भर्खरै :

नेमकिपाका अध्यक्ष रोहितले इतिहासको भौतिकवादी व्याख्या गर्नुपर्नेमा जोड

नेमकिपाका अध्यक्ष रोहितले इतिहासको भौतिकवादी व्याख्या गर्नुपर्नेमा जोड

भक्तपुर, २८ फागुन । इतिहास तथा संस्कृतिका अध्येता प्रा. डा. पुरुषोतमलोचन श्रेष्ठको इतिहास, संस्कृति र पुरातत्वसम्बन्धी पुस्तक ‘अन्तरङ्गका तरङ्गहरू’ सोमबार एक कार्यक्रमबिच विमोचन भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतका विशिष्ट व्यक्तित्वहरूले पुस्तकको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष रोहितले प्रा.डा. श्रेष्ठको पुस्तकको प्रकाशनको सन्दर्भ राख्दै यस्ता पुस्तकहरू विश्वविद्यालय, पुरातत्व विभाग तथा प्रज्ञा प्रतिष्ठानहरूले प्रकाशन गर्नुपथ्र्यो भन्नुभयो । उहाँले प्रज्ञा प्रतिष्ठान, पुरातत्व विभागले इतिहास तथा संस्कृतिका पुस्तकहरूको प्रकाशनमा सक्रियता देखाउनुपर्ने भन्दै त्यसो नगरेका संस्था तथा सरकारहरूले लज्जाबोध गर्नुपर्ने भनाइ राख्नुभयो ।
लेखक पुरुषोत्तमलोचन श्रेष्ठलाई धन्यवाद एवम् बधाई दिँदै अध्यक्ष रोहितले लेखक श्रेष्ठको योगदान खेर नजाने विचार राख्नुभयो । उहाँले लेखक श्रेष्ठले हालसम्म उपलब्ध सामग्रीको आधारमा पुस्तक लेख्नुभएको चर्चा गर्दै अध्ययन तथा अनुसन्धान गर्दै जाने हो भने नयाँनयाँ प्रमाणहरू भेटिने र नयाँनयाँ तथ्यहरू खुल्दै जाने भनाइ राख्नुभयो ।
नेमकिपाका अध्यक्ष रोहितले इतिहासको भौतिकवादी व्याख्या गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शासकहरूले धर्मलाई हतियारको रूपमा प्रयोग गर्दै आएको भन्दै संरा अमेरिकामा एकजना कालाजातिको नागरिकको हत्याको कारण चारैतिरबाट विरोध भएपछि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइबल समातेको तस्बिर सार्वजनिक गराएको बताउनुभयो । उहाँले इजरायल र प्यालेस्टिनबिच धर्मकै नाममा युद्ध लडाएको भन्दै रामायण तथा महाभारतलाई इतिहासको रूपमा लिन नहुने भनाइ राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डा. पुरूषोत्तमलोचन श्रेष्ठद्वारा लिखित इतिहास, संस्कृति र पुरातत्वसम्बन्धी अनुसन्धानमूलक लेखहरूको सङ्ग्रह ‘अन्तरङ्गका तरङ्गहरू’ भक्तपुरका सम्पदाबारे अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “डा. श्रेष्ठले भक्तपुरका धेरै सम्पदाहरूको अध्ययन अनुसन्धान गर्नुभयो । कतिपय किंवदन्तीको रूपमा, सुनिरहेका सम्पदाहरूका बारेमा प्राप्त प्रमाणहरूको अध्ययन अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुभयो । जीवनका महत्वपूर्ण समय उहाँले अध्ययन अनुसन्धानमा खर्च गर्नुभयो । ‘अन्तरङ्गका तरङ्गहरू’ उहाँको पसिनाको सङ्ग्रह हो । पसिनाको मूल्य हुँदैन । यो अमूल्य ग्रन्थ हो ।”
“हामीले सिन्धुघाँटी र हरप्पा सभ्यताबारे अध्ययन गर्छौँ । आजभन्दा ४ हजार वर्ष पहिलेका बासिन्दाहरूले उपभोग गरेका वस्तुहरू, निर्माण गरेका संरचनाहरूबारे बुझ्छौँ । मोहन्जोदारोमा उत्खनन गरेर प्राप्त गरेका धातु र प्रस्तर मूर्तिहरूको अध्ययनले तत्कालीन मानिसहरूको उत्कृष्ट कलाकारिताबारे जानकारी दिन्छ । नगर सभ्यताको विकास, अग्ला अग्ला घरहरू, त्यहाँका मानिसहरूको जनजीवन बुझ्न मद्दत गरेको छ ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले थंथु दरबार निर्माण गर्दै छ । त्यसबारे पुरातत्व विभाग, संस्कृति मन्त्रालयसँग पनि समन्वयमा रही काम गर्दै छौँ । केही समयअघि मात्रै पुरातत्व विभागका निर्देशक, युनेस्को प्रतिनिधिहरू आएर अध्ययन गर्नुभयो । ठाउँठाउँमा खाल्डो खनेर उत्खनन गरी प्राप्त वस्तुहरू परीक्षणको लागि लिएर जानुभयो । अहिले निर्माणको लागि अघि बढ्न सल्लाह दिनुभयो । अब निर्माणले गति लिन्छ ।”
उहाँले भन्नुभयो, “लिच्छविकालीन र मल्लकालीन सम्पदा रहेको भक्तपुर एक सम्पदा नगर हो । यहाँको प्राचीन मौलिकता हराउन नदिन भक्तपुर नगरपालिकाले मेहनत गरिरहेको छ । परम्परागत घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था, डकर्मी, सिकर्मीको तालिम, कला–संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रमको व्यवस्था नगरपालिकाले मौलिकता जोगाउने प्रयासका केही उदाहरणहरू हुन् ।”
लेखक प्रा. डा. श्रेष्ठले आफ्नो ४० वर्षदेखिको मेहनतको फलको रूपमा पुस्तक प्रकाशन भएको भन्दै आफ्ना पुराना प्रकाशित लेखहरूमा थप तथ्य र तथ्याङ्कका साथ पुस्तक प्रकाशन गरेको बताउनुभयो ।
पुस्तक विमोचन समारोहका वक्ता विशिष्ट व्यक्तित्वहरूले पुस्तक इतिहास, संस्कृति अनि पुरातत्वका विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि एउटा दस्ताबेजको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, प्राध्यापक हेमन्तशमशेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचारविरुद्धका अभियन्ता भरतमणि जङ्गम, अर्थविद् निरञ्जनकुमार टिबरेवालालगायतले पुस्तक उपयोगी भएको भनाइ राख्नुभयो ।
कार्यक्रममा प्रकाशित पुस्तकका बारेमा त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख राजनलाल (रास) जोशी र साहित्यकार एवं भाषाविद् सूर्य लाकोजूले समीक्षा गर्नुभएको थियो ।
प्रकाशक संस्था संचित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार एवं अधिवक्ता गजेन्द्रशङ्कर तिमिला र धन्यवाद संस्थाका अर्का सल्लाहकार विनोदचरण रायले गर्नुभएको थियो ।
लेखक प्रा.डा. श्रेष्ठका यसअघि पनि एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
सोमबार विमोचित पुस्तकमा एक सय एक वटा लेखहरूको सङ्कलन रहेको छ । पुस्तक एक हजार एक सय ३६ पृष्ठको मोटो छ । पुस्तकको मूल्य पाँच हजार राखिएको छ । पुस्तकको प्रकाशन भक्तपुर इटाछेँस्थित संचित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *