उदारवादको गाँठो
- श्रावण २८, २०८३
केही दिनपहिले काम विशेषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखालि) को भक्तपुर शाखामा गएको थिएँ । त्यहाँ एकजना ग्राहकले ढल निकास बन्द भएकोले खोलिदिन अनुरोध गरे । त्यहाँका कर्मचारीले नगरपालिकालाई भन्नुहोस् भनी ‘शिक्षा’ दिए । ग्राहकले ढलको महसुल त काउखालिमै तिर्दै आएको जानकारी गराए । कर्मचारीले ग्राहकको मुख हेर्दै ‘यस्तै व्यवस्था छ’ भनी मुन्टो निहुराए । विचरा कर्मचारी !
गजबकै व्यवस्था छ काउखालिमा । ढल निकासको काममा सिन्का नभाँचे पनि त्यसको महसुल दसकौँदेखि असुलिरहेको छ । तर, ढल निकास बन्द हुँदा नकच्चरो भएर नगरपालिकालाई देखाउँछ । के काउखालिले काम नगरी बुझेको ढलको महसुल काम गर्ने नगरपालिकालाई बुझाउँछ ? त्यस्तो आजसम्म सुनिएको छैन ।
पटक्कै काम नगरी महसुल उठाउनुलाई ‘लुट्न सके लुट कान्छा, यही देशमा छ छुट’ गीतले ठिक्कै भनेको लाग्यो ।
जलस्रोतको धनी देश नेपालमा खानेपानीको हाहाकार हिजो खानेपानी संस्थान र आज काउखालिको लागि ‘सामान्य’ समस्या हो । यो समस्याबाट भक्तपुरमात्र अछुतो हुने कुरै भएन । केही समयपहिले भक्तपुर नगरपालिकाका प्रथम मेयर रत्नसुन्दर साँय्जुले बीबीसीलाई दिएको एउटा अन्तर्वार्ता हेर्न अवसर पाएको थिएँ । त्यसमा उहाँले भक्तपुरमा वीर धारा छ, तर पानी आउँदैनथ्यो, मेयर भएपछि पानीको लागि दौडधुप गरेको १० सालको आफ्नो संस्मरण सुनाउनुभएको थियो ।
अहिले वीर धाराहरू प्रायः इतिहास बनिसकेका छन्, अहिले घर–घरमा धारा वितरण भएको छ । जर्मन प्रोजेक्टले त सबैजसो घरमा धाराको पाइप जडान गरिदिएको थियो । तर, पानीको स्रोत, पानीपोखरीको क्षमता र वितरण योग्य पानीको परिमाण हिसाब गर्न भुलेछ । त्यसैले धारा छ, पानी छैन अर्थात् उही नाम्लो, उही कुम्लोको स्थिति दसकौँ रह्यो ।
तर, समय एउटै कहाँ रहन्छ र ! कुरा उठेको तीन दसकपछि अहिले भक्तपुरमा पनि मेलम्चीको पानी वितरण हुन थालेको छ । त्यसको लागि हालै नयाँ पाइप बिछ्याएर पानी वितरण हुन थालेको छ । तर, नयाँ समस्या देखियो । हिजो मेलम्चीको पानी छेलो खेलो भएका वडा क्षेत्रमा नयाँ पाइपबाट नयाँ क्षेत्रमा पानी वितरण गर्न थालेपछि पुरानो क्षेत्रका धारा सुक्न थालेका छन् । ती क्षेत्रका ग्राहकहरूको टोली बनाएर काउखालिमा पानी चाहियो भनी ‘तारिख’ बोक्न थालेका छन् । काउखालिका हाकिमहरू भने ‘मिलाउँदै छौँ, एक–दुई महिना धैर्य गर्नुस्’ भनी फकाउन अभ्यस्त भएका छन् । दैनिक उपभोग्यको खानेपानीको लागि उनीहरूले एक–दुई महिना धैर्य गर्नु भनी कसरी भन्न सकेका होलान् ?
मनसुन सुरु भएपछि त मेलम्ची नै बन्द गरिएको छ । २०७८ सालमा आएको प्रलयकारी बाढीबाट ‘सचेत’ भएको काउखालिले ‘वर्षाले मुहानमा पानी धेरै धमिलो भएको’ भन्दै असार १९ गतेदेखि अस्थायी बन्द गरेको छ । यहाँनिर मलाई मेलम्ची खानेपानी आयोजनामा काम गर्ने इन्जिनियररूको ‘विज्ञता’ देखेर आश्चर्य लागेको छ ।
नेपाल पहाडी मुलुक भएकोले बाढी–पहिरोको सम्भावना धेरै छ, हामीले देखी–भोगी पनि आएका छौँ । हिउँदमा खोला नदीका पानी सङ्गलिए पनि हरेक वर्षा याममा पानी धमिलिएकै हुन्छ । यो तथ्यबाट ती ‘विज्ञ’हरू कसरी अनभिज्ञ भए ? त्यस्तै वर्षायाममा खोल्सोमा पनि भेल बढ्छ, बाढी आउँछ भन्ने हेक्का किन राखेनन् र मेलम्ची खोलाको किनारमै सुरुङको द्वार किन बनाए ? लेदो–गेगर छेक्ने वा थिग्राउने गतिलो उपाय किन गरेनन् ? प्रलयकारी बाढीको बेला उपाय नलागे पनि अरू बेलाको लागि त भरपर्दो र प्रभावकारी उपाय गर्न सकिन्थ्यो नि । किन गरेनन् ? यसो नगर्दा मेलम्ची खानेपानी आयोजना जतिसुकै महँगो भए पनि स्थायी होइन मौसमी वा अस्थायी बनेको छ ।
त्यसैले पढेरै इन्जिनियर बनेका होलान् भन्ने धेरैको विश्वासमा तिनीहरूको कामको परिणामले शङ्का उत्पन्न गराउँछ । त्यो शङ्का भक्तपुरमा काउखालिले नयाँ पाइप बिछ्याउँदा र ठाउँठाउँमा राखेका साँचो (भल्व) ले झनै बढाइदिएको छ ।
भक्तपुर नगरको मूलबस्ती डाँडामा रहेको छ । चारै दिशाबाट सानो ठुलो उकालो चढेरै मात्र मूलबस्तीमा पुगिन्छ । अहिले काउखालिले पाइप बिछ्याएको पाइपहरूमा ओरालो ठीक माथि सिरानमा साँचो (भल्व) राखेको छ । यसबाट ती इन्जिनियरहरूलाई पानी ओरालोमा बग्छ भन्ने ज्ञान वा विज्ञता रहेको स्पष्ट हुन्छ । तर, ओरालो र फेदीको बिचमा पनि लहरै घरहरू छन् भन्ने हेक्का रहेनछ । यसले गर्दा ओरालो माथि अर्थात् सिरानको साँचो बन्द गर्दा दायाँ–बायाँका धारामा पानी वितरण हुन्छ र साँचो खोलेपछि पानी ओरालोमा हुत्तिएर सीधै फेदीमा पुग्छ । ती बिचका घरहरूमा पानी आउँदैन । यो समस्या सानो–ठुलो ओरालोको बिचका सबै घरहरूको समान छ । यसबारे काउखालिका हाकिम इन्जिनियरहरूलाई पटकपटक जानकारी गराइसक्यौँ, तर उहाँहरूको सधैँ एउटै जवाफ छ– अध्ययन गर्दै छौँ, एक–दुई महिना कुर्नुहोस् । त्यो एक दुई महिना कहिले आउँछ थाहा छैन ।
घमण्डी विज्ञहरूलाई कसैले सुझाव दिए आप्mनो अपमान ठान्दछन् रे । त्यसैले भनूँ कि नभनूँ भन्ने दोधारमै एउटा सल्लाह दिने धृष्टता गर्छु ।
ओरालो परेका ठाउँमा साँचो (भल्व) ओरालो सुरु हुनुभन्दा माथि सिरानमा होइन फेदीभन्दा माथि राखे कसो होला ? त्यसले ओरालो माथिका साथै ओरालोको बिचमा रहेका घरहरूले पनि पानीको दर्शन गर्न पाइन्थ्यो । पछि फेदीमाथिको साँचो खोल्दा स्वाभाविक रूपमा ओरालोको फेदीतिर पानी वितरण हुन्छ ।
साँचो खोल्ने र बन्द गर्ने भल्व सञ्चालक कर्मचारीको पनि पानी वितरणमा ठुलै महत्व छ । उनी त हाकिमभन्दा हाकिम हुन्, उनको तजबीजमा पानी वितरण हुन्छ – सबै यसै भन्छन् । पानी वितरण तालिका त देखावटी मात्र हो । भल्व सञ्चालकको ‘मन खुस’ भयो भने जहिले पनि पानी आउँछ, पानी आयो है भनी कतिपयलाई फोन पनि आउँछ । तर, भल्व सञ्चालकको ‘मन खुस’ बनाउने तरिका भने सबैलाई थाहा छैन । त्यसैले, धेरै पटक भल्ब खोलेर गएको हुन्छ तर ग्राहकले चालै पाउँदैनन् वा चाल पाउँदासम्म भल्ब बन्द गर्ने समय भइसक्छ ।
भल्ब खोलेको र बन्द गरेको थाहा दिन कुनै उपाय गर्नुपर्ने देखिन्छ । कराउनु वा चिच्याउनु स्वाभाविक लाग्दैन, परन्तु विशेष ध्वनिको सीटी २–३ पटक बजाउने गरे ग्राहकहरूलाई धेरै सुविधा र सहज हुने थियो अथवा यसको कुनै विकल्पबारे काउखालिले विचार गर्ला ? आशा छ सोच्नेछ ।
Leave a Reply