भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–६

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–६

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

उपसंहार
माथिका मेरा यात्रा स्मरणहरू कोरिया प्रायःद्वीपको उत्तरी भाग– प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका हुन् । दक्षिण कोरियाको बारेमा पनि अनेक पक्ष र विपक्षका कुराहरू पढेको र सुनेको छु । पुँजीवादी समाजमा पाइने सबै प्रकारका दोषहरू त्यहाँ निश्चय पनि छन् । धनी र गरिबको फराकिलो हुँदै गएको असमानता, सरकारमा बसेका ठुलठुला मानिसहरूको आर्थिक अनियमितताका काण्डहरू, बेकारी समस्या, पेट पाल्न नैतिकता बेच्नुपर्ने स्थिति, परीक्षाको फाराम भर्न वा परीक्षा दिन छात्रछात्राहरूले आफ्नो रगत बेच्नुपर्ने बाध्यताजस्ता अनेक विसङ्गतिहरूबारे सुन्दै र पढ्दै आएको थिएँ । तर, त्यहाँको औद्योगिक, विज्ञान र प्रविधिका अनेक बखानहरू पनि पढ्ने र सुन्ने मौका पाएको छु ।
यसबारे उत्तर र दक्षिणकै कोरियालीहरूको मूल्याङ्कन छोटोमा के छ भन्नेबारे यहाँ पाठकहरूको निम्ति जानकारी दिनु उचित देखेँ । दक्षिण कोरियाको क्षेत्रफल ९९,४४७ वर्ग किलोमिटर छ भने जनसङ्ख्या पुगनपुग ४ करोड छ ।
उत्तर कोरियाको प्रजग कोरिया आफ्नो देशलाई स्वतन्त्र, आत्मनिर्भर र आत्मरक्षा गर्ने देश हो भनेर गर्व गर्छ । प्राध्यापक डा. पाकतोङ गुनले ‘दक्षिण कोरियाको अर्थतन्त्र राष्ट्रिय उद्योगबाट होइन’ (Korea Today 9/1993, The Foreign Language Magazines, Pyongyang, DPRK) भन्ने शीर्षकको एक लेख पढेँ ।
उनको भनाइमा राष्ट्रिय अर्थतन्त्र भनेको आफ्नै राष्ट्रले र आफ्नै हित अनुकूल बनेको हुन्छ र राष्ट्र स्वयं त्यस अर्थतन्त्रको मालिक हुन्छ । आधुनिक प्रविधियुक्त एउटा बलियो राष्ट्रिय अर्थतन्त्रले विश्वको आर्थिक सङ्कटबाट अप्रभावित रही दृढतापूर्वक विकास गर्छ । यस अर्थमा आर्थिक स्थिरता र वृद्धिको निम्ति राष्ट्रिय उद्योग अति महत्वपूर्ण हुन्छ । तर, दक्षिण कोरियाको अर्थतन्त्र आधा शताब्दीदेखि विदेशी मुलुकहरूले थापेको परनिर्भर दलाल पुँजीवादी अर्थतन्त्र हो र राष्ट्रिय उद्योग ध्वस्त प्रायः छ र सङ्कटसँग जुझ्दै छ ।
हो, एकचोटि दक्षिण कोरियाको आर्थिक वृद्धि दर दोब्बर अङ्कको हुन्थ्यो । तर, १९९२ मा त्यो वृद्धिदर चर्कोसित तल झर्यो र १९९३ मा त्यो झन् तल झ¥यो । यस वर्षको ३ महिनामा वद्धिदर शून्त्न्दा तल झर्यो । जनवरी महिनामै गएको वर्षको तुलनामा ६.५ प्रतिशत औद्योगिक उत्पादन घट्यो । त्यसको परिणाम दक्षिण कोरिया अहिले १९७० को दुई ‘तेल सङ्कट’ भन्दा झन् खराब सङ्कटलाई झेल्दै छ । (Choson Ilbo, 1 April 1993)
कृषि त झन् पूर्णरूपले सत्यानासको स्थितिमा छ । विकासशील देश र क्षेत्रहरूमा राष्ट्रिय अर्थतन्त्रको दुई मुख्य खण्डमध्ये कृषि एक खण्ड रही आएकै छ । कृषिले श्रमशक्तिको निम्ति पूर्ण उत्पादनको मुख्य स्रोत खाद्यवस्तु उत्पादन गर्छ र स–साना उद्योगलाई पनि कृषि उत्पादन दिन्छ । यसकारण, कोरियाले कृषिलाई राज्यको मुख्य आधारको रूपमा मूल्याङ्कन गर्छ र प्राचीन समयदेखि नै यसलाई धेरै ठुलो महत्व दिई आएको छ । तर, दक्षिण कोरियाभित्र अरु देशहरूबाट बढी भएको (फाल्तु) खेती उत्पादनको बाढी पस्दा कृषिको कुनै खण्ड मुश्किलले जीवित रहँदै छ ।
एक तथ्याङ्कअनुसार गएको साल दक्षिण कोरियाले १ करोड २० लाख टन खाद्यान्न आयात गर्यो । अर्थात्, आफ्नो कृषि बजार खोल्ने दबाबको कारण खाद्यान्नको वार्षिक उपभोगको ६४.८ प्रतिशत विदेशबाट आयात गर्न बाध्य भयो । त्यस्तै, १० अरब डलर मूल्यको गाईको मासु, अन्य पशु उत्पादन, केरा तथा अन्य फलफुल, मरिच र समुद्री खानाहरू आयात गर्यो ।
गएको साल बाली बिग्रेको हुनाले कृषि उत्पादनलाई आयात गरेको नभई साम्राज्यवादीहरूको नीतिअनुसार आफ्नो फाल्तु कृषि उत्पादनलाई दक्षिण कोरियामा थुपार्नु र त्यसलाई आफ्नो कृषिका फाल्तु उत्पादनको बजारमा झार्नु हो ।
एकबेला आफ्नो बढी खाद्यान्नलाई निर्यात गर्ने दक्षिण कोरियालाई आफ्नो कृषि उत्पादनको बजार बनाउन साम्राज्यवादीहरूले पहिले सित्तैमा दिने गरे, पछि ऋणमा दिए र अब रकम लिएर मात्रै दिन्छन् । १९६० मा साम्राज्यवादीहरूले दक्षिण कोरियामा १० लाख टन खाद्यान्न पठाए, १९७० मा २० लाख टन खाद्यान्न पठाए र १९९० का वर्षहरूमा हरेक वर्ष १ करोड टनभन्दा बढी खाद्यान्न पठाए ।
साम्राज्यवादीहरूले पहिले गहुँ, पिठो, कपास अनि मकै र गेडागुडी पठाए । १९८० तिर तिनीहरूले कोरियालीहरूको मुख्य खाना चामल र जौ नै पठाउन थाले । यसरी दक्षिण कोरियाली अधिकारीहरूले विदेशी कृषि उत्पादनहरू भित्याएर विदेशी शक्तिमाथि निर्भर रहने कृषि नीति अपनाई दक्षिण कोरियाको कृषिलाई ध्वस्त पारे ।
एक एक पाइला गरेर दक्षिण कोरियाको कृषिका सबै क्षेत्र र बजार साम्राज्यवादीहरूको हातमा पुग्यो । अब किसानहरूलाई बाली लाउने हो वा होइन भन्ने निर्णय गर्न पनि गा¥हो भइरहेको छ ।
त्यस्तै, १५ अगस्ट १९४५ देखि नै साम्राज्यवादीहरूले दक्षिण कोरियामा ‘पहिले तेल, दोस्रो कोइला’ भन्दै सारा उद्योग आफ्नो कब्जामा लिए र पछि खानी र अरु व्यवसायहरू पनि आफ्नो कब्जामा लिए ।
यही कथा हो– डा. पाकतोङ गुनले दक्षिण कोरियाको अर्थतन्त्रबारे गरेको मूल्याङ्कन । अब दक्षिण कोरियाकै सियोल राष्ट्रिय विश्वविद्यालयका दर्शन र सांस्कृतिक संस्थानका अध्यक्ष प्राध्यापक ताई किल किमको मूल्याङ्कनलाई हेरौँ । ‘आउँदा सङ्क्रमणकालीन युगमा मूल्य र मान्यताका समस्याहरू’ (Korea observer – A Quarterly Journal – Vol.xxiii No. 2 Summer 1992) भन्ने शीर्षकको उहाँको लेखले दक्षिण कोरियाको स्थितिलाई बुझ्न मद्दत दिन्छ । पुँजीवादी समाजमा उत्पादन र जनसङ्ख्यालाई हिसाब गर्दा सबै सम्पन्न छन् भन्ने भान हुन्छ, तर सच्चाइ भने त्यसो हुँदैन । कारखानाले जनसङ्ख्यामुताविक नै कार उत्पादन गर्दैमा सबै जनताले कार पाउँदैनन्, त्यो त हिसाबमात्रै हो । ती कारहरू निर्यात हुन्छन् वा धनीहरूले मात्रै उपभोग गर्छन् । खाने र लाउने कुरामा पनि झन्डै त्यस्तै हुन्छ, फेरि दक्षिणको उद्योगका पुँजी विदेशी हुन् वा ती सबै झिलिमिलीका मालिक विदेशी हुन् । १५ अगस्ट, १९४८ मा संरा अमेरिकाले आफैँले सीङ मन रीलाई दक्षिणको शासक बनायो र १९६१ मा ‘१६ मईको सैनिक विद्रोह’ गराएर पार्क चुङ हीमार्फत उनको हत्या गरायो । १९७९ मा पाक चुङ हीलाई पनि संरा अमेरिकाले नै हत्या गरायो । यसप्रकार साम्राज्यवादीहरू आफैँले बनाएका राष्ट्रपति र सरकारहरूलाई पनि पल्टाउँदै र बनाउँदै एक आपसमा मारकाट गराउँछन् ।
प्राध्यापक ताई किल किम भन्छन्, “सन् १९४५ मा जापानी औपनिवेशिक शासनबाट मुक्त भएको बेला कोरिया एक सा¥है दयनीय गरिब र अविकसित देश थियो । त्यसबेला उसले साबुन, दन्त मञ्जन, एउटा काँचका सामान र सिमेन्टसम्म उत्पादन गर्न सक्दैनथ्यो । सन् १९५०–५३ को अमेरिकी आक्रमणको विरोधमा भएको पितृभूमि मुक्ति युद्धपछि स्थिति झन् खराब भयो । सन् १९६५ तिर ‘आधुनिकीकरण’ को नाममा बाटाघाटाको निर्माण र कलकारखानाहरू खोलेर उद्योगमा ध्यान केन्द्रित गर्यो । राष्ट्रिय उत्पादन बढ्न थाल्यो । सन् १९७३ को तेल सङ्कट र सन् १९७९ को पाक चुङ हीको हत्या जस्तो राजनैतिक अस्थिरताको स्थितिसँग जुझेर भए पनि ४० वर्षअगाडि एउटा सिसाकलमसमेत बनाउन नसक्ने कोरियाले अब इलेक्ट्रोनिक उत्पादन र मोटरहरूसमेत उत्पादन गर्छ र सन् १९८६ मा एसियाली खेलकुद र सन् १९८८ मा ओलम्पिक खेलसमेत आयोजना गर्न सफल भयो ।
अहिले सालाखाला हरेक परिवारमा कमसेकम एउटा टेलिभिजन, एउटा टेलिफोन, एउटा रेफ्रिजरेटरजस्ता सामानहरू उपलब्ध छ भने ३० लाखभन्दा बढी कारहरू दर्ता गरिएका छन् । सहरहरूमा बसोबासको ठुलो समस्या भए पनि साधारणरूपले खाने र लाउने समस्या झण्डै समाधान भइसकेको छ ।
यी सबै भौतिक सुविधा ४०–५० वर्षभित्र भयो भने आध्यात्मिक अथवा मूल्य र मान्यताहरूको स्थिति झन्झन् गिर्दो छ । ‘हामी’ को ठाउँमा ‘म’ र ‘मेरो’ भन्नेजस्ता स्वार्थी र अहम्को भावनाले ठाउँ लिन थालेको छ । पुराना सामाजिक व्यवस्था विस्तारै टुक्रा टुक्रा हुँदै छ । पूर्वी युरोपमा समाजवादको असफलतापछि पनि युवावर्गमा ‘क्रान्तिकारी’ भावनामा कमी आएको छैन । यो कोरियाको मात्रै राष्ट्रिय समस्या नभई विश्वव्यापी समस्या पनि हो अर्थात् पुँजीवादसँगै आउने दुर्गुणहरू हुन् ।
सशस्त्र डकैती, सानातिना चोरीका घटनाहरू, लागूपदार्थ सेवन, यौन अनैतिकता, एड्स रोगका बिरामीहरू, अनियोजित औद्योगिकीकरणबाट हुने प्रदूषण आदि पुँजीवादका दुर्गुणहरूबाट (द) कोरिया आक्रान्त छ । पुराना मूल्य र मान्यताहरू सङ्कटमा छन् । सामाजिक जीवनभन्दा एक्लिएको जीवन, व्यक्ति व्यक्तिमा उछिन पाछिन, लागूपदार्थबाट हुने रोग र यौन रोगहरूको उपचारहरूलाई गम्भीररूपले सोच्नुपर्ने स्थिति आएको छ ।”
माथिका बयानले दक्षिण कोरियाको स्थितिबाट हामी के थाहा पाउँछौँ भने त्यहाँ अस्थिरता, असन्तोष र विरोध छ । उत्तरमा चोरी, डकैती, बलात्कार, बेकारी, लागूपदार्थ र एड्सजस्ता घटना र समस्याहरू छैनन् । स्थिति झन्डै उल्टो छ– उत्तर र दक्षिणमा–समाजवाद र पुँजीवादमा ।
कोरिया भ्रमणको बेला म विदेशी मित्रहरूसँग प्रजग कोरिया र प्योङयाङको प्रगति र कोरियाली जनताबारे ‘तपाईँलाई कस्तो लाग्यो’ भनेर सोध्ने गर्थेँ । म हरेक कुरालाई आत्मगत र वस्तुगत ढङ्गले बुझ्न चाहन्थेँ । फेरि भारत, चीन, पाकिस्तान, बर्मा, थाइलायन्ड र हङकङबारे मात्रै मेरो अनुभव थियो, युरोप वा पश्चिमी देशको आफ्नो प्रत्यक्ष ज्ञान नभएको हुँदा म खास गरेर पश्चिमेली मित्रहरूबाटै कोरियाबारे आफ्नो प्रभाव जान्न चाहन्थेँ ।
कोरियाबारे एसियाली र अफ्रिकी देशहरूका मित्रहरूको अभिव्यक्ति नेपालीहरूसँग मिल्दोजुल्दो थियो । यसकारण, म पश्चिमेली मित्रहरूकै तर्फबाट सुन्न र बुझ्न चाहन्थेँ । त्यस क्रममा एक जना बेलायती कम्युनिस्टले भने, तेस्रो विश्वको मुलुक भएर पनि यसको प्रगति ‘सरप्राइजिङ’ अर्थात् ‘आश्चर्यजनक’ छ । अरुहरूले पनि त्यहाँको सफाइ, अनुशासन, सडक र पेटी, पार्क र पोखरी, भवन निर्माण र वास्तुकला, कला र संस्कृति हेरेर भन्थे, ‘मिराकल’ (अद्भूत), ‘वन्डरफूल’ (अचम्मको), ‘स्प्लेन्डिड’ (असाध्य राम्रो), ‘ग्लोरियस’ (गौरवपूर्ण) आदि । छोटोमै तिनीहरू यसरी आफ्ना भावना वा प्रभाव व्यक्त गर्थे ।
हुन त २४ आश्विन २०५० को दिन नेपाल भ्रमणमा आएको युरोपेली संसदीय प्रतिनिधिमण्डलका एक फ्रान्सेली सदस्यले भक्तपुरबारे ‘स्प्लेन्डिड’ र नेपालको निम्ति पनि ‘सरप्राइजिङ’ र ‘वन्डरफूल’ शब्द प्रयोग गरेका थिए । विदेशीहरू नेपालको प्राकृतिक सौन्दर्य र प्राचीन कलाकृति हेरेर ‘पाराडाइज’ (स्वर्ग) शब्दको प्रयोग गर्छन् ।
प्योङयाङको निर्माण, प्रगति, भवनहरू र त्यसभित्रका कलाकृति, धातु र चिनियाँ माटोको कला, चित्रकारी, अन्य नाचगान र सुन्दरता हेर्दा प्रजग कोरिया युद्ध चाहने देश हो र कोरियालीहरू युद्धको तयारी गरिरहेका छन् भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन, किनभने युद्ध गर्ने उद्देश्य राखेको भए यत्रा ठुलठुला स्कूल, कलेज, विश्वविद्यालय, कला र सांस्कृतिक भवनहरू र कलाकृतिहरू किन निर्माण गर्थे ? कोरिया भ्रमण कोरिया घुम्ने कुनै पनि स्वस्थ व्यक्तिले कोरियामा फेरि युद्ध होस् वा सबै कलाकृति ध्वस्त होस् भन्ने कुरा चाहनै सक्दैन ।
यसकारण, कोरिया एक भएमा वा एक गर्न दिएमा युद्धका तनाव र सम्भावना नै कोरियाली प्रायःद्वीप र पूर्वी एसियाबाट हट्ने थियो । कोरियाली जनताको त्यो आकाङ्क्षा न्यायोचित छ, राष्ट्रपति किम इल सङको महासङ्घ बनाउने प्रस्ताव व्यवहारिक छ, हामी त्यसको पूरा समर्थन गर्दछौँ ।
त्यसो त १९९२ को १५ अप्रिलको दिन कोरियाली जनताका महान् नेता राष्ट्रपति किम इल सङले आफ्नो ८० औँ जन्मोत्सवको अवसरमा आफूलाई शुभकामना दिन आएका १३० देशका ४२० वटा सरकार, राजनैतिक पार्टीहरू र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिमण्डललाई प्रजग कोरियाको सरकारको तर्फबाट दिइएको रात्रिभोजमा उहाँको भाषणमा कोरिया र कोरियाली जनताको हृदयको ढुकढुकी प्रस्टरूपले प्रतिध्वनित भएको अनुभव गर्दछु । त्यस हृदयस्पर्शी र निश्छल भावना आज पनि मेरो मनमष्तिष्कमा ताजै छ,
“मेरो देशलाई मुक्त नगरिकन घर फर्कन्न भन्ने दृढता लिएर अम्नोक नदी हिजोअस्तिमात्रै पार गरेको जस्तो मलाई लागिरहेछ, तर म ८० वर्षको पुगिसकेको रहेछु । धेरै कामरेड र साथीहरूको यसरी अभिनन्दनबाट मैले आफ्नो ८० औँ जन्मदिन मनाइरहँदा मैले आफ्नो उर्लेको भावनालाई रोक्न सकिन्न ।
मैले क्रान्तिको बाटोमा टेकेदेखि नै म मेरा कामरेडहरू र मेरा साथीहरूको मायामा हुर्केको छु ।”
कोरियाली क्रान्तिको विजय र आफ्नो ८० वर्षको लामो जीवनको सार बताउनुभएपछि उहाँले देशको सा¥है हृदयविदारक स्थितिलाई पाहुनाहरूको अगाडि राख्नुभयो ।
“पुनःएकीकरण भएको देशमा सुखपूर्वक सँगै बस्ने हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा भएको छैन भन्ने कुरा मेरो मनमा छ । देशको मुक्तिको झण्डै ५० वर्ष पुग्न लाग्दा पनि हाम्रो देशको राष्ट्रिय विभाजनको पुनः एकीकरण हुन नसक्नु हाम्रो जनताको निम्ति ठुलो दुर्भाग्यको कुरा हो । देशको पुनः एकीकरण हाम्रो राष्ट्रको लामो समयदेखिको साझा इच्छा र आकाङ्क्षा हो र राष्ट्रप्रतिको मेरो आफ्नो प्रतिज्ञा हो ।”
हाम्रो देशको पुनःएकीकरण नहुनु विदेशी शक्तिहरूको प्रभावको कारण हो । विदेशी शक्तिहरूकै कारण राष्ट्रिय विभाजन भएको थियो । आज पनि ती नै शक्तिहरू राष्ट्रिय पुनःएकीकरणको मुख्य बाधकको रूपमा विद्यमान छन् । हामीले देशको पुनःएकीकरण सधँै हाम्रो आफ्नै राष्ट्रमा विश्वास गर्दै र हाम्रो आफ्नो राष्ट्रको प्रयत्नमै भर परेर गर्नुपर्छ । राष्ट्रिय पुनः एकीकरणको बाटोमा अझ पनि धेरै बाधाहरू छन् । तर, पुनःएकीकरणको भविष्य उज्यालो हुँदै आएको छ । लामो इतिहास र समय सापेक्ष सांस्कृतिक परम्परा भएको हाम्रो राष्ट्रको आत्मा जिउँदो छ र उत्तर, दक्षिण र समुद्र पारका देशभक्तहरूको अथक देशभक्तिपूर्ण सङ्घर्षहरूबाट पुनः एकीकरणको प्रेरक शक्ति झन्झन् दिनानुदिन बलियो हुँदै गइरहेछ ।
जनताको सेवा गर्नु एक क्रान्तिकारीको निम्ति सबभन्दा उच्च आदर्श र कर्तव्य हो । आफ्नो सारा जीवन जनताका निम्ति समर्पित हुनुजस्तो यश र गौरवको कुरो अरु हुन सक्दैन । जनताद्वारा माया र विश्वास पाएको हुँदा मेरो बाँकी जीवन पनि जनताको उद्देश्यको निम्ति अर्पण गर्ने इच्छा राख्छु । (The Pyongyang Times. No. 17 (1,637) Weekly, Saturday, April 18, 1992. Pyongyang, DPR Korea).
मेरो दोस्रो भ्रमणकै बेला राष्ट्रपति किम इल सङको ‘यस शताब्दीसँग’ भन्ने संस्मरणहरूको पहिलो भाग उपहारको रूपमा पाएको थिएँ । त्यही रात त्यस पुस्तकको केही पानाहरू पढ्न थालेँ । संस्मरणका प्रस्तावना पढेपछि का. किम इल सङको व्यक्तित्वबारे नयाँ नयाँ पक्षहरू उद्घाटन भएको मैले अनुभव गर्न थालेँ । अगाडिका पानाहरू पढ्दै जाँदा जापानविरोधी लडाइँको विजयपश्चात् घरको दैलामा पुग्दा उहाँको बज्यैले गर्नुभएको विलापपूर्ण प्रश्न पढेर मैले आफूलाई थाम्न सकिन्न । त्यहाँ मैले देशको सीमा, भाषा र राजनीतिलाई बिर्सेर सङ्लो मानवीय भावनाको दर्शन पाएँ ।
मेरो मनमा लाग्यो का. किम इल सङ एक राजनेता, रणविद् र सेनानायक मात्रै हुनुहुन्न । कवि हृदय भएको र सशक्त लेखनीका धनी पनि हुनुहुन्छ । आफ्ना बितेका साथीहरू, हराएका मित्रहरू र गुण लाएका मानिसहरूप्रति उहाँको निश्छल माया, चिन्ता र कृतज्ञताका भावनाहरू पढेर वा बुझेर मेरो मनमा श्रद्धाका लहरहरू उठ्थे । मन मनमा म कोरिया पुगेकोमा सा¥है सन्तोष लाग्यो र का. किम इल सङ जनताप्रति समर्पित नेता पाएर कोरियाली जनता धन्य छन् भन्ने लाग्यो । प्रचारले होइन, उहाँको भावना र व्यवहारले नै उहाँ कोरियाली जनताका महान् नेता हुनुभएको हो भन्ने कुरा मैले ठम्याएँ ।
मलाई के अनुभव भएको छ भने कोरिया र कोरियाली नेताहरू, अनि साहित्य र संस्कृतिबारे पनि नेपाली पाठकहरूलाई जानकारी दिँदै जानु नेपाली जनताको हितमा मात्रै होइन नेपाली र कोरियाली जनताको माझको मित्रतालाई बलियो बनाउन पनि सघाउनेछ । कोरियाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरेर दुई देशका जनताको सांस्कृतिक सम्बन्धलाई अझ विस्तृत र गहिरो बनाउनुपर्छ भन्ने पक्षमा म छु ।
समय पाएँ भने कोरियाबारे थप जानकारीहरूका साथ पाठक साथीहरूको माझमा आउने कोसिस गर्दै रहनेछु ।
धन्यवाद !

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *