भर्खरै :

के भाजु पुखु भक्तपुर क्याम्पसको हो ?

के भाजु पुखु भक्तपुर क्याम्पसको हो ?

‘भाजु पुखु त पोखरी बनेछ !’ शीर्षकमा पुस २६ गतेको ‘मजदुर’ दैनिकमा प्रकाशित दिव्यराजको लेखबारे भक्तपुर बहुमुखी क्याम्पसबाट प्रतिक्रिया वा खण्डन आउने अपेक्षा थियो । त्यही दिनको पत्रिकामा क्याम्पसको कम्पाउन्ड वाल बनाउने ठेक्काको बोलपत्र स्वीकृतको सूचना प्रकाशित भएकोले पनि प्रतिक्रिया आउने व्यग्र प्रतिक्षा थियो । तर, हप्तादिन बित्दा पनि केही नआएकोले आफूलाई थाहा भएको जानकारी दिनु उचित लाग्यो ।
दिव्यराजले पोखरीको दक्षिण र उत्तरको माथिल्लो डील अतिक्रमणमा परेको उल्लेख गरेका छन् । यथार्थमा पोखरीको पूर्व, पश्चिम, उत्तर र दक्षिणको डील भक्तपुर क्याम्पसको नाममा दर्ता छ । भाजु पुखुको कित्ता नं. २४१ र कित्ता नं. २४२ को चारै दिशाको ५ रोपनी ६ आना डील २०३३ सालमा भक्तपुर क्याम्पसको नाममा दर्ता छ । कागजी हिसाबमा पोखरीको डील क्याम्पस वा अन्यले अतिक्रमण गरेको भन्न मिल्दैन । परन्तु, व्यवहारमा हडेपेको भन्न सकिन्छ । किनभने
१) डीलबिनाको पोखरी हुन सक्दैन ।
२) सार्वजनिक पोखरीमा जाने बाटो नै छैन, क्याम्पसको ‘एकलौटी’ जग्गा भएर जानुको विकल्प हुँदैन ।
३) पश्चिमको डीलबाट क्याम्पस स्थापना नहुँदै स्थानीय जनता आफ्नो खेत जाने गर्थे र कटुञ्जे आउने जाने बाटो पनि हो ।
४) पूर्वतर्फबाट पार्टी प्यालेससँगैको बाटोबाट पोखरी जाने बाटो अहिले पनि छ । तर, यहाँ पनि क्याम्पसको ‘एकलौटी’ जमिनमा टेकेरमात्र पोखरीमा पुग्न सकिन्छ ।
५) पश्चिमको डील अतिक्रमण गरी दमकलले पर्खाल लगाएकोमा क्याम्पसले होइन स्थानीय जनताले हटाउन लगाएका थिए ।
६) महत्वपूर्ण कुरा पोखरीको चारैतर्फको डील कसैको ‘एकलौटी’ भएपछि भाजु पुखु कसरी सार्वजनिक हुन्छ ? के भाजु पुखु भक्तपुर क्याम्पसको हो ?
ऐतिहासिक भाजु पुखु सार्वजनिक हो, जनताको हो । भक्तपुर क्याम्पस पनि जनताकै हो, कसैको निजी होइन । त्यसैले पुखु र क्याम्पसको संरक्षण र संवद्र्धन गर्नु जनताकै दायित्व हो । तर, पञ्चायतकालका शासकहरूले विवादको बीउ रोपेर गएबाट आज तेरो र मेरोको समस्या आएको छ । पोखरी जाने बाटो नै नछोडी चारै दिशाको पोखरीको डील क्याम्पसको नाउँमा दर्ता गर्न दिने त्यसबेलाको मन्त्रिपरिषद्को निर्णय, भूमिसुधार र विभागको परिपत्र, सम्पत्ति संरक्षण समितिको निर्णय, त्यसलाई सदर गर्ने नापी विभागका हाकिमको बुद्धि कहाँ घुम्न गए छ ? उदेकलाग्दो छ । यदि, डील दिएपछि पोखरी पनि क्याम्पसको नाममा दर्ता गरेको भए कम्तीमा कागजीरूपमा केही स्वाभाविक देखिन्थ्यो ।
तर, सार्वजनिक वा जनताको सम्पत्ति कागजी र कानुनीरूपमा मिलाउँदैमा त्यो वैध हुँदैन । भ्रष्ट शासक, कर्मचारी र भूमाफियाहरूले ललिता निवासको जनताको सम्पत्ति व्यक्तिको नाममा दर्ता गराएकै हो । तर, त्यो अवैधमात्र भएन एकपछि अर्काे भ्रष्ट र बेइमानहरू सजाय भोग्दै छन् । थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी कागजी र कानुनीरूपमा हडपेर छायादेवी कम्प्लेक्स बनाएको विरोधमा अदालतमा मुद्दा चलिरहेको छ, सडक सङ्घर्ष भइरहेको छ । कागजी र कानुनीरूपमा निजी र एकलौटी बनाइएका भक्तपुर गोल्मढीको कमलपोखरी, बोडेको पलस्वाँ पोखरी पनि जनताको सडक र कानुनी सङ्घर्षबाट सार्वजनिक कायम गरिएकै हो ।
भक्तपुरकै च्वङा गणेश क्षेत्र सैनिक इलाकाको भने र सेनाले सर्वसाधारणलाई पूजा गर्न जान पनि अवरोध पु¥याउने गथ्र्याे । तःपुखु, न्हु पुखुलगायतमा देवाली पुजा गर्न पनि बाधा दिन्थ्यो । निरन्तरको विवाद र सङ्घर्षपछि अहिले बाधा अवरोधमात्र हटेको छैन, न्हु पुखुको पुनःनिर्माणसमेत गर्न दिएको तथ्य सर्वविदित छ ।
यस सन्दर्भमा सेनाका प्रमुखको विचार र विवेकले पनि सम्पदा संरक्षणमा ठुलो भूमिका खेल्ने देखिएको छ । सेनामात्र होइन प्रहरी प्रशासनिक, न्यायिकलगायत जुनसुकै कार्यालयका प्रमुखको विचार र विवेकले जनताको सद्भाव र विरोध आमन्त्रण गर्छ । विगतमा भक्तपुरको टुँडिखेल, च्वङा गणेश, तःपुखु, न्हु पुखुको सन्दर्भमा सेनाका थुप्रै कर्णेलहरूसँग जनताको विवाद भएको थियो । तर, केही कर्णेलहरू भने जनभावनालाई सकारात्मकरूपमा लिई मिलेसम्मको सहयोग गर्न तत्पर रहेको र दरिलो सहयोग गरेको अनुभव गर्ने भक्तपुरका जनता छन् । न्हु पुखुको पुनःनिर्माणमा तत्कालीन प्रधानसेनापतिको भूमिकालाई भक्तपुरका जनताले सदा सम्झिरहनेछन् ।
अब, भाजु पोखरीको डीलको सन्दर्भमा क्याम्पस प्रमुख वा त्रिभुवन विश्वविद्यालयले के गर्छ ? क्याम्पसको ‘एकलौटी’ पोखरीको डीलमा कम्पाउन्ड वाल बनाएको छैन, जसरी चलिरहेको थियो त्यसरी नै चल्न दिइरहेको छ अर्थात् पूर्व, पश्चिमको डील व्यवहारमा सार्वजनिकझैँ भइरहेको छ । तर, भोलि पूर्वाग्रही एवम् जनविरोधी विचारका विवेकहीन क्याम्पस प्रमुखले आफ्नो क्याम्पसको नाममा दर्ता भएको ‘एकलौटी’ डीलमा बार लगाउन खोजे स्थिति के होला ? परिणाम के होला ? यसतर्फ त्रिवि, क्याम्पस, पुरातत्व विभाग, जिल्ला प्रशासन, भक्तपुर नगरपालिका सबैको गम्भीर ध्यानाकर्षण बेलैमा हुनुपर्ने देखिन्छ । आगलागी भएपछि कुवा खन्ने ‘सद्बुद्धि’ कतैबाट प्रदर्शन नहोस् ¤
सन्दर्भमा, न्हु पुखु, तःपुखु, च्वङा गणेश क्षेत्र सर्वसाधारणलाई छुट्याइएको टुँडिखेलको एक भागबारे पनि विचार गर्नुपर्ने देखिन्छ । हिजोको ब्यारेक आज सैनिक महाविद्यालय भएको छ । ब्यारेकलाई जस्तो विद्यालयलाई कडा सुरक्षा व्यवस्था र गुप्तता आवश्यक हुँदैन । हिजोका सेना प्रमुख, भक्तपुर ब्यारेकका प्रमुखले दिएजस्तो सर्वसाधारणलाई पछिका सेना प्रमुख, महाविद्यालयका प्रमुखले बाधा अवरोध नदिएको–नपु¥याएको पनि धरातलीय यथार्थ हो । के यो स्थिति सधैँ कायम रहन्छ ? प्रत्याभूति कसले दिन्छ ? सम्झौता उल्लङ्घन गर्नुलाई बहादुरी ठान्ने शासकवर्गको देशमा अहिलेको समझदारीको हैसियत कति होला ? त्यसैले सेनाको नाममा दर्ता भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक स्थललाई सेनाबाट सार्वजनिक सम्पत्ति कायम गराउन र भक्तपुर क्याम्पसले पनि भाजु पुखुको डील सार्वजनिक गर्न आफैँबाट पहल गर्नुपर्ने देखिन्छ । आशा छ, सत्कार्यमा विलम्ब हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *