भर्खरै :

खेलाडीहरू देश रक्षाको निम्ति तत्पर हुनुपर्ने

खेलाडीहरू देश रक्षाको निम्ति तत्पर हुनुपर्ने

वर्षका उत्कृष्ट खेलाडीहरू सम्मानित

भक्तपुर, ५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ(रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूको सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले खेलाडीहरू देश रक्षाको निम्ति तत्पर हुनुपर्नेमा जोड दिँदै प्रतिक्रियावादीहरूले खेलाडीहरूलाई गलत ढङ्गले प्रयोग गर्न सक्ने हुँदा खेलाडीहरू सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले खेलाडीहरूले खेलकुदका साथसाथै देशको संस्कृति र सांस्कृतिक सम्पदा संरक्षणलगायत समाज विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरू देशकै सम्पत्ति भएकाले राज्यले खेलाडीको सुरक्षा र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अहिले खेलाडीहरू विदेश पलायन हुने बाध्यता भएकोले खेलाडीलाई उत्साहित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी हुने गरेको बताउनुभयो । खेलाडीहरू राजनीतिबाट अलग हुन नसक्ने स्पष्ट पार्दै उहाँले खेलाडीहरूले देशको सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता रक्षाका लागि लड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले खेलाडीहरूले खेलका साथसाथै समाज विकासमा उत्कृष्ट योगदान गर्नुपर्ने चर्चा गर्दै खेलाडीहरूले स्वयम्सेवी भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले राज्यले खेल क्षेत्र वास्ता नगरेको सन्दर्भमा भक्तपुर नगरपालिकाले खेलाडी सम्मान कार्यक्रम आयोजना गर्नु प्रेरणादायी भएको बताउँदै यस्ता कार्य देशकै लागि उदाहरणीय भएको स्पष्ट पार्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले नेमकिपाको निर्वाचन घोषणापत्र अक्षरशः पालना गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र आधारभूत आवश्यकताका साथै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले खेलकुद, शिक्षा र स्वास्थ्य एक आपसमा अन्योन्याश्रितरूपमा जोडिएर रहेको चर्चा गर्दै भनपाले हरेक वर्ष खेलकुद प्रतियोगिताहरू सञ्चालन गरी खेलकुद क्षेत्रलाई प्रोत्साहित गर्दै आएको बताउनुभयो ।
यसै प्रसङ्गमा भक्तपुर नगरपालिकाले अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूबिच बास्केटबल प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै उहाँले खेलाडीहरू देशको गहना भएकाले खेलाडीहरूले देश र जनताको सेवा गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद क्षेत्रको विकासको लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय हुनुपर्ने बताउँदै खेलाडीहरूको वृत्ति विकासको लागि भक्तपुर नगरपालिकाले नियमितरूपमा विद्यालयस्तरीय तथा अन्तरनगर खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रजस्तै खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै आएको उल्लेख गर्दै नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी टोल टोलमा खुला व्यायामशाला, छिकोङ प्रशिक्षण र विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको बन्दोबस्त गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले गरेको खेलाडी सम्मानले खेलाडीहरू थप उत्साहित भएको र नपाले खेलकुदमा उदाहरणीय तथा सराहनीय कार्य गरेको बताउँदै सम्मानित हुने खेलाडीहरूको घोषणा गर्नुभयो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले १६ जना निर्णायकहरू, १७ वटा खेलका उत्कृष्ट १७/१७ जना महिला र पुरुष खेलाडीहरू तथा १७ उत्कृष्ट प्रशिक्षकहरू, प्रशिक्षक कोर्स उत्तीर्ण २१ जना प्रशिक्षकहरू, अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने ७ जना खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *