भर्खरै :

वडाध्यक्षको डायरीबाट – हामीले अरूको लागि जिउन सिक्नुपर्छ

वडामा प्रथम प्रहर भएकोले अलि सेवाग्राहीहरूको भिड थियो । म उहाँहरूसँग कुराकानी गर्दै थिएँ । मेरो अगाडि एकजना महिला आइपुगिन् । मैले त्यस महिलालाई सेवाग्राहीहरू धेरै भएकाले एकछिन पर्खन अनुराधे गरेँ । तर, उनले आफू व्यस्त भएकोले पर्खन नसक्ने र एउटा हस्ताक्षरमात्र पुग्ने भएकोले सबैको पालो मिचेर अगाडि आएको बताइन् । मैले उनको पत्र लिएँ र हेरेँ । ती बहिनीले आफ्नो घर मूल्याङ्कनको कर तिर्न आएकी रहिछिन् । त्यस कागजमा हस्ताक्षर एउटा गरे पुग्ने रहेछ । कर्मचारीलाई राजस्व तिरिसकेपछि मलाई हस्ताक्षर गराउन आएकी रहिछिन् । मैले कागज लिई हस्ताक्षर गर्न लाग्दा मलाई पहिलेको घटनाको याद आयो । ती महिला पहिले पनि एकपटक वडा कार्यालय आएकी थिइन् । म उनको घर गएको थिएँ । मलाई विगतका कुराहरू याद आएर उनलाई पत्र फिर्ता गरेँ र भनेँ, “बहिनीको पत्रमा मैले हस्ताक्षर गर्न मिल्दैन । बहिनीले बनाएको नयाँ घरको विषयमा टोलवासीको उजुरी कायमै छ । टोलवासीको उजुरी आएकोले मैले तपाईँको घर निरीक्षण गरेको थिएँ । तपाईँले कौसीमा नक्साविपरीत तल्ला थप्नुभएको रहेछ । अनि दोस्रो तल्लामा आँखी झ्याल राख्दा खोल्न मिल्ने गरी राख्नुभएको छ । तपाईँ र तपाईँको श्रीमान्लाई पहिले वडामा बोलाएर त्यस विषयमा जानकारी गराएको थिएँ । तर, तपाईँहरूले त्यो कुरा मान्नु भएन । अहिले पनि त्यो झ्याल बाँकी छ । त्यसैले तपाईँले त्यस झ्याल नमिलाएसम्म यो हस्ताक्षर म गर्दिनँ । तपाईँको श्रीमान्ले म कुनै पनि हालतमा त्यो झ्याल हटाउदिनँ भन्नुभएको थियो । तपाईँले पनि त्यस्तै भन्नुभएको थियो । मैले त्यो झ्याल नमिलाएसम्म सिफारिस गर्दिनँ भनेको यादै होला । त्यसैले तपाईँको कुनै पनि पत्र र सिफारिसमा वडा कार्यालयले दिन मिल्दैन ।”
मेरो कुरा सुनेपछि ती बहिनीको अनुहार अलि रातोपिरो देखियो । उनले भनिन्, “मैले नगरपालिकाको मापदण्डअनुसार नै नक्सा पास गरी घर बनाएको छु । पास नक्साविपरीत केही बनाएकै छैन । अनि नगरपालिकालाई कर तिर्छु भन्दा पनि कर नलिने भनेको हुन्छ र ? हामी पनि यस वडाको बासिन्दा हौँ नि । नियमविपरीत मैले केही गरेकै छैन । तपाईँ घरमा निरीक्षण गर्न आउनुस् । नियमविपरीत भएमा सुधार गर्न तयार छु ।”
ती बहिनीले झूट बोलिन् । गत वर्ष पनि उनले पास नक्साविपरीत तला थपेको र स्लावमाथि पिलर उठाएको कारण भत्काउन लगाएका थियौँ । त्यसबेला ती बहिनी र श्रीमान्सँग मेरो वादविवाद भएको थियो । मैले नगरपालिकाबाट कर्मचारीहरू बोलाएर भत्काउन लगाएपछि मात्र उनीहरू आफैँले पिल्लर भत्काएका थिए । पछि नगरपालिका र वडा कार्यालयलाई जानकारी नै नदिई आँखी झ्याल खोल्न मिल्ने गरी राखेको जानकारी टोलवासीले दिए । मैले त्यस आँखी झ्याल मिलाउन अनुरोध गर्दा उहाँहरू मान्नुभएको थिएन । अहिले आएर सबै नियमविपरीत गरेको छु भनेर उनी झूट बोलिन् । साथै भुइँ तलाको साझा खुला बाटोमा निजी ढोका राखेको कारण टोलवासीको गुनासो थियो ।
मैले ती बहिनीलाई वडाबाट बिदावारी गरिदिएँ । त्यसको एकछिनपछि बहिनीको श्रीमान् आइपुगे । वडामा सेवाग्राहीहरू बाँकी नै थिए । उनले भने, “नगरपालिकालाई कर बुझाउँछु भनेर आउँदा नि नलिने कस्तो वडाध्यक्ष तपाईँ ? मैले के मापदण्डविपरीत काम गरेँ ? नक्सा पास गरेरै बनाएको छु । अलि अलि यताउत्ति त भइहाल्छ नि ? त्यहाँ अरूले सार्वजनिक पोखरीमा घर बनाएका छन् । हाम्रै वडामा कतिले अनियमित निर्माण गरेका छन् । खै, तपाईँले उनीहरूलाई के गर्नुभएको छ ? मलाई मात्र पेल्ने हो ? फेरि मैले मापदण्डविपरीत केही गरेकै छैन । राजस्व नै लिन नहुने ?”
मैले उनलाई नरम भाषामा सम्झाउँदै भनेँ, “हेर्नुस् ! भाइ, तपाईँको घर नक्सा पास भएकै छ । कर पनि समयमै तिर्न आउनुभएको छ । तर पनि टोलवासीले किन उजुरी गरेका होलान् ? एकपटक सोच्नुस् त । हामी तपाईँको प्रतिनिधि हो । कुनै पनि कार्य गर्दा आफूलाई मात्र फाइदा भयो भन्दैमा सबैलाई ठीक हुन्छ भन्ने हुँदैन । तपाईँले यत्रो घर बनाउनुभएको छ । अनि सार्वजनिकरूपमा विरोध हुने गरी किन बनाउनुभयो ? नगरपालिकाको मापदण्डअनुसार बनाउनुभएको भए यसरी विरोध हुनु नपर्ने हो नि ! तपाईँ आफ्नो निजी स्वार्थमात्र हेर्नुहुन्छ ? तपाईँको घरमा अनियमित निर्माण भत्काउन आएको होइन र ? तपाईँले करोडौँको घर बनाएर आँखी झ्याल राख्दा खोल्न मिल्ने गरी किन बनाउनुभएको हो ? तपाईँको घरमुनि सार्वजनिक बाटो रहेछ अनि त्यसमा निजी ढोका किन ? त्यो निजी बाटो (मुर्दा लाने बाटो) हो नि । अनि त्यसरी ढोका राख्नुहुन्छ ? अनि तपाईँ मापदण्डविपरीत पाँचौँ तलाको स्लावमाथि पिलर उठाएर बनाउन खोज्ने तपाईँ नै होइन ? तपाईँको घरमा हामी अनियमित निर्माण भत्काउन आएका होइनौँ ?”
मेरो कुराले उनी अक्मकिए । जवाफमा उनले भने, “सर ! अलि अलि त सबैको भइहाल्छ नि । सरले अलि नदेखे जस्तो गर्नुस् न । टोलवासी पनि एक दुईजना मात्र त हो नि कराउन आउने । ती मेरो प्रगति गरेको सहन नसक्ने छिमेकी हुन् । त्यसैले तपाईँले सही दिनुस् । मेरो कर लिई दिनुस् ।” उनको जवाफ मलाई चित्त बुझेन । मैले उनलाई भनँे, “पहिला पनि तपाईँसँग लामै विवाद भएको थियो । अब तपाईँसँग विवाद गर्ने समय छैन । तपाईँ आँखी झ्याल मिलाएर आएपछि मात्र हस्ताक्षर हुन्छ, नभए तपाईँको आफ्नो बाटो लाग्नुस् ।”
उनी नजवाफ भए । त्यसपछि उनी केही नबोली आफ्नो पत्र लिएर बाहिर गए । त्यसपछि मैले सेवाग्राही सबैलाई उनले गरेको गल्तीको विषयमा जानकारी दिएँ । लगत्तै मैले वडाका जनप्रतिनिधिहरूलाई फोनमार्फत तत्काल हस्ताक्षर नगरेको जानकारी गराएँ । शुक्रबारको निर्वाचित समितिको नियमित बैठकमा त्यस सम्बन्धमा कर्मचारी र जनप्रतिनिधिहरूलाई जानकारी गराएँ । तर, राजस्व लिइसकेको हुँदा पत्र प्रिन्ट गरी राजस्व लिने प्राविधिक बहिनीलाई समस्या भयो । लिएको राजस्व के गर्ने भन्ने प्रश्न उहाँले सबैसामु राख्नुभयो । मैले सङ्कलन भइसकेको राजस्व लिन र नगरपालिकाको खातामा जम्मा गर्न प्राविधिकलाई अनुरोध गरेँ ।
केही दिनपछि ती बहिनी फेरि वडा कार्यालयमा आए । म अरू सेवाग्राहीसँग कुराकानी गर्दै थिएँ । उनले आफ्नो मोबाइल अन गर्दै मलाई एउटा फोटो हेर्नुस् भनी देखाउनुभयो । फोटो त्यही आँखी झ्यालको रहेछ । उनले झ्याललाई खोल्न नमिल्ने गरी मिलाएको रहेछ । मलाई प्रमाणस्वरूप मोबाइलमा त्यो फोटो देखाउनुभएको रहेछ । मैले उनलाई धेरै धन्यवाद दिएँ । त्यसपछि मैले हस्ताक्षर गरेर पठाएँ । मलाई वडामा कस्ता कस्ता मान्छे पनि आउने रहेछ भन्ने लाग्यो । समाजका कति मानिस कति स्वार्थी हुने रहेछ भन्ने लाग्यो । मानिसहरू आफ्नो निजी स्वार्थमात्र पूरा हुने भयो भन्ने उनलाई यो देश र समाजको केही मतलब नहुने रहेछ । हामीले अरूको लागि पनि जीवन जिउन सिक्नुपर्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *