भर्खरै :

भियतनाम फ्रान्सको कब्जामा

भियतनाम फ्रान्सको कब्जामा

भियतनाम यात्रा – २
(फ्रान्सेली उपनिवेशदेखि भियतनामी देशभक्तिहरूको प्रतिकारसम्म (सन् १८५६ देखि १९३० सम्म)

हिन्द चीन फ्रान्सको कब्जामा
अठारौँ र उन्नाइसौँ शताब्दीमा संसारका धेरै देशहरूलाई बेलायत र फ्रान्सले उपनिवेश बनाउँदै थिए । यही क्रममा सन् १८५६ मा भियतनामको मध्तगमा रहेको बन्दरगाह सहर डा नाङमा फ्रान्समा सेप्टेम्बरको महिनामा हमला भयो । फेब्रुअरीसम्ममा दक्षिण भियतनामको प्रमुख सहर साइगोनलाई आफ्नो कब्जामा लियो । त्यहाँ स्थानीय सम्राटलाई सन् १८६२ जूनमा शान्ति सम्झौतामा हस्ताक्षर गराई भियतनामलाई आफ्नो अधिनस्थ बनाइयो । विस्तारै दक्षिणपूर्वी एसियाको हिन्द चीन (भियतनाम, कम्बोडिया र लाओस तीन देशको संयुक्त नाम) प्रायःद्वीपमा अवस्थित देशहरूलाई फ्रान्सले विस्तारै उपनिवेश बनाउँदै लग्यो । भियतनामको उत्तरी भाग हनोइ सहरलाई सन् १८७३ सम्ममा र सन् १८८७ सम्ममा लाओससम्मका क्षेत्रलाई फ्रान्सले आफ्नो अधिनस्थ क्षेत्र बनायो । यसरी भियतनामको उत्तरी भाग हनोइ सहर र रक्तनदी डेल्टा (नदीको मुहानको भूमि) (Red River Delta) सम्म तथा दक्षिण भियतनामको प्रमुख सहर साइगोन र मेकङ नदीको डेल्टा (Mekong River Delta) क्षेत्रसम्मलाई आफ्नो अधिनस्थ बनाइयो र सम्पूर्ण हिन्द चीन क्षेत्रलाई फ्रान्सले आफ्नो उपनिवेशमा फे¥यो ।

जनरल पाउल डाउमर

स्रोत दोहनको लागि पूर्वाधार
हिन्द चीन १९ औँ शताब्दीको उत्तराद्र्धसम्ममा फ्रान्सको लागि विश्वमा आफ्नो धाक जमाउने एक उपनिवेशको रूपमा स्थापित हुँदै थियो । हिन्द चीनको लागि फ्रान्सका गर्भनर जनरल पाउल डाउमरको तजबीजमा भियतनामी सरकारी कर्मचारीतन्त्रलाई बिस्तारै निस्तेज पार्दै फ्रान्सेली शैलीकै प्रणालीलाई लागु गर्दै लग्यो भने कुनै स्थानमा फ्रान्सेली कठपुतली स्थानीय सरकार बनाइयो । त्यस क्षेत्रमा विकास, पूर्वाधार, सिँचाइ, पुल पुलेसा तथा अन्य खेतीपाती, जग्गा खनजोतको लागि विस्तारै व्यवस्था गर्न थाल्यो । तर, उपनिवेशवादी फ्रान्सले नयाँ अधिनस्थ क्षेत्रहरूको समग्र विकासको लागि ती नयाँ बन्दोबस्त गर्न लागेको थिएन । हिन्द चीनको उपलब्ध खनिज स्रोत, जङ्गल स्रोत (विशेषगरी रबरको लागि), कोइला, अन्न–अनाजको व्यवस्थितरूपमा दोहन गर्न तथा भियतनामलाई फ्रान्समा उत्पादित सामानको लागि नयाँ बजारको रूपमा विकास गर्न ती सबै गरेका थिए ।
स–साना दैनिक उपभोगका सामान जस्तैः– चिनी, रक्सी तथा अन्य पेयपदार्थ, चामल, कागजजस्ता समान उत्पादनका कलकारखानाबाहेकमा फ्रान्सले केही ठुलो लगानीका साथ उद्योगधन्दा भियतनामा खोलेन । सन् १९३० सम्ममा भियतनामी जनताले फ्रान्सको लगानीमा खोलेका कलकारखानामा काम पाएका भनेकै करिब एकलाख जनताले हो ।
परम्परागत निर्वाहमुखी खेतीपाती गर्दै आफ्नो गुजारा चलाउँदै आएका भियतनामी समाजको पुरानो वर्गीय संरचनालाई डाउमरको नयाँ आर्थिक र सामाजिक नीतिले खल्बलाइदियो । अत्यधिक धानको परम्परागत खेतीले प्रधानता पाइरहेको स्थानमा नगदे बालीको रूपमा चिया, कफि तथा रबरको ठुलठुला क्षेत्रमा खेतीपाती गराउन थाल्यो । त्यस्तै, नयाँ नयाँ जमिनका फाँटहरू भूमि किसानलाई बाँड्नुको सट्टा मुट्ठीभरका धनीमानी भियतनामीहरू तथा फ्रान्सेली सरकारसँग सहकार्य गर्न इच्छुक भियतनामी परिवारहरूलाई कम पैसामा ती जग्गाहरू उपलब्ध गराउन थाले । डाउमरको यस भूमि नीति तथा नगदेबाली प्रणालीले भियतनामी समाज जग्गाधनी नयाँ बुर्जुवा (पुँजीपति) वर्ग र भूमिहीन गरिब किसानवर्ग गरी दुई वर्गमा विभाजित हुन गयो । करिब ३ प्रतिशत जग्गाधनीको हातमा खेतीयोग्य भूमिको ४५ प्रतिशत र करिब ७० प्रतिशत गरिब किसानहरूमा १५ प्रतिशतमात्र जग्गा हुन पुग्यो । मालिकलाई कुत बुझाउँदा, पैसा सापत दिने साहुलाई केही अंश तिर्दा र फ्रेन्च सरकारलाई केही कर तिर्दा किसानको हातमा मुश्किलले दुई छाक पुग्थ्यो । यसरी भियतनामी किसाहरूले आफूसँग भएको थोरै जमिन पनि बिस्तारै गुमाउँदै जानुपरेको थियो । दोस्रो विश्वयुद्धको पूर्वाद्धसम्ममा करिब भियतनामको आधा जनसङ्ख्या भूमिहीन अवस्थामा पुग्यो ।

उपनिवेशकालमा भियतनामको एक दृश्य

दयनीय शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था
आफ्नो उपनिवेश कालमा हिन्द चीनमा विकासका पूर्वाधार निर्माण गरेको, सञ्चार र यातायातको स्थापना गरेको, स्वाथ्य क्षेत्रमा सुधार गरेको, शिक्षाको विकास गरेको भन्नेजस्ता कुराहरूको उपनिवेशकर्ताले दाबी गरेको भए पनि तथ्य, तथ्याङ्क र वास्तविकताले त्यो पुष्टि गर्दैनथ्यो । सन् १९३९ को तथ्याङ्कले करिब ८० प्रतिशत भियतनामीहरू अशिक्षित भएको र मुश्किलले १५ प्रतिशतमात्र स्कूल जाने उमेरका केटाकेटीहरूले स्कूलमा पढ्न पाएको देखाउँथ्यो । जबकि फ्रान्सले उपनिवेश बनाउनुपूर्व नै भियतनामी जनताले कुनै न कुनै रूपमा शिक्षा प्राप्त गरेको मानिन्थ्यो ।
भियतनामका फ्रान्सेलीहरूका लागि राम्रो स्वाथ्य उपचार भए पनि व्यापक भियतनामीहरूका लागि स्वास्थ्यकर्मीको व्यवस्था अति कम थियो । त्यतिबेला प्रत्येक एक लाख भियतनामीहरूको लागि २ जनामात्र चिकित्सक पर्न आउँथ्यो जबकि सोही समयमा प्रत्येक एक लाख जापानीहरूको लागि ७६ जना र प्रत्येक एक लाख फिलिपिनोहरूको लागि २५ जना चिकित्सकको व्यवस्था थियो । थोरै शिक्षित भियतनामीहरूले पनि कुनै नागरिक र राजनैतिक अधिकार पाएका थिएनन् । न तिनीहरूले आधुनिक आर्थिक क्रियाकलापहरू जस्तैः– उद्योगधन्दा तथा बन्द व्यापारहरूमा भियतनामीहरूलाई संलग्न गरिएका थिए । यी सबैजसो आर्थिक कुरामा मूल फ्रान्सेलीहरूकै हात थियो । यसरी भियतनाममा पुँजीवादले ल्याएको नयाँ बन्दोबस्त र क्रियाकलापहरूमा भियतनामी जनताको संलग्नता अति न्यून थियो । एक हिसाबले फ्रान्सको उपनिवेश र त्यसले ल्याएको नयाँ पुँजीवादी क्रियाकलापहरू भियतनामी जनताको लागि पूर्णरूपमा पराइ थियो । यी नै कारणहरूले फ्रान्सको उपनिवेशको विरोधमा भियतनामी जनतालाई प्रतिरोध गर्न विस्तारै हौस्यायो ।

फ्रान्सेली उपनिवेशकालमा यसरी भियतनामी जनतालाई यातना दिँदै काम गराइन्थ्यो

भियतनामी जनताको प्रतिरोध
भियतनाममा फ्रान्सको उपनिवेशको विरोधमा विभिन्न किसिमका प्रतिरोधात्मक ठुला साना आन्दोलनहरू सन् १८६० देखि सन् १९३० सम्म निरन्तर चल्दै गयो । तर, त्यो त्यति व्यवस्थित र योजनाबद्ध आन्दोलन र विद्रोह थिएन । सुरुमा प्रतिकार गर्नेहरूको मुख्य उद्देश्य पुरानै राजा रजौताको शासनलाई पुनस्र्थापित गर्नु थियो । भावनाले प्रेरित भएर गरिएका त्यस्ता विद्रोहहरू नेतृत्वकर्ताको गिरफ्तारी र अवसानसँगै त्यसै सेलाउँथ्यो । उपनिवेशको सुरुवातसँगै भएका त्यस्ता विद्रोहहरू खासै उपनिवेशकर्तालाई धक्का दिन सफल भएनन् । तर, बिसौँ शताब्दीको सुरुवातसँगै उपनिवेश विरोधमा हुने विद्रोह र आन्दोलनले नयाँ मोड लियो । यस्तो एउटा विद्रोहको नेतृत्व फान बोइ चाउले गरे । चाउ बौद्धिक व्यक्तित्व थिए र उनले फ्रान्सको शासनलाई विरोध गरे पनि उनीहरूले ल्याएको पश्चिमा विज्ञान र प्रविधिको भने समर्थन गर्थे । बिसौँ शताब्दीको सुरुको दशकसम्ममा यता सुदूरपूर्वी एसियामा जापानले एउटा लडाइँमा रुसी जार शासकलाई हराइसकेकोले जापान नयाँ शक्तिको रूपमा उदय भइसकेको थियो । चाउले फ्रान्स विरोधको आफ्नो आन्दोलनलाई अझ परिष्कृत गर्न जापानको समर्थन खोजे । आफ्ना धेरै कार्यकर्ताहरूलाई जापानमा लगेर प्रशिक्षित गरे ।
चाउको विचार र आन्दोलनबाट प्रभावित भएर उत्तरी भियतनामका जनताले सन् १९०७ मा ‘तोकिनको स्वतन्त्र स्कूल’ नामले एक संस्था स्थापना गरे । त्यतिबेला फ्रान्सेली सरकारले उत्तरी भियतनामलाई तोकिन, मध्य भागलाई अनाम र दक्षिण भागलाई कोचिचीन नामकरण गरेको थियो । यही स्कूलपछि फ्रान्सको उपनिवेशको विरोधमा क्रियाकलाप गर्ने केन्द्रमा परिणत भयो । यही स्वतन्त्र स्कूलको आयोजनामा सन् १९०८ सम्ममा उत्तरी भियतनामका विभिन्न सहरहरूमा कर घटाउन माग गर्दै फ्रान्स सरकारविरोधी प्रदर्शनहरू गरिए । तर, यस्ता प्रदर्शनमा भाग लिएका सहभागीहरूलाई निर्ममतापूर्वक दबाइयो, केहीलाई ज्यान सजाए दिइयो भने केहीलाई दक्षिण चीन सागरमा अवस्थित कन सन टापुमा निर्वासनमा पठाइयो । चाउ चीनको मन्चु सरकारविरोधी गणतन्त्रको आन्दोलनमा सहभागी हुन गए । उनको उद्देश्य भियतनामको फ्रान्सविरोधी आन्दोलनमा च्याङ काईशेक पार्र्टीको पनि सहयोग पाउने अपेक्षा थियो । तर, चाउ सघाईमा पक्राउ पर्छ, मुद्दा चलाउन उनलाई भियतनाम फर्काइन्छ र नजरबन्दमै उनको निधन सन् १९४० मा हुन्छ ।
हुन त, पहिलो विश्वयुद्धपछि फ्रान्सेली सरकारसँग वार्ता र सहमतिको वातावरण सृजना गरी भियतनामी जनताको लागि थप स्वतन्त्रता र अधिकारका कुराहरू प्राप्त गर्न विभिन्न भियतनामी देशभक्त पार्टीहरूले प्रयासहरू गरेका थिए । तर, ती प्रयासहरू सफल नभएपछि विशेष गरेर ‘भियतनाम कोक डन डाङ’ (Vietnam Quoc Dan dang = VNQDD) जस्ता पार्टीहरूले फेरि हिंसात्मक आन्दोलनहरूको थालनी गरे । तर, एक फ्रान्सेली सैनिक अफिसरको हत्या भएको निहुँमा डन डाङका कार्यकर्ताहरूको व्यापक धरपकड भयो तथा निर्वासनमा पठाइयो र आखिर यसको देशभक्तिपूर्ण आन्दोलन निस्तेज हुँदै विलिन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *