भर्खरै :

३४६ वर्ष पुरानो थंथु दरबार शिलान्यास/सम्पदा पुनःनिर्माण र जीर्णाेद्धारलाई पर्यटनसँग जोड्न जरुरी

३४६ वर्ष पुरानो थंथु दरबार शिलान्यास/सम्पदा पुनःनिर्माण र जीर्णाेद्धारलाई पर्यटनसँग जोड्न जरुरी

भक्तपुर, २४ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले एक कार्यक्रमबिच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो थंथु दरबार (दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन) को सोमबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि सुवालले भन्नुभयो, “भक्तपुरको लायकु दरबार क्षेत्र ५५ झ्याल दरबार, थंथु दरबार, सिंहध्वाका दरबारलगायत भएको क्षेत्र हो । थंथु दरबार भक्तपुर नगरपालिकाको तत्कालीन कार्यालय भएको भवनको शिलान्यासमा सहभागी हुन पाउनु हामी सबैको लागि खुसीको विषय हो ।”
चित्रकला सङ्ग्रहालय भएको सिंहध्वाका दरबार पनि पुनःनिर्माणलगायत लायकु दरबार क्षेत्रको ९९ सय चोक र जगन्नाथ क्षेत्र पनि उत्खनन् गर्नु जरूरी रहेको सांसद सुवालले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार सम्पदा संरक्षण, सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सम्पदा पुनःनिर्माण र जीर्णोद्धारपछि यसलाई पर्यटनसँग जोड्नु जरूरी छ । पर्यटकको आगमन बढ्नाले सम्पदा संरक्षणमा थप मद्दत पुग्नेछ ।”
सांसद सुवालले भन्नुभयो, “सम्पदा संरक्षणमा काठको अभाव हुनुको कारण काठ भारतमा तस्कर हुनु हो । हरियो वन नेपालको धनलाई हरियो वन तस्करको धन बनाइएको हुँदा काठ अभाव भएको हो । नेपालको वन जङ्गल नेपालीलाई पुग्दो थियो† तस्कर गराइँदा अहिले मलेसियाको कमसल काठको मारमा नेपाली जनता परे ।”
सम्पदा संरक्षणमा माटोको अभाव हुनुको कारण देशको सन्तुलित विकास नभएको धारणा राख्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा भइरहेको बसाइँसराइ नरोकिएमा गमलाको लागि अलिकति माटो पनि यहाँ उपलब्ध नहुने स्थिति आउनेतर्फ सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “यही वैशाख २८ गतेदेखि सुरू हुने संसद्को बजेट अधिवेशनमा देश र जनताका यी विषय सदाझैँ उठाउने छौँ । संसद्मा उठाउनुपर्ने थप विषय र सुझाव उपलब्ध गराउन सबैमा अनुरोध गर्दछु ।”
कार्यक्रममा थंथु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थंथु दरबार २०७२ सालअघि भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रूपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो ।
“२०७४ को निर्वाचनपश्चात् भक्तपुर नपाले नगरका १२४ वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरेकोमा थंथु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थंथु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको हो,” प्रमुख प्रजापतिले भन्नुभयो ।
सम्पदा पुनःनिर्माणको काम ठेक्कामा गर्न नहुनेमा जोड दिँदै उहाँले सम्पदाहरूको पुनःनिर्माणमा मौलिक स्वरूप कायम गर्न स्थानीय जनताबाट गठित उपभोक्ता समितिलाई नै पुनःनिर्माणको जिम्मेवारी दिने कानुन निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।
थंथु दरबार भत्काउन रू. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रू. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको बताउँदै उहाँले दरबारको जगसम्म भत्काइसकेपछि पटकपटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको र त्यसको उत्खनन कार्य पनि भएको प्रस्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले रू. १२ करोड ८५ लाख ३४ हजार ल.ई. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रू. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको अवगत गराउनुभयो । त्यस्तै, रू. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको जानकारी गराउँदै प्रमुख प्रजापतिले सरकारले सम्पदा पुनःनिर्माणको लागि सरकारी मूल्यमा काठ आपूर्ति गर्ने व्यवस्था भएमा धेरै सहज हुने बताउनुभयो ।


वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले पुरातात्विक र प्राचीन दृष्टिकोणले महत्वपूर्ण सांस्कृतिक धरोहर नयाँ पुस्ताको लागि जोगाउन र संरक्षण गर्नु मानव सभ्यताकै पुनःजागरण भएको बताउँदै अरनिको सभाभवन र थंथु दरबार पुनःनिर्माण भक्तपुरको मात्र नभई देशकै निम्ति उत्साह र गौरवको विषय भएको बताउनुभयो ।
भक्तपुरको सन्तुलित विकासमा नगरपालिकाका जनप्रतिनिधिको नेतृत्व र नगरवासीहरूको साथ र सहयोगले भक्तपुर आज व्यवस्थित ढङ्गले अगाडि बढेको बताउँदै उहाँले १५ वर्ष जनप्रतिनिधिविहीन अवस्थाले भक्तपुरको विकास ५० वर्ष पछाडि धकेलिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले थंथु दरबार उत्खननको क्रममा उक्त दरबार राजनीतिक र मनोरञ्जनात्मक उद्देश्यले निर्माण भएको तथ्यहरू भेटिएको उल्लेख गर्दै भक्तपुर नपाको निरन्तर प्रयासपछि दरबार पुनःनिर्माणको कार्य अगाडि बढेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुरको मौलिक परम्परा र संस्कृति जगेर्ना गरी सम्पदा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपा अग्रस्थानमा रहेको उल्लेख गर्दै लोप हुन लागेको थंथु दरबार पुनःनिर्माण गर्ने भक्तपुरको प्रयास सराहनीय भएको बताउनुभयो । उहाँले मल्लकालीन संरचनामा पुनःनिर्माण हुने थंथु दरबारले भक्तपुरको दरबार क्षेत्रको सुन्दरता अझ बढाउने विश्वास व्यक्त गर्नुभयो ।
दरबार हेरचाह अड्डा कार्यालय भक्तपुरका प्रमुख अरूणा नकर्मीले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरूमा क्षति पु¥याएको स्मरण गर्दै भूकम्पले विनास सँगसँगै भक्तपुरको विकास पनि भएको बताउनुभयो ।
सम्पदा संरक्षणमा माटो जोडाइको प्रविधिमा जोड दिँदै जानुपर्ने बताउँदै उहाँले सरकारले सम्पदा पुनःनिर्माणको लागि आवश्यक काठ र माटो सहज उपलब्ध गराएको खण्डमा मौलिक स्वरूप संरक्षणमा सहजता हुने बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले आजभन्दा ३४६ वर्ष अगाडि बनाउन लगाएको पुरानो थंथु दरबारलाई भक्तपुर नपाले पुरानै मौलिक स्वरूपमा पुनःनिर्माण कार्य अगाडि बढाउनु प्रशंसनीय भएको बताउनुभयो ।
५५ झ्याल दरबारको अध्ययन अनुसन्धानको क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा पचपन्न झ्याल दरबार थंथु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको र भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव भएको प्रा.डा. श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले स्वागत मन्तव्य राख्नुभएको थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *