भर्खरै :

चिनियाँ साँस्कृतिक उत्सव सम्पन्न(फोटो फिचर)

पुष २३, भक्तपुर । चीन र नेपालको साँस्कृतिक आदानप्रदान होस् भन्ने हेतुले बाल विकास इङ्गलिश स्कूलमा दोस्रो चिनियाँ सांस्कृतिक कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रम नेपाली राष्ट्रिय गीत र चिनियाँ राष्ट्रिय गीत बजाई शुरु गरिएको थियो ।एक समारोहका बीच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुँदै नेमकिपाका केन्द्रीय अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित)ले चिनियाँ भाषा र संस्कृतिको अध्ययनले नेपाली साहित्य तथा संस्कृतिको उत्थानमा सहयोगी हुने विचार राख्नुहँुदै नयाँ पुस्तालाई विविध भाषाबारे ज्ञान दिनसके विश्व समुदायसँग सम्बन्ध विकास गर्न सहज हुन्छ भन्नुभयो ।

विद्यालय तहमै भाषासम्बन्धी राम्रो ज्ञान दिन व्यवस्थित प्रयास आवश्यक भएको धारणा राख्नुहुँदै साहित्यिक तथा सांस्कृतिक गतिविधिमार्फत नयाँ पुस्ताको क्षमता अभिवृद्धि गर्नु सकारात्मक हो भन्नुभयो ।भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अगाडि बढाउँदै एउटा नमूना नगर बनाउन प्रयासहरु थालिएको बताउनुभयो । उहाँले कला, संस्कृति तथा सम्पदा जगेर्नाको निम्ति सचेत नागरिकहरुको साझा पहल आवश्यक भएको चर्चा गर्नुभयो ।विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले नेपाल र चीनबीच इतिहासजत्तिकै पुरानो सम्बन्ध भएको चर्चा गर्नुहुँदै भाषा, संस्कृति तथा साहित्यको अध्ययन एवं आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास ब्यक्त गर्नुभयो ।नेपाली र चिनियाँ जनताबीचको सम्बन्ध थप सुमधुर बनाउन नयाँ पुस्तालाई समेत उत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।

चिनियाँ भाषा शिक्षक केन्द्रका प्रमुख हाउले चीनको ‘नयाँ रेशम मार्ग’ र ‘एक क्षेत्र एक मार्ग’ ले नेपाली जनताको उन्नयनमा सहयोगी सिद्ध हुने विश्वास ब्यक्त गर्दै चिनियाँ भाषाको थप अध्ययन तथा उच्च शिक्षाको लागि नेपाली विद्यार्थीहरुलाई चीनले अवसल दिँदै जाने भनाइ राख्नुभयो । कार्यक्रमको सांस्कृतिक चरणमा बाल विकास स्कूल, एभरेष्ट स्कूल, माउन्ट भ्यू स्कूल र प्रभात स्कूलका विद्यार्थीहरुले विभिन्न नेपाली, नेवारी, चिनियाँ गीत, नृत्य र कविताहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको आकर्षणको रुपमा नेवारी मौलिक नृत्य लाखेनाच पनि प्रस्तुत भएको थियो । त्यस्तै बाल विकासका शिक्षिकाहरुको तर्फबाट चिनियाँ नृत्य पनि प्रस्तुत भएको थियो । सांस्कृतिक कार्यक्रमको साथसाथै चिनियाँ चिया, चिनियाँ क्यालिग्राफी, चिनियाँ चपस्टिकको अभ्यास आदि पनि समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *