भर्खरै :

भियतनाम संसारले बुझ्न खोजेको देश

भियतनाम संसारले बुझ्न खोजेको देश

भियतनाम यात्रा – १
(भियतनामको सामन्य परिचय र भूगोल)

नेपाल र भियतनामको भावनात्मक सम्बन्ध
हुन त नेपालको भियतनामसँग गोरु बेचेको साइनोसम्म देखिँदैन । सरकारी तहमा झनै देखिँदैन । तर, भक्तपुरका जनताको लागि भियतनाम नौलो नाम र देश भने पक्कै होइन । अमिलोको नाम लिने बित्तिकै मुख रसाएजस्तो भियतनामको नामले नै धेरै कौतूहल र जिज्ञासा हाम्रो मानसपटलमा तैरिन थाल्छ । पूर्वी एसियाको एउटा गरिब देश भियतनाम जसलाई फ्रान्सले सय वर्षसम्म अन्यायपूर्वक आफ्नो उपनिवेश बनायो र त्यहाँको मूल्यवान स्रोतहरूको दोहन ग¥यो । स्थानीय भियतनामी जनताले प्रतिकार गर्न थालेपछि उनीहरूको पाशविकरूपमा हत्याकाण्ड मच्चाउँदै गयो । तर, भियतनामी देशभक्तहरूले आफ्नो स्वाभिमानको लडाइँलाई विश्राम दिएनन् । तीन पुस्तासम्म जारी त्यो लडाइँले आखिरमा फ्रान्सको उपनिवेशबाट भियतनामलाई मुक्त ग¥यो । तर, फ्रान्सले भियतनाम नछोड्दै अर्को साम्राज्यवादी अमेरिकाले भियतनामलाई फेरि आफ्नो दा¥हा र नङ्ग्राले चिथोर्न थाल्यो । तर, भियतनामी जनताले त्यतिबेला उदाइरहेको समाजवादी क्रान्तिका अग्रणी देश रुस र चीनको सहयोगले विश्वको सर्वशक्तिमान देशको ताज पहिरहेको अमेरिकासँग डटेर मुकाबिला गरे । अमेरिकाले सबै युद्धका नियमहरू उल्लङ्घन गर्दै भियतनाममा रासायनिक युद्धदेखि सबैखाले प्रतिबन्धित हतियार प्रयोग गरेर भियतनामी जनताप्रति देखाएका क्रूरताको विश्वले नै विरोध गर्न थाल्यो । त्यतिबेलासम्म विश्वसँग त्यति खुला हुनै नपाएको र धेरै देशहरूसँग दौत्य सम्बन्ध नै नभएको नेपालको सबभन्दा सानो सहर भक्तपुरमा भियतनाममा अमेरिकाले गरेको अत्याचारको विरोधमा जुलुस प्रदर्शन भयो र अमेरिकाविरोधी नारा घन्काइयो । अमेरिकाको विरोध गरेको भनी प्रर्दशनकारीहरूलाई स्थानीय पुलिस र प्रशासनले दबाउन थाले । २५ सालको यो घटनाले भक्तपुरका जनतालाई भियतनाम भन्ने देशको परिचय गरायो । अमेरिकी साम्राज्यवादीसँग लडेका बहादुरीका गाथाहरूले भक्तपुरका बच्चा र युवाहरूमा त्यो देशको बारेमा कौतूहल जाग्नु स्वाभाविकै भयो ।
भियतनामको नाम सुनेको करिब आधा शताब्दीपछि त्यो देशको माटोमा टेक्ने अवसर यस पङ्क्तिकारलाई भयो । पर्यटकको रूपमा गएका हामी करिब १८० जना नेपालीहरूको समूहमा सबैको भ्रमणमा आ–आफ्नो लक्ष्य र उद्देश्य थियो होला । भियतनाम युद्ध सकिएको करिब ४० वर्षपछि विश्व पयर्टनको धेरै गन्तव्यहरूको सूचीमा केही वर्ष यतादेखि भियतनामको नाम पनि थपियो । सुन्दा नै आश्चर्य लाग्यो । करिब २७÷२८ वर्ष पहिले दक्षिण पूर्वी एसियामा पर्यटन गन्तव्यको रूपमा थाइल्यान्डको नाम सुनिन्थ्यो । त्यतिबेला कलर फोटो धुलाइको लागि केही दिन लाग्थ्यो किनभने त्यसको धुलाइ गर्ने प्रविधि काठमाडौँमा आइपुगेको थिएन । त्यस्तो फोटो थाइल्यान्डको राजधानी बैङ्ककमा धुलाइ गरी काठमाडौँमा ल्याइन्थ्यो । एक दशकपछि बैङ्ककपछि थाइल्यान्डकै अर्को सहर फुकेट सहर पनि गन्तव्यको सूचीमा थप्यो । त्यसपछिका वर्षहरूमा दक्षिण पूर्वी एसियाकै देशहरूमा सिङ्गापुर, त्यसपछि मलेसिया तथा इन्डोनेसिया पनि थपियो र विगत केही वर्षमा भियतनाम ।
विगत तीन दशकमा भियतनामले गरेको अप्रत्यासित आर्थिक प्रगति र विकासका कुराहरू अचानक अन्तर्राष्ट्रिय समाचार र सामाजिक सञ्जालमा चर्चाको विषय हुनपुगेको देखिन्छ । दक्षिण पूर्वी एसियाका आफ्ना छिमेकीहरूले आफ्ना सहरहरूलाई अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य बनाउन सफल भएपश्चात् भियतनामले पनि विगत एक दशकको अवधिमा आफूलाई त्यही कोटीमा राख्न पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ ।
भियतनामको आर्थिक उन्नति र प्रगति तथा उसले पर्यटन उद्योगलाई दिएको प्राथमिकताले नै आज पर्यटनको एक नयाँ गन्तव्य हुन गएको अनुमान लगाउन गा¥हो छैन । तर, भियतनामको मामलामा यतिमात्र कारण नहुन सक्छ । हिजो आफ्नो पुरानो उपनिवेश हेर्न धेरै फ्रान्सेली नागरिकहरूको गन्तव्य हिन्द चीन हुन्थ्यो । विश्वको सात प्राचीन आश्चर्यमध्येको एक अँकोरवाट हेरेरै मात्र आफ्नो प्राणत्याग गर्ने मनोकाङ्क्षा लिएर धेरै वृद्ध फ्रान्सेलीहरू कम्बोडियाको भ्रमण गर्थे । आज धेरै अमेरिकी नागरिकहरू पनि आफ्नो महाशक्ति देशलाई घुँडा टेकाएको देशका जनता, त्यहाँको संस्कृति के कस्तो छ जान्न पनि भ्रमण गर्छन् । आज एक्काइसौँ शताब्दीको तेस्रो दशकसम्म आइपुगेको विश्वको भूराजनैतिक अवस्था र विश्व शक्तिहरूको सन्तुलनमा आइरहेको तीव्र परिवर्तनले दक्षिण चीन सागरमा चीनलगायत फिलिपिन्स, भियतनाम, ताइवानको बिचमा नयाँ तनावको सृजना गरी फेरि पूर्वी एसियामा आफ्नो प्रभुत्व जमाउन सल्बलाएका अमेरिकाको कारणले पनि दक्षिण चीन सागरको सामुन्ने रहेको भियतनाममा विश्वको ध्यान गएको अनुमान लगाउन गा¥हो छैन ।
कुनै पनि देशको विविध पक्ष र वर्तमानलाई बुझ्न उसको इतिहास, भूगोल र त्यहाँको राजनैतिक तथा आर्थिक इतिहास बुझ्नु आवश्यक हुन्छ । त्यसैले पाठकहरूको सहजताको लागि भियतनामको इतिहासलाई खोतल्ने प्रयास गरेको छु । श्रृङ्खलाबद्ध यस आलेखको पहिलो भाग पृष्ठभूमि तथा भियतनाको सामान्य भूगोलबारे तथा दुई भाग भियतनामको आधुनिक इतिहासलाई कोट्याइसकेपछि अर्को भागमा भियतनामको छोटो भ्रमणको सिलसिलामा देखेका, सुनेका, सुनाएका, अनुभव गरेका र थप प्रस्ट हुन पढेका सामग्रीको आधारमा त्यहाँका विवरणहरू प्रस्तुत गर्दै छु ।
भियतनामको सामान्य भूगोल


एसियाको पूर्वी किनार र हिन्द चीन प्रायःद्वीपको पूर्वपट्टि अवस्थित साँघुरो एस (क्) आकारको देश क्षेत्रफलको हिसाबमा नेपालभन्दा करिब अढाइ गुणा ठुलो छ । नेपालको क्षेत्रफल १,४७,५१६ वर्ग किमि छ भने भियतनामको ३,३०,९५१ वर्ग किमि छ । नेपाल चारैतिर जमिनले घेरिएको भूपरिवेष्ठित देश हो भने भियतनाम उत्तरदेखि दक्षिणसम्म समुद्री किनारमा अवस्थित समुद्र किनारको देश हो । यसको उत्तर दक्षिण लम्बाइ करिब १६५० किमि, चौडाइमा उत्तरी भाग अलि फराकिलो र फुकेको हुनाले ६०० किमि, मध्य भाग धेरै साँघुरो करिब ५० किमि छ भने दक्षिण झर्दै जाँदा विस्तारै फराकिलो भएकोले ४०० किमिसम्म फराकिलो छ । भौगोलिक अवस्थितिको हिसाबले पूर्वी भागमा मुख्यतया समुद्री किनारहरू छन् भने त्यसको लम्बाइ करिब ३२६० किमि भएको मानिन्छ । समुद्री किनाराहरू मैदानी भूभाग हो भने पश्चिम भाग अग्लो डाँडा र पहाडहरूको क्षेत्र हो । भियतनाम ८० देखि २३० उत्तर अक्षांशसम्म तथा १०२० देखि १०९० पूर्व देशान्तरसम्म फैलिएको देश हो । भियतनामको सबभन्दा अग्लो (उच्च) भाग देशको उत्तर पश्चिममा अवस्थित फानसिपान हो जुन ३१४४ मि. को उचाइमा अवस्थित छ । हिन्द चीनका तीन देशमा फानसिपान नै सबभन्दा अग्लो भाग भएकोले यसलाई ‘हिन्द चीनको छाना’ पनि भनिन्छ । होचो सतह समुद्री सतह हो ।
पृथ्वीको उष्ण मण्डल (०० देखि २३० उत्तर र दक्षिण अक्षांशभित्र अवस्थित क्षेत्र) भित्रै भियतनाम परेकोले सामान्यतया यहाँको हावापानी गर्मी वा न्यानो मानिन्छ । तर, भूसतहको उचाइको कारण समुद्री किनार र मैदानी भागमा गर्मी र उच्च भूभागमा चिसो महसुस हुन्छ । साथै अक्षांशको प्रभावले उत्तरी भियतनामबाट दक्षिण भियतनाम झर्दै जाँदा गर्मी महसुस हुँदै जान्छ । सामान्यतया उत्तरी भियतनामलाई दुई ऋतुमा विभाजित गरिन्छ, ग्रीष्म र हिउँद । दक्षिण भियतनाममा सामान्यतया वर्षभरि नै गर्मी वा न्यानो तापक्रम हुन्छ । त्यसैले, भनिन्छ दक्षिण भियतनाममा ‘असाध्यै गर्मी’ र ‘गर्मी’ गरी दुई ऋतु छन् । भियतनामको वार्षिक सरदर तापक्रम २२० देखि २८० सेल्सियस मानिन्छ ।
ग्रीष्मयाममा मनसुन वर्षा प्रशस्त हुने भएकोले र तापक्रम पनि अधिक हुने भएकोले उष्ण जङ्गलमा भियतनाम धनी मानिन्छ । समुद्री किनारा मैदान पनि प्रचुर भएकोले धानको खेती भियतनामको विशेषता हो । आज थाइल्यान्डपछि विश्वमा धान निर्यात गर्ने दोस्रो ठुलो देश भियतनाम हो । धानबाहेक रबर, कफी, चिया, काजु, खुर्सानीको खेतीमा पनि भियतनाम अग्रणी देश मानिन्छ । खनिज सम्पदामा जस्ता, बहुमूल्य प्रस्तर, तामा, सुन र कोइला भएको मानिन्छ । साथै, ग्यास र खनिज तेल भियतनामको जमिनमुनि र समुन्द्रको पिँढमा प्रशस्त जम्मा भएको मानिन्छ ।
भियतनाममा हजारौँ ठुलासाना नदीका जाला छन् । प्रमुख नदीहरूमा भियतनामको उत्तरी भागमा चीनबाट बग्दै आउने रातो नदी र यसका शाखा प्रशाखाहरू पर्छन् । यी नदीहरूले उत्तरी भियतनाको करिब १५,००० वर्ग किमि क्षेत्रफललाई उब्जाउ माटोले सिञ्चित गरेको छ । राजधानी हनोइसहितको उत्तरी भियतनामको सभ्यता र धान खेतीको संस्कृति यसको उपज मानिन्छ । त्यसरी नै मध्य भागमा हान नदी तथा दक्षिणमा दक्षिण पूर्वकै ठुलो नदी मेकन नदी चीन, थाइल्यान्ड, लाओस र कम्बोडिया हुँदै होचि मिन्ह सहरमा आई दक्षिण चीन सागरमा विलिन हुन्छ । दक्षिण भियतनामको ४०,००० वर्ग किमि क्षेत्रफलको विशाल उब्जाउशील भूभागलाई यस मेकन नदी तथा यसका अन्य शाखा नदीले सिञ्चित गरेको छ । भियतनामको सबभन्दा ठुलो धान खेतीको क्षेत्र यही दक्षिण समथर भूभागलाई नै मानिन्छ ।

दक्षिण भियतनाममा मेकङ नदी किनारको एक दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *