भर्खरै :

निजी बनाइएका पर्ती जग्गा, सत्तल, पाटी, पोखरी सार्वजनिक नै गरियोस्

निजी बनाइएका पर्ती जग्गा, सत्तल, पाटी, पोखरी सार्वजनिक नै गरियोस्

राणाकाल, पञ्चायतकाल, प्रजातान्त्रिक या गणतान्त्रिक कालमा नै किन नहोस् जो जसले पर्ती जग्गा मिचे, अतिक्रमण गरे, अनेक छलछाम गरेर आफ्नो बनाए उनीहरूले स्वविवेक जिम्मेवार भएर या इमानदारीपूर्वक फिर्ता दिनुपर्छ, फिर्ता दिनेतर्फ लाग्नु बुद्धिमानी हुनेछ । मिचेको पर्ती जग्गा, पोखरी, पोखरीको डिल या अन्य सार्वजनिक जग्गा स्वविवेक फिर्ता दिए समाजकै हित हुन्छ । त्यस्तो सम्पत्ति फिर्ता ल्याउन सम्बन्धित निकायले सार्वजनिक सूचना जारी गर्नुपर्छ । समयभित्र पर्ती जग्गा फिर्ता दिएन भने फिर्ता लिन सम्बन्धित निकायले प्रक्रिया अघि बढाउनुपर्छ । हरेकजसो ठाउँमा कसैले पर्ती जग्गा मिच्ने, अतिक्रमण गर्ने र आफ्नो बनाएको देखिन्छ । व्यक्तिको नाउँमा गएको सार्वजनिक जग्गा, पोखरी, भवन, घर, सत्तल, पाटी, देवालय या अरु सरकारी जग्गा पर्ती या सार्वजनिक कायम गर्न कहाँ कहाँ, कसले के कति निजी बनाइएको छ त्यसको अध्ययन, अनुसन्धान र खोजीनीति गर्नुपर्छ र सम्बन्धित निकायले छलफल प्रक्रिया अघि बढाई पर्ती या सार्वजनिक बनाउन पहल गर्नुपर्छ । सरोकारवाला संस्था सार्वजनिक कायम गर्न अघि बढ्नुपर्छ ।
अहिले पछिल्लो चरणमा बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपिएको सबैजसो पत्रपत्रिकाको मुख्य समाचार बनेको छ । बिहीबार प्रकाशित विभिन्न पत्रिकामा ‘बाँसबारीको सरकारी जग्गा हिनामिनामा सांसद विनोद चौधरीमाथि पनि अनुसन्धान’, ‘हडपिएको जग्गासँग विनोदको सम्बन्ध’, ‘वसन्तसँग सोधपुछ विनोदलाई बोलाइँदै’, ‘सांसद चौधरीमाथि अनुसन्धान भइरहेको पत्र संसदमा’ आदि शीर्षकका समाचारहरू छापिए । समाचारहरूमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको खबर छ । समाचारमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले हडपेको उल्लेख छ । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तवरबाट जग्गा किर्ते गरी ठगी गरेको समाचारमा उल्लेख छ । त्यस्तै सीआईबीले उद्योगपति वसन्त चौधरीसँग पनि बयान लिएको छ । यसरी नै अन्य धेरैले समयसमयमा पर्ती जग्गा व्यक्तिको बनाउने काम गरेका थिए ।
कति मिचिएका या आफ्नो निजी बनाएका पर्ती जग्गा, भवन, सत्तल, पाटी, पोखरी सार्वजनिक भइसकेका छन् । यसरी पर्ती जग्गा, भवन, पाटीहरू समुदायमा हस्तान्तरण गर्ने क्रम चालु छ । कति भजनको नाउँमा राखिएको जग्गा व्यक्तिगत बनाए पनि सन्तानहरूले राजीखुसी भजनकै नाउँमा राखेका छन्† कति सत्तल व्यक्तिको नाउँमा भए पनि नपालाई हस्तान्तरण गरेर सामूहिक बनाइएको छ । यो राम्रो पक्ष हो । निजी मुर्दा गुठीको जग्गा गुठियारहरूले नै आफ्नो बनाउने, पुस्तौँदेखि जोत्दै आएको जग्गामा नाम छैन भनी जबरजस्ती खोस्ने किसानविरोधीहरू यहाँ नभएका होइनन् । कतिले स्वविवेकले आफ्नो र आफ्ना पुर्खाको स्मरण गराउन निजी मुर्दा गुठीलाई जग्गा राखेका हुन्छन् । त्यस्तो जग्गामा कसैले पनि आँखा गाड्नु हुँदैन । दान गरिसकेको जग्गामा फेरि आँखा गाडेर सात पुस्ता नर्कमा जाने काम ठीक होइन ।
यसरी समुदाय या सामूहिक प्रयोजनको लागि राखिएको जग्गा धेरै छ । कति जात्रा पर्व चलाउन, कति पाटी पौवा संरक्षण गर्न, पोखरी, धारा, इनार सफा गर्न, हरेक चाडपर्वमा पूजा चलाउन जग्गा राखिएको हुन्छ । त्यस्तो सबै जग्गा सुरक्षित राख्नुपर्छ† सुरक्षित राखेर परम्परागत जात्रा पर्व चलाउनुपर्छ, पाटीपौवा, पोखरी संरक्षण गर्नुपर्छ । त्यस्तो जग्गा हिनामिना गर्ने, व्यक्तिगत बनाउने काम कसैले गर्नु उपयुक्त होइन । कथंकदाचित व्यक्तिको भएको छ भने राजीखुसीका साथ त्यो पर्ती जग्गा, पोखरी, सत्तल, पाटी, ढुङ्गेधारा या अन्य सम्पदा सामूहिकीकरण गर्नुपर्छ । पाटी पौवा, इनार, ढुङ्गेधारा, पोखरी, पर्ती जग्गा मिचेर या व्यक्तिगत बनाउनेहरूको मनमा चैन हुनेछैन । रातदिन निद्रा लाग्नेछैन । उनीहरूको छाती पोल्नेछ । समाजले यिनीहरूलाई धिक्कार्ने छ; थुक्नेछ । अर्काको जग्गा खाएका, पर्ती जग्गा निजी बनाएका, सत्तल आफ्नो बनाएकाहरू चिन्तै चिन्ताले ज्यान छोड्नेहरू पनि छन् । त्यस्ता व्यक्तिहरूको सात पुस्तासम्म बदनाम भइरहनेछ । उनीहरूको इज्जत, प्रतिष्ठा केही हुनेछैन । अतः त्यस्तो पर्ती या सार्वजनिक सम्पत्ति स्वविवेकले छोड्नुपर्छ† छोड्न तयार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *