“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, १० चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार ‘महिला स्वास्थ्य परामर्श कार्यक्रम’ सम्पन्न भयो । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सो कार्यक्रममा महिलाहरूमा देखिने सामान्य रोग या स्वास्थ्य समस्या र उपचारबारे परिचर्चा भयो । एउटा स्वस्थ समाज निर्माणको लागि शारीरिक र मानसिकरूपमा या बौद्धिकरूपमा स्वस्थ आमा अर्थात् महिलाहरूको भूमिका अहम् हुने विचार व्यक्त भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी कामदारवर्गको हित हुने दर्शनबाट अभिप्रेरित छ भन्नुभयो । पार्टीले सदा श्रमिकवर्गका महिलाहरूलाई साक्षर, शिक्षित र सक्षम बनाउन जोड दिँदै आएको उल्लेख गर्दै उहाँले आधा आकाश ढाकेका महिलालाई शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिरूपमा सचेत र सबल नबनाइए समाज पछि पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने आवाज उठाउँदै छ ।” वैदेशिक रोजगारीको नाममा भइरहेको महिला बेचबिखन रोक्न राज्य संवेदनशील नरहेको तथ्य उजागर गर्दै उहाँले स्वदेशमै रोजगारीको बन्दोबस्त आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुगौली सन्धिपछि गोर्खा भर्तीबाट सुरु भएको वैदेशिक रोजगारी राणा शासनपछि भारतमा चेलिबेटी बेचबिखन हुँदै १७१ देशमा ८० लाख युवाहरू बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाइएको छ । वैदेशिक रोजगारीमा पठाइएका नेपाली चेलीहरू दुव्र्यवहारको सिकार हुन बाध्य छन् । खाडी मुलुकमा नेपाली चेलीहरूलाई सडकमा बिक्री गरे जस्तै राखिएको विषयमा संसदीय टोलीको प्रतिवेदनसमेत छ । सरकारहरू केही गर्दैनन् । नेपाली युवा जतिलाई युक्रेन, रुस, फ्रान्स, इजरायल, अमेरिकालगायतको देशको सेनामा समेत पठाउनु देशघात नै हो ।”
सांसद सुवालले नेपालमा महिलाहरूको स्वास्थ्यबारे चर्चा गर्दै क्यान्सर रोग, किड्नी, मुटु, फोक्सो, कलेजोमा लाग्ने रोगको उपचार घरखेत बिक्री गर्नुपर्दा वर्षको ५ लाख नेपाली गरिब भएका छन्† स्वास्थ्य बीमा गरेकाले पनि उपचार गर्दा १० प्रतिशत नगद भुक्तानी गर्नुपर्ने र अस्पतालहरूलाई बीमाको करोडौँ रकम भुक्तानी नगर्ने सरकारी नीति गरिबहरूको हितमा छैन भन्नुभयो ।
उहाँले सरकारहरूले नेपाली समाजमा रहेको छाउपडी प्रथा, बोक्साबोक्सी, दाइजोप्रथालगायतका अन्धविश्वास र कुसंस्कार अन्त्य गर्न नसकेकोप्रति खेद प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनस्वास्थ्य विज्ञहरूले तयारी प्याकेट खानेकुरा पत्रु हुने र त्यस्तो खानेकुराले स्वास्थ्य बिग्रिने बताएका छन् । तर सरकारहरूले चाउचाउ, कोकाकोला, फान्टा, ड्यूलगायत स्वास्थ्यलाई हानि गर्ने रक्सी, बियर, सुर्तीजन्य पदार्थको बिक्रीमा अङ्कुश लगाएको छैन ।” उहाँले जोड दिँदै भन्नुभयो, “युवालाई वैदेशिक रोजगारीमा पठाएको र बसाइँसराइ सङ्घीय र प्रदेश राजधानीमा केन्द्रीकरण हुँदा खानेपानीको समेत बन्दोबस्त भएन । दाल, चामल, तरकारीसमेत भारतबाट खरिद गर्नुपर्ने भयो । यसले सिंहदरबारको नेतृत्व गरेकाहरूसँग देश विकासको खाका नभएको पुष्टि गर्छ ।”
उहाँले भन्नुभयो, “सिंहदरबारको नेतृत्व गर्न गएकाहरू सुन तस्करी, नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, थँ बहीको सरकारी कमलपोखरी निजी गर्न लागेको घटनाले भ्रष्टाचार बढेको देखाउँछ ।”
उहाँले थप्नुभयो, “मानव सभ्यता र संस्कृति बिथोल्ने ‘समलिङ्गी विवाह’ लाई कानुन सरकार र अदालतले मान्यता दिएको उपयुक्त होइन । यसको विरोध हुनु जरुरी छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले नेक्रामसङ्घले सदैव महिलाहरूको शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएको प्रसङ्ग सुनाउनुभयो । मातृ स्वास्थ्य सेवा र अधिकार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनकै प्रधान मुद्दा भएको बताउँदै उहाँले आजभन्दा ३० वर्षअघिको भक्तपुरका महिलाहरूमा विशेषगरी पाठेघर खस्ने रोग या समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेक्रामसङ्घले महिलाको पाठेघरको मुखको पानी जाँच शिविर र स्तन क्यान्सरबाट बच्ने उपायबारे जनचेतना अभियान चलाएको इतिहास छ । आज पनि महिलाको शारीरिक र मानसिक रोगसम्बन्धी परामर्श कार्यक्रमहरू सामयिक छन्, आवश्यक छन् ।”
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले उमेरसँगै विशेषगरी महिलाहरूमा बढ्ने घुँडा दुखाइको समस्या, हाडजोर्नी खिइने समस्या र उपचारबारे प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ख्वप अस्पतालमा हाड जोर्नी समस्या लिएर आउने बिरामीमा ७० प्रतिशतभन्दा बढी महिला छन् । महिलाहरूलाई त्यसै पनि पुरुषलाई लाग्नेभन्दा ४२ प्रतिशत बढी रोग लाग्छ । त्यसमाथि उमेरसँगै शरीरमा क्याल्सियम, भिटामिन डी र अन्य पोषण घट्दै जान्छ । त्यसकारण, नियमित व्यायामसँगै पोषण सन्तुलित खानपान पनि उपचारकै हिस्सा हो ।”
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. युजिन श्रेष्ठले साधारणतः महिलाहरूमा देखिने समस्या र उपचारबारे परिचर्चा गर्नुभयो । योनीबाट पानी बग्ने र इन्फेक्सन महिलाहरूको साझा समस्या भएको हुँदा सही तरिकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अहिले नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट महिलाहरूको बढी मृत्यु हुन्छ । त्यसकारण मातृस्वास्थ्यमा ध्यान दिनुपर्ने उहाँको अभिव्यक्ति हो । पाठेघरको मुखको क्यान्सर रोक्ने एचपीभी भ्याक्सिनबारे पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष सृजना सैँजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुजी ह्योङ्गले पनि बोल्नुभएको थियो ।
Leave a Reply