भर्खरै :

जून महिनाको मजदुर विद्रोह

जून महिनाको मजदुर विद्रोह

फ्रान्सेली मजदुरवर्गको आर्थिक स्थिति झन्झन् तल झर्दै गयो । १८४५–१८४७ को बाली राम्रो भएन । आलुको रोगले सम्पूर्ण युरोपलाई छोएको थियो । विकसित र पुँजीवादी देशमाथि आर्थिक सङ्कटको मार परिरहेको थियो । ज्याला ५० प्रतिशतदेखि ६० प्रतिशत घट्यो । बेरोजगारी समस्या व्यापक भयो । १८४७ मा एक फ्रान्सेली पत्रिकाले लेखेको थियो– ‘८० हजार ढुङ्गा फोर्ने मजदुरहरू, सिकर्मी र अरू ज्यामीहरू कामबाट हटाइए । ….. उद्योगमा आतङ्क मच्चिरहेको छ । ज्याला घट्दै छ । पैसा सबै सेफको बाकसमा बन्द गरिएको छ । सबभन्दा ठुलो विपत्तिको बेलामा जस्तै पेरिस बजारमा एकपछि अर्को पसलहरू बन्द हुँदै छन् । हरेक दिन अनगिन्ती मानिसहरूको टाट उल्टिँदै छ । अदालतको आदेशले मानिसहरू पक्राउ पर्दै छन् र सम्पत्ति तायदाती वा लिलाम हुँदै छ ।’
मजदुरहरूको अवस्था पनि निराशाजनक थियो । लिले (LILLE) नगरको एक मजदुर इलाकाको जाँचबुझ गर्दा एक बूढी आइमाईले भनेकी थिइन्, “म धनी छैन । तर, मसँग आफ्नै परालको एक कल्ली छ । मालिकलाई धन्यवाद ।” त्यो परालको भारी तिनको ओछ्यान थियो । १८४७ मा एक कर्मचारीले व्यापार मन्त्रीको रिपोर्टमा भनेको थियो, “कारखानाहरूमा रातदिन ८ देखि १५ वर्षका केटाकेटीहरूलाई १४ घण्टा काम गर्न दिइन्छ । केटाकेटीहरू कारखानामै सुत्छन् । कारखानाको मालिकको आदेशबाट पाले (चौकीदार) ले कारखानाको घडीलाई बिहान ४५ मिनेट चलाख बनाउँछ र साँझ आधा घण्टा ढिलो बनाउँछ ।” त्यसकारण, मजदुरहरू भित्र– भित्र असन्तुष्ट थिए । जनता राजनैतिक अधिकारबाट वञ्चित थिए । राजनैतिक अधिकार नहुँदा औद्योगिक पुँजीपतिवर्गमा असन्तोष थियो । अल्जेरियामा पनि फ्रान्सेली जनताले फ्रान्स सरकारको विरोधमा सङ्घर्ष गर्दै थिए । अल्जेरियामा मात्रै फ्रान्सको ९ लाख सेना थियो । यसप्रकार आर्थिक सङ्कट बढ्दै थियो ।
पुँजीवादको विकास र ठुलठुलो उद्योगको स्थापनाले औद्योगिक पुँजीपतिवर्ग सम्पन्न हुँदै गयो । तर, राजनैतिक अधिकार भने बैङ्क र खानदानी केही मालिकहरूको हातमा थियो । तिनीहरूभन्दा माथि राजा थियो । उद्योग र कारखानाका मेनेजर र मालिकहरू संविधानमा सुधार ल्याउन चाहन्थे । तिनीहरू बालिग मताधिकारको आधारमा चुनेको सरकार अथवा गणतन्त्र चाहन्थे ।
मदजुरवर्ग पनि गणतन्त्र चाहन्थ्यो । तिनीहरू आफ्नो आर्थिक जीवनलाई सुधार्ने गणतन्त्र चाहन्थे । तर, पुँजीपतिवर्ग आफ्नो वर्गलाई मात्र फाइदा गर्न चाहन्थ्यो । पुँजीपतिवर्गलाई चुनावको सरकार आए हुन्थ्यो । दुवै वर्गले गणतन्त्र चाहेको भए पनि उद्देश्य फरकफरक थियो । वर्गीय उद्देश्य झन्झन् प्रस्ट हुँदै गयो ।
ठुलठुला पुँजीपतिवर्गले निर्वाचन नियमावलीहरूमा सुधार गर्न लगायो । वर्षमा २०० फ्रान्क प्रत्यक्ष कर तिर्नेहरूले मात्रै चुनावमा मत दिने अधिकार पाउँथे, तर जनतामा असन्तोष बढ्यो । अनेक नाउँ चलेका पुँजीवादी नेताहरूले पनि निर्वाचन नियमावलीको सुधारको पक्षमा बोल्थे ।
२२ फेब्रुअरी १८४८ मा एक ठुलो सभा बोलाइएको थियो । सरकारले त्यस सभामाथि प्रतिबन्ध लगायो । पुँजीपतिवर्गले सरकारको प्रतिबन्धलाई स्वीकार गर्यो । तिनीहरू मुखले मात्र ठुलठुला कुरा गर्थे र क्रान्तिदेखि डराउँथे । त्यसकारण, पुँजीवादी राजनीतिज्ञहरू घरमै बसिदिए ।
तर, मजदुरहरू भने तोकिएको ठाउँमा सभाको निम्ति उपस्थित भए । विभिन्न गुप्त क्रान्तिकारी, गणतान्त्रिक र समाजवादी सङ्गठनका प्रतिनिधिहरू पनि हाजिर भए । विभिन्न सङ्गठनका नेताहरू गिरफ्तारबाट बचे र विद्रोहको आह्वान गरिए । जनताले जहाँतहीँ लडाइँको निम्ति छेकवारहरू राख्न थाले ।
जनता सडकमा आएर निर्वाचन नियमावली सुधारको माग गर्न थाले । सरकारले राष्ट्रिय गार्डलाई बोलाउने घोषणा गर्यो । तर, राष्ट्रिय गार्डका धेरैजसो गाउँहरू मजदुरहरूसँग मिल्न गए ।
२३ फेब्रुअरी १८४८ को रातमा सरकारी सेनाले मजदुरहरूको जुलुसमाथि गोली चलायो । यसले सारा ठाउँमा विद्रोह फैलियो । २००० ठाउँमा अथवा बाटोघाटोमा छेकवारहरू हालेर पेरिसवासीहरू सङ्घर्ष गर्न तयार भए । एकै रातमा ४००० रुखहरू काटिए र १० लाख ढुङ्गाहरू उप्काएर थुपारिए ।
२४ फेब्रुअरीको दिन क्रान्तिकारीहरूले सैनिक ब्यारेक कब्जा गरे र नगरभित्र रहेका सबै हातहतियार र बारुदखाना कब्जा गरे । विद्रोहरूको हावापानी देख्नासाथै राजा लुई फिलिप दरबारको गुप्त बाटोबाट भाग्यो । एउटा गाडी भाडामा लिएर पेरिसबाट कुलेलम ठोक्यो । तर, प्रतिनिधिसभाका सदस्यहरू लुई फिलिपको गद्दीमा उसको नातिलाई राख्न चाहन्थे । तिनीहरू नाबालक राजाको हर्ताकर्ताको निम्ति उसकी आमालाई राखेर एक सरकार गठन गर्ने दाउ खोज्दै थिए ।
त्यसबेला सशस्त्र मजदुर र राष्ट्रिय गार्ड मिलेर त्यस राजतन्त्रवादी षड्यन्त्रलाई असफल बनाइएको थियो । मजदुरवर्गले राजतन्त्रको चिनो गद्दीलाई नै बाटोमा ल्याएर आगो लगाइदियो । यो राजतन्त्रमाथि जनताको विरोधको प्रतीक थियो । राजदरबारमा मजदुरहरूको धावा सफल भयो ।
मजदुहरू विभिन्न क्रान्तिकारी गुटमा सङ्गठित थिए । केही समाजवादीहरू पनि थिए । त्यसका नेता लुई ब्लाँक (Louis Blanke) थिए । उनी पहिले मजदुर सङ्घमार्फत कारखाना खोल्नका निम्ति सरकारसँग ऋण माग्ने पक्षमा थिए । तर, उनी सफल भएका थिएनन् । उनी बेरोजगारी भत्ता दिलाउनमा मात्रै सफल भए । मजदुरहरूको वीरता र सतर्कताले फ्रान्समा जुलाईको पुँजीवादी राजतन्त्रलाई उखेलेर फ्याँकिदियो । तर, मजदुरवर्गको एउटै केन्द्रीय सङ्गठन थिएन । राम्रो नेतृत्वको विकास भएको थिएन ।
यसको उल्टो पुँजीपतिवर्ग सङ्गठित थियो र तिनीहरूसँग परिस्थितिलाई ठम्याउने नेतृत्व थियो । राष्ट्रिय गार्डको समर्थन पनि तिनीहरूलाई थियो । त्यसकारण, पुँजीपतिवर्ग नयाँ सरकार बनाउन सफल भयो । बुर्बो दरबारमा नयाँ अस्थायी सरकारको घोषणा गर्यो । राष्ट्रिय प्रतिनिधि सभाले जनरल काभिग्नाक
(Cavignac) लाई अस्थायी सर्वाधिकार सम्पन्न राष्ट्रपति नियुक्त गर्यो र अनि संविधानसभा बोलाइयो । जनताको मागअनुसार सरकारमा अल्बर्ट र लुई ब्लाँक पनि थिए ।
अल्बर्ट भन्ने एक टाँक बनाउने कारखानाका मजदुर थिए । उनले १८४३ को लियोन विद्रोहमा पनि भाग लिएका थिए । लुई ब्लाँक एक पत्रकार र इतिहासकार थिए । उनी आफूलाई एक समाजवादी भन्थे । पछि उनी व्यक्तिगत सम्पत्तिका समर्थक भए र मजदुरवर्गलाई धोका दिएर पुँजीपतिवर्गसँग मिल्न गए ।
त्यस पुँजीवादी अस्थायी सरकारले समाजवादीहरूलाई मन्त्रीस्तरीय पदहरू दिएनन् । खालि साधारण सचिव तहका पदहरूमात्रै दिए । तिनीहरूमध्ये सबभन्दा ठुलो पद लानार्टीम (Lanartime) लाई दियो । त्यो पनि उनले कारखानाका मालिकहरूको स्वार्थको पक्ष लिएको हुनाले दिएको थियो । उसको पद विदेश विभागको पद थियो ।
२५ फेब्रुअरीको दिन मजदुरहरूको ठुलो प्रदर्शन भयो । तिनीहरूले सर्वशक्ति सम्पन्न गणतन्त्रको माग गरे । फ्रान्सेली मजदुरहरू त्यसबेला राजतन्त्रभन्दा गणतन्त्रलाई एक पाइला अगाडि सम्झन्थे । त्यस संसदीय व्यवस्थाले अथवा गणतान्त्रिक व्यवस्थामा जनतालाई राजनीतिकरूपले सङ्गठित र शिक्षित गर्ने केही सम्भावनाहरू थिए । तर, गणतान्त्रिक सरकार पनि पुँजीपतिवर्गकै सरकार थियो । पुँजीवादी प्रजातन्त्रमा पनि पुँजीपतिवर्गले मजदुरवर्ग र जनतालाई दबाइ नै राख्दथ्यो । फ्रान्सेली गणतन्त्रले पनि मजदुरवर्गको निम्ति केही गर्न सक्दैनथ्यो र गर्न पनि सकेन ।
त्यसकारण, मजदुरहरू ठुलो जुलुससहित अस्थायी सरकारको भवन अगाडि भेला भए । जनताले हातहतियार पनि लिएका थिए । जनताको तर्फबाट एक सशस्त्र मजदुरले बोले, “बेरोजगारी मजदुरहरूले काम पाउनुपर्छ । अस्थायी सरकारले ‘कामको ग्यारेन्टी दिनुपर्छ ।’ मजदुरहरू आर्थिक अवस्थालाई परिवर्तन गर्न चाहन्थे । त्यस दृष्टिकोणले तिनीहरू ‘समाजवादी गणतन्त्र’ को माग गर्थे । तर, यो कुरा त्यसबेलाका मजदुरहरूलाई थाहा थिएन कि त्यो कुरा त पुँजीपति सरकारलाई उल्टाएर फालेपछि मात्र पूरा हुनेछ ।”
जनताको असन्तोषबाट डराएर अस्थायी सरकारले ‘कामको अधिकार’ लाई स्वीकार गरेको हाउभाउ गर्यो । तर, त्यो एक छलकपट थियो । मजदुरहरूको विरोधमा काम गर्ने निर्णय गरेर व्यवहारमा देखावटीरूपमा ‘काम गर्ने अधिकार’ लाई मान्यता दियो ।
अस्थायी सरकारको मान्यताअनुसार जनकार्य मन्त्रालयको मातहतमा दानको रूपमा एक ‘राष्ट्रिय ज्यासल’ खोलियो । त्यो एक काम गर्ने भट्टी या कालीगडको ज्यासलजस्तो थियो । यसमा काम गर्न भर्ना हुने सबैलाई एक एक वटा पाङ्ग्रा भएको सामान ओसार्ने ठेला (ह्विल ब्यारो) दिइन्थ्यो । त्यसमा एक लाख मजदुरहरू भर्ना भए । ठुलठुला र राम्रो काम गर्ने मजदुरहरूसमेत माटो ओसार्ने काम गर्थे । त्यसैले खर्च धेरै पर्दथ्यो ।
आर्थिक सङ्कट चर्किँदै थियो । सरकारले पुँजीपतिवर्गसँग ऋण लिएको थियो । सरकारले लिएको ऋणलाई ब्याज अगाडि नै दिन्थ्यो । त्यसले पुँजीपतिवर्गलाई फाइदा थियो । सरकारले किसानहरूसँग सयकडा ४५ प्रतिशत प्रत्यक्ष कर लगायो । पेरिसका मजदुरहरूले काम गर्न नमानेको हुनाले किसानहरूले कर तिर्नुपरेको हो र राष्ट्रिय ज्यासल चलाउनलाई त्यो पैसा खर्च हुन्छ भनेर फटाहा कुरा गाउँ गाउँमा फैलायो । त्यो पुँजीपतिवर्गको मजदुर र किसानलाई झगडा गराउने मजदुरविरोधी काम थियो ।
संविधानसभाको चुनाव पनि नजिकै आइरहेको थियो । देशको ठुलो जनसङ्ख्यामा रहेका किसानहरूको मत मजदुरहरूले लिन नपाऊन् भनेरै यस्तो हल्ला फैलाएको थियो । किसानहरूले यस्तो कपटी र छली कुरालाई बुझेका थिएनन् । किसानहरूले आफ्नो मत पुँजीपतिवर्गलाई दिए । विधानसभामा पुँजीपतिवर्गको जीत भयो ।
२२ जून, १८४८ को दिन सरकारले राष्ट्रिय ज्यासललाई बन्द गरिदियो । त्यसले १ लाख १३ हजार मजदुरहरू बेकार भए । मजदुरवर्गले त्यस पाइलाको विरोध गर्छ भन्ने कुरा सरकारलाई थाहा थियो । सरकारले राष्ट्रिय ज्यासललाई बन्द गर्नुको अर्थ मजदुरहरूलाई उत्तेजित गरेर हत्याकाण्ड मच्चाउनु थियो । त्यो एक जाली काम र षड्यन्त्र थियो । २२ जूनको दिन पेरिसका सबै पसलहरू बन्द थिए । जहाँतहीं राष्ट्रिय गार्डका जवानहरूले पहरा दिइरहेका थिए । सडक र गल्लीहरूमा ४०० भन्दा बढी लडाइँ गर्ने छेकवारहरू राखेका थिए । सहरको बाहिरी फेरा र आधा राजधानी लडाइँको निम्ति तयार थियो । लियोन र सिलेसियाका जुलाहाहरूको विद्रोह र बेलायतको मागपत्रहरूको आन्दोलनभन्दा त्यो अवस्था चर्को थियो ।
लडाइँको घण्टी बज्यो । मजदुरवर्ग सारा लडाइँको मोर्चामा भिडेका थिए । तोपहरू ग¥यो । संविधानसभाले जनरल काभिग्नाकलाई असाधारण अधिकार दियो । जनरल काभिग्नाक अल्जेरियामा फ्रान्सविरोधी जनजातिहरूको हत्यारा थियो । संविधानसभाले वास्तवमा उसलाई सैनिक तानाशाह बनाएको थियो । यसरी पुँजीपतिवर्ग कसाहीको रूपमा प्रकट भयो ।
तर, मजदुरवर्गले पुँजीपतिवर्गको ज्यानमारा नीतिको अगाडि घुँडा टेकेनन् । राष्ट्रिय ज्यासल सँगसँगै मेसिनको कारखाना र रेलका सर्वहाराहरू पनि मोर्चामा जुझेका थिए । सहरको बाहिरी फेराको सेन्ट आन्टुइलीमा सिकर्मीहरू लडाइँमा बडो राम्रोसँग लडेका थिए । आइमाई र केटाकेटीहरू पनि मजदुर लडाकुहरूको निम्ति गोली बनाउन मद्दत गर्थे र घाइतेहरूलाई प्राथमिक उपचार गर्थे । लडाकुहरूलाई खाना र पानी पु¥याउँथे ।
राष्ट्रिय ज्यासलमा मजदुरहरूको सङ्गठनको आधार सैनिक ढङ्गको थियो । साना–साना दल र अनुशासित सङ्गठन थियो । लडाइँमा तिनीहरूले ठुलो साहस देखाए । तिनीहरूले अद्वितीय एकता र शत्रुहरूको आँखै तिरमिराउने सैनिक कौशल र चतु¥याइँको परिचय दिएका थिए । तर, पनि मजदुरहरूको निर्बलियो पक्ष पनि थियो । त्यस (जूनको) विद्रोहमा तिनीहरूको कुनै एक संयुक्त नेतृत्व थिएन । गुप्त क्रान्तिकारी सङ्गठनहरूले मात्र राम्रा निर्देशन दिन सकिरहेका थिए । सङ्घर्ष पूरा इलाकामा फैलिन नसकी खाली केही इकालामा मात्रै सक्रिय र चर्को थियो । एक ठाउँमा ६० वर्षका एक सार्कीले कामीको घन लिएर मोर्चाको रक्षाको निम्ति निर्देशन दिँदै थिए ।
विद्रोहमा सर्वहारावर्गको एक केन्द्र थिएन । किसानहरूले मजदुरहरूलाई समर्थन गर्न मानेनन् । सर्वहारावर्गलाई बाहिरबाट मद्दत दिन आउने कोही थिएन । स–साना पुँजीपतिवर्ग लडाइँको समयमा शत्रुको पक्षमा पुग्यो । माग पूरा गर्न पुँजीपतिवर्गको अगाडि आत्मसमर्पण गर्न लुई ब्लाँकले आत्मसमर्पणको निम्ति गोटीहरू चाल्यो र धोखा दियो ।
मजदुरहरू बडो साहस र दृढतापूर्वक लडेका थिए । तर, तिनीहरू नगर बाहिर पछाडि हट्नु पर्यो । सहर बाहिर सेन्ट आन्टोनी विद्रोहीहरूको बलियो गढमध्ये एक थियो । यो अन्तिमसम्म जुझिरह्यो । २६ जूनको दिन मजदुरहरूले आत्मसमर्पण गरे । सरकारी पल्टनले मजदुर पोसाक लगाएका र बारुदको धुँवाले काला भएका सबैलाई पक्रन्थ्यो र गोली हान्थ्यो । (लडाइँमा खालि ५ जवान मजदुरहरू मात्रै मारिएका थिए । तर, आत्मसमर्पण गरेका वा गिरफ्तार गरिएका हजारौँ मजदुरहरूको अमानवीय ढङ्गले हत्या गरिए ।) २५ हजार मजदुरहरू गिरफ्तार गरिए र त्यसमध्ये ५ हजारलाई उपनिवेशहरूमा निकाला गर्ने कठोर सजाय दिए । यसरी २६ जूनको हत्याकाण्ड गरी १८४८ को लडाइँमा पुँजीपतिवर्गको विजय भयो । फ्रान्सेली मजदुरहरूको हारले जर्मनी, इटाली र अरू देशका पुँजीपतिवर्ग र जमिनदारवर्गले पनि जनताको विरोधमा दमन कार्यहरू गर्न थाले । फ्रान्समा पनि पुँजीपतिवर्गले मजदुरवर्गलाई बराबर विद्रोह गर्न बाध्य गथ्र्यो । तर, मजदुरवर्गले पुँजीपतिवर्गको विरोधमा ४ दिनसम्म रगताम्य भिडन्त गरेको थियो । त्यो भिडन्त नयाँ समाजलाई ल्याउन दुई वर्गको बिचमा भएको ठुलो भिडन्त थियो । पुँजीवादी व्यवस्थालाई राख्ने हो वा फाल्ने हो भन्ने प्रश्न नै यस भिडन्तको सार थियो ।
२४ जूनको दिन मजदुरहरू नगर भवन कब्जा गर्ने उद्देश्यले बढिरहेका थिए । मजदुरहरू नगर भवन पुग्न ५०–६० पाइलामात्रै बाँकी थियो, लडाइँ मजदुरहरूले जित्दै थिए । तर, २६ जूनको दिनमा पासा पल्टियो । ज्यानमारा काभिग्नाकले मजदुरहरूको विरोधमा नियमित पल्टनहरू पठायो । सरकारी पल्टनका तोपहरूले मजदुर इलाकाहरूमाथि गोला बर्साउन थाल्यो । मजदुरहरूसँग पेरिसका जनसेना र राष्ट्रिय गार्ड मिलाएर जम्मा २४ हजार सेनामात्रै थियो । त्यसको तुलनामा सरकारी सेना बढी थियो । सरकारी सेनाको हातहतियार आधुनिक थियो । पल्टन तालिम प्राप्त थियो ।

मजदुरहरूको जून महिनाको विद्रोहको शिक्षा
जून महिनाको विद्रोहको सफलता र असफलताले मजदुरवर्गलाई शिक्षा पनि प्राप्त भएको छ । राजतन्त्रलाई पुँजीपतिवर्ग र मजदुरवर्गको साझा दुश्मनको रूपमा लिएपछि अन्ततः पुँजीपतिवर्गले आन्दोलनलाई पनि दबाउँछ । सत्तामा आएको पुँजीपतिवर्गको स्थितिलाई बुझ्न सक्ने एउटा केन्द्र हुने गर्छ वा बनाउने गर्छ ।
जस्तोसुकै प्रजातान्त्रिक भनिएको पुँजीवादी गणतन्त्र पनि मजदुरवर्गको विरोधमा तानाशाहीको रूप लिएर प्रकट हुनसक्छ ।
कुनै पनि शासक वर्ग वा पुँजीपतिवर्गको विरोधमा राजनैतिक सङ्घर्ष गर्न मजदुरवर्गको पनि स्थितिलाई बुझ्न सक्ने एक गुप्त नेतृत्व हुनुपर्छ ।
मजदुरवर्गको पनि सैनिक ढङ्गले एक लडाकु सङ्गठन हुनुपर्छ र सङ्घर्ष एक सानो ठाउँमा मात्र केन्द्रित हुनुहुन्न ।
व्यापक किसान र गाउँले जनतासँग मजदुरवर्गको एकता आवश्यक छ । अर्थात्, किसान जनतामा पनि सङ्गठनलाई फैलाउनुपर्छ र राजनैतिकरूपले तिनीहरूलाई तयार गर्नुपर्छ ।
मजदुर आन्दोलनलाई माथि वा तल, बाहिर वा भित्रबाट पनि सहयोगको सम्भावनालाई ध्यान दिनु आवश्यक छ । व्यापक कामदारवर्गलाई एक राजनैतिक शक्तिको रूपमा तयार गर्नुपर्छ ।

– ‘विश्व प्रसिद्ध मजदुर आन्दोलनहरु’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *