भर्खरै :

स्नेहको पर्व आमाको मुख हेर्ने दिन

  • बैशाख २६, २०८१
  • सुनिता गाइसी
  • विचार
स्नेहको पर्व आमाको मुख हेर्ने दिन

मानवीय सम्बन्धहरू आधुनिकताको लहरले जटिल बन्दै गएको अवस्थामा पनि हाम्रो चाडपर्वले अझै आत्मीयता, सरलता र स्नेहको सञ्चार गर्दै आएको छ । चाडपर्वले एक अर्काबिचको रिस, द्वेष, झगडालाई पनि कम गर्दै जाने गर्दछ । मानिसको स्वभाव पनि अचम्मकै छ जति भेटघाट, कुराकानी हुन्छ सम्बन्ध बलियो बन्दै जान्छ । यसको लागि अवसर जुटाउने कार्य हाम्रा चाडपर्वहरूले गरेका छन् । आज आमाको मुख हेर्ने दिनलाई स्नेहको पर्वको रूपमा मानिन्छ । विशेषगरी यस अवसरमा छोरा छोरीहरूले आफ्नो आमालाई मनपर्ने खानेकुरा र लुगा कपडा, फलफुल दिने गर्दछन् साथै आमाको दीर्घायुको शुभकामना पनि दिन्छन् । हामीले आफ्ना बुबाआमालाई विशेष हेरचाह गर्नुपर्दछ । बुबाआमाले आफ्ना छोराछोरीको लागि आफ्ना सपनाहरू त्यागेका हुन्छन् । उनीहरूको माया, त्याग र प्रेमको सदैव हामी ऋणी छौँ । आमाले आफ्नो ममतापूर्ण काखमा आफ्ना बालबालिकाको स्याहार गर्ने गर्छिन्, आफ्ना सन्तानको लागि सारा खुसी दिन्छिन् तर तिनै सन्तान ठुला भएपछि आमाबुबालाई वास्ता नगर्ने पनि छन् । हिजोआज सामाजिक सञ्जालमा एक युवकले एक वृद्धलाई कुटेको भिडियो भाइरल भइरहेको छ । यस्ता कार्यले समाज गलत दिशातर्फ गइरहेको सङ्केत गर्दछ । मानिस सामाजिक प्राणी हो उसका हरेक आवश्यकताहरू समाजबाटै पूरा हुने गर्दछन् । हाल केही आर्थिक सम्पन्नता भयो भन्दैमा व्यक्तिगत खुसीलाई मात्र ध्यान दिनुहुँदैन । समग्र समाजको विकास गर्न हरेकले आफ्नो कर्तव्य पालना गर्नुपर्दछ । मानवजीवन पनि एक साइकलको चक्काजस्तै हो† घुम्दै पुनः त्यही ठाउँमा पुगिन्छ । सबैको हितको लागि हामीले हरबखत सोच्नु जरुरी छ । चाडपर्वलाई पनि सरल र सहज किसिमले मनाउनु आवश्यक छ । आफ्नाहरू बिचमा स्नेह, प्रेम, सद्भाव, सहयोगी भावना भएमात्र जीवन सहज बन्दछ । यसले समाजमा सकारात्मक प्रभाव पार्दछ ।
चाडपर्वमा विशेषगरी हामीले खानपानमा ध्यान दिनु जरुरी हुन्छ । बजारमा देखिने सुन्दर राम्रो खाने कुराभन्दा घरमै तयार पारेका स्वस्थकर खानेकुरामा बढी जोड दिनुपर्दछ । आफ्ना प्रिय आमाबुबालाई बजारिया पत्रु खानाभन्दा घरमा बनेका ताजा खानेकुराहरू खुवाउनु पर्दछ । विशेषगरी नेवारी समुदायमा चाडपर्वहरूमा विवाहित छोरीहरू आफ्नै घरमा आफ्ना बुबाआमा र दाजुभाइलाई मनपर्ने खानेकुराहरू बनाएर लाने गर्दछन् । यो परम्परा राम्रो छ र वैज्ञानिक छ । यसले बजारिया महँगा र स्वास्थ्यलाई हानि गर्ने खानेकुराबाट यो समुदायलाई पर राख्ने प्रयास गर्दै आएको छ । आजको दिनको लागि भनी व्यापारीहरूले विभिन्न रङ्गीविरङ्गीका मिठाइहरू धेरै समय अघिदेखि बनाएर राखेका हुन्छन् । हामी पनि हेर्दा आकर्षक देखिने खानेकुरा किन्नतिर लाग्दछौँ । पोषणविद् डा. अरुणा उप्रेतीले आफ्ना लेखमार्फत बजारिया खानेकुरा नखान जनचेतना जगाउँदै आउनुभएको छ । उहाँका हरेक लेखमा घरमा बनेका स्वस्थकर खाना खानमा बढी जोड दिएको देखिन्छ ।
मानिसले जानीजानी आफ्नो र आफ्नाको स्वास्थ्यमाथि खेलबाड गर्दै आइरहका छन् । यसले गर्दा विभिन्न किसिमका रोगले मानिसको मृत्यु भइरहेको छ र आफन्तहरू बिरामीको उपचार गर्दागर्दै घरखेत बेच्न बाध्य छन् । यस्तो विकराल अवस्थाबाट बच्न घरमै बनेका खानेकुरामा जोड दिऊँ । बजारिया पत्रु खानेकुरालाई बहिष्कार गराऔँ । त्यसैले चाडपर्व माया, स्नेह र सदभावले मनाऔँ । यस्ता पर्वले मानविय सम्बन्धलाई मजबुत पार्ने गर्दछ । हाम्रा पर्वहरूलाई आधुनिक प्रविधिले पनि निकै प्रभाव पार्दै आएको छ । वास्तवमै सञ्चार र प्रविधिको विकासले मानव जीवनमा निकै परिवर्तन ल्याइदिएको छ । आफ्ना भावनाहरू सहजै व्यक्त गर्ने वातावरण प्रविधिले तयार पारिदिएको छ । आज पनि आमाको मुख हेर्ने दिनको अवसरमा बिहानैदेखि फेसबुक, इस्टाग्राम रिल, स्टोरीहरूमा विभिन्न गीतका धुनसँगै आमाको फोटोसहित आफ्नो जन्म दिने आमालाई शुभकामना दिइरहेको देखिन्छ । साँच्चै जता खोला बग्छ त्यतै माछा जान्छ वा भनौँ देशअनुसारको भेष भनेजस्तै हामी सबैले यसरी आफ्नो आमालाई शुभकामना दिइरहेका हुन्छाँै । प्रविधि त एक माध्यममात्र हो । सबैले आफ्नो आमाप्रति सद्भाव, हेरचाह वर्षभरि नै गर्नु जरुरी छ । आफ्ना आमाबुबाको इच्छा पूरा गर्नु उनीहरूलाई खुसीसाथ राख्नु सन्तानको कर्तव्य पनि हो । हामीले आफ्नो परम्परा भुल्नु हुँदैन । जे होस् आधुनिक प्रविधिले मानवीय सम्बन्धलाई केही मात्रामा भए पनि सुमधुर राख्नमा पहल गरेको छ । त्यस्तै कतिपय मानिसहरू माथिका कुराहरूको विरोध पनि गर्दछन्; एउटा फोटो पोस्ट गरेर माया देखाएर के गर्नु भनि चर्चा गर्दछन् । मानिसको आ–आफ्नो स्वभाव हो । कोही प्रविधिलाई सकारात्मकरूपमा हेर्दछन् भने कोही नकारात्मक प्रभावको चर्चा गर्नमै व्यस्त रहने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *