भर्खरै :

“विश्वका क्रान्तिकारी महिलाहरू”: तुलनात्मक अध्ययन एक अवसर – २

“विश्वका क्रान्तिकारी महिलाहरू”: तुलनात्मक अध्ययन एक अवसर – २

‘विश्वका क्रान्तिकारी महिलाहरू’ को छैटौँ स्थानमा रहेका अलेक्जान्ड्रा कोलोन्ताइबारे २ पृष्ठमा मात्र चर्चा गरिएको पाइन्छ । सन् १८७२ मार्च १९ मा जन्मेका कालोन्ताइको सङ्घर्षको कथा र योगदान वर्गीय तथा लैङ्गिक समानताको अभियानको लागि उत्प्रेरक दस्ताबेज बनेको छ । २०–२१ वर्षको उमेरमा जोडेको वैवाहिक सम्बन्धले जीवनको उद्देश्यलाई अवरोध गरेपछि कोलोन्ताइले सम्बन्ध विच्छेद गरिन् । प्रजातान्त्रिक क्रान्तिमा सक्रिय हुने क्रममा सन् १९०६ मा रुसी सामाजिक जनवादी पार्टीका बोल्शेभिक समूहमा सामेल भइन् । लेनिनलाई सघाएको आरोपमा कालोन्ताइलाई स्वीडेनमा निर्वासित जीवन बिताउन बाध्य पारियो । कोलोन्ताइको सक्रियता रोकेर रोक्न सक्ने स्थिति थिएन । लेनिनका पुस्तकहरू अनुवाद गर्ने र विभिन्न पत्रिकामा लेख लेख्ने सँगसँगै कोलोन्ताइले अक्टोबर क्रान्तिअघि १२३ सभाहरूमा ११ वटा भाषाबाट भाषन गरिन् । क्रान्तिपछि सन् १९२० मा कोलोन्ताइ रुसी कम्युनिस्ट पार्टीको महिला विभागकी प्रमुख भइन् । कूटनीतिज्ञ भई विभिन्न देशबाट सेवा गरेका कोलोन्ताइले कामदार वर्गको पक्षमा कथा र उपन्यासहरू लेखिन् ।
सन् १८८२ मा म्यानचेस्टरमा जन्मेका सिलभिया पानखुुस्ट ‘विश्वका क्रान्तिकारी महिलाहरू’ भित्र समेटिएकी एक मात्र बेलायती हुन् । सन् १९०३ मा आफ्नै आमा इमिलाइन पानखुस्टले स्थापना गरेको सामाजिक र राजनीतिक महिला सङ्घमा आबद्ध भएर लैङ्गिक समानताको लागि सक्रिय भइन् । सन् १९१२ देखि १९२० सम्म महिला मताधिकार र सामाजिक परिवर्तनको मूल उद्देश्य राखी अभियान चलाइन् । सिलभिया वर्गभेद र जातिभेदको विरोधमा जुझारु बनेपछि आमाको महिला सङ्घबाट निष्कासनमा परिन् । सिलभिया बुबा डा. रिचार्ड पानखुस्टले सिकाएको समाजवादी धारमा यथावत् रहिन् । क्लारा र रोजाजस्तै सिलभिया पनि अन्धराष्ट्रवादको विरोधमा लडिन् । प्रथम विश्वयुद्धमा मजदुर किसानका छोराछोरी अर्को देशका सिपाहीसँग लड्नुभन्दा आफ्नै देशको प्रतिक्रियावादी शासकहरूविरुद्ध बन्दुक उठाउनुपर्ने लेनिनको नीतिको दृढ समर्थक रहिन् । सन् १९३६ देखि सिलभियाले प्रकाशन गरेको साप्ताहिक पत्रिका २० वर्षसम्म चल्यो । उक्त पत्रिका हप्तामा ४० हजार प्रतिसम्म बिक्री हुन्थ्यो ।
येनानको गुफामा गएर माओ त्सेतुङको अन्तर्वार्ता लिने अन्ना लुइस स्ट्रङ्गको जन्म सन् १८८५ संरा अमेरिकाको नेब्रास्कामा भयो । विश्व जगत्लाई साम्राज्यवादी आणविक आतङ्कबाट मुक्त गराउने ‘साम्राज्यवाद कागजको बाघ भएजस्तै आणविक बम पनि कागजको बाघ हो’ भन्ने माओको अमरवाणी पत्रकार अन्नाले नै बाँकी विश्वलाई अवगत गराएकी हुन् । कार्ल माक्र्सले जस्तै २३ वर्षको उमेरमै दर्शनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका अन्ना पहिलो विश्वयुद्धमा आफ्नो देश संरा अमेरिकाको साम्राज्यवादी नीतिको विरोधमा लडिन् । संरा अमेरिकामा छँदै सन् १९१८ मा लेनिनको भाषण सम्पादन गरी २० हजार प्रति छपाएर उत्तरपश्चिम अमेरिका तथा क्यानाडामा वितरण गरिन् । अन्ना ३० वर्षसम्म सोभियत सङ्घमा बसेर लेखन–प्रकाशन क्षेत्रमा सक्रिय भइन् । मेक्सिको, संरा अमेरिका, सोभियत सङ्घ, लाओस, चीनको विभिन्न प्रान्तमा पटक पटक भ्रमण गरी रिपोर्ट तयार पारेका अन्नाले सोभियत र चिनियाँ क्रान्तिको पक्षमा र साम्राज्यवादको विपक्षमा जनमत तयार पार्न जीवनभर निकै लेख तथा पुस्तक प्रकाशन गराएका छन् । रातरातभर टाइप गर्न पनि नथाक्ने अन्नाको टाइपराइटरको आवाज सन् १९७० मार्च महिनामा ८५ वर्षको उमेरमा सदाको लागि बन्द भयो ।
अन्नाजस्तै चीनको क्रान्तिलाई मद्दत गर्ने अर्को पत्रकार एग्नेज स्मेडको जन्म सन् १८९२ संरा अमेरिकाको मिसौरीमा भयो । विद्रोही प्रवृत्तिका एग्नेजको न्युयोर्कमा भारतीय लाला लाजपत रायसँग भेट भयो । एग्नेजले भारतीय इतिहास र अवस्थाबारे जानकारी पाइन् । सन् १९१९ मा एग्नेज जर्मनी पुगिन् । त्यहाँ भारतीय वीरेन्द्रनाथ चट्टोपाध्यायसँग विवाह गरिन् । सन् १९२१ मा भारतीय प्रतिनिधिमण्डलको एक सदस्यको रूपमा सोभियत सङ्घ भ्रमण गरिन् । सन् १९२१–२८ सम्म बर्लिन विश्वविद्यालयमा अध्यापन गरिन् । सन् १९२८ मै पत्रकारको रूपमा एग्नेज चीनको विभिन्न प्रान्तमा पुगिन् । ‘चिनियाँ भाग्य’ पुस्तक लेखिन् । देशप्रति गम्भीर मानिसहरूलाई भेटाउने क्षमता भएका एग्नेजले पटक पटक चीन भ्रमण गर्दा चीनका नेताहरू, साहित्यकारहरूसँग अन्तरसंवाद गरिन् । चिनियाँ क्रान्तिबारे रेडियोमार्फत पनि बाँकी विश्वका जनतालाई सचेत गराउने एग्नेजले चिनियाँ नेता चु–तेहको जीवनी प्रकाशन गरिन् । क्रान्तिपछि चीन आउने एग्नेजको इच्छा पूरा नभए पनि उनकै इच्छानुसार उनको अस्तु चीन लगिएको थियो ।
चिनियाँ गणतन्त्रका पहिलो राष्ट्रपति सन यात सेनका श्रीमती सुङ चिङ लिङको जन्म सन् १८९५ शाङ्घाईमा भयो । आफ्नो बुबासँगको सम्बन्धको कारण सुङ र सन यात सेनबिच परिचय भयो । राजनीतिक विचार मिलेको कारण सन् १९१४ मा ४९ वर्षीय सेनसँग १९ वर्षकी सुङको विवाह जापानमा भयो । सुङकी बहिनी सुङ मै लिङले कोमिङताङकै नेता च्याङकाइ सेकसँग विवाह गरिन् । संरा अमेरिकामा हुर्केका सुङले चिनियाँ कम्युनिस्ट पार्टी र कोमिङताङबिच सम्बन्ध सुदृढ बनाउन ठुलो योगदान दिइन् । सन यात सेनको तीन सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र जनताको जीविकालाई वामपन्थी ढङ्गबाट व्याख्या गर्ने सुङ क्रान्तिपछि सन् १९६८ सम्म चिनियाँ जनप्रतिनिधिसभाको उपाध्यक्ष भई सेवा गरिन् । केही समय चिनियाँ कार्यवाहक राज्य प्रमुखको जिम्मेवारी सम्हालेका सुङ सन् १९७१ मा फेरि जनप्रतिनिधिसभाको उपाध्यक्ष भइन् ।
सन् १८९५ मै चीनमा जन्मेका शियाङ चिङ यू सन् १९२३ मा चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो महिला केन्द्रीय सदस्य भइन् । सामन्ती रीतिरिवाज र स्वास्नीमानिसहरूमाथि हुने असमानताको विरोध गर्दै हुर्केकी शियाङ माओ त्सेतुङसँग मिलेर जन अध्ययन मण्डलमा सामेल भएकी थिइन् । सन् १९१९ मा ‘काम र अध्ययन गर्ने कार्यक्रम’ अन्तर्गत पुनः निर्माणमा काम र अध्ययन गर्न चाउ एन लाई र तङ श्यायो पिङजस्तै शियाङ फ्रान्समा गइन् । पेरिसमा चिनियाँ युवाहरू मजदुर आन्दोलन र माक्र्सवादबाट प्रशिक्षित भए । फ्रान्सबाट फर्केपछि शियाङ याङ्सी नदी किनार, साङघाईलगायत क्षेत्रका महिला मजदुरहरूबिच सक्रिय भइन् । सन् १९२७ मा च्याङकाई सेकले कम्युनिस्ट कोमिताङको संयुक्त मोर्चालाई विश्वासघात गरी साम्राज्यवादीहरूसँग मिल्न गएपछि शियाङ भूमिगत भइन् । शियाङले सशस्त्र शक्तिलाई पुनः सङ्गठन गर्ने, हातहतियार सङ्कलन गर्ने र आधार इलाका निर्माण गर्ने जिम्मा पाएकी थिइन् । सन् १९२८ मा शियाङ फ्रान्सेली इलाकामा पक्राउ परिन् । उनले फ्रान्सेली भाषामै भनिन्, “स्वतन्त्रता, समता र भ्रातृत्वको नारा फ्रान्सकै हो । के तिमीहरूले मेरो स्वतन्त्रतामा हस्तक्षेप गर्दै छौ ?” फ्रान्सेलीहरूले शियाङलाई कोमिङताङ सरकारलाई सुम्प्यो । शियाङले निडर भएर भनिन्, “क्रान्तिकारीहरू बगरेको चुपीबाट डराउँदैनन् ।”
जापानी साम्राज्यवादविरुद्ध दृढतापूर्वक लडिरहेको क्रान्तिकारी परिवारमा सन् १९१७ डिसेम्बर २४ का दिन किम जोङ सुकको जन्म भयो । सुकका हजुरबुबा र बुबाले देशभक्तिपूर्ण लडाइँमा शहादत प्राप्त गरेका थिए । दाइ पनि टाढाटाढा जिल्लासम्म गई क्रान्तिकारी गतिविधिमै सक्रिय थिए । पारिवारिक वातावरणबाटै किम जोङ सुकले कोरियाली जनताको असहनीय दुःख र कोरियाको दुर्भाग्यको कारण जापानी साम्राज्यवाद र देशद्रोहीहरू हुन् भन्ने बुझिन् । १४ वर्षको उमेरमै सुक क्रान्तिकारी बाल सङ्गठनमा प्रवेश गरिन् । १५ वर्षको उमेरमा कोरियाली युवा कम्युनिस्ट लिगको सदस्य भइन् । सुक १८ वर्षको हुँदा पहिलोपटक सेनापति किम इल सङसँग भेट भयो । सेनापति किम इल सङको क्रान्तिकारी विचार रक्षा गर्न कटिबद्ध किम जोङ सुकले किम इल सङलाई हत्या गर्ने शत्रुको योजनालाई पनि ध्वस्त पारिन् । क्रान्तिकै क्रममा किम जोङ सुकको सेनापति किम इल सङसँग विवाह भयो ।
दक्षिण भियतनामको सशस्त्र मुक्ति सेनाका उपसेना नेतृ न्गुयन थि डिन्हको जन्म मिति ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकमा छैन । यद्यपि, सन् १९३० को विद्रोहमा आफ्नो दाजु जेल पर्दा ११ वर्ष पुगेको बताइएको हुँदा उनको जन्म सन् १९१९ मा भएको बुझ्न सकिन्छ । क्युवाली पत्रकारहरूले अन्तर्वार्ता गरेर तयार पारिएको आत्मपरक शैलीको परिचयात्मक रचनाबाट सानै उमेरदेखि नै न्गुयन थि डिन्ह फ्रान्सेली साम्राज्यवादविरुद्ध क्रान्तिमा होमिएको थाहा पाइन्छ । भियतनामको बेन्ट्री प्रान्तमा हतियार उठाउने पहिलो व्यक्ति नै न्गुयन थि डिन्ह थिइन् । सन् १९३५ मा क्रान्तिकारी गतिविधिमा सक्रिय भएपछि नै लेखपढ गर्न सिकेका डिन्हलाई जिउँदै समातेर ल्याउनेलाई ५ लाख रूपैयाँ पियास्टर र मार्नेलाई १ लाख इनाम दिने घोषणा गरिएको थियो । समुन्द्रमा आँधीबेरी आउँदा वा सुरुङमा शत्रुले पक्राउ गर्दा धेरैपटक जनताको सहयोगबाट बाँचेका डिन्हले त्यो व्यक्तिगत जीवनको सफलता नभई क्रान्ति, जनता र क्रान्तिकारी नेताहरूको सफलताको रूपमा अथ्र्याउँथिन् ।
सोभियत क्रान्तिकारी जोया कस्मोदिम्यान्स्कायाको जन्म मिति पनि यस किताबमा छैन । सन् १९४१ मा जोयालाई झुण्ड्याएर मार्दा १८ वर्ष उल्लेख हुनुले उनको जन्म सन् १९२३ मा भएको मान्न सकिन्छ । दोस्रो विश्वयुद्धमा जर्मनले कब्जा जमाइसकेको सोभियत भूभागहरूमा बसेर बहादुरीपूर्वक सङ्घर्षरत जोयाले त्यस क्षेत्रको टेलिफोन धुजाधुजा पारिसकेकी थिइन् । जर्मन सेनाको तबेलामा आगो लगाउन लाग्दा जोया पक्राउ परिन् । जोयालाई चरम यातना दिइयो । उनको पिठ्यूँ, खुट्टा, हात र जिउभरि कोर्दाको निलडामै निलडाम थिए । अदम्य साहसका धनी जोयाले अन्तिम समयसम्म भनिन्, “मेरा पछाडि २० करोड जनता छन् र तिनीहरू सबैलाई तिमीहरू मार्न सक्नेछैनौ ।”
भिल्मा एस्पिन गुइलोइसको जन्म सन् १९३० अप्रिल ७ को दिन क्युवाको सान्टियागोमा भएको थियो । सन् १९५२ मा संरा अमेरिकी कठपुतली बाटिष्टा सैनिक विद्रोहविरुद्ध विद्यार्थी आन्दोलनमा भिल्मा सक्रिय भइन् । फिडेल क्यास्ट्रोले नेतृत्व गरेको गुरिल्ला युद्धमा मोन्काडा छाउनी आक्रमण असफल भएपछि क्रान्तिकारी सिपाहीहरूलाई भिल्माले आफ्नो घरमा सुरक्षा दिइन् । सन् १९५६ नोभेम्बर ३० मा ग्रान्मा गुरिल्लाले सान्टियागोमा आक्रमण गरी कब्जा गरेपछि भिल्माको घर पार्टीको मुख्य कार्यालय बन्यो । सन् १९५८ देखि क्रान्तिकारी सेना बनेर वीरतापूर्वक युद्ध लडेका भिल्माले क्रान्तिपछि महिलाहरूको सङ्गठनलाई एकीकृत पार्ने जिम्मेवारी पाइन् । क्युवाली संविधान निर्माणको क्रममा संविधानमा महिलाहरूको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिइन् ।
‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकको अन्तिममा, १६ औँ स्थानमा दिइएका सीता बायसको परिचयले उनीबारे थप अध्ययन गर्न घच्घच्याउँछ । १९७७ मे २७ मा भएको सत्ता विप्लवबारे कारण र परिणामको गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने आवश्यकता बोध गराउँछ ।
सन् १८१४ देखि सन् १९५१ सम्म जन्मेका ९ वटा देशका १६ जना क्रान्तिकारी महिलाहरूको कष्टपूर्ण सङ्घर्ष, उच्च निष्ठा र कामदार जनताप्रति निःसर्त समर्पणका गाथाबाट नेपाली कामदार महिलाहरूलाई क्रान्तिमा होमिन अभिप्रेरित गर्दछ । जीवनीहरूको सङ्कलन र प्रकाशन गर्ने नेक्रामसङ्घलाई बधाई छ ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *