भर्खरै :

धर्म त्याग्ने कि परिवर्तन गर्ने ?

धर्म त्याग्ने कि परिवर्तन गर्ने ?

नेपालमा धार्मिक द्वन्द्वका घटनाहरू केही वर्षयता पटक–पटक दोहरिँदै छन् । पछिल्लो धार्मिक विवाद वर्तमान संस्कृति मन्त्री सुदन किराँतीको क्रिश्चियन धर्ममाथिको टिप्पणीले उब्जिएको हो । एकातिर विभिन्न लोभ र अन्धविश्वासमा फसाएर क्रिश्चियन बनाउने अभियान चलाइरहेको छ भने अर्कोतिर भारतीय अतिवादी हिन्दूहरूको नक्कल गरी नेपालमा पनि हिन्दू अतिवादीहरू धार्मिक द्वन्द्व निम्त्याएर राजनीतिक लाभ लिन धमिलो पानीमा माछा मार्ने दाउमा रहेका छन् । यहाँ एउटा धर्मका अनुयायीले अर्को धर्मका अुनयायीमाथि गलत टिप्पणी गर्ने र आफ्नो धर्म र ईश्वर संसारकै उत्कृष्ट र शक्तिशाली रहेको दाबी गर्ने होडबाजी चलेको छ । यदि कुनै निश्चित धर्मको ईश्वर सर्वेसर्वा वा सर्वव्यापी भएको भए अनाहकमा गजाका निर्दोष प्यालेस्टिनी जनताले ज्यान गुमाउनु पर्दैनथे होला ।
वास्तवमा धर्म उत्कृष्ट चिज हुँदै होइन र छैन पनि । धर्म आफैँमा अन्धविश्वासलाई बढावा दिने माध्यम हो । धर्म आफैमा मानव बिचमै द्वेष निम्त्याउने माध्यम भएको छ । मानव बिचमा अहम् बढाउने कारक बनेको छ । यही वास्तविकतालाई कार्ल माक्र्सको छोटो वाक्य ‘धर्म एक अफिम हो’ ले छर्लङ्ग पार्छ ।
आजकल विभिन्न धार्मिक कथा वाचन गरेर पैसा कमाउने धन्धा खुब चलेको छ । धर्मको नाममा कथा वाचन गर्ने भनेको कुनै गायन समूहले कन्सर्ट आयोजना गरेर पैसा कमाउनुजस्तो बाहेक केही होइन । भागवत गीता सुनाएको दसौँ लाख शुल्क लिने कथावाचक कथित पण्डितहरू छन् । भनिन्छ, भारतीय कथावाचक देवकीनंदनले १५ लाख र अनिरुद्धाचार्यले धार्मिक कथा वाचन गर्न २० लाख लिन्छन् रे । नेपाल आएका धीरेन्द्र कृष्ण शास्त्री भन्नेले त कथावाचन गराउँदा पच्चीस लाखसम्म लिने गरेको छ । त्यसैको सिको गरेर नेपालमा पनि थुप्र्रै यस्ता कथा वाचकरूपी व्यवसायीहरू देखा परेका छन् । कथा वाचन गरेबापत यति धेरै पैसा कमाउने कथावाचकहरूले आफ्नो प्रवचनमा उपदेश दिन्छन्, “सबै मोह माया हो । भौतिक सुखको त्याग गरेर ईश्वरको भक्ति गर । ईश्वरको भक्तिमा परम सुख छ ।” यिनीहरू अरूलाई भौतिक सुखको त्याग गर्ने ज्ञान दिन्छन् तर दानमा आएको पैसा सापट दिएर ब्याज खान्छन् ।
यिनीहरू जोगी वा योगी होइनन् । यिनीहरू व्यवसायी हुन् । यिनीहरूबाट विशेष अपेक्षा राख्नु भनेको अज्ञानी हुनुबाहेक केही होइन । सबै धर्म आर्थिक शोषण र सामाजिक शोषणमात्र होइन बौद्धिक शोषणका पनि मुख्य वाहक हुन् । यस्तो हुनुको पछाडि ती धर्म गुरु भनाउँदाहरूको मात्र दोष होइन यस्ता पाखण्डीहरूको बकबासको पछि लाग्ने हामीहरू पनि त्यतिकै दोषका भागी हौँ ।
यस्ता पाखण्डीमाथि रचिएको एउटा लघुकथा छ† घरमा एकादशी महात्म्यको धार्मिक अनुष्ठान सम्पन्न गर्नको लागि प्रसिद्ध पुराण वाचकलाई आमन्त्रण गर्ने निधो भयो । घरकै पाको मान्छे पण्डितलाई बोलाउन उनको घरमा आफँै गएका थिए । पण्डितको घर पुग्दा त के देखियो भने माछाको झोल र भात खान पल्केका पण्डितले आफँै बजार गएर किनेर ल्याएको माछा आफँैले पकाएर माछाको झोल र भात खाँदै रहेछन् । त्यो देखेर यजमानले सोधेछन्, “गुरु, गतहप्ता जिम्मुवाल बुढाकहाँ प्रवचन दिँदा त पण्डितले माछामासु खान हुँदैन भन्नुभएको थियो, अहिले त आफँै माछा र भात दनादन खाँदै हुनुहुन्छ ।” जवाफमा पण्डितले भनेछन्, “पुस्तकको माछा पो खान हुन्न भनेको, खोलाको माछा खान हुन्न भनी मैले कहिले भनें ?”
धर्मका ठेकेदारहरू भन्छन्, “धर्मले नैतिकबोध गराउँछ, आत्मबोध गराउँछ”, तर वास्तविकता के हो भने धर्मसँग नैतिकताको गोरु बेचेको साइनो सम्बन्ध समेत रहँदैन । त्यसो हो भने नैतिकता र धर्मको ठूला ठूला डिङ हाँक्ने योगी, तपसी, माहात्मा भन्नेहरू किन यति धेरै रिसाहा, असभ्य र झगडालु हुन्छन् ? समय समयमा विभिन्न धर्मका धर्मगुरुहरू नै किन यौनकाण्डमा परेर जेलमा पर्छन् । प्रस्ट छ, धर्मको जग नै भ्रममा खडा भएको हो । मान्छेलाई नैतिकवान बनाउने असल शिक्षाले हो, असल संस्कारले हो र प्रभावकारी कानूनी व्यवस्थाले हो । फोहरको डुङ्गुरजस्तो धार्मिक परम्परा र संस्कृतिले भाँडतन्त्रलाई जन्म दिन्छ । ठगहरूले रचेका भ्रमहरूद्वारा ईश्वरको जन्म हुन्छ । ईश्वरले मानिसको मस्तिष्कसँग संसर्ग गरेपछि ‘धर्म’ नामक सन्तानको जन्म हुन्छ । यसले समय र दिमागलाई बर्बादमात्र गर्छ । अनि पाखण्ड, भ्रम र अन्धविश्वासको ओत लाग्ने ठाउँ धर्म भइदिन्छ ।
बाबुबाजेले मानिआएको धर्म संस्कृति कसरी छोड्नु ? भन्ने धेरैलाई लाग्न सक्छ । रुस युक्रेन युद्धको बिचमा हालैको एउटा उदाहरण हेरौँ । आफ्ना बाबुबाजेले जनवरी ७ का दिनमा मनाइने क्रिसमसलाई पश्चिमाहरूको लहैलहमा युक्रेनीहरूले पनि डिसेम्बर २५ का दिनमा मनाएका छन् । कुरो के रहेछ भने तत्कालीन सोभियत सङ्घ अन्तर्गतका राज्यहरूमा जनवरी ७ का दिनमा मान्ने क्रिसमसलाई रुसको विरोध गर्ने नाममा युक्रेनीहरूले जनवरी ७ का दिनमा नमनाई २५ का दिनमा मनाएका रहेछन् । त्यसैले ‘बाबुबाजेले मनाइ आएको धर्म संस्कृति र परम्परा’ मानेन भने अशुभ हुन्छ वा पाप लाग्छ भन्नु पनि बनावटी तर्कमात्र रहेछ । गोरखाका एक बासिन्दाले अहिले सरकारको नियन्त्रणमा रहेको एउटा बहुमूल्य पत्थरलाई कुल देवता भन्दै वर्षौँदेखि पूजा गरिरहेका थिए । भगवान भनेकै यस्तै त हो, जेलाई मान्यो त्यही भगवान ।
राज्यको धर्म हुँदैन, नागरिक जुनसुकै धर्म अवलम्बन गर्न स्वतन्त्र रहन्छन् भन्ने आसयले राज्यसँग धर्मनिरपेक्षता जोडिएको हो । अहिले एकथरी धर्मालम्बीहरू आफ्नो राजनीतिक स्वार्थ पूरा हुन्छ कि भनेर धर्मनिरपेक्षताको विरोध गरेर गरिरहेका छन् । धार्मिक स्वतन्त्रता त धर्मनिरपेक्ष राज्यमै प्राप्त हुन्छ । अमृतलाई विष बनाउनु छ भने राजनीतिमा धर्म घुसाइदिनु पर्छ । नेताहरूले धर्मविनाको राजनीतिक व्यवहार देखाउनुपर्छ । बाध्यतावस कोही अनपढ हुन सक्छ तर शिक्षित भएर पनि कुसंस्कार मान्नु मादक पदार्थ स्वास्थ्यको लागि हानिकारक छ भन्ने जानी जानी पनि त्यही चिज सेवन गर्नुजस्तै हो । संसारमा कुनै पनि धर्म नमान्ने नास्तिकको सङ्ख्या १ अर्ब १० करोड रहेको आँकडा छ । सक्नुहुन्छ भने कथित धर्म त्याग्नुस् नभए आफ्नो परम्पराको रूपमा मानौँ, तर कसैको लोभ वा दबाबमा धर्म परिवर्तन चाहिँ नगरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *