भर्खरै :

परिवर्तनबिना देशको मुहार नफेर्ने

परिवर्तनबिना देशको मुहार नफेर्ने

शासक दलका नेताहरू अनेक काण्ड, फन्दा र जालमा फसे पनि उनीहरूमा कुनै लज्जाबोध र हिनताबोध देखिएन । उनीहरू आ–आफ्नो चरित्र र नैतिकतामा दाग लाग्ने आपराधिक क्रियाकलापमा लागेकाले देशमा दुर्गति र बेथिति बढ्यो । पद र पैसाको निम्ति राजनीतिमा हाम फालेका शासकहरूको बेवास्ता, अदूरदर्शिताले देशमा दलाली बढ्यो, अराजकता बढ्यो, अनियमितता बढ्यो र विश्वासमा धक्का पुग्यो । सत्ता स्वार्थ नै राजनीतिको आधार मान्दा देशमा आर्थिक सङ्कट देखियो र अस्थिर सरकार बनिरह्यो । जनताको पिर मर्का या समस्या समाधानतर्फ शासकहरूको ध्यान नपुग्दा जनताको विश्वासमा कुठाराघात भयो । यही कारण हरेक पटक बनेको सरकारले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्ने विश्वास दिलाए पनि त्यो पानीको फोका साबित भयो । अनि समृद्ध देश र सुखी नेपालीको कुरा आकाशको फल साबित भयो । विधि र सुशासनको कुरा एकादेशको कथाजस्तो बन्यो । किनभने शासकहरूसँग देश समृद्ध र जनता सुखी बनाउने दूरदृष्टि नै देखिँदैन ।
देशको यो हालत या स्थितिको मूल्याङ्कन गर्दै राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीवीहरूले ‘विश्वासको सङ्कटमा राजनीतिक दल’, ‘राजनीतिक अपराधीका कार्यशैली र विशेषता’, ‘राजनीतिक दलको अँध्यारो भविष्य’ भनी चिन्ता व्यक्त गर्न थाले । विभिन्न समाचारपत्रहरूमा लेखिन थाल्यो – ‘जनता कङ्गाल बनाउँदै राष्ट्रिय गौरवका आयोजना’, ‘वाइडबड्डीमा डेढ अर्ब भ्रष्टाचार’, ‘तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव र ठेकेदारसहित ३२ जना विरूद्ध मुद्दा’ आदि । सरकारमा गएपछि देशको ढुकुटीमा जे पनि गर्ने या रजाइँ गर्ने शासकहरूको मनस्थितिले गर्दा देशको राजनीति बिग्रिएको हो† देशका उच्चपदस्थ व्यक्तिहरूको मनस्थिति बिग्रिएको हो । फलतः देशमा सुशासनको कमी भयो† भ्रष्टाचार बढ्यो र जनताको समस्या चुनावी नारा या दलको घोषणापत्रमा सीमित भयो । जनतामा बढेको यो असन्तुष्टिलाई साकार पार्ने बाटो पुँजीवादी व्यवस्थाको अन्त्य हो या समाजवादी व्यवस्थाको स्थापना हो ।
देशका शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा भुल्नु भएन । सङ्कीर्ण, साम्प्रदायिक भावना छोडेर दलहरूले राष्ट्रको हितबारे चिन्तनमनन गर्नुपर्छ । देशको मुहार फेर्ने काम परिवर्तनले मात्र सम्भव हुन्छ । शासकहरूमा जिम्मेवारीबोध हुनुपर्छ, उत्तरदायित्व हुनुपर्छ । देशको सम्पत्तिमा रजाइँ गर्ने, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी र अपराधीहरूलाई निर्मम कारबाही गर्न अघि सर्नुपर्छ । सुखी र सम्भ्रान्त बन्ने सपना बोकेर राजनीतिमा लागेका दलका नेताहरू मुलुक र जनताको हित चाहँदैनन्; हितमा लाग्दैनन् । यतिबेला स्थानीय तहदेखि केन्द्रसम्मका अधिकांश नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू दुर्गन्धित भएका छन् । उनीहरूमध्ये कति ठुलठुला व्यापारी, ठेकेदार त कति निर्माण व्यवसायी परेका छन् । कति बिचौलिया, अपराधी त कति प्रतिक्रियावादी, जाली, षड्यन्त्रकारी परेका छन् ।
उनीहरू स्वच्छ राजनीति गर्दैनन् । उनीहरू कहाँ, कुन स्रोतबाट कसरी आम्दानी हुन्छ र सात पुस्तासम्म कमाउन पाइन्छ भन्ने बाटोमा लाग्छन् । तस्कर, भ्रष्ट, ठेकेदार, बिचौलियाको भरमा रहेर राजनीति गरेर जसरी भए पनि पैसा कमाउनेतर्फ ध्यान गएकै कारण शासकहरू अनेक काण्डमा फसेका हुन् । बालुवाटार जग्गा हिनामिना, सुन तस्करी, वाइडबड्डी विमान खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गा लिजमा दिने जस्ता काण्ड यसका ज्वलन्त उदाहरणहरू हुन् । देशमा रहेका सबै पार्टीले इमानपूर्वक स्वच्छ राजनीति नगरेसम्म, सिद्धान्त र विचारमा अडिग रहेर राजनीति नगरेसम्म आपराधिक, उच्छृङ्खल, हिंसात्मक र अराजनीतिक गतिविधिहरू दोहोरिरहन्छन्† दोहोरिरहेका छन् ।
हरेक राजनीतिक दलको सैद्धान्तिक र वैचारिक दृष्टिकोण स्पष्ट हुनुपर्छ । अपराधमा संलग्न दुई–चार जना व्यक्तिलाई मुद्दा लगाएर, पक्राउ गरे पनि समग्र देश र जनताको चिन्ता, सेवा र विकासबारे सोच्दैन भने त्यस्तो दल पनि देश र जनताप्रति समर्पित भएको मानिँदैन । सिद्धान्त र विचार प्रस्ट नभएको दलले देशको मुहार फेर्दैन । अहिले देशको एउटा समस्या शासक दलको दृष्टिकोण स्पष्ट नहुनु पनि हो । वैचारिक दृष्टिकोण स्पष्ट भएन भने त्यो दल सरकारमा रहे पनि नरहे पनि खासै फरक पर्दैन । सरकार या सत्तासीन दलको महत्वपूर्ण काममध्ये कुनै पनि अनियमित काम गर्न नदिनु हो । त्यसो भएन भने भ्रष्टाचार भइरहन्छ, अनियमितता भइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *