भर्खरै :

क्रान्तिकारी कुमारहरू

क्रान्तिकारी कुमारहरू

सामन्ती व्यवस्थामा राज्यको सबभन्दा उपल्लो तहमा राजा, राजपरिवार र खानदानीवर्ग हुन्थे । राजा र उनको परिवारलाई पुस्तौँदेखि राजकाज र युद्धमा साथ र सहयोग दिने परिवारको तप्का नै कुलीनवर्ग हो । यसलाई अभिजात, सम्भ्रान्त वा खानदानीवर्ग पनि भनिन्छ । सामन्ती समाजमा कुलीनवर्ग सामान्य मानिसहरूभन्दा फरक, विशेषाधिकार प्राप्त शक्तिशाली र धनीवर्ग हुन्थ्यो । कुलीनता र उनीहरूको मानपदवी पुस्तैनी हुन्थ्यो भने कहिलेकाहीँ राज्यमा महत्वपूर्ण योगदान गर्ने सामान्य परिवारलाई पनि राजाले कुलीन परिवारको दर्जा दिन सक्थ्यो । युद्ध र राजकाजमा साथ र सहयोग दिएबापत कुलीनहरूले राजाबाट राज्यको जमिन र जङ्गल बिर्ताको रूपमा प्राप्त गर्थे । सोही बक्सिसको आम्दानीले कुलीन परिवारको दिनचर्या चल्थ्यो ।
कुलीनवर्गभित्र पनि विभिन्न तह हुन्थ्यो । केही परिवारको राजासँग प्रायः नजिकको सम्बन्ध हुन्थ्यो । शक्ति, प्रभाव एवम् सम्पत्तिको हिसाबले ती परिवारलाई ठुला मान्थे । त्यस्ता परिवारलाई उच्च कुलीन घरानामा गनिन्थ्यो । ती घरानियाँहरूले ‘कुमार’ (प्रिन्स) र ‘रजौटा’ (ड्युक) जस्ता पुस्तैनी पदवी पाउँथे । डिसेम्बरवादी गुप्त समाजमा सहभागी भएर ज्यान सजायको घोषणा गरिएका ३६ जना युवामध्ये २ जना यस्तै उच्च कुलीन परिवारबाट आएका थिए । तिनीहरूको नाम थियो – कुमार सेर्गेइ पेत्रोभिच त्रुबेत्स्कोइ र कुमार सेर्गेइ ग्रिगोरेभिच भोल्कोन्स्की ।
सेर्गेइ त्रुबेत्स्कोइ
मिखाइल लुनिनजस्तै त्रुबेत्स्कोइ र भोल्कोन्स्की दुवै डिसेम्बर विद्रोहका बागी युवाहरूभन्दा उमेरले ८–१० वर्ष पाका थिए । विद्रोहको बेला त्रुबेत्स्कोइ ३५ वर्षका र भोल्कोन्स्की ३७ वर्षका थिए । सेर्गेइ त्रुबेत्स्कोइको जन्म सन् १७९० मा भोल्गा नदी किनारको निइनी नोभोग्रादमा भएको थियो । उनको परिवार निझ्नी नोभोग्राद सहरको एक धनी र उच्च कुलीन परिवार थियो । सन् १६१२ मा मस्को सहरलाई पोल्यान्डको सेनाले कब्जा गरेको थियो । त्यो कब्जाबाट मस्कोलाई मुक्त गर्न त्रुबेत्स्कोइको पुर्खाले लडाइँको नेतृत्व गरेका थिए । त्यसैले, रूसी कुलीनवर्गमा त्रुबेत्स्कोइ परिवारको ठुलो प्रतिष्ठा थियो ।
त्रुबेत्स्कोइले घरमै प्रारम्भिक शिक्षा लिए । १६ वर्ष पुगेपछि उनले मस्को विश्वविद्यालयमा भर्ना भएर कक्षा लिन थाले । सन् १८०८ मा उनी १८ वर्षका भए । यति नै बेला उनले सेम्योनोभ्स्की गार्ड पल्टनमा एउटा सामान्य ओहोदाबाट सैनिक सेवा सुरु गरे । नेपोलियनको फ्रान्सविरुद्ध भएका हरेकजसो लडाइँमा उनी सहभागी थिए । १८१३ अक्टोबरमा भएको लाइपजिगको लडाइँमा उनी गम्भीर घाइते भए ।
युद्धबाट फर्केपछि सेर्गेइ त्रुबेत्स्कोइ ‘मुक्ति सङ्घ’ का संस्थापक सदस्य बने । उनी निकिता मुराभ्योभजस्तै संवैधानिक राजतन्त्रका पक्षधर थिए । पछि गुप्त समाजमा गणतन्त्रवादीहरूको प्रभाव बढ्दै गयो । सङ्गठनका गतिविधिबारे सूचना चुहिन थालेपछि निकिता र त्रुबेत्स्कोइले गुप्त समाज विघटन गरे । सन् १८२१ मा उनीहरूले ‘उत्तरी समाज’ को नाममा अर्को गुप्त समाज सुरु गरे । ‘उत्तरी समाज’ को सम्पर्क र गतिविधि मस्को तथा राजधानी सेन्ट पिटर्सबर्गमा केन्द्रित थियो । त्यसबेला त्रुबेत्स्कोइले गार्ड पल्टनमा कर्नेलमा पदोन्नति पाइसकेका थिए ।
विद्रोहको अघिल्लो दिन गुप्त समाजको बैठक बसेको थियो । त्यसले सेर्गेइ त्रुबेत्स्कोइलाई विद्रोहको नेता र अन्तरिम कालको सर्वोच्च शासक हुने निर्णय गरेको थियो । तर, विद्रोह असफल हुने देखेर अन्तिम क्षणमा डरले उनी विद्रोहस्थल सिनेट चोक गएनन् । त्यसबेला उनका जेठान अस्ट्रियाली राजदूत थिए । उनी जेठानको कोठामा लुक्न गए । विद्रोहको भोलिपल्ट उनलाई समातियो । अरू सबै क्रान्तिकारीलाई जस्तै उनलाई पिटर–पाउल किल्लामा बन्दी बनाइयो ।
सेर्गेइ भोल्कोन्स्की
कुमार सेर्गेइ भोल्कोन्स्की विद्रोहको बेला गार्ड पल्टनका मेजर जर्नेल थिए । उनको पल्टन युक्रेनी क्षेत्रमा तैनाथ थियो । विद्रोहीहरूमध्ये सबभन्दा ठुलो पदका अफिसर भोल्कोन्स्की नै थिए । उनी अति उच्च खानदानी परिवारबाट आएका थिए । यसले गर्दा जार निकोलसले अनुसन्धान अवधिभर उनको फाइलमा वास्तविक नाम लेख्ने अनुमति दिएनन् ।
सेर्गेइ भोल्कोन्स्कीको जन्म सन् १७८८ मा पिटर्सबर्गमा भएको थियो । उनका पुर्खा १४ औँ शताब्दीमा मस्को सहरलाई तातारहरूको आधिपत्यबाट मुक्त गर्ने लडाइँको नेतृत्व गर्ने वीर थिए । रूसी साम्राज्यको विस्तारसँगै भोल्कोन्स्की खानदान रूसको एउटा शक्तिशाली कुलीन परिवारमा विकसित भयो । १८ औँ शताब्दीसम्ममा भोल्कोन्स्की परिवार जारको सबभन्दा नजिकको परिवार भइसकेको थियो । सेर्गेइ भोल्कोन्स्कीकी आमा जार अलेक्सान्दर प्रथमकी आमाकी सहयोगी थिइन् । उनी प्रायः राजमातासँगै राजदरबारमा बस्थिन् । भोल्कोन्स्कीका काका जार अलेक्सान्दरको सेनामा जर्नेल थिए । ती काका जार निकोलस पहिलोको समय (१८२५–१८५५) मा देशका प्रमुख प्रशासक थिए । भोल्कोन्स्कीले फ्रान्सेली आप्रवासीहरूले स्थापना गरेको पिटर्सबर्गको अभिजात्य विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका थिए । उनले पिटर्सबर्गकै अर्को उच्चवर्गीय सैनिक विद्यालयबाट शिक्षा पूरा गरे । त्यसपछि उनले सन् १८०६ मा गार्ड पल्टनबाट सैनिक सेवा सुरु गरे । सन् १८०७ मा नेपोलियनको सेनासँग पूर्वी प्रसियाको इलाउ सहरमा भएको लडाइँमा उनी घाइते भए । उनलाई राजधानी पिटर्सबर्ग झिकाइयो । आमाको रापतापले उनलाई जार अलेक्सान्दरको नजिक रहने युवा सहयोगी दलमा राखियो । जारको सहयोगी दलमा रहँदा उनले प्रायःजसो जारसँगै खाना खान्थे । भोल्कोन्स्की जारको शयनकक्षसम्म जाने अनुमति पाएका सीमित सहयोगीमध्ये एक थिए ।
एक वर्षको राजधानी बसाइँपछि भोल्कोन्स्की सन् १८०८ मा फेरि सैनिक सेवामा फर्के । पचासभन्दा बढी लडाइँमा सहभागी भएपछि सन् १८१३ सम्ममा उनको मेजर जर्नेल पदमा बढुवा भयो । त्यसबेला उनी केवल २४ वर्षका थिए ।

सन् १८१२ मा युद्धको प्रभाव
रूसलाई झुकाएर आफ्नो पक्षमा ल्याउने उद्देश्यले सन् १८१२ मा नेपोलियनले ६ लाख सेनासहित रूसविरुद्ध ठुलो आकारको युद्ध थाले । नेपोलियनसँग सिधा युद्ध नगरी रूसको भित्री मैदानसम्म तानेर थकाउने अनि पछि घेरा हालेर आक्रमण गर्ने नीति रूसले लियो । युद्धको क्रममा भोल्कोन्स्कीजस्ता युवा अफिसरहरूले सेनामा ल्याइएका रूसी भूदासहरूको वीरता देखे । यसको उल्टो रूसलाई शत्रुबाट बचाउने जिम्मा बोकेका खानदानीहरू भने डराएर नेपोलियनको सेना पुग्नु अगावै आआफ्ना गाउँबाट भागिरहेका थिए । युवा अफिसरहरूले खानदानीहरूमा भन्दा भूदासहरूमा देशभक्तिको प्रबल भावना भएको अनुभव गरे । अन्ततः तिनै भूदासहरूको वीरताले नेपोलियनको सेनालाई रूसबाट लखेट्दै फ्रान्स धपाउन रूसी सेना सफल भयो । यो अनुभवले रूसी सेनाका अफिसरहरूमा किसानहरूप्रति सम्मानभाव विकास भयो । देशभक्तिपूर्ण युद्धमा योगदान गरेबापत भूदासहरूलाई सम्पूर्ण बन्धनबाट मुक्त गरेर स्वतन्त्र नागरिक बनाइनुपर्छ भन्ने भावना ती अफिसरहरूमा बलियो हुन थाल्यो ।
भोल्कोन्स्कीको पल्टन फ्रान्सेली सेनालाई लखेट्दै पेरिस पुग्यो । त्यहाँबाट उनी जार अलेक्सान्दरसँगै शान्ति सम्मेलनमा भाग लिन भियना पुगे । भियनाबाट फेरि उनी पेरिस फर्के । पेरिसमा उनले शतुब्रियाँ र बेन्जामिन कन्स्टान्टजस्ता सुधारवादी विचारकहरूको सङ्गतमा केही समय बिताए । पेरिसबाट उनी लन्डन गए । त्यहाँ उनले राजा जर्ज तेस्रोको पागलपनबारे संसद्मा भएको छलफल आफ्नै आँखाले देखे । लन्डन बसाइँपछि संवैधानिक राजतन्त्रमा उनको चाख बढ्यो । लन्डनबाट उनी अमेरिका जान चाहन्थे । सामन्ती समाजमा हुर्केका रूसी युवाहरूको निम्ति अमेरिका ‘स्वतन्त्रता र प्रजातन्त्रको दियो’ थियो । तर, नेपोलियन एल्बा टापुको कैदबाट भागेको समाचार सुनेर उनी फेरि युद्धमा होमिन रूस फर्के ।
युरोपको छोटो भ्रमणले उनलाई रूसको पछौटेपनबारे सोच्न बाध्य बनायो । युरोपमा जस्तो नागरिकको आधारभूत अधिकार र सामाजिक जीवन रूसमा थिएन । युरोपका उदारवादी सिद्धान्तहरू रूसले पनि पछ्याउनुपर्ने विषयमा उनी गम्न थाले ।
युद्धपछि केही वर्ष पश्चिम युरोपको उदार समाज हेरेर फर्केका रूसी सैनिक अफिसरहरूबिच बाक्लै छलफल हुन थाल्यो । मानवीय समानता, तानाशाही शासनको विरोध र भूदास मोचन छलफलको मुख्य विषयवस्तु बन्न थाल्यो । तर, पेरिसबाट जार अलेक्सान्दर अन्तर्राष्ट्रिय प्रतिक्रियावादी गठबन्धनको नाइके बनेर फर्केका थिए । युरोपका विभिन्न देशका क्रान्तिकारी विद्रोह दबाउन अलेक्सान्दरले सेना पठाउन थाले । यसबाट भोल्कोन्स्कीजस्ता जारनिकट युवाहरू पनि जारको नेतृत्वमा रूसमा उदारवादी सुधार आउन नसक्ने कुरामा स्पष्ट भए । यही स्थितिमा उनीहरू तानाशाहीको विरोध गर्ने गुप्त समाजसँग नजिकिन थाले ।
युद्धपछि मेजर जर्नेल भोल्कोन्स्कीलाई एजोभ पल्टनको कमान सम्हाल्न खटाइयो । यो पल्टन युक्रेनमा तैनाथ थियो । पाभेल पेस्तेल र सेर्गेइ मुराभ्योभसँगै त्यहाँ उनी ‘दक्षिणी समाज’ को नेतृत्व समूहमा स्थापित भए । सन् १८२६ को ग्रीष्ममा तय गरिएको विद्रोहमा दक्षिणका धेरैभन्दा धेरै छाउनीहरू सहभागी गराउन उनी सक्रिय थिए । तर, योजनाअगावै जारको मृत्यु भयो । उत्तरीमा अपर्झट विद्रोह हुँदा भोल्कोन्स्कीसहित गुप्त समाजका सबै नेता एकएक गर्दै पक्राउ परे ।
साइबेरियाली निर्वासनमा
त्रुबेत्स्कोइ र भोल्कोन्स्कीलगायत ३१ जना क्रान्तिकारीहरूलाई ज्यान सजाय सुनाइएको थियो । पछि त्यो सजाय घटाएर साइबेरियामा ‘सदाका लागि’ शारीरिक श्रमसहितको जेल र निर्वासनको सजाय सुनाइयो । उनीहरूका सम्पूर्ण राजनीतिक अधिकार, मानपदवी र सम्पत्तिको हक खोसिएको थियो । दुवै ‘कुमार’ लाई पहिलो खेपमै पश्चिम साइबेरियाको नेर्चिन्स्क सहरको खानीमा काम गर्न पठाइयो । साइबेरिया पठाइँदा भोल्कोन्स्कीको छोरो भर्खर ६ महिनाको थियो । १९ वर्षीया जहान मारिया भोल्कोन्स्काया भोल्कोन्स्कीलाई साथ दिन सँगै साइबेरिया जान चाहन्थिन् । तर, डिसेम्बरवादी महिलाहरूलाई आफ्ना छोराछोरी साथमा लाने अनुमति थिएन । केही महिनापछि नै मारिया भोल्कोन्स्काया वर्षदिन नपुगेको दूधेबालकलाई आफ्नी आमाको जिम्मा लगाएर साइबेरियाको यात्रामा निस्किन् । उनीसँगै सेर्गेइ त्रुबेत्स्कोइकी जहान एकातेरिना त्रुबेत्स्काया पनि थिइन् । आफ्ना पतिका साथ लागेका ती चेलीहरूको समेत मानपदवी, पुख्र्योली सम्पत्तिमाथिको हक र छोराछोरीसँगै बस्ने अधिकार खोसिएको थियो । साइबेरियाको कठिन परिस्थितिमा पनि अधिकांश डिसेम्बरवादीहरूले व्यवस्थामा सुधार गर्नुपर्ने आफ्नो धारणा बदलेनन् । उनीहरूले चिट्ठी तथा लेखहरूमा लुकिछिपी जारको स्वेच्छाचारी शासनविरुद्ध लेखिरहे ।
१० वर्षको कठोर जेल जीवन बित्यो । भोल्कोन्स्की र त्रुबेत्स्कोइ परिवारलाई पश्चिम साइबेरियाको इरकुच्क जिल्लाको बस्तीमा बसोबास गर्ने अनुमति दिइयो । यो जिल्ला बैकाल तालनजिक थियो । त्यहाँ दुवै ‘कुमार’ को घर साइबेरियाली बुद्धिजीवीहरू जमघट गर्ने ठाउँ बन्यो । डिसेम्बरवादी परिवारहरूको प्रयासले साइबेरियामा विद्यालय र अस्पतालहरू खुले । विदेशी भाषा र सङ्गीत सिकाउने कक्षाहरू चल्न थाले । शिक्षा र सूचनाबाट सयौँ वर्षसम्म टाढा राखिएको साइबेरियामा डिसेम्बरवादीहरूको मेहनतले नयाँ सांस्कृतिक उभार आयो ।
साइबेरियाको बसाइले भोल्कोन्स्की एक कुशल किसान बने । युरोपेली सांस्कृतिक तामझामभन्दा रूसी किसानहरूको सरलता नै रूसलाई अगाडि बढाउने प्रेरणा हुनुपर्छ भन्ने उनको मत थियो । आफ्नो भागमा परेको जमिनमा उनी युरोपेली रूसबाट नयाँ–नयाँ बीउहरू मगाएर खेती गर्थे । स्थानीय किसानलाई पनि नयाँनयाँ कृषि प्रविधिहरूबारे जानकारी दिन्थे । साइबेरियाली किसानहरूसँग उनको हित्तचित्त मिल्यो । त्यसकारण, किसानहरू उनलाई ‘हाम्रा जर्नेल’ भन्थे भने बुद्धिजीवीहरू ‘किसान जर्नल’ भन्थे ।
सन् १८५५ मा जार निकोलसको मृत्यु भयो । नयाँ जार अलेक्सान्दर दोस्रोले डिसेम्बरवादीहरूलाई आममाफीको घोषणा गरे । ३० वर्षको साइबेरिया बसाइँले शारीरिकरूपमा कमजोर भइसकेका सेर्गेइ भोल्कोन्स्की र सेर्गेइ त्रुबेत्स्कोइ दुवै युरोपेली रूस फर्के । उनीहरू नयाँ पुस्ताका सुधारवादी युवाहरूको निम्ति प्रेरणाको स्रोत बनेर बाँचे । त्रुबेत्स्कोइको मृत्यु साइबेरियाबाट फर्केको चार वर्षपछि सन् १८६० मा भयो । त्यसको पाँच वर्षपछि सन् १८६५ मा भोल्कोन्स्कीको पनि मृत्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *