भर्खरै :

काष्ठकला संरक्षणका लागि प्रशिक्षण कार्यक्रम

काठमाडौँ, ११ माघ । काठमाडौँ उपत्यकाको काष्ठकला संरक्षणका लागि ४५ दिने काष्ठकला प्रशिक्षण सञ्चालन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको सहयोग तथा नेपाल हस्तकला महासङ्घ, कला तथा शिल्प परिषद्को आयोजनामा आजदेखि इटुम्बहालमा सो प्रशिक्षण सुरु भएको हो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको कला र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महानगरपालिकाले महासङ्घसँग सहकार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “कला र संस्कृतिको विकास भएमात्र महानगर समृद्ध हुन्छ ।”
कार्यकारी अधिकृत तामाङले काष्ठकलाको उद्गमस्थल काठमाडौँ उपत्यका रहेकाले यहाँको ऐतिहासिक पक्षलाई यथावत राख्न महानगरपालिका क्रियशिल रहने उल्लेख गर्नुभयो ।
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले भूकम्पले क्षति पु¥याएको काठमाडौँ उपत्यकाको काष्ठकला पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “हरेक कलाका शास्त्रीय महत्वलाई मर्न नदिन यो कार्यक्रम आयोजना गरेका हौँ ।”
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठले पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम सम्पदा भएकाले यसको संरक्षण जरुरी रहेको बताउनुभयो ।
पैँचालीस दिनसम्म चल्ने प्रशिक्षणमा १४ पुरुष र एक महिलाको सहभागिता रहेको महासङ्घले जनाएको छ । प्रशिक्षणका क्रममा मठमन्दिर र ऐतिहासिक धार्मिक सम्पदाको झ्याल ढोका निर्माणसम्बन्धी तालिम दिइने आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *