भर्खरै :

स्व.कृष्णगोपाल न्हुछेँप्रधानको श्रद्धाञ्जली सभा

काभ्रे, ५ जेठ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा नेमकिपा काभ्रे जिल्ला समितिका निवर्तमान उपाध्यक्ष स्व. कृष्णगोपाल न्हुछेँप्रधानको स्मृतिमा श्रद्धाञ्जली सभा शनिबार बनेपामा भयो ।
सिद्धान्त र विचारमा अटल रहेर जीवन व्यतीत गरेका व्यक्तिको स्मृति सदा रहिरहने नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको हितमा लागेकाहरूको भौतिक शरीर नरहे तापनि उहाँहरूको योगदान खेर जाँदैन । संसारका शोषितपीडित जनताको मुक्तिको बाटो देखाउने महान् दार्शनिक कार्ल माक्र्स जर्मनको नागरिक भए तापनि विश्वका मुक्तिकामी जनताले उहाँको देनलाई वषौँदेखि आत्मसात गर्दै आएको छ ।”
उहाँले भन्नुभयो, “अर्जेन्टिनाका चिकित्सक अर्नेष्टो चे ग्वेभाराले मानव जगतको दुःख–कष्ट हटाउन चिकित्सा पेसा छोडेर बन्दुक उठाउनुभयो । क्युवाली क्रान्तिमा अहम् भूमिका निर्वाह गरेर मन्त्री भएका उहाँले क्युवामा मन्त्रीको पदमा रहेर आप्mनो क्रान्तिकारी भावनाअनुरुपको कर्तव्य पूरा नहुने भन्दै बोलिभियामा क्रान्ति सफल पार्न जानुभयो । क्रान्तिकारीहरूलाई भौगोलिक सीमाले छेक्न सक्दैन । स्व. कृष्णगोपाल न्हुच्छेँप्रधानको योगदान अविस्मरणीय रहन्छ ।”
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले स्व. कृष्णगोपाल न्हुछेँप्रधानले जीवनपर्यन्त पार्टीको सिद्धान्त र विचारमा आस्था राखेर पार्टीप्रति लाउनुभएको गुणलाई बिर्सन नहुने बताउनुभयो । जीवनको अनेक मोडमा उतारचढाव आउन सक्छ, सिद्धान्तबाट विचलित नभइकन आपूm लागेको बाटोमा निरन्तर लाग्नु नै इमानदार कार्यकर्ताको कर्तव्य हो उहाँले भन्नुभयो ।
सभामा कृष्णबहादुर तामाङ, शर्मिला, मुना, लक्ष्मीराम, हरिगोपाल न्हुछेँप्रधानलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । स्व. कृष्णगोपाल न्हुछेँप्रधानको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *