको बहुमतले अस्वीकार गरेको थियो ।
गोली काण्डपछि छानबिन भयो या भएन ?
अस्पतालमा मलाई नदुख्ने वा अचेत हुने औषधि खुवाइएको थियो; जहिले बिउँझे पनि बत्ती बलिरहेको हुन्थ्यो । अस्पताल भर्ना भएको भोलि वा पर्सिपल्ट डाक्टरहरू र मेजिस्ट्रेट अफिसका अधिकारीहरू मेरै शøयामा छलफल गर्दै थिए । मलाई नेपाल सरकारले सुपुर्द गर्न मागेको छ; फर्कने हो वा होइन भनी सोध्दा मैले भनेको थिएँ; “म राजनीतिक शरणमा छु; म अहिले नेपाल फर्कन्नँ।”
सम्भवतः २–४ दिनपछि अधिकारीहरूले मलाई ‘भात पकाउने को हो; उसको आँखा कस्तो छ र खुट्टा कस्तो छ’ भनी सोधेका थिए । ‘म सुतिरहेको थिएँ, मैले केही देखिनँ’ भन्ने नै जवाफ थियो ।
कोही पक्राउ परेनन् ?
कोही पक्राउ भएन । तर, गोली हान्ने व्यक्ति भारत सरकारलाई थाहा हुनैपर्छ । मुद्दा ‘एटेम्ट टु मर्डर’ थियो वा मलाई हत्या गर्ने उद्देश्यको थियो ।
राजनीतिक प्रतिशोधको कारणले भएको होला ?
हाम्रो उद्देश्य गोरखपुरमा नेपालीहरूमाझ सङ्गठन विस्तार गर्ने थियो । सम्भवतः हाम्रै सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ ।
अशोक भन्ने व्यक्ति र तपाईँ दुईजना कोठामा बसेर पेस्तोल हेरिरहँदा या चलाइरहँदा घटना घटेको कुरा पनि बाहिर ल्याइएको छ नि ?
सुतिरहेको व्यक्तिले कसरी पेस्तोल खेलाउँछ ? साथै, नसुतेको अवस्थामा कसरी हात र तिघ्रामा एकैबाजी गोली लाग्छ । सम्भवतः गोली झ्याल वा ढोकाबाट हानेको हुनुपर्छ । यदि कसैले घटनाबारे ढाँट्ने प्रयास गर्छ भने त्यो उसको अपराध लुकाउने मनोविज्ञान मात्रै हुन सक्छ ।
अस्पतालमा भारतीय प्रहरीबाट कस्तो व्यवहार भयो ?
भारतीय प्रहरीको २४ सै घण्टा कडा पहरा हुन्थ्यो ।
उपचारमा संलग्न चिकित्सकहरूको घटनाबारे कस्तो अनुमान थियो ?
सुरुमा चिकित्सकहरू र साधारण जनता मविरुद्ध हतियार व्यापारी, बम बनाउने आदि आरोपसहितका पत्रपत्रिकामा गाली गरिएको विषय पढ्न बाध्य थिए ।
पछि प्रतिवाद गरेपछि उनीहरूले म एक राजनीतिक कार्यकर्ता भएको बुझे । त्यहाँको एकजना नर्सले सानो सेतो चक्की ‘सुताउने औषधि हो नखाऊ’ भनी सल्लाह दिइन् । उनीबाटै मैले त्यहाँ ‘कम्युनिस्ट’ वा वामपन्थी चिकित्सक पत्ता लगाएँ र आफ्नो स्वास्थ्यको स्थिति थाहा पाएँ । पुँजीवादी व्यवस्था भएको हुँदा पैसा नदिनेहरूको राम्रो उपचार हुँदैनथ्यो । घाउ पाक्यो† कपास, गज र कैँची आदि राम्रो सफा
(sterelised) गरिएको हुँदैनथ्यो । पछि हाम्रै उपचारकर्मी भाइ आएपछि घाउको राम्रो उपचार भयो ।
तत्कालीन परिवेशमा पार्टीका अन्य नेता–कार्यकर्तालाई हतियार बोक्ने छुट थियो त ?
हतियार बोक्ने र राख्ने पार्टीले कहिल्यै निर्णय गरेको थिएन ।
शरीरमा अझै गोली वा गोलीका टुक्रा बाँकी छन् ?
हातमा एउटा गोली (pellet) र तिघ्रामा २–३ वटै पेलेट बाँकी भएको एक्स–रेमा देखिन्थ्यो ।
स्वास्थ्यमा केही असर पारिरहेको छ कि ?
शरीरको तौल घट्दा गोली छालाको नजिक पुग्ने होला† बायाँ कोल्टो फेरी सुत्ने बेलामा अप्ठेरो वा घोचेको अनुभव हुन्छ । सर्जनहरूको सल्लाहअनुसार अहिले घाउ बनाएर निकाल्ने होइन; केही गरी पाक्यो र दुःख दियो भने मात्र निकाल्नु आवश्यक हुन्छ । बाहिरबाट गोली पस्दा तातिएर पसेको हुन्छ; त्यसलाई शरीरको झिल्लीले छोपेर राखेको हुन्छ आदि । अप्ठेरो नभएसम्म आफूमा गोली भएकै बिर्सिन्छु ।
यो घटनाबारे तपाईँले खासै चर्चा गर्नुभएको पाईँदैन, किन ?
यो त चर्चाको विषय नै भएन; दुःख पनि दिएको छैन; घटना घट्यो; त्यसको राजनीतिक शिक्षा लिइयो । अराजकतावादी दृष्टिकोण कम्युनिस्ट आन्दोलनको निम्ति घातक विचार हो । साम्राज्यवादीहरूले रुसी – समाजवादी क्रान्तिमा फूट ल्याउने र जर्मनीको राइखस्टाग वा संसद्को आगलागीमा हिटलरहरूले कम्युनिस्टविरुद्ध अराजकतावादीहरूलाई नै प्रयोग गरेका थिए ।
त्यो घटनाको दस वर्षपछि फेरि तपाईँको फाँसीको माग भयो; संयोग मात्र हुन् या ती दुई घटनाबिच तादात्म्यता छ ?
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने शक्तिलाई देशी वा विदेशी प्रतिक्रियावादीहरूले आफ्नो शत्रु सम्झनु, आँखाको कसिङ्गर सम्झनु र आफ्नो स्वार्थको बाधा सम्झनु नौलो कुरा होइन । हरेक युग, समय र समाजमा प्रतिगामी र प्रगतिशील विचारको बिचमा सङ्घर्ष भइरहन्छ । तर, बिहानीलाई रोक्न झ्याल ढोका थुनेर बसे पनि पश्चिमको झ्याल ढोकाको कापकापबाट पनि प्रकाश छिर्ने गर्छ । संसारका सबै काग काला भएजस्तै संसारका सबै प्रतिक्रियावादीहरू अनेक छलछाम र षड्यन्त्र गर्छन् । हाम्रो विरोधमा अहिले पनि प्रतिक्रियावादीहरू सक्रिय छन् ।
फेरि दस–बा¥ह वर्षपछि नेमकिपाको नेतृत्व सिध्याउन योजनाबद्ध रूपमा भक्तपुरमा गोली काण्ड भयो । यी सबै घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?
पुराना कथा र लोककथाहरूमा नकारात्मक शक्तिहरूले आ–आफ्ना रूपहरू फेरेर आक्रमणका योजनाहरू बनाइरहन्छन् । आज पनि ती वर्ग शत्रु र राजनीतिक शत्रुहरूले ठुल्ठुला पार्टीहरूको पर्दाभित्र बसी हामीमाथिको आक्रमण र विरोधलाई चालू नै राखेका छन्; राख्नेछन् । यो सङ्घर्ष खुला र गुप्तरूपले समाजमा वर्ग र विचारमा भिन्नता भएसम्म चालू रहन्छ ।
(मजदुर किसान, भदौ–असोज, २०६८)
Leave a Reply