भर्खरै :

हनोई र हो चि मिन्ह

हनोई र हो चि मिन्ह

भियतनाम यात्रा – ६

हनोईको लोभ्याउने ‘फो’
सिङ्गो भियतनाममा आधुनिक संरचनाहरू बनाउने होड चलेको समयमा कतै ऐतिहासिक सहर हनोईले आफ्नो पुरानोपन त गुमाउने होइन भनी हाम्रो मनमै एकखाले डर पैदा हुन्छ । पुरानो सहर जतिसुकै गुच्चमुच्च र साँघुरो भए पनि सार्वजनिक खुला स्थान निर्माणको लागि अझै काम भइरहेको देखिन्छ । खुला व्यायामशाला र पार्कहरूमा शारीरिक तन्दुरुस्तीको लागि सङ्गीतको धुन र तालमा व्यायाम नाच गरेको दृश्यले चीनको शाङ्घाई र पेइचिङ सहरको झझल्को दिन्छ । सहरको पुरानो बस्ती र बजारमा असरल्ल झुण्डिरहने अशोभनीय बिजुलीका तारलाई भर्खरै जमिनमुनि व्यवस्थित गरेको देखियो । यस्तो कार्य हामीकहाँ पनि सुरु भएकोले भोलि कस्तो हुन्छ भनी अनुमान लगाउन सजिलो भयो ।
व्यस्त पुरानो बजार र बस्तीमा साँझ तहलिँदा जहाँतहीँ देखिने दृश्य भनेको रेष्टुराँको बाहिर पेटीमा किन्डरगार्टेनका ससाना नानीहरू बस्नेजस्ता टेबल र मेचमा गफिँदै, चुरोटको धुवाँ उडाउँदै बेलुकाको खाना समूहमा मिलेर र बाँडचुँड (शेयर) गरेर खाइरहेको देखिन्छ । उनीहरू करिब २५ देखि ४० वर्षभित्रका युवा युवती दिनभरिको आ–आफ्नो कार्यालयको कामबाट थकान मेटाउँदै बेलुका खानाको मज्जा लिइरहेका देखिन्थे । यस दृश्यले जो कोही बटुवालाई त्यहीँ बसेर खान लोभ्याउँदो रहेछ । कार्यालयमा काम नगरेका हामी पर्यटकहरू पनि दिनभरिको घुमघामले लखतरान परिसकेकाहरूलाई यी दृश्यले नलोभ्याउने कुरै भएन ।
हाम्रो दालभातजस्तै भियतनामको प्रख्यात खानालाई ‘फो’ (Pho) भनिन्छ । चामलको पिठोले बनेको लामो सेतो चाउमीन, केही उसिनेका मासु, प्रशस्त झोल, प्याज, धनियाँ, हरियो प्याज, अरु मसलाहरू राखेर ठुलो कचौरा (बाओल) मा पस्काइने ‘फो’ ले साँच्चिकै जो कोहीलाई लोभ्याउँछ । हामी पनि खाना देखेर लोभियौँ । तर, खानाको एक दुई सर्कोपछि नै हाम्रो हालत चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरीको अवस्थामा पुग्यो । मसलायुक्त छुयाला, सेकुवा, भुटन, दाय्का ला, तकोलाको स्वादमा रमाएका हाम्रा जिब्रोहरूले मात्र उसिनेका जस्तो स्वाद भएको ‘फो’ लाई आत्मसात गर्न सकेनन् । यस ‘फो’ नामक खाना साँच्चिकै भियतनामकै आफ्नै रैथाने खाना हो कि होइन भन्नेबारेमा बेला मौकामा विवाद र बहस पनि चल्दोरहेछ । रैथाने खाना होइन भन्नेहरूले यसलाई तीन देशको खानाको समिश्रणको रूपमा व्याख्या गर्छन् । चाउमीन निःसन्देह चिनियाँ खाना, यसमा राखिने झोल फ्रेन्च शूपको चलन र अन्य धनियाँ, प्याज र मसला भियतनामी । यसरी व्याख्या गर्नेहरू अझ भन्छन् फ्रेन्च शब्द Feu को उच्चारणसँग ठ्याकै मिल्छ फो ।

साँझ हनोई सहरमा “फो” खाइरहेका भियतनामी युवाहरू र बाउलमा राखेको “फो” इन्सेटमा

नयाँ वर्षको तयारी
हनोईको पुरानो बजार घुम्दै गर्दा पसल र बजारमा एउटा नयाँ रौनक थियो । विभिन्न कोठा र घर श्रृङ्गार्ने ससाना झिलिमिली सामानहरू चिनियाँहरूले घर पसलमा झुण्ड्याउने कागजका राता बत्तीजस्ता बलहरू, पुतली र अरु डलहरू, रङ्गीविरङ्गी पूmलका टोकरी र ससाना गमलाहरू, केटाकेटीका खेलौनाहरू प्रशस्त बिक्रीको लागि राखिएको देखियो । पछि थाहा भयो यो रौनक सबै जनवरीको अन्त र फेब्रुअरीको सुरुवातमा धुमधामका साथ मनाइने नयाँ वर्षको तयारीमा लागिरहेछन् । नयाँ वर्षमा भियतनामीहरू पारिवारिक जमघट, घरका जेठाबाठाहरूलाई सन्मान, सामूहिक खानपान, घर सजावत गरेर मनाउँदा रहेछन् । सन् २०२४ लाई ड्राइगन वर्षको रूपमा मनाइँदै छ भने सुनियो । तर, त्यसको करिब ६ हप्तापछि काठमाडौँस्थित चिनियाँ दूतावास, भक्तपुर नगरपालिका र पर्यटन बोर्ड नेपालको सहआयोजनामा भक्तपुरमै नयाँ वर्ष मनाएको पनि अवलोकन गर्न पायौँ ।
स्वाधीनताका लागि अथक प्रयास
भियतनामको उच्चारण गर्दा हो चि मिन्हलाई नसम्झिने सायदै कोही होला । भियतनामी जनतामाझ ‘काका हो’ भनी चिनिने हो चि मिन्हलाई संसारभरि नै महान् देशभक्त र सरल जीवनको पर्यायको रूपमा लिइन्छ । संसारभरि उनलाई उपनिवेशवादविरुद्धको एसियाली आन्दोलनका प्रतीकको रूपमा पनि लिइन्छ । देशको स्वाधीनताको लागि सबै कुराको बलिदान गर्नुपर्छ भन्ने मान्यता राख्ने काका हो भियतनामको स्वतन्त्रताको लागि साँच्चिकै विभिन्न हन्डर खाँदै संसारका धेरै कुनाकाप्चा पुगेका थिए । उनका बुबा गाउँका एक कन्फ्युसियस दर्शन पढेका एक विद्वान् मान्थे र उनी फ्रान्सेलीहरूलाई घृणा गर्थे । फ्रान्सको उपनिवेशको पञ्जाबाट आफ्नो देशलाई मुक्त गर्नुपर्छ भन्ने धारणा घर परिवेशले नै हो चि मिन्हलाई दियो । यही उद्देश्यको लागि उनी शिक्षक पनि भए । फ्रान्समै बसेर आन्दोलनमा सक्रिय हुँदा पक्राउ प¥यो भने ज्यानको समेत सजाय हुनसक्ने भएकोले हो चि मिन्हले विदेशमा बसेर आन्दोलन थाल्ने मनमा लिए ।
दक्षिण भियतनामको साइगन सहरको विश्वविद्यालयमा उनले व्यवसायिक तालिम पनि लिए र एउटा फ्रान्सेली पानीजहाजमा भान्छेको रूपमा ३ वर्ष बिताए । यही तीन वर्षमा उनले अफ्रिका महादेशका विभिन्न बन्दरगाहहरू, अमेरिकाको बोस्टनदेखि न्युयोर्कसम्म, लण्डनदेखि फ्रान्ससम्म, फ्रान्सदेखि रुस, चीनसम्म पटकपटक आफ्नो अभियानलाई फन्को मार्दै गोप्यरूपमा कार्यरत भए । विदेशमा पनि भियतनामी भनी थाहा पाए भियतनामकै फ्रेन्च सरकारलाई सुपुर्दगी गर्ने सम्भावना हुन्थ्यो । त्यसैले भनिन्छ, आफ्नो परिचय लुकाउन ६० वटा देशमा पुग्दा हो चि मिन्हले ५० वटा जन्म मिति र सयौँ वटा आफ्नो नाम फेरेका थिए । सन् १९११ देखि आफ्नो जन्मभूमि छोडेका हो चि मिन्ह फ्रान्समा १९१७ देखि १९२३ सम्म रहे । त्यहाँ उनले समाजवादका महत्वपूर्ण तथ्यहरूको अध्ययन गरे र त्यहाँ रहेका भियतनामीहरूलाई सङ्गठित गर्दै आफ्नो देशका भियतनामी नागरिकले फ्रान्सेली नागरिक सरहको अधिकार पाउनुपर्छ भनी लबिङ गर्न आठबुँदे लिखित दस्ताबेज तयार गरेर पेरिसको भर्सिलिज दरबारमा मित्र राष्ट्रहरूका प्रतिनिधिहरूबिच भइरहेको सम्मेलनमा पेस गरेका थिए । त्यतिबेला पहिलो विश्वयुद्धको समाप्तिसँगै हार्ने जर्मनीलाई भर्सिलिजको सम्झौतामा हस्ताक्षर गराउन ती शक्तिराष्ट्रहरू छलफलमा व्यस्त थिए ।
त्यस आठबुँदे मागप्रति शक्तिराष्ट्रका प्रतिनिधिहरूबाट केही सम्बोधन त भएन, तर हो चि मिन्हको यस प्रयासको आफ्नै भूमिका पढालेखा र सचेत भियतनामीहरूबाट ठुलो प्रशंसित भयो । यतिबेलासम्म रुसको अक्टोबर क्रान्तिको सफलता र महान् नेता लेनिनको उपनिवेशविरोधी अभियानले उपनिवेशमा पिल्सिएका एसियादेखि अफ्रिका र ल्याटिन अमेरिकासम्मका जनतालाई सचेत पारिसकेको थियो । लेनिनको यस नीतिले हो चि मिन्ह प्रभावित र आशावादी नहुने कुरै भएन । सन् १९२३ को अन्तमा मस्को पुगेका हो चि मिन्हले केही महिनामा ठुलो दुःखदायी घटनाको सामना गर्नुप¥यो । सोभियत सङ्घका संस्थापक महान् नेता लेनिनको दुःखद निधन भयो र हो चि मिन्हले रुसी कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राभ्दामा अलबिदा लेनिन शीर्षकमा लेख लेखेर श्रद्धासुमन चढाए । पाँचौँ इन्टरनेसनल कम्युनिस्टको महासभामा सक्रिय भाग लिएका हो चि मिन्हले फ्रान्सको कम्युनिस्ट पार्टीले आफ्नो सरकारको उपनिवेशवादी नीतिको चर्को आलोचना नगरेकोमा विरोध गरे । देशको क्रान्तिमा कारखानाका मजदुरहरूको मात्र होइन बरु दबाइएका किसानहरूको पनि उत्तिकै महत्व हुने कुरा पहिलोपल्ट उनले प्रस्ताव राखेका थिए, जसलाई सभाका प्रतिनिधिहरूले महत्वपूर्ण भनेका थिए ।
हो चि मिन्हको सबभन्दा ठुलो सिप, रणनीति र व्यक्तित्वको विशेषता भनेको आफू बाहिर कर्ता जस्तो नदेखिने तर आफ्नो योजनाअनुसारको काममा सबैको सहयोग प्राप्त गर्नसक्ने क्षमता हो । कुनै बेला उनलाई चीन र रुस दुबैको सहयोगको खाँचो भएको बेला दुई देशबिचको सम्बन्धको सन्तुलनलाई उनले खलबलिन दिएनन् । सन् १९११ देखि १९४५ सम्म पैँतीस वर्ष अनवरत र अविराम प्रयासले देशलाई फ्रान्सको उपनिवेशबाट मुक्त गर्न सफल भयो । तर, भियतनामी जनता र आफ्ना कमरेडहरूबाट देशलाई अमेरिकी साम्राज्यवादबाट मुक्त गराएको महान् घटना घट्नु पाँच वर्ष पहिल्यै उनी देहावसान भए । तर, उपनिवेशवादविरुद्धको सङ्घर्षका पर्यायको रूपमा संसारले हो चि मिन्हलाई सम्झिरह्यो ।

हो चि मिन्ह चिनियाँ नेता तङ स्याउपिङसँग

हो चि मिन्हप्रति नतमस्तक भियतनामीहरू
देशको स्वतन्त्रता र स्वाधीनताको लागि हो चि मिन्हले गरेका अथक प्रयास, त्याग, तपस्या र बलिदानले सारा भियतनामी जनताले उनलाई आफ्नो मन र मुटुमा राखे । सधैँ उनलाई नजिकबाट हेर्न सकून् भनी आखिरमा उनको मृत देहलाई समाधिमा सुरक्षित राखे । जनताबाट यस्तो अगाध माया र सम्मान पाउने क्रान्तिकारी नेतामा लेनिनपछि हो चि मिन्ह दोस्रो भए । मस्कोको ‘रेड स्क्वायर’, पेइचिङको ‘तियानमेन स्क्वायर’ भनेजस्तै हनोईको ऐतिहासिक र सांस्कृतिकरूपमा महत्वपूर्ण चोक ‘बा डिन्ह चोक’ हो । फ्रान्सेली उपनिवेश सरकारले सन् १८९० मा आफ्नो प्रशासनिक केन्द्र र फूलको बगैँचामा रूपान्तरण गरेको यही चोकमा क्रान्तिकारी नेता हो चि मिन्हले सन् १९४५ सेप्टेम्बर २ का दिन भियतनाम फ्रान्सबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । यस चोकको चारैतिर देशको महत्वपूर्ण सरकारी भवनहरूजस्तै, राष्ट्रपति भवन, भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय, माथिल्लो सदन राष्ट्रिय सभाभवन, परराष्ट्र मन्त्रालय र सबभन्दा महत्वपूर्ण हो चि मिन्हको समाधि रहेका छन् ।
भियतनाम र सोभियतका इन्जिनियरहरूको सहकार्यमा निर्माण गरिएको सो समाधि आधिकारिकरूपमा सन् १९७५ अगस्तदेखि सञ्चालन गरिएको थियो । के बच्चा के जवान र बुढापाका, के स्वदेशी र के विदेशी सो समाधिको दर्शन गर्न घण्टौँ लामो लाइनमा उभिएका मानिसहरूलाई देख्दा कमिलाका ताँतीजस्तै देखिन्छन् । वर्षमा तीन महिना मर्मत सम्भारको लागि समाधि बन्द गरिन्छ । आज पनि बा डिन्ह चोक ऐतिहासिक र सांस्कृतिक चोक मात्र होइन एउटा सुन्दर बगैँचाजस्तो पनि देखिन्छ । थुप्रै वर्गाकार सजाइका हरिया घाँसबिचको रमणीय रङ्गीचङ्गी फूलहरूले सजिएको बा डिन्ह चोकमा प्रवेश गर्दा मन शान्त र प्रफुल्लित हुन्छ । अगाध श्रद्धाभावले आफ्ना नेतालाई श्रद्धासुमन गर्न देशको कुनाकुनाबाट आउने भियतनामीहरू देख्दा भन्न करै लाग्छ – काका हो तिमी साँच्चिकै अमर छौ ।

सन् १९५७ मा राष्ट्रपति हो चि मिन्ह रुसी नेता भोरोसिलोभलाई हनोईमा स्वागत गर्दै
(हो चि मिन्ह सोभियत सङ्घमा सन् १९२३, इन्सेटमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *