भर्खरै :

सवारीमुक्त भक्तपुर दरबार क्षेत्र

– सरोज वैद्य, वास्तुविद्
घटना सन् १९९० को दसकतिरको हो । एकजना डेनिस वास्तुविद् तथा मेरा प्राध्यापकलाई भक्तपुरमा घुमाउने मौका पाएको थिएँ । त्यतिबेला भक्तपुर दरबारक्षेत्रमा सवारीसाधनहरू निर्वाध रूपमा आवतजावत गर्न पाउँथे । ती वास्तुविद्ले आफ्नो गाडी भक्तपुर दरबारक्षेत्र हुँदै दत्तात्रयसम्म लगे । गाडीमा विदेशीसँग गुडेर जाँदा मलाई रमाइलै लागेको थियो ।
दत्तात्रयमा गाडी रोकिसकेपछि ती प्राध्यापकले भने – “मैले एउटा अपराध गरें, मैले एउटा गल्ती गरें ।”  म एकैछिन अलमल्ल परें, ‘के भन्दैछन् यी प्राध्यापकले’ भनेर । मैले प्रश्न सोध्न नभ्याउँदै उनी भन्न थाले – “अर्कोपालि भक्तपुर आउँदा म सवारी साधनविना नै आउँछु । इँटाले छापेको यो बाटो मानिसहरूका लागि हो, त्यो पनि जुत्ता नलगाएका खुट्टाहरूका लागि हो, गाडीका लागि होइन ।”  बुझ्नुपर्ने कुरो के हो भने वास्तुकलाशास्त्रमा नगरको संरचना बनाउँदा विभिन्न किसिमका बाटोमा छाप्ने निर्माण सामग्रीको प्रयोजनको हिसाबले आफ्नै परिभाषा र विशेषताहरू हुन्छन् । उदाहरणको लागि कालोपत्रे सवारी साधनको लागि, इँटा मानिसहरू हिंड्नका लागि, आदि–इत्यादि । सायद आज भक्तपुर दरबारक्षेत्र सवारीसाधन निषेधित क्षेत्र हुनुमा यस्तै घटनाक्रमले केही सहयोग पु¥याएको हुनुपर्छ । फेरि अर्को रोचक प्रसंग पनि जोड्दा उपयुक्त होला । मैले डेनमार्कमा अध्ययन गर्ने मौका पाएकोले त्यहाँ हुँदा विश्वप्रख्यात वास्तुविद् योन उड्सनलाई उनकै निवासमा भेट्ने दूर्लभ मौका पाएँ । उड्सन आधुनिक वास्तुकलाका नायक नै मानिन्छन् । उनी हुन् अस्ट्रेलियाको ‘सिडनी अपेरा हाउस’ का वास्तुविद् । आज त्यो भवन विश्वसम्पदा भइसकेको छ र अस्ट्रेलियाको प्रतीक (ल्याण्ड मार्क) भइसकेको छ । उनले त्यो ‘सिडनी अपेरा हाउस’ को डिजाइन सन् १९५७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका थिए । त्यसको लगत्तै उनले विभिन्न देशको भ्रमण गरेका थिए । त्यसै भ्रमणको सिलसिलामा उनी सन् १९५९ मा नेपालमा पनि आएका थिए ।
कुराकानीका सिलसिलामा म नेपालको पुरानो सहर भक्तपुरबाट आएको कुरा गर्दै जाँदा उड्सन र उनकी श्रीमतीले काठमाडौंबाट भक्तपुरसम्म पैदल यात्रा गरेको कुरा स्मरण गरे, त्यो पनि विनाजुत्ता पैदल हिंडेको । त्यति बेला उनी नेपाल आउँदा आफ्नो नाम नेपालीमा लेख्न सिकेका थिए रे र उनको पर्यटकको आगमनक्रमाड्ढसमेत याद गरेका थिए रे ¤ उनको कुराले पनि पैदल यात्रीको विशेष महत्वमा अझ जोड दिनुपर्ने देखिन्छ । नेपालका ऐतिहासिक नगरहरूका आ–आफ्नै विशेषता र मौलिकताहरू छन् । त्यस्ता ऐतिहासिक नगरहरूमा वास्तुकला र नगरसंरचनाका हिसाबले समानताहरू भए पनि भक्तपुरको आफ्नै खालको पहिचान छ । त्यसलाई कला र संस्कृतिको पहिचान भनेमा फरक नपर्ला । हाम्रा पूर्वज योजनाकार, वास्तुविद् र निर्माणकर्ताहरूले आफ्नो लामो अनुभवको सदुपयोग गर्दै त्यस्ता नगरहरूको निर्माण र विस्तार गरेको कुरामा कसैको विमति नहोला । नगरको योजना, डिजाइन र निर्माण नगरवासीको लागि सुविधा, सुरक्षा र दैनिक जीवनयापनको दृष्टिले बनाइएको हुन्छ ।
काठमाडौं उपत्यकाको जस्तो हावापानी दैनिक जीवन घरभित्रभन्दा बाहिर नै बिताउनको लागि उपयुक्त भएको कारणले यहाँ पाटी, पौवा, मन्दिर, चोक, पाली, डबली, पिंढी आदिको प्रयोग भएको देखिन्छ । यहाँका सडक, गल्ली र अन्य ठाउँ सर्वसाधारणको प्रयोगका निम्ति छोडिएको हुन्छ । यस्ता पूर्वाधारहरू बनाउँदा सर्वसाधारणको सुविधाको लागि बनाइएको कारणले नै आज नगरका अधिकांश भागमा दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधनहरू नपुगेका मूल सडक, गल्ली र चोकहरू कम मात्र भएका हुन् । ती सडक, गल्ली, चोक तथा अन्य खुला ठाउँहरू अचेल दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनहरूले ढाकिएका छन् । सडक र गल्लीमा त्यस्ता साधनहरू निर्वाध रूपमा गुडिरहेका छन् । तिनैका कारणले हाम्रो दैनिक जीवनमा असर परिरहेको छ । सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्न दिनानुदिन मुस्किल परिरहेको छ । यसको दोषी हामी पनि हौं । तसर्थ हामीले भक्तपुर नगरलाई सवारीसाधन मुक्तक्षेत्र नै घोषणा गर्ने हो कि ? कुरो उठ्न सक्छ – भएका सवारी साधनहरू कहाँ राख्ने ? विभिन्न कामकाज पर्दा के गर्ने ? पसलमा सामान ओसारपसार गर्दा के गर्ने ? आदि–इत्यादि । सवारीसाधन मुक्तक्षेत्र भन्दैमा सवारीसाधन ल्याउनै नपाइने भन्ने होइन । कुनै पनि समस्या छ भने समाधान पनि अवश्य हुन्छ भनेझैं समयतालिका मिलाएर सवारी साधनहरूलाई आवतजावत गराउन सकिन्छ । यसका साथै सवारीसाधनको सुरक्षा र यथोचित व्यवस्थापन गर्नको लागि नगरपालिकामा, नगरका विभिन्न स्थानहरूमा, नगरबाट नजिक पर्ने स्थानहरूमा भरपर्दा पार्किङस्थलहरूको व्यवस्था गर्न सकिन्छ । यसका लागि विस्तृत गृहकार्यको जरूरत पर्दछ । यस किसिमको गृहकार्यबाट आएका समाधानका बाटाहरूलाई हामी पहिल्याउन सक्दछौं । सवारीसाधन मुक्तक्षेत्रबाट हुने सकारात्मक कुराहरू मनन गरौं ।
ती हुन् —१.सवारीसाधनबाट हुने ध्वनि र धुँवाको प्रदूषणमा कमी आउने, जसले गर्दा यस क्षेत्रका वासिन्दा र बटुवाहरूको श्वासप्रश्वाससम्बन्धी समस्यामा कमी आउने ।
२.सवारीसाधन गुड्दा सडकमा बिछ्याइएका इँटा–ढुंगाको खियाइमा कमी आउने ।
३.सवारीसाधनको गति तथा भारले गर्दा बजारक्षेत्रका घरहरूमा कम्पनबाट हुने क्षतिमा कमी आउने ।
४.स्थानीय वासिन्दा र बटुवाहरूलाई निर्बाध रूपमा हिंडडुल गर्न सजिलो भई प्रत्यक्ष रूपमा दुर्घटनामा कमी आउने, विशेषतः बालबच्चा, बुढाबुढी र अशक्तहरूलाई सजिलो हुने ।
५.आगन्तुक र पर्यटकहरूको आगमनमा वृद्धि भई व्यापार–व्यवसाय फस्टाउने ।  स्मरण रहोस् — हाम्रा सडकहरूको प्राथमिकता भनेको स्थानीय बासिन्दा र बटुवाहरूका लागि हो, सवारीसाधनहरूको लागि होइन । भक्तपुरलाई सवारीसाधन मुक्त क्षेत्र बनाउने सन्दर्भमा युरोपका केही मुलुकहरूको कुरा उल्लेख गर्नु युक्तिसंगत होला । युरोपका डेनमार्क, स्विडेन, जर्मनी, नेदरल्यान्ड आदि मुलुकहरूका पुराना सहरहरूलाई संरक्षण र सम्बद्र्धन गर्न सवारीसाधनबाट मुक्त बनाइएको पाइन्छ । उदाहरणको लागि डेनमार्कको राजधानी कोपनहेगनमा सन् १९७८ ताका नगरको एउटा पुरानो भागमा सवारी साधन निषेध गरियो । त्यसलाई त्यहाँका व्यापारी वर्गले चर्को स्वरमा विरोध गरे । व्यापारीहरूले आफ्नो व्यवसायलाई टाट पल्टाउन र आफूहरूलाई त्यस क्षेत्रबाट धपाउन खोजिएको भनी निन्दा गरे । तैपनि त्यहाँको स्थानीय सरकारले सवारी साधनलाई निषेध नै गरायो । त्यसको केही समयपछि व्यापारीहरूले सोचेको भन्दा ठीक उल्टो भयो । आश्चर्यको कुरा त के भने सवारीसाधन निषेधित भएको कारणले गर्दा सडक बजारमा सर्वसाधारणको आवतजावतमा अझ वृद्धि भयो, जसले गर्दा व्यापार–व्यवसाय सोचेको भन्दा धेरै फस्टायो । त्यस क्षेत्रको महत्व सामाजिक, आर्थिक र अन्य हिसाबले पनि अरू क्षेत्रभन्दा उच्च रह्यो । यसर्थ हामीले पनि हाम्रो भक्तपुर नगरलाई सवारीसाधन मुक्तक्षेत्र घोषणा गर्न पाएको खण्डमा यहाँको महत्व अझ बढ्नेमा दुई मत नहोला । अत्यावश्यक सवारीसाधनहरूलाई गति सीमित गरेर निर्बाध रूपमा प्रवेश गर्न दिई मालसामान ढुवानी गर्ने साधनका लागि समयतालिका तोकेर भक्तपुर नगरलाई जीवित सहर बनाउनु हाम्रो प्राथमिक कर्तव्य भएको छ ।
टिप्पणी ः यो लेख सन् १९९७ लेखिएको र सन् २०११ र २०१३ स्थानीय मा प्रकाशित भएको । वास्तुविद् स्व. ग्रोडफ्रेड लुइस जेन्सन् लेखका गुरु एवंं मित्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *