भर्खरै :

अद्भूत बाना हिल

अद्भूत बाना हिल

भियतनाम यात्रा – ८

पुलहरूको सहर दा नाङ
तेस्रो दिनको साँझ हनोई सहरलाई बिदाइ गर्दै रातभरि रेलको करिब नौसय साठी किलोमिटरको यात्रा गर्दै भियतनामको मध्य भागमा अवस्थित व्यापारिक सहर दा नाङमा बिहान पुग्यौँ । रेलको झ्यालबाट पश्चिम दिशामा चियाउँदा बाहिर देखिने दृश्यले हामी नेपालको तराईको पूर्व–पश्चिमा राजमार्ग यात्रा गरिरहेका छौँ भन्ने भान भयो । ठाउँठाउँमा उद्योग र कलकारखानाका लागि बनाइएका एकतले तहराहरू, बाटाका छेउछाउमा स–साना घरहरू र स–साना बजारहरू देखिन्थे । उत्तरबाट दक्षिण दिशामा दगुर्दै गरेको रेलको पश्चिमपट्टि आँखैले नभ्याउने हरिया फाँटहरू देखिन्छन् भने पूर्वमा समुद्री तट ।
हामीले चढेको रेल परम्परागत भएकोेले होला, स्लीपर रेलको करिडोर र स्लीपरहरू साँघुरै थिए । खानाको च्वाइस नहुनु र बस्ने स्थान र शौचालयहरूसमेत साँघुरा भएकोले बिहानको सिमसिमे पानीसँग रेलबाट झरेर दा नाङ सहरको रेल स्टेसनमा पाइला टेक्न पाउँदा रातभर कक्रक्क परेको जीउ एकाएक तन्किएको भान भयो । दा नाङ हनोइजस्तो सांस्कृतिक र ऐतिहासिक सहर होइन, सन् १८५८ मा फ्रान्सेलीहरूले भियतनामलाई उपनिवेश बनाएपछि नयाँ व्यापारिक सहरको रूपमा विकास गरिएको मानिन्छ । तथापि, युनेस्कोले दा नाङका तीन सांस्कृतिक सम्पदाहरूलाई आफ्नो सूचीमा राखेका छन् । ह्यु, हवाई आन र माइ सन । माइ सन चौथोदेखि ते¥हौँ शताब्दीतिरको ‘चम्पा अधिराज्यको’ समयमा निर्माण गरिएको ठुला हिन्दू मन्दिरहरू, विशेषतः महादेव मन्दिरसहितको ठुलो परिसर (कम्प्लेक्स) हो भने ह्यु र ह्वाइ आन प्राचीन सहरहरू हुन् ।
हान नदीले सिञ्चित यस सहरमा धेरै पुलहरू बनाइएका छन् । व्यापारिक र आर्थिक सहर बन्नुको एक आधार दा नाङ एक बन्दरगाह सहर पनि हो । साथै दा नाङ धेरै भियतनामकै र छिमेकी देशहरूका सहरहरूसँग यातायातले जोडिएको सहर भएकोले यसलाई यातायातको केन्द्र (हब) पनि भनिन्छ । छिमेकी राष्ट्रहरू कम्बोडिया र थाइल्यान्डसँग जोड्ने हाइवे पनि यहाँ बनाइएका छन् । सहरका धेरै पुलहरूमध्ये ड्राइगन पुल पनि एक प्रमुख हो ।

दा नाङ सहरको एक प्रमुख ड्रागन पुल

अद्भूत बाना हिलको विगत
दा नाङ सहरमा माथि चर्चा गरेका तीन प्रमुख सम्पदा क्षेत्रहरू हामीले अवलोकन गर्ने अवसर त पाएनौँ । तथापि, हाम्रो समूहको लागि अर्को अति आकर्षक पर्यटक क्षेत्र घुम्ने चाँजोपाँजो मिलाइएको रहेछ । बाना हिल नाम भएको पर्यटक क्षेत्र भएकोले यो हाम्रो नगरकोट, रानीकोटजस्तै कुनै डाँडामा बनाइएको पर्यटक क्षेत्र होला भने अनुमान भयो । हुन त दा नाङ सहरको करिब २५ किमि पश्चिममा अवस्थित पहाडलाई ट्रङसङ पहाड भनिन्छ । बाना जातिका समुदाय बस्ने भएकोले यसलाई बाना हिल भनिएको भनिन्छ । वास्तवमा बाना हिलको अर्थ ‘मेरो पहाड’ भनी अथ्र्याइएको पनि पाइन्छ ।
समशीतोष्ण हावापानी भएका युरोपेली देशहरूले उष्ण हावापानी भएका देशहरूमा उपनिवेश चलाउँदा गर्मी छल्न हरेक देशहरूमा अग्लो डाँडा र पहाडमा गर्मी यामको उखरमाउलो गर्मी छल्न ग्रीष्म निवास बनाउने गर्थे । दार्जलिङ र देहरादुन अङ्ग्रेजले भारतमा शासन गर्दा बनाएका हिल स्टेसनहरू थिए । यसरी नै बाना हिल फ्रान्सेली शासकले पूरा हिन्दचीनको लागि फ्रान्सेली हाकिमहरूका लागि बनाइएको समुद्र सतहबाट करिब १५०० मिटरको उचाइको हिल स्टेसन थियो । उन्नाइसौँ शताब्दीको अन्ततिर अथवा सन् १८९० देखि बिस्तारै बनाउँदै लगेको यस हिल स्टेसन रिसोर्टमा सन् १९२० देखि ३० सम्ममा मनोरञ्जनका लागि आवश्यक सबैखाले सुविधाहरू जस्तै, सिनेमा, होटल, रेस्टुराँ, टेनिस कोर्ट, हुलाक सेवा, मधुशाला, अस्पतालको व्यवस्था गरी करिब २४० वटा सुविधायुक्त आवासहरू बनाएका थिए । सन् १९२८ मा माथिसम्म पुग्ने सडक निर्माण गरे पनि त्यहाँ पर्यटकको सङ्ख्या बढ्दै गएको थियो ।
दोस्रो विश्वयुद्धपश्चात् भियतनाम स्वतन्त्र घोषणा भयो । त्यसपछि स्थानीय भियतनामीहरूले यस स्टेसनलाई फ्रान्सेली अवशेषको रूपमा लिई केही भवनहरूलाई ध्वस्त पारेका थिए । त्यस बेलादेखि निष्क्रिय र त्यागिएको स्थलको रूपमा रहेको स्टेसनमा फेरि अमेरिकासँगको युद्धमा यस क्षेत्रमा बमबारी भयो । यसरी करिब ५० वर्षसम्म यो स्ेटसन भग्नावशेषको रूपमा रहिरह्यो । सन् १९८६ मा नयाँ उदार आर्थिक नीति डोइ मोइ लागु गरेसँगै स्थानीय जन समितिले यस स्टेसनलाई इको पर्यटकीय क्षेत्रको रूपमा पुननिर्माण गर्ने निर्णय ग¥यो । त्यसको दस वर्षपछि अथवा सन् १९९६ मा स्थानीय पालिकाका अधिकारीहरूले यसको पुनर्निर्माण गर्ने जिम्मा सन ग्रुप नामको एक संस्था र कम्पनीलाई लगाए ।

थिम पार्कको मूल चोकमा नेपाली युवतीहरू

बाना हिलको नयाँ अवतार
हाम्रो अनुमानभन्दा निकै फरक ढङ्गमा भव्यरूपमा बाना हिलको पुनर्निर्माण गरिएको पाइयो । समुद्र सतहबाट १५०० मिटरको उचाइमा पुग्न केबलकारको व्यवस्था गरिएको छ । सन् २००९ मा सञ्चालनमा ल्याइएको केबलकार त्यतिबेला संसारको सबभन्दा लामो (करिब ५८०१ मि.) सिङ्गल ट्रेक केबलकार भएकोले गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम दर्ज भएको थियो । हाम्रो मनकामना केबल कारभन्दा दस वर्षपछि सञ्चालनमा ल्याइएको यस केबलकारलाई पनि अत्याधुनिक नै मानिन्छ । केबलकार चढ्न बनाइएको टर्मिनल भवनहरूको भव्यता र सजावट निकै आकर्षक देखिन्छ । प्रवेश द्वार, हिँड्ने बाटो, वरिपरिको बगैँचा, माछा पोखरी, चमेना गृह, सुरक्षा जाँच सबै व्यवस्थित देखिन्छन् । ६ जनाको सीट रहेको कारमाथि उल्किँदै जाँदा माथि आकाश हुस्सुले छोप्दै गयो । तर, मुनि कलकल बग्दै गरेको सेतो प्राकृतिक झरना र हरियो घना जङ्गलले शरिरले सन्चो महसुस नगरेको भए पनि मनलाई छ्वाङ पार्दै लग्यो ।
करिब २० मिनेटको केबल कारको यात्राले १५०० मिटरको उचाइमा रहेको बाना हिल स्टेसनको मूल चोकमा पु¥यायो । त्यस भव्य चोकको वरिपरि उभिरहेका भवनले हामी भियतनाम होइन बरु युरोपको भ्रमणमा छौँ कि जस्तो भान गरायो । हाम्रो पथप्रदर्शकले दुई घण्टा वरिपरि आफूलाई मनपर्ने स्थानहरूमा घुमेर सबै यही चोकमा भेट्ने सूचना जारी गर्यो । एकछिन घुम्दै जानकारी लिँदै जाँदा थाहा भयो यो सिङ्गो स्टेसनमा हेर्ने र घुम्ने ठाउँ धेरै रहेछन् । गोल्डेन ब्रिज, मनोरन्जन पार्क, जुरासिक पार्क, सिनेमा हल, होटलहरू, फ्यान्ट्यासी पार्क, रेस्टुराँहरू, वियर पार्क, मधुशाला, पीजा रेस्टुराँ, प्रेमको बगैँचा (गारे डि जारडिन), फ्रेन्च भिलेज आदि । यस्ता मनोरञ्जन, खेल तथा आराम गर्ने स्थलहरू एकै ठाउँमा व्यवस्था मिलाइने प्रणालीलाई अहिलेको भाषामा थिम पार्क (Theme Park) भनिन्छ । बाना हिलको पुरानो हिल स्टेसनलाई थिम पार्कमा परिणत गर्ने कार्यले भियतनाम सरकारको पर्यटन प्रवद्र्धनको योजना समायानुकूल र प्रशंसनीय नै देखिन्छ ।
यस बाना हिलको पर्यटक स्थलकै कारणले आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या अप्रत्यासितरूपमा बढेको बताइन्छ । सन् २००९ मा दा नाङ अन्तर्राष्ट्रिय एयरपोर्टमा २१ लाख पर्यटकको आवागमन भएकोमा सन् २०१८ अथवा ९ वर्षको दौरानमा ३१ लाखभन्दा बढीको आवागमन भएको देखाउँछ । तथ्याङ्कले भन्छ, प्रत्येक ३ जना दा नाङ सहर आउने विदेशी पर्यटनमध्ये २ जनाले बाना हिल पार्कमा भ्रमण गरेकै हुन्छन् । फ्रान्सेली भग्नावशेषको रूपमा आधा शताब्दीसम्म बेवास्ता गरिएको हिल स्टेसनलाई पुनर्निर्माण गरी नयाँ अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सोच र साहसको सराहना गर्नैपर्छ । युरोपेली पर्यटकलाई अपनत्व महसुस गराउन मूल चोकमै युरोपका प्रख्यात साहित्यकारदेखि सङ्गीतकारसम्मका व्यक्तित्वहरू जस्तैः– विलियम शेक्सपियर, विथोविन, मोजार्ट, लियो तल्सताय, भिनसेन्ट भान गाक, भिक्टर ह्युगोका अर्धकद सालिकलाई सजाइएको छ ।

थिम पार्कको मूल चोकमा राखिएको रुसी महान् साहित्यकार लियो टल्सटाय

धन्यवाद सन वल्र्ड
बाना हिलको नयाँ अवतारको भव्यताको अवलोकन गर्दा यसको पुनर्निर्माणको जिम्मा लिने सन वल्र्डका बारेमा जान्न मनमा स्वतः कौतूहल भयो । हनोई सहरको हाम्रो पथप्रदर्शकभन्दा दा नाङको पथप्रदर्शकसँग धेरै सूचनाको अभाव देखिएकोले यसको बारेमा जानकारी बटुल्न आफैँले केही मेहनत गर्नुपर्यो । वास्तवमा सन वल्र्ड समूह भियतनामकै एक प्रख्यात निर्माण कम्पनी हो । सन् २००७ मा स्थापित यसका समूहका प्रमुख व्यक्तिहरू पूर्वसोभियत सङ्घमा कार्यरत थिए । ठुलठुला हाउजिङदेखि अपार्टमेन्ट भवन र मनोरञ्जन पार्कको डिजाइन र निर्माणमा प्रसिद्ध यस समूहले युक्रेनको खार्कोभ सहरमा पनि यस्तै अत्याधुनिक होटल, वाटरपार्क र अपार्टमेन्ट भवनहरू निर्माण गरेको थियो । यो भव्य बाना हिल थिम पार्कको अनुभव बटुल्दै केबल कारमा फर्किँदै गर्दा १५०० मिटरको उचाइबाट तल देखिने चरा आँखा दृश्य (Birds’s Eye View) अझ मनमोहक देखियो । पर क्षितजसम्म फैलिएका होचा होचा हरिया डाँडाहरूको लहरहरू अति मनमोहक थियो । तर, मौसमको कारण पूर्व क्षितिजमा दक्षिण चीन सागरको लहर भने आँखाले भ्याउन सकिएन । मनमनै गमे, हाम्रा सेता अग्ला हिमालहरूले अपराह्नको समयमा बादलको घुम्टो ओढेजस्तै यहाँ पनि तुँवालो र हुस्सुको पर्दा पछाडि केही समय समुद्रले पनि सुस्ताउँदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *