भर्खरै :

रुसी साम्राज्यमा भूदास प्रथा

रुसी साम्राज्यमा भूदास प्रथा

भूदास प्रथा
सामन्तवादी समाजमा जमिनदारको खेतमा बिनाज्याला पुस्तैनी काम गर्न बाध्य पारिएका बाँधा खेती मजदुरलाई भूदास भनिन्छ । भूदासको आफ्नो खेत हुँदैन । बस्न र खानको निम्ति जमिनदारले सानो टुक्रा खेत दिएको हुन्छ र त्यसबापत भूदासले वर्षभरि जमिनदार, चर्च वा राज्यको खेतमा काम गर्नुपर्छ । भूदासहरू कानुनीरूपमा मालिकको खेतसँग बाँधिएका हुन्छन् । भूदासलाई हिँडडुलको स्वतन्त्रता हुँदैन । आफू बसेको बाहेक अन्य गाउँ वा जिल्ला जानुपर्दा भूदासले मालिकसँग अनुमति लिनुपर्छ । सामान्यतः आफूले काम गरेको खेत बेचिँदा भूदासहरू पनि बेचिन्छन् र नयाँ मालिकको निम्ति काम गर्नुपर्ने हुन्छ ।
भूदासको सामान्य अर्थ भूमिसँग बाँधिएको दास हो । तर, भूदास र दासबिच केही भिन्नताहरू छन् । दासहरू मालिकका अन्य सरसामानजस्तै सम्पत्ति मानिन्छन् भने भूदासहरू राज्यका सबभन्दा तल्लो दर्जाका बासिन्दा हुन् । भूदासलाई सामान्य सरसामान वा सम्पत्ति र राख्ने र पशुपालन गर्ने अधिकार हुन्छ । मान्छेको रूपमा नगनिने हुनाले दासले कर तिर्नुपर्दैन भने भूदासले नियमितरूपमा राज्यलाई कर बुझाउनुपर्छ; युद्धको समयमा थप कर बुझाउनुपर्छ र आवश्यकताअनुसार सेनामा सहभागी हुनुपर्छ । दासको खानपानको व्यवस्था मालिकले गर्छ भने भूदासले आफ्नो व्यवस्था आफैँ मिलाउनुपर्छ ।

रुसमा भूदास प्रथा
युद्ध र महामारीका कारण कुलीन र जमिनदारहरूको खेतमा काम गर्ने किसानहरूको कमी भएको समयमा किसानहरू नभागून् भनी जमिनसँग बाँध्ने उपायको रूपमा भूदास प्रथा सुरू भएको हो ।
बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपेली देशमा भूदास प्रथाको सुरूआत १० औँ शताब्दीमा भएको थियो । नयाँ ज्ञान र प्रविधिका कारण आर्थिक व्यवस्थामा आएको परिवर्तन, जनसङ्ख्या वृद्धि र भूदास विद्रोहहरूसँगै पश्चिम युरोपमा १५ औँ र १६ औँ शताब्दीमा भूदास प्रथा कमजोर हुँदै गयो । १८ औँ शताब्दीको अन्त्यमा सुरू भएको औद्योगिक क्रान्ति (सन् १७८०) र फ्रान्सेली राज्य क्रान्ति (सन् १७८९) ले पश्चिम युरोपमा भूदास प्रथा निर्मूल पा¥यो ।
पश्चिम युरोपमा भूदास प्रथा ओइलाउँदै गर्दा पूर्वी युरोपमा भूदास प्रथाले जग हाल्दै थियो । पूर्वी युरोपमा खेतीयोग्य जमिन धेरै थियो भने मानिसको बसोबास पातलो थियो । त्यसकारण, पश्चिम युरोपबाट पूर्वी युरोपमा बसाइँसराइको प्रक्रिया निरन्तर चलिरहेको थियो । तर, सन् १३४७–१३५१ सम्म युरोपमा फैलेको प्लेग रोगले युरोपको आधा जनसङ्ख्याको मृत्यु भयो । त्यसपछि पश्चिमबाट पूर्वमा हुने बसाइँसराइको प्रक्रिया रोकियो । यसले पूर्वी युरोपमा जमिनको दाँजोमा खेती गर्ने मानिसको कमी भयो । बिस्तारै स्थानीय शासकहरूले किसानलाई जमिनसँगै बाँध्ने भूदास प्रथाको कानुनी आधार तयार गर्न थाले । पश्चिम युरोपमा कृषि उत्पादनको माग बढेसँगै पूर्वी युरोपका राज्य र जमिनदारहरूले निर्यात बढाएर नाफा कमाउन भूदास प्रथा अझ कसिलो बनाए ।
यही क्रममा मस्को वरपर केन्द्रित रुसी राज्यले आफ्नो भूमि विस्तार गर्न थाल्यो । विस्तारित भूमि राज्यका सैनिक अधिकारी र भारदारहरूलाई बिर्ताको रूपमा वितरण गरियो । राज्य विस्तारमा उत्साहित पार्न कुलीन वर्ग र जमिनदारहरूको पक्षमा किसानहरूलाई जमिनदारको अनुमतिबिना गाउँबाहिर जान नपाउने र खेतसँगै बाँध्ने कानुनहरू बनाउन थालियो ।
सन् १६४९ मा रुसी राजसभाले जारी गरेको कानुनले रुसी किसानहरूलाई पूर्णतः जमिनदार अधीनस्थ भूदासमा परिणत ग¥यो । गाउँबाट भाग्ने किसानलाई अपराधी घोषणा गर्ने र जमिनबिना पनि जमिनदारले आफ्ना भूदास बेच्न पाउने कानुन लागु भयो । बेचिएका भूदासको सम्पत्ति र परिवार पुरानो मालिकले नै राख्ने गथ्र्याे । सन् १६७० र १७१९ को तथ्याङ्कअनुसार रुसका ८० प्रतिशत किसान भूदासमा परिणत भइसकेका थिए । रुसको उत्तरी र उत्तरपूर्वी क्षेत्रमा मात्र स्वतन्त्र किसानहरू थिए ।
भूदासहरूले मालिकको अनुमतिबेगर विवाह गर्न र अन्य पेसामा लाग्न पाउँदैनथे । श्रम शक्ति बाहिर नपठाउन मालिकले आफ्नै खेतमा काम गर्ने भूदास पुरुष वा महिलासँग मात्र विवाह गर्ने अनुमति दिन्थे ।
कुनै पनि बहानामा मालिकले भूदासलाई मारपिट गर्न र यातना दिन सक्थ्यो तर त्यसविरूद्ध उजुरी गर्ने अधिकार भूदासलाई थिएन ।
१८ औँ शताब्दीको अन्त्यतिर गएर पँुजीपतिहरूलाई कलकारखानामा भूदासलाई काम गराउने अनुमति दिन थालियो । सन् १८२५ मा रुसी कलकारखानामा काम गर्ने मजदुरमा ५२ प्रतिशत भूदास थिए । तर, ती मजदुर बनाइएका भूदासलाई जमिन उपलब्ध गराइएको थिएन ।
डिसेम्बरवादी र भूदास प्रथा
कुलीन र जमिनदारवर्गले चर्चको सहयोगमा जारको प्रतिनिधिको रूपमा गाउँको प्रशासन चलाउँथे । युद्धको बेला कुलीन र जमिनदारवर्गका लोग्नेमानिसले सैनिक अफिसरको काम गर्थे भने राज्यको मागअनुसार आफ्नो अधीनमा रहेका भूदासहरूलाई सेनामा भर्ती गर्थे । युद्धमा देखाएको वीरता र राज्यमा गरेको सेवाको आधारमा जारले कुलीनवर्गलाई मानपदवी र जग्गा प्रदान गर्थे । भूदासहरूको परिश्रमले उब्जेको अन्न नै कुलीनवर्गको आर्थिक आधार थियो ।
अधिकांश डिसेम्बरवादी युवाहरू यस्तै कुलीन परिवारबाट आएका थिए । भूदासहरूकै पसिनाको बलमा आर्जेको सम्पत्तिले यी युवाहरूले देश–विदेशका उच्च शिक्षालयहरूमा शिक्षा आर्जन गरेका थिए ।
सन् १७८९ मा फ्रान्समा पुँजीपतिवर्गको नेतृत्वमा सामन्तवर्गविरूद्ध क्रान्तिको उद्घोष भयो । सम्राटको स्वेच्छाचारिताविरूद्ध उठेको उक्त आन्दोलनले सम्राटलाई संविधानको दायराभित्र कैद गर्ने कोसिस ग¥यो । सम्राट लुई १६ औँ संवैधानिक दायराभित्र बस्न नमान्दा उनी मानिस मार्ने यन्त्र गिलोटिनमा काटिए । फ्रान्सेली क्रान्तिले समानता, स्वतन्त्रता र भ्रातृत्वको मानवतावादी नारा अगाडि सारेको थियो । जन्मको आधारमा मानिसको मूल्य निर्धारण हुने विभेदकारी सामन्ती युगमा सबै मानिस समान छन् र सारा मानिस दाजुभाइ हुन् भन्ने क्रान्तिकारी नारा थियो । फ्रान्समा नेपोलियनको उदय र युरोपभरि प्रभुत्व जमाउने उनको युद्धसँगै यो क्रान्तिकारी नारा युरोपका सबै सामन्ती राज्यहरूमा गुञ्जियो ।
सन् १८१२ मा नेपोलियनले रुसमा आक्रमण गरेर मस्को कब्जा गरे । रुसका केही भूदासले नेपोलियनको सहयोगमा स्वतन्त्र हुने सपना देखेका थिए । तर, नेपोलियनको उद्देश्य रुसी भूदासहरूको मुक्तिभन्दा पनि रुसलाई हराएर बेलायतविरूद्धको युद्धमा रुसलाई आफ्नो पक्षमा ल्याउनु थियो । गलत रणनीतिका कारण नेपोलियन मस्को पुगेर पनि पछि हट्नुप¥यो । सन् १८१३–१८१४ को नेपोलियनविरोधी रुसको युद्ध डिसेम्बरवादी युवाहरूको निम्ति देशभक्तिपूर्ण युद्ध थियो । युद्धको क्रममा नेपोलियनको सेनालाई लखेट्दै रुसी सैनिक पश्चिम युरोपका विभिन्न क्षेत्रमा पुगे । पेरिस, लियोँ र ब्रसेल्सजस्ता औद्योगिकरूपमा अगाडि बढेका तथा राजनीतिक र सामाजिकरूपमा उदार विचार फैलिएका सहरहरूको बसाइँले उनीहरूमा गहिरो छाप पा¥यो । भूदासविहीन पश्चिम युरोपेली समाज उनीहरूको निम्ति नौलो र कल्पनाबाहिरको संसार थियो ।
रुसी राजकाज, प्रशासन र सेनाको महत्वपूर्ण पदमा रहेका परिवारबाट आएका ती युवाहरूबिच रुसको राज्य व्यवस्थामा सुधार र परिवर्तन गर्नुपर्ने विषयमा छलफल हुन थाल्यो । ती सुधारहरूमा दुई महत्वपूर्ण बुँदा थिए – रुसी राजा जारको तानाशाहीको अन्त्य र भूदासहरूको मुक्ति । मानवीय स्वतन्त्रता र औद्योगिक विकासबिना रुस पश्चिम युरोपको दाँजोमा अगाडि बढ्न सक्दैन भन्ने कुरामा ती युवाहरू स्पष्ट थिए । भूदास प्रथाको कारण रुसी किसानहरू बाँधिएका थिए । श्रम बजार खुला नहुँदा रुसको औद्योगीकरणमा भूदास प्रथा एउटा पर्खाल बनेर उभिएको थियो ।
सुरूमा ती युवाले व्यक्तिगत र सङ्गठितरूपमा जारलाई बिन्तीपत्र लेखे† सुधारको खाका कोरेर सुझाव दिए । तर, जारले ती सुधारहरू स्वीकारेनन् । ‘रुस आफैँ एउटा ठुलो सैनिक शक्ति हो; पश्चिम युरोपको बाटोमा होइन, रुस स्लाभ जाति सुहाउँदो छुट्टै बाटोमा अगाडि बढ्नुपर्छ’ भन्ने मत रुसी दरबारमा बलियो थियो । भूदासहरूको पसिनाबाट आर्थिक उपार्जन गरिरहेको कुलीनवर्गको ठुलो हिस्सा भूदास मोचनको विरोधमा थियो ।
अन्ततः ती युवाले सैनिक विद्रोह नै अन्तिम बाटो भएको निधो गरे । सन् १८२० मा स्पेन र इटालीमा गुप्त समाजहरूको नेतृत्वमा संवैधानिक व्यवस्थाको पक्षमा भएका सफल सैनिक विद्रोहहरूबाट उनीहरू उत्साहित थिए । निकिता मुराभ्योभले नेतृत्व गरेको ‘उत्तरी समाज’ को कार्यक्रममा भूदासहरूलाई जमिनदारको खेतको बन्धनबाट मुक्त गर्ने कुरा थियो । पाभेल पेस्तेलले नेतृत्व गरेको ‘दक्षिणी समाज’ को कार्यक्रममा राज्यको सम्पूर्ण जग्गाजमिन राष्ट्रियकरण गर्ने र त्यसको आधा भाग मुक्त भूदासहरूलाई वितरण गर्ने लेखिएको थियो । तर, दुवै समूहले सामन्ती शोषणमा बाँधिएका भूदासहरूलाई सङ्गठित गर्ने र उनीहरूबिच आफ्नो उद्देश्यबारे प्रचार गर्ने आवश्यकता महसुस गरेनन् । कुलीन र शिक्षितवर्गबाहेक व्यापक जनता वा भूदासहरूलाई विद्रोहमा सामेल गराएको खण्डमा विद्रोह अनियन्त्रित र अव्यवस्थित हुनसक्छ भन्ने विचार उनीहरूमा बलियो थियो ।
भूदास मोचन
डिसेम्बर विद्रोहको असफलतासँगै जार निकोलसको रुसी साम्राज्यमा सुधारको सम्भावना समाप्त भयो । सन् १८२५ देखि १८५५ सम्मको जार निकोलसको ३० वर्षे शासनलाई राजनीतिकरूपमा अँध्यारो युग भनिन्छ । सन् १८५३ मा सुरू भएको क्रिमिया युद्धमा रुसको औद्योगिक पछौटेपन स्पष्ट भयो । बेलायत र फ्रान्सको बाफको इन्जिनजडित आधुनिक जहाजहरूले काला सागरको किनारमा रहेका रुसी जहाजहरूलाई पूर्णतः ध्वस्त पारे । पराजयको यो धक्काले जार निकोलस नराम्ररी थलिए र सन् १८५५ मा उनको निधन भयो ।
युरोपमा सबभन्दा ठुलो र बलियो भनिएको रुसी सेनाको हारले निकोलसका छोरा जार अलेक्सान्दर दोस्रोलाई रुसको सामाजिक संरचनामा सुधार गर्न बाध्य बनायो । तल्लो तहको विद्रोहबाट सुधार हुनुभन्दा माथिबाट सुधार गर्नु शासकको निम्ति राम्रो कुरा हो भन्नेमा उनी स्पष्ट थिए । १८६१ को फेब्रुअरीमा अलेक्सान्दर दोस्रोले भूदास मोचनको घोषणा गरे । कुलीनवर्गले तयार पारेको यो घोषणाअनुसार रुसका सम्पूर्ण भूदासहरू किसानमा परिणत भए । मुक्तिको घोषणामा किसानहरूले आफूले जोतिआएको जग्गाको केही भाग किन्न पाउने व्यवस्था थियो । जग्गाको मूल्य राज्यले किसानलाई ऋणको रूपमा प्रदान गर्ने र ४९ वर्षको किस्ताबन्दीमा किसानले राज्यलाई फिर्ता गर्नुपर्ने प्रावधान थियो । कुलीन वर्गलाई मुक्तिको घोषणाले कुनै घाटा भएन तर मुक्त भयौ भनिएका किसानहरूको काँधमा राज्यको ऋणको भारी बोकाइयो । यो नक्कली मुक्तिले किसानहरूबिच असन्तोष फैलियो । यो असन्तोष नै जारविरोधी सङ्घर्षहरूको बीउ बनिरह्यो । यो सिलसिला १९१७ को अक्टोबर क्रान्तिमा गएर मात्र टुङ्गियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *