भर्खरै :

कामदारवर्गको साहित्यमा शोषण–उत्पीडनको विरोध हुनुपर्ने

कामदारवर्गको साहित्यमा शोषण–उत्पीडनको विरोध हुनुपर्ने

काठमाडौँ, १० चैत । नेपालभाषा साहित्य तः मुंज्या काठमाडौँद्वारा आयोजित तेस्रो साहित्य सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलनको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक देवदास डंगोलले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सािहत्य राजनीतिको हतियार भएकोले कामदारवर्गको साहित्यमा शोषण–उत्पीडनको विरोध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीवादी साहित्यमा शोषण र वेश्यावृत्ति, चेलीबेटी बेचबिखनलाई कानुनी बनाउने उल्लेख हुने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “रूस, चीन, भारतका कामदारवर्गका साहित्यकारहरूले मजदुर, किसान, सेना र कम्युनिस्ट पार्टीको सदस्य भएर सामाजिक यथार्थ र सङ्घर्षका रचना लेखेका थिए । गोर्की, राहुल साँकृत्यान, लु शुनलगायतले क्रान्तिकारी साहित्य रचना गर्नुभएको थियो ।”
“नेपालका प्रजातान्त्रिक समाजवाद, साम्यवादी दाबी गरेका शासक दलहरूको सत्ता गठबन्धन अवसरवादको नमुना हो । निर्वाचन र सत्ता गठबन्धन सिद्धान्त मिल्नेहरूबिच हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालमा सरकारको उपस्थितिको अनुभूत भएन । सरकारले कृषिलाई प्राथमिकता नदिएको हुँदा दाल, चामल, तरकारी, भारतबाट किनेर खानुपर्ने भयो । ८० लाख युवालाई वैदेशिक रोजगारीमा पठाइयो । ३ लाखभन्दा बढी चेलीबेटी दुव्र्यवहार र अपमानित जीवन सामना गर्दै छन् । मिटरब्याज, लघुवित्त, सहकारी पीडित गरिब जनताले न्याय पाएनन् । दूध र उखुको भुक्तानी नपाएका किसानहरूले पनि न्याय पाएनन् । सरकारका एक सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएका थिए । सुन तस्करी, नेपालीलाई नक्कली भुटानी शरणार्थी, ललितानिवासको सरकारी जग्गा, थँ बहीको सार्वजनिक कमलपोखरी, बाल सङ्गठनको सरकारी जग्गा, नेपाल स्काउटको सरकारी जग्गा, बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता र रजाइँले सरकारका मुख्य मुख्य मानिस नै भ्रष्टाचारी भएको पुष्टि भयो ।”
“मानिस स्वभावले खराब होइनन् । शासक दलहरूले आ–आफ्ना कार्यकर्तालाई राजनीतिक र सांस्कृतिकरूपले उँचो नबनाएको हुँदा भ्रष्टाचार बढेको हो । इमानदार र परिश्रम गर्ने सुखी हुने भए मजदुर र किसान सुखी हुनुपर्ने थियो । नेपालमा लुटाहाहरू ऐस आरामको जीवन बिताउँदै छन् । यसकारण, सरकारको उपस्थिति देखियो । साहित्यकारहरूले देशका यी जल्दाबल्दा विषयमा साहित्य लेखेर जनतालाई उठाउनु जरूरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले समाज या समुदाय चिन्न सम्बन्धित क्षेत्रको भाषा र संस्कृति बुझ्नु जरूरी रहेको बताउनुभयो ।
भाषा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा नयाँ पुस्ताले दुःख पाउने भएकोले अगुवाले ध्यान दिनु जरूरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “साहित्यमा राजनीतिक शिक्षा, देशमा वैदेशिक हस्तक्षेपविरूद्ध भावना जागृत हुनुपर्छ ।”
लोककवि राजभाइ जकमीले साहित्यमा सन्देशसँगै कला पनि आवश्यक भएको बताउनुभयो ।
डा. अञ्जिरमान डंगोलले अहिले स्वास्थ्य समस्याको मुख्य कारण विषादीयुक्त तरकारी र खानेकुरा भएको बताउनुभयो ।
प्राध्यापक डा. धर्मराज डंगोलले आफ्नो मातृभाषा र मातृभाषामा साहित्य नलेख्दा बिस्तारै भाषा लोप हुँदै जाने खतरा रहेको हुँदा बेलैमा सचेत हुनु आवश्यक छ भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँका अध्यक्ष रत्ना डंगोलको सभापतित्वमा भएको कार्यक्रममा क्यान्सरपीडित एवं अभियानकर्ता सूर्यलक्ष्मी प्रजापति, गोपाल डंगोल र राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रतिस्पर्धात्मक साहित्यहरू वाचन गरिएको थियो । वाचन भएका साहित्यमध्ये कवितामा नरहरि श्रेष्ठ पहिलो, कमलबहादुर डंगोल दोस्रो र रमेशमान महर्जन तेस्रो हुनुभयो भने कथातर्फ मुस्कान श्रेष्ठ र पूर्णिमा मगरले सान्त्वना पुरस्कार पाउन सफल हुनुभएको थियो ।
कार्यक्रममा नरःहाडीगाउँका परम्परागत सांस्कृतिक बाजागाजाका गुरू तथा खललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *