भर्खरै :

धार्मिक परम्पराको विपरीत धार : चार्वाक दर्शन

धार्मिक परम्पराको विपरीत धार : चार्वाक दर्शन

भारतमा रहेको धार्मिक कट्टरवादलाई इङ्गित गर्दै ओसो रजनीशले एक पटक भनेका थिए, यदि चार्वाक दर्शन भारतमा जीवितै भएको भए पश्चिमेली देशहरूमा भन्दा बढी वैज्ञानिक भारतमा हुन्थे । भारतीय समाजमा धर्मको नाममा अन्धविश्वास कति गहिरो रहेछ र अन्धविश्वासकै कारण समग्र भारत सामाजिक र आर्थिकरूपले किन पिछडिए भनेर अनुमान गर्न सकिन्छ । खासमा अन्धविश्वासको विरोध गर्ने र विज्ञानसम्मत तथ्यलाई विश्वास गर्ने चार्वाक दर्शन के हो त ?
भौतिकवादी र नास्तिक विचारहरूमा सबभन्दा पुरानो दर्शनमध्ये एक चार्वाक पुरातन भारतीय दर्शन हो जुन धार्मिक सिद्धान्तहरूलाई अस्वीकार गर्दै र जीवनको प्राथमिक लक्ष्यहरूको रूपमा अनुभवजन्य अवलोकनमा केन्द्रित थियो । चार्वाक दर्शनले ब्रह्माण्डको प्राकृतिक बुझाइको वकालत गर्दै आत्मा, मृत्युपछिको जीवन र कर्मजस्ता अधिभौतिक अवधारणाहरू प्रतिको शङ्कावादलाई जोड दिन्छ । चार्वाकले संसारलाई बुझ्ने प्राथमिक माध्यमको रूपमा अनुभवजन्य अवलोकन र प्रत्यक्ष अनुभवलाई जोड दिन्छ । चार्वाक दर्शनले ज्ञानको एकमात्र वैध स्रोत इन्द्रिय बोध (प्रत्यक्ष) हो भन्ने विश्वास गर्छ । यसले भौतिक शरीरभन्दा बाहिरको अनन्त आत्मा वा चेतनाको अस्तित्वलाई अस्वीकार गर्छ ।
चार्वाक दर्शनले शास्त्र, परम्परा र अनुमानको अधिकारलाई अस्वीकार गर्दै ज्ञानको आधारको रूपमा इन्द्रियहरूमार्फत प्रत्यक्षरूपमा बुझ्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरे । अध्यात्मवादी दावीहरूको वैधतालाई खारेज गर्दै तिनीहरूले प्रत्यक्ष देखेको, सुनेको, अनुभव गरेको, स्वाद लिने वा गन्धजन्य कुरालाई मात्र सत्य ज्ञानको रूपमा विश्वास गर्न सकिन्छ भन्ने विश्वास गर्थे । चेतना भौतिक शरीरबाट उत्पन्न हुन्छ र मृत्युपछि अस्तित्व समाप्त हुन्छ भन्नेमा विश्वास गर्छ । चार्वाक दर्शन धार्मिक अलौकिकतालाई अस्वीकार गर्छ । यसले प्राकृतिक घटनाहरूको लागि अलौकिक व्याख्याहरूरहित प्राकृतिक विश्व दृष्टिकोणको वकालत गर्दछ । आध्यात्मिक अवधारणाहरूको अस्वीकार र धर्मप्रतिको शङ्कामा यसको जोड हुन्छ । धार्मिक कट्टरपन्थ र आध्यात्मिक दावीहरूप्रति चार्वाकले आलोचनात्मक सोच र बौद्धिक अनुसन्धानलाई प्रोत्साहित गर्दै परम्परागत विश्वासमा प्रश्न उठाएर प्रमाण खोज्छ । चार्वाक दर्शनले आत्मा, चेतना र मृत्यु पछिको जीवनजस्ता आध्यात्मिक संस्थाहरूको अस्तित्वलाई अस्वीकार गर्दछ भने धार्मिक सिद्धान्तहरू र आध्यात्मिक अवधारणाहरूलाई ठाडै अस्वीकार गर्छ । चार्वाक दर्शनले प्रायः पुरातन भारतका धार्मिक र आध्यात्मिक परम्पराहरूमा आधारित अन्य दार्शनहरूको आलोचना र विरोध गरेको थियो ।
चार्वाक दर्शनले आनन्द (काम) लाई उच्चतम महत्व दिन्छ । व्यक्तिले आनन्द खोज्नुपर्छ र पीडाबाट जोगिनुपर्दछ, आनन्दमा केन्द्रित हुनुपर्छ भनेर वकालत गर्छ । चार्वाक दर्शनको केन्द्रबिन्दु भनेकै आनन्दको खोजी हो । चार्वाक दर्शनले जीवनको प्राथमिक लक्ष्यको रूपमा सुख (काम) र भौतिक कल्याणको खोजी गर्दछ । जीवनको आनन्द लिने र वर्तमान क्षणमा खुसी खोज्ने तथा आनन्दउन्मुख दृष्टिकोण खोज्नु नै चार्वाक दर्शन हो ।
चलन चल्तीमा रहेको विभिन्न धार्मिक र अध्यात्मिक दर्शनहरूको खुलेर विरोधमा रहेको यो दर्शनको हत्या गर्न कट्टर धर्मान्धहरू लागिपरे । नैतिक विचार वा दीर्घकालीन परिणामहरूको वास्ता नगरी सुखवादमा अत्यधिक ध्यानले स्वार्थ, शोषण र नैतिक पतन निम्त्याउँन्छ भन्ने अध्यात्मवादीहरूको तर्क रहेको छ । भौतिकवादमा चार्वाक दर्शनको विशेष जोडले गर्दा वास्तविकता, नैतिकता र मानव अस्तित्वको जिज्ञासालाई सीमित बनाएको र धार्मिक अधिकार तथा नैतिक संहिताहरूको अस्वीकारले सम्भावितरूपमा सामाजिक अस्थिरता ल्याउने भनेर धार्मिक कट्टरवादीको कोपभाजनको शिकार भएको छ ।
पुराना धर्मको सङ्ख्या उत्तिकै छ । त्यसमािथ नयाँ नयाँ धर्महरूको अभ्यास बढ्दै छ । तर, धार्मिक दर्शनलाई अस्वीकार गर्ने चार्वाक दर्शन किन टिकिरहन सकेन भन्ने धेरैको जिज्ञासा रहेको हुनसक्छ । चार्वाक दर्शनले धेरै चुनौतीहरूको सामना गर्यो । चार्वाकलाई देखिनसहने ब्राह्मणहरूले यसलाई राक्षससम्म भने । ईश्वरको नाम जपेर, स्वर्गको सपना देखाउने र नरकको त्रास देखाएर आफ्नो दुनो सोझो पार्ने एकजमातले चार्वाकको खेदो खन्दा खन्दा वर्तमान समयमा यसको उपस्थिति शून्यजस्तै बनाएको छ । धेरैजसो चार्वाक साहित्य संरक्षित नै गरिएन जसले गर्दा दर्शनका जिज्ञासुहरूलाई चार्वाक साहित्यलाई पूर्णरूपमा बुझ्न गा¥हो बनाएको छ । यसको कारण चार्वाकलाई प्रतिनिधित्व गर्ने प्रत्यक्ष देख्न सकिने वा छुन सकिने कुनै भौतिक वस्तु नरहँदा पनि चार्वाक धेरैको सम्झनामा आउन सकेन ।
भारतमा आध्यात्मिक र धार्मिक परम्पराहरू अधिक प्रबल हुँदै गएपछि चार्वाकजस्ता भौतिकवादी र नास्तिक दृष्टिकोणहरू सीमान्तकृत हुँदै गए । संस्थागत संरक्षण पाएका केही अन्य दार्शनिक परम्पराहरूको विपरीत चार्वाक दर्शनमा सङ्गठित संरचनाहरूको अभाव थियो । सङ्गठनको अभावमा चार्वाक दर्शनले धार्मिक कट्टरपन्थी र आध्यात्मवादीको प्रतिकार गर्न नसक्दा अझ कमजोर हुँदै गएको थियो । मन्दिर, चर्च वा मस्जिदजस्ता भौतिक संरचनाहरूले सङ्गठित धर्महरूलाई प्रतिनिधित्व गरेजस्तै चार्वाक दर्शनलाई प्रतिनिधित्व गर्ने कुनै भौतिक संरचना थिएन । विनाप्रमाण, अनुमानको भर र दन्त्य कथाको स्वरूपमा भनिने धार्मिक कथाको राप र तापले ग्रस्त समाजमा पहिलो पटक ईसापूर्व छैटौँ शताब्दीमा देखापरेको चार्वाक दर्शनको पक्षमा बोल्नु त अहिले पनि गा¥हो नै छ ।
यी चुनौतीहरूको बाबजुद भौतिकवाद र नास्तिकताका क्षेत्रमा चार्वाक दर्शनका तत्वहरूले आधुनिक चिन्तनलाई प्रभाव पारी नै रहेको छ । दार्शनिक विचारहरू साहित्य, शैक्षिक प्रवचन, सामाजिक सञ्जाल र अनौपचारिक छलफलजस्ता विभिन्न माध्यमहरूमार्फत फैलाउनुपर्छ ।
स्मारक वा भौतिक संरचनाहरूले दार्शनिक विचारहरू, ऐतिहासिक व्यक्तित्वहरूको संरक्षण र सम्झनामा महत्वपूर्ण भूमिका खेल्छ । स्मारकले ज्ञान प्रसारण गर्न र भावी पुस्ताहरूलाई प्रेरित गर्न मद्दत गर्छन् । यस हिसाबले चार्वाक दर्शनमाथि सकारात्मक वा नकारात्मक बहसकै लागि पनि सरकारीस्तरबाटै चार्वाक दर्शनलाई प्रतिनिधित्व गर्ने स्मारक कहीँकतै स्थापित गर्नुपर्छ । यसले चार्वाक विचारलाई सम्मान गर्न र सम्झनको लागि सहयोग गर्दछ । स्मारकले मानिसहरूलाई ऐतिहासिक घटना, दार्शनिक आन्दोलन र प्रभावशाली विचारकहरूको बारेमा जानकारी गराउन मद्दत गर्दछ र योगदानलाई सम्झेर आगामी पिँढीलाई प्रेरित गर्न सक्छ । स्मारकले सांस्कृतिक परम्परा र पुस्ताबिचको पहिचानको निरन्तरतामा योगदान पु¥याउँछन् । केही दार्शनिक विचारहरू अधिक अमूर्त हुनसक्छन् र स्मारकहरूमार्फत दृश्य प्रतिनिधित्वको रूपमा सजिलैसँग बुझ्न सक्छ । जे होस्, ऐतिहासिक महत्व भएका चार्वाकजस्ता दर्शनका लागि, स्मारकहरूको निर्माणले दर्शनको इतिहासमा उनको योगदानको बारेमा सचेतना र समझदारी बढाउन मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *