भर्खरै :

एकीकरणको सकसदेखि डोइ मोइसम्म

एकीकरणको सकसदेखि डोइ मोइसम्म

भियतनाम यात्रा – ४

उत्तर र दक्षिण एकीकरणको सकस
सन् १९७५ मा उत्तर र दक्षिणमा विभाजित भियतनाम एकीकरण भई समाजवादी गणतन्त्रात्मक भियतनामको स्थापना भयो । तर आर्थिक, राजनैतिक तथा सांस्कृतिकरूपमा दुई भियतनामलाई एकाकार गर्न सहज थिएन । सय वर्षसम्म साम्राज्यवादी फ्रान्सको प्रभावमा रहँदा होस् या पाँच वर्षको जापानी प्रभुत्वमा या २५ वर्ष अमेरिकाको प्रभावमा हुँदा होस् दक्षिण भियतनाममा समाजवादी विचारधारा र सामूहिक भावनाभन्दा व्यक्तिवादी सोच र पुँजीवादी बन्दोबस्तले दक्षिण भियतनाममा नदेखिने गरी जरा गाडिसकेको थियो । धेरै कुरामा दक्षिण भियतनाम उत्तरभन्दा पृथक थियो । भियतनामी जनता आजसम्म पनि स्वीकार्छन् कि भियतनाम उत्तर र दक्षिणमा एउटै छैन ।
फ्रान्सको अधीनमा रहँदा दक्षिण भियतनामलाई व्यापारिक केन्द्रको रूपमा विकास गरिएको थियो भने जापानी प्रभुत्वको बेला जापानी सेनालाई परिचालन गर्ने केन्द्रको रूपमा । उत्तरमा उत्पादन गरिने धान तथा अन्य फसलहरू तथा खनिज स्रोतहरूको बेचबिखन तथा विदेशमा निर्यात गर्ने केन्द्रको रूपमा दक्षिण भियतनाम विशेषतः साइगोन सहरलाई बनाइएको थियो । सामानको बेचबिखन र आयात निर्यातको केन्द्रको रूपमा विकास भएको सहर र आसपासका क्षेत्रहरूमा शुभलाभ, नाफा नोक्सान, कमिसन, खरिद बिक्रीको दबदबाले जो कोही सामान्य जनताको मनमस्तिष्कमा सामूहिक भावनाभन्दा व्यक्तिगत फाइदाको लागि काम गर्नुपर्ने सोचको विकास गराउनु स्वाभाविक नै हो । त्यतिमात्र नभई सन् १९५६ पछि अमेरिकी कठपुतली नागो डिन डिन्हको सरकारले दक्षिण भियतनामलाई गणतान्त्रिक भियतनाम घोषणा गरी एक कम्युनिस्टविरोधी राज्यको रूपमा स्थापित गर्न खोज्यो । साथै, दक्षिण भियतनामलाई अमेरिकाले आफ्नो सैनिक अखडाको रूपमा विकास गरी डलर खन्याएर स्थानीय उत्पादन र संस्कृतिलाई तहसनहस पारी दक्षिण भियतनामको पश्चिमाकरण ग¥यो । तर, उत्तर भियतनाममा भियतनामी कम्युनिस्ट पार्टीको प्रभाव, देशभक्तिपूर्ण भावना र आन्दोलनले तथा सन् १९४७ मा गणतन्त्र घोषणापछिका कम्युनिस्ट सरकारको समाजवादी अभियानको कारणले व्यक्तिवादीभन्दा सामूहिक भावनाले काम गर्दै थियो ।
उत्तर र दक्षिण भियतनामको यही सांस्कृतिक र वैचारिक भिन्नताले देश आधिकारिकरूपमा सन् १९७५ मा एकीकरण भइसक्दा पनि दक्षिण भियतनामी अझ विशेष गरेर कम्युनिस्टविरोधी वा अमेरिकी समर्थक र हिजो अमेरिकाको समर्थनमा सत्तामा हालीमुहाली गरेका वर्ग र समुदायले एकीकरणको भावनालाई आत्मसात नगर्दा नयाँ समस्या देखाप¥यो । त्यही समुदाय र वर्गले आफूले हिजो गरेका कतर र बेइमानीको लागि आफू सजातगी बन्नुपर्ने डरले भियतनाम छोडी भाग्ने प्रवृत्ति देखाप¥यो । लाखौँको सङ्ख्यामा देश छोडी जानेमा धेरै लहलहैमा र पश्चिमाले कम्युनिस्टको हौवा खडा गरेका थिए । देश छोड्नेको यस्तो लर्को दुई वर्षअगाडि अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदा हवाईजहाजको छट र पाङ्ग्रामा समेत अफगानीहरू झुन्डिएको दृश्य हाम्रो मानसपटलमा अहिलेसम्म ताजै छ । देश छोडिजाने भियतनामीहरूको लर्कोलाई आकलन गरेर संयुक्त राष्ट्र सङ्घ मानव अधिकार तथा शरणार्थी उच्च आयोगले यसलाई ‘मानवीय सङ्कट’ को संज्ञा दिए । आफूले भियतनाम छोडेर जानुपरेको पीडाले भियतनामलाई आर्थिक नाकाबन्दी गरेका अमेरिकाले शरणार्थीको मुद्दालाई चर्काएर अझ नाकाबन्दीलाई चर्को पार्दै आफ्ना धुरीका पश्चिमा देशहरूलाई समेत भियतनामलाई आर्थिक सहायता नगर्न उर्दी जारी गर्याे ।
बिसौँ वर्षको लडाइँले ध्वस्त पारेको देशको पूर्वाधारको पुनर्निर्माणको चुनौती र आर्थिक भार थियो भियतनामलाई । अझ आन्तरिक वैचारिक तथा सांस्कृतिक द्वन्द्व र अन्तर्राष्ट्रिय नाकाबन्दीको दोहोरो मारले अर्को समस्या खेप्नु परेको थियो । समाजवादी बन्दोबस्तको जगलाई बलियो बनाउन देशको उत्पादनको वृद्धि गरी आर्थिकरूपले सबल बनाउदै अगाडि बढाउनु अर्को ठुलो चुनौती थियो । यस्तो चुनौतीको सामना गर्दै गरेको भियतनामको छिमेकी कम्बोडियासँग तिक्तता बढ्दा सन् १९७९ मा दुई देशबिच युद्ध नै हुनपुग्यो । यस घटनाले चीनसँगको सम्बन्धमा दरार आई चीनसँग युद्धको अवस्थामा पुग्यो । पश्चिमा साम्राज्यवादीहरूलाई परास्त गरेर स्वतन्त्र भएपछि यस्ता नयाँ समस्या र चुनौतीमा जेलिन पुग्दा त्यतिबेला भियतनामको आर्थिक उन्नतिको एउटा मुख्य आधार सामूहिक खेती प्रणालीले सोचेजस्तो परिणाम नदिएको अनुभव गरे ।
हुन त भियतनामको पूर्ण एकीकरण हुनुअघि नै अमेरिकासँगको युद्धकै बेला सन् १९६९ भियतनामी जनताका प्यारा नेता हो चि मिन्हको देहावसानले भियतनामी कम्युनिस्ट पार्टीका नेताहरूलाई केही बिचलित तुल्याएको थियो । भनिन्छ, त्यतिबेला हो चि मिन्हका उत्तराधिकारीहरूमध्येमा उहाँजस्तो अन्तर्राष्ट्रिय तहमा परिचित र अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन सक्षम व्यक्तित्वको कमी थियो । हो चि मिन्हपछि उनका उत्तराधिकारीका रूपमा लि डुआनले पार्टीका महासचिवका रूपमा कार्यभार सम्हाली अमेरिकासँगको युद्धलाई टुङ्गोमा पु¥याई देशको एकीकरणको अभियानलाई तीव्रता दिएका थिए ।
देशको पूर्ण एकीकरणको करिब एक दशकको त्यो कालखण्ड (सन् १९७५ देखि सन् १९८५ सम्म) एक चुनौतीपूर्ण सङ्क्रमणको समय थियो र सा¥है संवेदनशील र पीडादायक थियो जसका बारे हामीले माथि केही चर्चा गरिसकेका छौँ ।

हो ची मिन्ह

डोइ मोइ नीति अवलम्बन
मात्र परम्परागत र पुरानो ढर्राको आर्थिक नीतिले बदलिँदो परिस्थितिमा देशको मुहार फेर्न गा¥हो हुने अनुभव हो चि मिन्हको देहावसान पछिका सामूहिक नेतृत्वले अनुभव गरिसकेको थियो । सन् १९८६ मा महासचिव लि डुआनको पनि देहावसानपश्चात् भियतनामको आर्थिक नीतिमा सुधारको खाँचोलाई औँल्याउने नुगेन भान लिन्हलाई नयाँ महासचिवको कार्यभारको जिम्मा दिइयो । यति बेलासम्ममा भियतनामको निकट सम्बन्धको देश सोभियत रुसमा पनि युरी आन्ड्रोपोभ र कन्सटानटिन चेरनेकोभको छोटो नेतृत्वपछि आएका गोर्भाचोभको पारदर्शिता (ग्याल्सनोट) र पुनःसंरचना (पेरेस्ट्रोइका) सुधार योजना लागु भइसकेको थियो भने भियतनामलाई प्रभाव पार्ने अर्को देश चीनमा पनि माओपछिका नेतृत्व सम्हालेका तङ्गसिआओ पीङले सन् १९७८ मै निश्चित स्थान, सहर र विशेष आर्थिक क्षेत्रहरूमा उदार आर्थिक नीतिलाई अवलम्वन गरिसकेका थिए । त्यस्तै, भियतनामका छिमेकीहरू विशेषगरी जापान, दक्षिण कोरिया, ताइवान र सिंगापुरले सन् ८० कै दशकमै शिक्षा र गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष जोड दिँदै औद्योगिकीकरण, विद्युतीय सामाग्री तथा अन्य औद्योगिक उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यातको नीतिअनुसार अगाडि बढिसकेका थिए । ती साना देशहरूले गरेको आर्थिक विकासको कारण यिनीहरूले ‘एसियाका साना बाघ’ को उपमा पाउँदै थिए । उता दक्षिणपूर्वी एसियाका अन्य छिमेकहरू मलेशिया र इन्डोनेशियाले पनि नयाँ उदार आर्थिक नीति अवलम्बन गरी नयाँ आर्थिक शक्तिका रूपमा उदाउँदै थियो । यी छिमेकी देशहरूले लिएको आर्थिक नीतिको प्रभावले भियतनाम मात्र अछुटो रहने कुरो भएन ।

हो ची मिन्हको निधनपछि महासचिव भएका लि डुआन

सन् १९७५ देखि १९८६ को एक दशकको अवधिलाई मूल्याङ्कन गर्दा भियतनामको आर्थिक उन्नतिका आधारहरूजस्तै श्रम उत्पादकत्व, दक्ष श्रमशक्ति, ठुला उद्योगहरू, औद्योगीकरण र पूर्वाधार निमार्णको लागि आवश्यक पुँजीको उपलब्धता तथा प्राविधिक र अन्य भौतिक अवस्था बलियो थिएन । यही पृष्ठभूमिमा भियतनामको सरकारले केन्द्रीयरूपमा पूर्ण नियन्त्रित आर्थिक योजना र नीतिलाई क्रमशः विशेष आर्थिक क्षेत्रहरूको निर्माण गरी नयाँ उदार आर्थिक नीतिको अवलम्बन ग¥यो जसलाई भियतनामी भाषामा डोइ मोइ (Doi Moi) अथवा पुनःनिर्माण भनियो । सरकारले गर्ने योजनाबद्ध विकास र उदार अर्थतन्त्रलाई सँगै समानान्तररूपमा अगाडि बढाइएको त्यो नीतिलाई भियतनामले ‘समाजवाद उन्मुख बजार अर्थतन्त्र’ नामकरण ग¥यो । यस नयाँ नीतिअनुसार निजी क्षेत्रलाई दैनिक उपभोग्यवस्तुको उत्पादन र बिक्री वितरणको लागि हौस्यायो । साथै विदेशी लगानी तथा विदेशी उद्योगधन्दालाई पनि प्रोत्साहन दियो ।

महासचिव नुगेन भान लिन्ह

सन् ९० को दशकसम्ममा अथवा डोइ मोइ लागु गरेको करिब डेढ दशकको अवधिमा यस नयाँ नीतिले सकारात्मक परिणाम देखाएको पाइयो । यस अवधिमा करिब ३० हजार नयाँ नयाँ निजी उद्यमहरू स्थापना भइसकेको, जनता स्वयंले उपयुक्त बाली लगाई आफ्नो उत्पादनलाई आफैँले बजारमा बेच्न पाउने नीतिले कृषि उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको जस्ता सकारात्मक प्रवृत्तिको मूल्याङ्कन गर्दा समग्र आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म देखियो । यसबाट उत्साहित भएर सरकारले सन् २००१ देखि निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न १० वर्षे आर्थिक योजनाको तर्जुमा ग¥यो । तर, सिङ्गो अर्थतन्त्रको लगाम सरकारकै हातमा रहने गरेर । सन् २००३ सम्ममा कुल औद्योगिक उत्पादनको एकचौथाइ उत्पादन ती निजी उद्योगहरूबाट भएको देखायो ।
भियतनाममा डोइ मोइ लागु भएपछि अथवा ८० को दशकमा विदेशी लगानीकर्ताको रूपमा पहिलो देश दक्षिण कोरिया थियो भने ९० को दशकमा ताइवान र सिंगापुर र सन् २००० को दशकमा जापान थियो ।

भियतनाममा स्थापना गरिएका विदेशी कम्पनीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *