भर्खरै :

पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिहरूसँग लिएको ‘घुस’ हो

पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिहरूसँग लिएको ‘घुस’ हो

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा पार्टीको धारणाबारे केन्द्रित रहेर पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘श्रमिक’ साप्ताहिकका प्रतिनिधिले लिएको अन्तर्वार्ता

  • अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षमा प्रवेश ग¥यो । यस महत्वपूर्ण अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी तथा मित्रहरूलाई के सन्देश दिनुहुन्छ ?
    नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी र मित्रहरूलाई नेमकिपाको स्थापनाका ५० औँ वर्षको अवसरमा साथीहरूले हाम्रो पार्टीका सबै आन्दोलन, सङ्घर्ष, सैद्धान्तिक र राजनैतिक सङ्घर्षहरूमा साथ दिनुभएको छ हाम्रो सफलता र उपलब्धिहरूलाई हाम्रै देश र जनताको सुख दुःख र गौरवको रूपमा लिन अनुरोध गर्दछु । त्यसको निम्ति सबैलाई धन्यवाद दिन चाहन्छु ।
    ५० वर्षको सङ्घर्षको अनुभवबाट हासिल गरेका समाजको आमूल परिवर्तनको निम्ति आगामी वर्गसङ्घर्ष, राजनैतिक र सैद्धान्तिक सङ्घर्षको निम्ति सदा तयार रहन पनि सल्लाह दिन चाहन्छु ।
    अबका हाम्रा सङ्घर्षहरू पिपलपाते र छद्मवेशी क्रान्तिकारीहरूसँग हुने निश्चय छ ।
  • नेमकिपाको सङ्घर्षको पाँच दशकको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
    नेमकिपाको पाँच दशकको सङ्घर्षको अनुभवमा समाजको आमूल परिवर्तनको पुँजीवादी सत्तामा गएर भाग खाने र कामदार जनताको हितभन्दा शोषकवर्गको हितलाई प्राथमिकता दिने दृष्टिकोण र व्यवहार पुरै पुँजीवादी हुँदा त्यसकै विरोधमा सैद्धान्तिक र व्यावहारिक सङ्घर्ष गर्नु आवश्यक छ । पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिहरूसँग लिएको ‘घुस’ हो ।
    यही पाँच दशकमा एमाले ‘भाइ काङ्ग्रेस’ र माओवादी ‘भारतीय ट्रोजन हर्स’ मा पतन भए । नेपालको कम्युनिस्ट आन्दोलनले ठुलो ठुलो क्षति व्यहोर्दै छ र दुर्घटनामा पर्दै छ ।
  • के नेमकिपा एक्लैले नेपाली कम्युनिस्ट आन्दोलन जोगाउन सम्भव होला ?
    कम्युनिस्ट र कम्युनिस्ट पार्टीको नाममा विभिन्न छद्मवेशीहरूले पुँजीवादी सत्तासँग गरेका सबै प्रकारको पद, पैसा र भ्रष्टाचार तथा विदेशी पुँजीको हितमा विदेशमा युवाहरू पठाउने काम कारबाहीबारे नेमकिपाले आलोचना र विरोध गर्दै आएको सर्वविदितै छ । यसैलाई भनिन्छ– छालको विरोधमा सङ्घर्ष गर्नु नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको यस क्षेत्रमा पनि देखिने एक योगदान हो ।
    सत्तामा पनि सामेल हुने, अर्कोतिर पछुतो पनि गर्ने तथा छोड्न पनि नसक्ने जस्ता लोलोपोतो सारमा पुँजीवादी सत्ताको विरोध नभई सहयोगको उपाय हुनेछ, नेमकिपा त्यस्ता नीतिको विरोधमा छ ।
    नेपालको कम्युनिस्ट आन्दोलन आकाशमा काला बादलहरूले घेरिएको रातको अँध्यारोमा छामछाम छुमछुम गर्दै छ । नेमकिपा त्यस्तो अप्ठ्यारो परिस्थितिमा परिणामको विचारै नगरी भीरमा भौतारिनुभन्दा आफ्नो शक्तिलाई जोगाउँदै, जनताको निःस्वार्थरूपले सेवा गर्दै, अब चाँडै पूर्वबाट आउने रातो घामको प्रतिक्षा गर्दै छ । भोक लाग्यो भन्दैमा जसले जे दिए पनि खाने खोटपूर्ण कार्य हो तथा विष खाएर भोक मेटाउने उपाय ठूलो विराम हुनेछ ।
  • नेमकिपालाई पनि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले माथि उठ्नसमेत नदिने हेतुले निरन्तर षड्यन्त्र चालु राख्दै छन् । नेमकिपालाई दबाउन कम्युनिस्ट नामधारी पार्टीहरूले गर्न केही बाँकी राखेनन् । किन यस्तो भयो ? यहाँको विश्लेषण के छ ?
    सच्चा कम्युनिस्टहरूले हाम्रो किन विरोध गर्छन् ? साथै ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा उठाउनेहरू’ ले हाम्रो विरोध गर्दा को के हो भन्ने प्रस्ट हुन्छ । नेमकिपा देशी र विदेशी प्रतिक्रियावादी षड्यन्त्रबाट जोगिनैपर्छ । कोही कराउँदैमा राम्रो र नराम्रो छुट्टिँदैन बरु तिनीहरूको कामले को के हो भन्ने छुट्टिन्छ !
  • तत्कालीन पुष्पलाल समूहमा सैद्धान्तिक सङ्घर्ष गर्दाका दिनलाई आज ५० वर्षपछि कसरी सम्झनुहुन्छ ? पुष्पलालले किन यहाँको विचारमा समर्थन जनाउनुभएन ? उहाँको बुझाइ तथा विश्लेषणमा समस्या थियो या उहाँका सल्लाहकारहरूमा ?
    हाम्रो विचारको सकारात्मकतामा पुष्पलालजीको ध्यान गएको भए तथा समर्थन जनाएको भए पनि उहाँका सल्लाहकारहरू उहाँसँग रहने थिएनन् । उहाँका सल्लाहकारहरू एकएक गरेर अरू पार्टीमा लाग्दै गएबाट स्थिति प्रस्ट हुन्छ ।
  • यहाँले अलग्गै पार्टी स्थापना गर्नुभएपछि पुष्पलालसँगको छलफल, भेटघाट या मित्रता कस्तो रह्यो ? के उहाँले पछि यहाँको विचारमा सहमति जनाउनुभयो ? नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक नेताको नाताले नेमकिपाको स्थापनाले नेपाली कम्युनिस्ट आन्दोलन विसर्जन हुनबाट जोगिने आशा पुष्पलालले गर्नुभएको केही सङ्केत पाउनुभयो ?
    हामी बनारसबाट छुट्टिसकेपछि पुष्पलालजीले आफू एक्लो अनुभव गर्नु स्वाभाविक छ । तर, त्यो परिस्थितिमा उहाँले हाम्रो स्थितिमा पुग्नुभन्दा झन्झन् पर पर हुने वातावरण तयार भइसकेको थियो । ‘सङ्गतको गुण त्यही’ भन्ने नेपाली उखान चरितार्थ भयो ।
  • यहाँले दस्ताबेजकै रूपमा “नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन” र “रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन” पुष्पलाल समूहमा पेस गर्नुभयो । यहाँको सैद्धान्तिक मतभेदलाई तत्कालीन मुख्य मुख्य नेताहरूले कसरी लिए ? के व्यापक छलफल गर्न माने ? यहाँलाई धम्की, दबाब या कुनै प्रस्ताव आयो कि ?
    ती प्रस्तावहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र छलफल गर्ने तिनीहरूको कुनै इच्छा त के चासो पनि थिएन । बैठक हात हालाहालको स्थितिमा पुगेपछि मैले प्रस्ट गरेँ– हामी कुनै पनि परिस्थितिमा प्रस्ताव फिर्ता लिने पक्षमा छैनौँ र त्यसको निम्ति बनारसका ठुलठुला नालीको विषयमा मलाई थाहा छ ।
    पुष्पलालजी लाचार देखिनुहुन्थ्यो, न बैठक स्थगित गर्नसक्नुभयो, न त बैठकलाई सम्हाल्न सक्नुभयो । म बैठक छोड्ने पक्षमा थिइनँ ।
  • नेमकिपा स्थापना गरिसकेपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
    पुष्पलाल गम्भीर मुद्रामा दरभङ्गा आउनुभयो र आफू पनि भक्तपुर आउने बताउनुभयो । उहाँलाई भक्तपुरमा बचाउन सकिने परिस्थिति थिएन । २०४५ सालको काण्डले पनि प्रस्ट ग¥यो ।
  • पार्टी सङ्गठन अगाडि बढाउन प्रारम्भमा केकस्ता कदम चाल्नुभयो ? केकस्ता गतिविधि थाल्नुभयो ?
    ‘खण्डन’ र ‘सामाजिक साम्राज्यवाद’ बारे साथीहरूले अध्ययन थालिसकेका थिए । वाग्मती, नारायणी र जनकपुर अञ्चलका साथीहरूको फरक–फरक भेला गर्दै स्थिति अवगत गराइयो । त्यसपछि तीनवटै अञ्चलका प्रतिनिधिहरूको बैठकले एक नयाँ सङ्गठन गर्ने कुरा निधो गर्ने तयारी गर्यो ।
  • देश, जनता, पार्टी सङ्गठन र क्रान्तिको पक्षमा झण्डै सात दशक लामो सङ्घर्ष गरिसक्नुभयो; अझै युवा जोशका साथ समर्पित भएर लागिराख्नुभएको छ । यहाँको ऊर्जाको स्रोतबारे नयाँ पुस्तालाई बताउनुहुन्छ कि ? युवा पिँढी कसरी अगाडि बढोस् भन्ने चाहनुहुन्छ ?
    बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी आदि जिल्लाका पुराना किसान साथीहरूसँग छलफल र भेटघाटबाट साथीहरूले थाहा पाइसक्नुभयो कि सङ्गठन तल्लो तहबाटै गर्नु आवश्यक छ । त्यसरी तराईको किसान आन्दोलनको पुस्तक तयार भएको हो ।
    नयाँ पुस्तालाई पनि सैद्धान्तिक जगको तालिम दिँदै र व्यावहारिक गतिविधिमार्फत मात्रै कार्यकर्ता तयार हुनेछन् भन्नेबारे साथीहरू सचेत थिए । त्यसको निम्ति बेलायत र फ्रान्सको सामन्तवादविरोधी सङ्घर्ष र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे तथा त्यसबेलाका नेता र कार्यकर्ताहरूबारे अध्ययन गराइएको थियो । त्यसपछि अक्टोबर क्रान्ति र पछिल्ला समाजवादी आन्दोलनबारे पनि नयाँ साथीहरू अवगत हुँदै गए ।
  • तुलनात्मकरूपमा नेपालमा क्रान्ति ढिलो भइसकेको चर्चा बरोबर चल्छ । यहाँ कतिको आशावादी हुनुहुन्छ ? प्रतिक्रियावादी शक्ति बलियो हुँदै जानुको कारण के हो ?
    मनोगतवादी इच्छाले तत्काल समाज परिवर्तन हुने गर्दैन । कुनै देशको परिवर्तनको निम्ति घरेलु एवं अन्तर्राष्ट्रिय परिस्थिति र छिमेकीहरूको परिस्थिति महत्वपूर्ण हुन्छ । अरू देशको तुलनामा नेपालको कम्युनिस्ट आन्दोलन भौतिक र मनोगत दुवै रूपले कमजोर छ ।
  • नेपाली कम्युनिस्ट आन्दोलन माथि उठाउने उपाय तथा नयाँ पुस्ताको अभिभाराबारे स्पष्ट पार्नु हुन्छ कि !
    विदेशमा श्रमिकको नाममा युवाहरू पठाउनु नै कम्युनिस्ट आन्दोलन कमजोर पार्नु हो । तर, विदेशमा युवाहरू पठाउनेहरूमध्ये कम्युनिस्ट पार्टी भन्नेहरू पनि कम छैनन् । देशको नयाँ पुस्ता कहाँ खोज्न जाने हो ! देश विदेशमा गएकाहरूले पनि विदेशबाट सिक्ने अवसर गुमाउन नदिने हो भने त्यसमा सकारात्मक सम्भावना देख्न सकिन्छ ।
  • देशको राजनीतिक सङ्कट दिनप्रतिदिन गम्भीर बन्दै छ । देशलाई जोगाउने उपायबारे यहाँको विचार बताइदिनुहुन्छ कि !
    जनताको विभिन्न पक्षसँग छलफल र गतिविधि नै एक महत्वपूर्ण कार्य हो ।
  • अन्तमा, नेमकिपाको ५० औँ स्थापना दिवसको उपलक्ष्यमा देश विदेशका कामदार जनता तथा साम्राज्यवादविरोधी जनतालाई थप सन्देश दिनुहुन्छ कि ?
    एक वर्षभित्र आ–आफूले समाजमा परिवर्तन गर्न के के काम ग¥यौँ, कतिजना नयाँ साथी र नयाँ सङ्गठन बनायौँ तथा कुन–कुन नयाँ जिल्लामा सङ्गठन विस्तार गर्याैँ भनी समीक्षा गर्नु आवश्यक छ ।
    भित्री मनैदेखि देश र जनताको सेवा गर्ने भावनाबाट कार्यकर्तालाई प्रेरित गराउनैपर्छ । त्यसको निम्ति विभिन्न देशका क्रान्ति र क्रान्तिकारी नेता, कार्यकर्ता र सहिदहरूबाट सिक्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *