भर्खरै :

त्यो दिन सम्झिँदा

त्यो दिन सम्झिँदा

सानु दाइको घरमा व्रतबन्धको कार्यक्रम थियो । उसका दाजुभाइ, आफन्त र नातेदारहरू बिहानैदेखि आएर आवश्यक साथ सहयोग गर्दै थिए । त्यहाँ आएका कोही पनि चुप लागेर बसेका देखिँदैथे । कोही काउली काट्दै थिए भने कोही प्याज काट्दै थिए, कोही गोलभेँडा र तरकारी काट्दै थिए । त्यतिबेलै जुलुसको नाराले त्यहाँ काम गरिरहेका सबैको कान ठाडो भयो । कोही एकचोटि हेरेर आउँछु भन्दै निस्के भने राजनीति मन नपरेका अर्धबैँसे र बुढापाकाहरू आज जुलुसमा नजानु भनेको छ है भन्दै काममा नै व्यस्त रहे ।
जनआन्दोलन समितिले आजको नेपाल बन्द सफल पार्न अनुरोध गर्दै हिजो बेलुका मसाल जुलुस गर्ने कार्यक्रम राखेको थियो । छड्के मसाल जुलुस गरिएको थियो । आन्दोलनलाई दबाउन उपत्यकाको ठाउँठाउँमा हिजोदेखि नै सशस्त्र पुलिसहरू तैनाथ गरेको देखिन्थ्यो भने पञ्चायती व्यवस्थाका मतियारहरू र मण्डलेहरू स्थानीय बासिन्दाहरूलाई आन्दोलनमा नलाग्न अनुरोध गर्दै विभिन्न डरत्रास देखाइरहेका थिए । तर पनि निरङ्कुशताविरुद्ध आज भएको भदौको भेलसरि निस्केको जुलुस देख्दा सबै अचम्मित भए । व्यवस्थाको विरुद्ध यस ठाउँमा यति ठुलो जुलुस निस्केको सायद पहिलो नै होला । जुलुसलाई रोक्न खोज्ने जो कोहीलाई पनि भेलले बगाउला जस्तो न त कसैमा जेलनेलको डर, न त लाठी गोलीको डर थियो । जनआन्दोलनको दोस्रो दिन पहिलो नेपाल बन्दकै दिनमा भक्तपुरका चार जना युवाहरूको ज्यान लिएको र ३०, ४० जना योद्धाहरू घाइते बनाएको घटनाकोे बदला लिनेजस्तो देखिएको जुलुस ‘प्रजातन्त्र पुनर्बहाली गर, निरङ्कुश पञ्चायती व्यवस्था मुर्दावाद, बहुदलीय व्यवस्था जिन्दावाद’ भन्दै अगाडि बढेको थियो ।
जोस जाँगर देखाएर आकाश थर्किने गरी नारा लगाउँदै अगाडि बढेको जुलुसमा सामेल भएका मानिसहरूमा राजनीतिक र मौलिक हक अधिकारको लागि मात्र नभई शोषण, अन्याय र अत्याचारबाट मुक्त हुन र आफनो जीवनमा पाएको दुःखकष्टबाट मुक्त हुन पनि जुलुसमा सामेल भएर एकता देखाएको प्रस्ट देखिन्थ्यो । समानता र समाजवादको लागि लागिपरेका भक्त, साइला दाइ, मनोज र अरु थुप्रै कार्यकर्ताहरू जुलुसको अग्रपङ्क्तिमा थिए । उनीहरू पहिलेदेखि जनताको सुख दुःखमा साथ दिँदै आएका राजनैतिक कार्यकर्ताहरू थिए । व्यवस्थाको विरुद्ध लागेको भन्दै उनीहरू पटकपटक शान्ति सुरक्षाअन्तर्गत जेलमा पनि परिसकेका थिए । जेल एउटा तिनीहरूको लागि राजनीतिक पाठशालाजस्तै भएको थियो ।
जुलुस चर्को नारासहित अगाडि बढ्दै थियो । भक्तले एकचोटि जुलुसको पछाडि हेरे । जुलुस हजारौँमा परिणत भइसकेको थियो । के युवा, के प्रौढ, महिला दिदीबहिनीहरूको समेत अकल्पनीय सहभागिता देख्दा उनी खुसी भए । उनले चाँडै नै निरङ्कुश व्यवस्था अन्त हुने कल्पना गरे ।
परिवर्तनको चाहना र निरङ्कुश तानाशाही व्यवस्था फालेरै पठाउनमा आतुर देखिएको जुलुस बजारको चोकमा पुगेपछि पन्ध्र बीस जना सशस्त्र प्रहरीले रोक्न खोजे । त्यहाँ एक किसिमको घम्साघम्सी भयो । प्रहरीहरूको लाठी प्रहारबाट धेरै आन्दोलनकारीहरू घाइते भए भने कहिले प्रहरीले लखेट्ने त कहिले ढुङ्गामुढा हानाहान गर्दै आन्दोलनकारीहरूले प्रहरीहरूलाई लखेटने भई युद्ध मैदान बनेको यस स्थानमा आन्दोलनकारीहरूको तर्फबाट दिएको जवाफी प्रतिकारबाट प्रहरीहरू धेरै घाइते भए । आफ्ना धेरै प्रहरीहरू घाइते भएपछि आक्रामक बनेका प्रहरीले पेल्दै गर्दा भाग्न नसकेका आन्दोलनकारीहरूलाई प्रहरीले समात्दै लाठी र लात्ताले बजार्दै पुलिस भ्यानमा लग्दै कोच्ने काम पनि भइरह्यो । तर पनि समातेका साथीहरू आन्दोलनमा सहभागी साथीहरूलाई नडराउन ढाडस दिँदै भन्दै थिए, “साथीहरू नडराउनुस् । जबसम्म यो तानाशाही व्यवस्था ढल्दैन, हाम्रो आन्दोलन जारी रहन्छ ।”
आन्दोलित भिडलाई तह लगाउन थप दुई तीन ट्रक सशस्त्र प्रहरी आएपछि अवस्था झन् आतङ्कित बन्यो । पेलेरै जाने नियतले आक्रोशित बनेका सशस्त्रका प्रहरीहरूको आतङ्क देखेर प्रदर्शनकारीहरू कोही कता भागे, कोही कता भागे । बोडेको चोकबाट पुरानो बस्तीतिर बढी भागेको देखेपछि सशस्त्र फौजका मानिसहरू घाइते बाघझैँ उतैतिर लखेट्दै गए । को आन्दोलनकारी, को बाटोमा हिँडेका बटुवा, को खेतमा जान लागेका किसानहरू र घाम तापेर बसेका बिरामीहरू तास खेलिरहेका मानिसहरू, गाई गोठमा पराल हाल्दै बसेका मान्छेहरूलाई समेत देख्न नहुने भयो । मौरीका चाकामा मौरीहरू झुमेझैँ सशस्त्रका प्रहरीहरू तिनीहरूको वरिपरि बसेर चुट्न थाले । मानाँै, सबै वैरी हुन्, आन्दोलनकारीहरू हुन् ।
बोडेको पुरानो बस्ती एकैछिन पूरै कफ्र्यु लगाए जतिकै चारैतिर सशस्त्र फौजले घेरेर आतङ्कित पा¥यो । यो ठाउँ भ्रष्टाचारविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक आन्दोलन, भर्पाई आन्दोलन गरेर तानाशाही व्यवस्थाका मतियारहरूको निदहराम गर्ने ठाउँ भएकोले तानाशाहीहरूको लागि आँखाको धुलो नै थियो पहिलेदेखि । सशस्त्र प्रहरीहरूको फौजले आज पनि पूरै बोडे घेरेर नेताहरूको खोजीको नाममा घरघरमा खानतलासी गर्ने, कुटपिट गरी दुःख दिने काम गरेर २०४५ भदौ ९ गतेलाई संस्मरण गराए । सशस्त्र प्रहरी फौजको आतङ्कबाट एकैछिन उदेगलाग्दो मसानघाटजस्तै सुनसान बन्यो । मानिसहरू कोही कता लुके, कोही कता भागे, कोही घर छोडी छिमेकी गाउँमा शरण लिए । महिलाहरू ज्यानको माया मारेर घरभित्र लुके, झ्यालमा समेत हेर्न सकेनन् । हिजो अस्ति बर्दीमा आएका पुलिसहरू देख्यो कि भुक्ने कुकुरहरू आज भुक्न छोडे । घरको झ्यालमा बसेर रमाउन चाहने बच्चाहरूलाई समेत बस्न दिएनन् । झ्यालमा कोही देखे बन्दुक तेस्र्याउँदै भन्दै थियो, झ्याल बन्द गर्ने कि गोली चलाऔँ ?
आन्दोलन सुरु भएदेखि केही मण्डले गुण्डाहरू फूर्ति गरेर टोलटोलमा आएर मान्छेलाई भड्काउँदै हिँड्ने गरेका थिए । आज पनि एकजना मण्डले गुण्डा जुलुस गइसकेपछि आफ्नै टोलका मानिसहरू जम्मा गर्दै जुलुसबारे विभिन्न नराम्रो टिप्पणी गर्दै थिए, गाली गर्दै थिए । बहुला कुकुरझैँ जसलाई देख्यो उसलाई पिट्दै लखेट्दै आएका सशस्त्र पुलिसहरूले गफ गर्दै बसेका ती मानिसहरू देखेपछि दौडेर आई सबैभन्दा पहिला त्यस मण्डले नेतालाई समात्दै लाठीले बजार्न थाले र “नेता भएर भाषण गरिरहेका होला नि !” भन्दै नराम्ररी गाली गरे । मण्डले नेता पनि बिन्ती गर्दै अनुरोध गर्दै थिए, “म पञ्चायत व्यवस्थाकै समर्थक हुँ । म मण्डले नेता हुँ, म आन्दोलनकारी होइन । बिन्ती मलाई छोडनुस् ।” भन्दा पनि पुलिसहरूले उसको कुरा सुन्न चाहेन र कठालो समातेर लाठीले बजार्दै पुलिस भ्यानतिर लगे ।
फागुन महिना धेरै विवाह र व्रतबन्ध हुने समय हो । फागुन महिना भए पनि आज सानु दाइको छोराको व्रतबन्ध कार्यक्रमबाहेक अर्को विवाह व्रतबन्ध कार्यक्रम कसैको देखिएन । बाजागाजाका साथ गाउँ परिक्रमा गर्दै आएका सानुदाइको व्रतबन्ध कार्यकममा सहभागी भएका मानिसहरू जुलुसका मान्छेहरू भाग्दै आएको देखेपछि बुढापाकाहरूबाहेक युवाहरू सबै भागे । भागेकाहरूमा लुकेर बसेका राम र शरण दुई जना पक्राउमा परे । जो जो पक्राउ परे उनीहरू सशस्त्र फौजका पुलिसहरूको रिस पोख्ने साधन बनिरहेका थिए । राम र शरणले पनि नराम्रो पिटाइ खाए । हिँड्न पनि सकेनन् । तैपनि, लातका लात दिँदै कठालो समातेर ल्याउँदै उनी पुलिस भ्यानमा कोचिए ।
जुलुसलाई नेतृत्व गर्दै आउनेमा भक्त पनि एक थिए । जुलुस भिडन्तमा परिणत भए पनि कार्यक्रम सफल पार्न उनी ज्यानै फालेर लागेका थिए । सशस्त्र फौजका पुलिसहरूले बोडेको चारैतिर घेरेर आक्रमण तीव्र बनाउन थालेपछि ज्यान जोगाउन भाग्दै आएर घरभित्र पसे । तर, उसलाई पछ्याउँदै आएका पुलिसहरूको नजरबाट उनी टाढा हुन सकेनन् । पुलिसहरू भक्तको घरको ढोका फोडेर नै जान खोजे । सशस्त्र पुलिसहरूले ढोका फोड्न लागेको देखेर भक्तको आमा ढोकामा आएर रोक्दै भनिन्, “मेरो घरको ढोका फोड्ने आदेश कसले दियो तिमीहरूलाई ? के कारण छ मेरो घरमा आउन ? मेरो घरमा आउने अधिकार छैन तिमीहरूलाई । ”
आक्रोशित पुलिसहरूलाई आगोमा घिउ थपेजस्तै भयो । उनीहरूले बुढी मान्छे पनि भन्न छोडेनन्, “अधिकारको कुरा नगर बुढी । छोड !” भन्दै धकेलेर लडाइदिए । घरभित्र पसेका सशस्त्र फौजका दुईजना पुलिसले घरमा खानतलासी सुरु गरे । अन्नहरू पोख्ने, सामानहरू भताङभुतुङ पार्दै भक्तलाई खोज्न थाले । सुतिरहेको ज्ञाने देखेपछि आक्रोशित हुँदै ज्ञानेको कठालो समातेर लात्ती दिँदै उठाउन खोजे र भने, “तँ नै होइन भागेर आउने । हिँड । अब थाहा हुन्छ तिमीहरूले चाहेको परिवर्तन के हो ?”
ज्ञाने ज्वरो आएर सुतिरहेका थिए । उसलाई आज जुलुस हुने थाहा थियो, तर जुलुस भयो भएन थाहा थिएन । आफ्नै अगाडि पुलिसहरू आई आतङ्क मच्चाउन लागेको देख्दा थाहा भयो आज नराम्रो घटना घटेको छ । पुलिसहरूको लाठी र लात्ताले उसको ज्वरो भागिसकेको थियो । पुलिसहरूको यस गतिविधिले उसलाई रिस पनि उठिरहेको थियो । तर, पनि आक्रोशलाई नियन्त्रण गरेर बोल्यो, “म ज्वरो आएर सुतिरहेको हुँ । मलाई आन्दोलनबारे केही थाहा छैन र हामी त्यस्तोमा लाग्ने मानिस पनि होइनौँ ।”
“बढी नबोल । हामीलाई सबै थाहा छ । उठ चाँडै,” भन्दै एकजना पुलिसले ज्ञानेलाई उठाउन पाखुरा समात्दै बलजफ्ती ग¥यो । ज्ञाने उठ्न नमानेपछि अर्कोले लात्ती दिँदै धम्की दियो, “तिमीलाई यही ठीक पारौँ कि सजिलैसित जाने ?”
आफ्नो बिरामी दाइलाई यातना दिएर लान लागेको देखेपछि भागेर कोठाभित्र लुकेका भक्तलाई असह्य भयो र ढोका खोली बाहिर आएर भने, “बिरामी मान्छे भन्दाभन्दै त्यसरी लछारपछार गर्नु तिमीहरूको धर्म त्यही हो ? अलिकति पनि दयामाया पनि छैन तिमीहरूमा ? कि तिमीहरूलाई यस्तै सिकाउने गर्दछ ?”
एकजना पुलिसलाई आफैँले देखेजस्तो गरेर भने, “जुलुसबाट भागेर आउने त यो हो । त्यो होइन । यसैलाई ठीक पार्नुपर्छ ।” भन्दै अगाडि बढेर एक लात्ती दिए । ढोका छेउमा उभेका भक्त त्यस पुलिसको लात्तीले ढल्न खोज्यो । अडेस लिन नसकेको भए लड्ने थिए । बिरामी ज्ञानेलाई कुट्न छोडेर दुवैजना पुलिस भक्तलाई रिस पोख्दै एकपछि अर्कोले लात्ती बर्साउन थाले । भक्तलाई गरेको अत्याचार सहन नसकेर बिरामी ज्ञाने आफ्नो भाइलाई सकी नसकी बचाउन खोजे । घरको दोस्रो तला चारजनाको युद्ध मैदान बन्यो । बिरामी ज्ञाने पुलिसको एक धक्कामै लडेर भित्तामा ठोक्न पुगे ।
भक्तकी आमा बाहिर ढोकामा बसेर, “गुहार गुहार, मान्छे मार्न लाग्यो” भन्दै कराउन लागे । डरले लुकेर बसेका मान्छेहरूले कहाँ सुन्थ्यो ? आगोमा को होमिन चाहन्थे ? कोही आएनन् । आक्रोशित पुलिसहरूले भक्तलाई लात्तीका लात्ती दिएर भ¥याङबाट तल खसाले । भक्तको टाउको फुट्यो । रगत बग्न थाल्यो । उसको हात भाच्यो । उनी अर्धचेतन अवस्थामा पुगे ।
भक्तको ‘ऐøया !’ भन्ने शब्द सुनेर दौडेर आएकी आमाले भक्तको अवस्था देखेर जोड जोडले रुँदै कराउँदै भने, “अति भो राक्षसहरू । मान्छे मारेर तिमीहरूलाई शान्ति मिल्छ भने मलाई मार । गोली हान । म मर्न तयार छु । मार मलाई हिम्मत छ भने ।”
आक्रोशित पुलिसहरूले न भक्तको आमाको आवाज सुन्न कोसिस गरे न त भक्तको टाउकोबाट बगिरहेको रगत र भाचेको हाततिर ध्यान दिए । दुवैजनाले भक्तको पाखुरा समात्दै जबरजस्त पुलिस भ्यानतिर लिएर जान थाले । पुलिसहरूको लछारपछार र लात्तीका लात्ती दिँदै छोरालाई लगेको देख्न नसकेर भक्तकी आमा रुँदै सराप्दै भनिन्, “तिमीहरूको सत्यानास होस् ¤ तिमीहरूको आमाले पनि यस्तै दुःख पाएको देख्न, सुन्न पाओस् । तिमीहरूको तानाशाही व्यवस्था पनि धेरै दिन देख्न नपरोस् ।”
पुलिस दमन सँगसँगै जनताको प्रतिरोध पनि बढ्दै गयो । अन्ततः तानाशाहीहरूले घुँडा टेक्नैपर्यो । गहभरि आँसु राख्दै छोराको अवस्था बुझेर आएकी भक्तकी आमालाई सरला दिदीले खुसी हुँदै बहुदल घोषणा भएको घटना सुनाउँदै भनिन्, “आमा ! तपाईँको सराप लाग्यो, ती अत्याचारीहरूलाई । तपार्इँले धेरै दिन देख्न नपरोस् तानाशाही व्यवस्थाको भनेको थियो, आज घोषणा भयो, तानाशाही व्यवस्था अन्त भएको । अब एक दुई दिनमै भक्त पनि छुट्नेछ ।”
बहुदल आयो र भक्त चाँडै छुट्दै छ भनेको सुनेपछि आमा आश्चर्यका साथ खुसी हुँदै भनिन्, “हो र सरला ? राम्रो भयो । मलाई त्यो दिन र २०४५ भदौ ९ को दिन सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । चाँडै अत्याचारीहरूको अन्त होस् र नयाँ नेपाल देख्न पाओस् भनेका थिए र अत्याचारीहरूको व्यवस्था अन्त भयो होइन ?”
सरलाको पनि त्यही चाहना छ । उनले पनि आफ्नो भावना आमासमक्ष राखिन्, “हो आमा । अत्याचारीहरूको व्यवस्था अन्त भयो । अब हाम्रो चाहनाको नयाँ नेपालको सपना पूरा हुन्छ आमा ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *