नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पुँजीवादको विकासले बेकारी र भोकमरी ल्याइदियो । मजदुरहरूलाई लामो समयसम्म काम गर्न दिइयो । तिनीहरूको ज्याला कम भयो । मेशिनको प्रयोगले तिनीहरूलाई कामबाट निकालिदियो । त्यसले गर्दा मजदुर आन्दोलन बढ्दै गयो । हड्ताल, जुलुस, घेराउ, विरोध र भिडन्तहरू औद्योगिक सहरहरूको दैनिक घटनाहरू हुन थाले । सडक र गल्लीहरूमा भोकले मरेका लासहरू देखिन थाले । लुटपाट, दङ्गा– फसाद, हुल–हुज्जत स्वाभाविक कुरो भयो । पुरानो धर्म, कर्म, इज्जत, प्रतिष्ठा र नैतिकतालाई पैसामा बेचबिखनको वस्तु बनाइदियो ।
पुँजीवादले समाजमा ल्याएको त्यस दुर्दशामा केही विचारकहरूको ध्यान गयो । तिनीहरूले पुँजीवादलाई गाली गरे, सरापे र त्यसका खराबीहरूलाई सबैको अगाडि उदङ्ग्याए । तिनीहरू पुँजीवादको त्यस खराबीलाई धोएर नयाँ विवेकपूर्ण र न्यायको समाज बनाउन चाहन्थे । त्यस विवेकपूर्ण र न्यायको समाजलाई तिनीहरूले
‘समाजवाद’ को नाम दिए । त्यस समाजमा अन्याय, अत्याचार, भोकमरी, बेकारी, अशान्ति, हुल–हुज्जत, जाली फट्याइ हुँदैन । तर, त्यस्तो ‘समाजवाद’ ल्याउने ढङ्ग, उपाय र किसिम फरक–फरक थियो । हरेक विचारकले आफ्नै ढङ्ग र किसिमको समाजवादी समाजको कल्पना गरे । ती विभिन्न प्रकारका समाजवादीहरूमध्ये नाउँ चलेकाहरूमा सेन्ट साइमन, चाल्र्स फ्यूरिए र रोबर्ट ओबेन हुनुहुन्थ्यो । सेन्ट साइमन (१७६०–१८२५) एक फ्रान्सेली विचारक हुनुहुन्थ्यो । चाल्र्स फ्यूरिए (१७७२–१८३७) पनि एक फ्रान्सेली विचारक हुनुहुन्थ्यो । रोबर्ट ओवेन (१७७१–१८५८) एक बेलायती मजदुर नेता र समाज सुधारक हुनुहुन्थ्यो ।
उहाँहरू राजा–महाराजा, ठूला–बडा र पुँजीपति वर्गलाई विवेक, परोपकार र धर्मको कुरा सम्झाएर समाजमा भैरहेको शोषण, भोकमरी, बेकारी, अन्याय, अत्याचार र लडाई–झगडाहरूलाई निर्मूल गर्न सकिने छ भन्ने विश्वास गर्नुहुन्थ्यो । त्यस विचार अनुसार उहाँहरूले ठाउँ–ठाउँमा आफ्नो अगुवाइमा नयाँ ढङ्गले समाज र वस्तीहरू बसाल्नुभयो । मजदुरहरूलाई सहुलियत दिनु भयो । प्रवचन, भाषण, पत्रपत्रिका र किताबहरू लेखेर समाजवाद राम्रो छ भनेर प्रचार कार्यहरू गर्नुभयो । त्यस्ता समाजवादी समाज बनाउनको निम्ति उहाँहरू राजा–महाराजा, ठूला–बडा, व्यापारी र पुँजीपति वर्गको दरवार र दैलोमा पुग्नुभयो, मद्दत माग्नुभयो । तर ती शोषकहरूले समाजवादका सबै कुरा सुनेर उहाँहरूलाई टाढैबाट नमस्कार गरेर पठाइदिए । तैपनि उहाँहरू धनीहरूको मन पगालेर शान्तिपूर्वक समाजवाद ल्याउने कुरामा विश्वास राख्नुहुन्थ्यो । तर, उहाँहरूको त्यो विश्वास एक कल्पना वा सपना थियो, किनभने धनीहरूबाट गरिब जनताको भलो हुँदैन भन्ने कुरो त्यसबेलाको मजदुर आन्दोलनको दमनबाट प्रस्ट थियो ।
गरिब र मजदुर वर्गप्रति उहाँहरूको सहानुभूति राम्रो कुरो थियो । समाजवादी समाज पनि राम्रो कुरा थियो । तर समाजवाद कसरी आउँछ भन्ने कुरा उहाँहरू आफैलाई पत्तो थिएन । त्यसैबेला बेलायतमा लुडाइट आन्दोलन सुरु भइरहेको थियो । फ्रान्समा लियोन सहरका मजदुरहरूले विद्रोह गरिरहेका थिए । बेलायतमा मजदुरहरूको मागपत्रको आन्दोलन अगाडि बढ्दै गयो । जर्मनीमा सिलेसियाली मजदुर विद्रोहले नयाँ कुरो बताइरहेको थियो ।
त्यसैबेला कार्ल माक्र्स र फ्रेडरिक ऐङ्गेल्सले जर्मनीमा सामन्तवादको थिचोमिचो र अत्याचारको विरोधमा पत्रपत्रिकामा लेखहरू लेखेर सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । बिस्तारै उहाँहरूको ध्यान युरोपमा भइरहेको मजदुर आन्दोलनहरू र समाजवादी सिद्धान्तहरूमा गयो । कार्ल माक्र्स गैर–कानुनी पत्रिका निकाल्न फ्रान्स जानुभयो । फ्रेडरिक ऐङ्गेल्स बेलायत जानुभयो । माक्र्स फ्रान्सबाट निकालिनुभयो र बेल्जियमको राजधानी ब्रसेल्स बस्नुभयो । ऐङ्गेल्सले ‘बेलायतका मजदुर वर्गको अवस्था’ भन्ने किताब लेख्नुभयो ।
फ्रान्स, बेल्जियम र बेलायत बसोबासको बेलामा माक्र्स र ऐंगेल्सले जर्मन दर्शन राजनैतिक अर्थशास्त्र र समाजवादबारे गहिरो अध्ययन गर्नुभयो । उहाँहरूको अध्ययनको केन्द्रबिन्दु त्यसबेलाको मजदुर आन्दोलनसँग सम्बन्धित थियो ।
उहाँहरूको अध्ययनले समाजमा आर्थिक उत्पादनका वर्गहरूको विरोध र विकासलाई देखायो । त्यस वर्गसङ्घर्षमा उठ्दो वर्गले पुरानो वर्गमाथि विजय पाउने कुरो देखाउनुभयो । त्यस्तै बढ्दै गइरहेको मजदुर आन्दोलनले मजदुर वर्ग एक लडाऊ शक्तिको रूपमा देखाइरहेको थियो । मजदुर वर्गले राजनैतिक सत्ताको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकतालाई देख्न थाले । त्यसबेला प्रचारमा बाइरहेका विभिन्न किसिमका समाजवादी विचारहरू मजदुर वर्गको राजनैतिक सङ्घर्षको पक्षमा थिएनन् । त्यसकारण माक्र्स ऐंगेल्सले ती कच्चा र कोरा समाजवादी सिद्धान्तहरूको विरोधमा एक एक गरेर वैचारिक सङ्घर्ष गर्नुभयो ।
त्यसबेला औद्योगिक मजदुरहरू भन्दा हाते–कारखानाका मजदुरहरूको सङ्ख्या बढी थियो । तर तिनीहरू सङ्गठित थिएनन् । तिनीअरू आफै पुँजीवादी राजनीतिज्ञर काल्पनिक समाजवादीहरूको पक्षमा लाग्थे । त्यसकारण माक्र्स र ऐङ्गेल्सले मजदुर वर्गलाई ती विचारधाराबाट मुक्त गरेर साम्यवादी समाजको बाटो देखाउन एउटा अलग्गै क्रान्तिकारी मजदुर वर्गको पार्टीको आवश्यकता देख्नुभयो । उहाँहरूले फ्रान्स, बेल्जियम र बेलायतका क्रान्तिकारी मजदुर नेताहरूसँग व्यक्तिगत रुपले भेटघाट र छलफल गर्नुभयो । ती देशहरूको क्रान्ति र पुँजीवादी अर्थतन्त्रको गहिरो अध्ययन गर्नुभयो ।
बेलायतमा जर्मनीका प्रवासीहरूको ‘जर्मेनियाली न्याय सङ्घ’ भन्ने एक सङ्गठन थियो । विभिन्न देशमा त्यसको सङ्गठन र हाँगाबिगा थियो । माक्र्स र ऐङ्गेल्सले बेलायतको मागपत्रको आन्दोलनका क्रान्तिकारी नेताहरूसँग छलफल गर्नुभयो । मध्य अगष्ट १८४५ मा बेलायती मागपत्रका आन्दोलनकारीहरू र जर्मेनियाली प्रवासीहरूको एक संयुक्त भेला गराउनुभयो । मजदुर वर्गको अन्तर्राष्ट्रिय समझदारी र एकताको निम्ति त्यो ठूलो पाइलो थियो । माक्र्स र ऐङ्गेल्स बेलायतबाट फर्कनु भएपछि २२ सेप्टेम्बर १८४५ मा फेरि मागपत्रका आन्दोलनकारीहरू र जर्मेनियाली प्रवासीहरूको एक सङ्गठन बनाइयो ।
साम्यवादी समाजबारे प्रचार–प्रसार गर्न र विभिन्न देशका मजदुर सङ्गठन र समाजवादी सङ्गठनहरूको बीचमा विचारको आदानप्रदान गर्नु आवश्यक थियो । त्यसकारण १८४६ को सुरुमा माक्र्स र ऐङ्गेल्सले बेल्जियममा एक ‘ब्रसेल्स कम्युनष्टि सम्पर्क गोष्ठी’ स्थापना गर्नुभयो । त्यस गोष्ठीले साम्यवाद र त्यसबेलाको राजनीतिबारे छलफल सुरु गर्यो । लिथो गरेर विभिन्न देशका मजदुर नेताहरू र सङ्गठनसँग विचारको आदानप्रदान गर्यो । त्यस कामको निम्ति आवश्यक चन्दा उठाउन थाल्नुभयो । विभिन्न देशका मजदुरहरूलाई जनताको राजनैतिक अधिकारको निम्ति सङ्घर्षको मोहडामा बस्न आह्वान गर्नुभयो । ब्रसेल्स, पेरिस, लण्डन, स्वीट्जरल्याण्ड, ह्याम्बर्ग (जर्मनी) आदि विभिन्न देश र ठाउँमा गोष्ठीहरू संगठित भए । मजदुर सङ्गठनहरूभित्र रहेका काँचा र कोरा समाजवादी विचारहरूलाई खण्डन गरेर एक वैज्ञानिक साम्यवादी सिद्धान्तलाई अगाडि बढाउन गोष्ठीको महासभा (महाधिवेशन) बस्नु आवश्यक थियो । १८४७ जून महिनामा लण्डनमा ठूलो महासभा भयो । आर्थिक कठिनाइले माक्र्स त्यस सभामा भाग लिन सक्नुभएन । तर ऐङ्गेल्सले माक्र्सको विचार अनुसार सभालाई सञ्चालन गर्नुभयो ।
महासभाले ‘न्याय सङ्घ’ को नाउँलाई ‘कम्युनस्टि लिग’ राख्यो । वैज्ञानिक साम्यवादी सिद्धान्तमा आधारित नयाँ किसिमको सङ्गठन बनाउने निधो गरियो । त्यसले एक नियम पनि बनायो । नियम अनुसार महासभाले एक केन्द्रीय समिति चुन्ने छ । केन्द्रीय समितिले तलका सबै सङ्गठनहरूको सञ्चालन गर्ने छ । ती सङ्गठनहरूबाट पठाइएका प्रतिनिधिहरूबाटै महासभा बन्ने छ । तलदेखि माथिसम्म छलफलको स्वतन्त्रता रहने छ र केन्द्रीय समितिले सबैलाई अगाडि बढाउने छ । सदस्यहरूले मासिक चन्दा र सङ्गठनको खर्च व्यहोर्ने छन् । सदस्यहरूले साम्यवादी विचारको प्रचार र सङ्गठन गर्न उत्साह देखाउने छन् । नियम पालन नगर्नेहरूलाई पार्टीबाट निकाल्ने छ । पछि जातीय र क्षेत्रीय कुरो उठाउन नपाउने नियम पनि बनाइयो । “सबै मानिस दाजुभाइ हुन् ।” भन्ने वाक्यको ठाउँमा “सबै देशका कामदार जनता एक होऊँ ।” भन्ने वाक्य राखियो ।
केन्द्रीय समिति लण्डनमा थियो । माक्र्सले ब्रसेल्स जिल्ला समिति सम्हाल्नुभयो । ऐंगेल्सले पेरिस जिल्ला समिति सम्हाल्नुभयो । पुस्तकालय, वादविवाद गोष्ठी, अध्ययन गोष्ठी र नाचगान गोष्ठी र अरू प्रचारका सङ्गठनहरूमार्फत कम्युनिस्ट सङ्गठन अगाडि बढ्दै गयो । ‘न्याय सङ्घ’ र ‘शैक्षिक सङ्घ’ हरू कम्युनिस्ट लिगहरूमा फेरिए । वैज्ञानिक साम्यवादको प्रचारको निम्ति माक्र्सले ‘ड्युत्ये ब्रुसेलर जाइटुङ्ग’ नाउँको १५ दिने पत्रिका निकाल्न लाग्नुभयो । कम्युनिस्ट लिगको प्रस्ट सिद्धान्त र कार्यक्रम आवश्यक थियो । ऐङ्गेल्सले प्रश्नोत्तरको रूपमा ‘साम्यवादको सिद्धान्त’ भन्ने लेख खेस्राको रूपमा लेख्नुभयो ।
– ‘विश्व प्रसिद्ध मजदुर आन्दोलनहरु’ बाट
Leave a Reply