सरकारी निकायले आफ्नो उपस्थिति पुष्टि गर्नुपर्ने
- जेष्ठ ११, २०८३
नेपालको सार्वभौमिकता र स्वतन्त्रताको खिल्ली उडाउँदै पर्सा जिल्लाको वीरगञ्जमा खोलिएको भारतीय महावाणिज्य दुतावासले पत्रकार सम्मेलन गरी विभिन्न नेपाली स्वास्थ्य संस्थाहरुलाई २ वटा एम्बुलेन्स र शैक्षिक संस्थाहरुलाई २ वटा स्कुल बस प्रदान गर्ने घोषणा गरेको सुन्नमा आउँदा दुःख लाग्यो । भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा माघ १३ गते वीरगञ्जमा एक कार्यक्रम गरी जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैयालाई एक एक थान एम्बुलेन्स, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई एक एक थान स्कुल बस वितरण गर्ने उसले जनाएको छ । स्मरण रहोस् यस अघि पनि कहिले भारतीय राजदुतावासको नामबाट त कहिले महावाणिज्य दुतावासको नामबाट, भारतले नेपालका विभिन्न ठाउँहरुमा प्रत्यक्ष सहयोग रकम वितरण गर्दै आएको छ । केही समयअघि एक विद्यालयमा नेपालका शिक्षामन्त्री र भारतीय राजदुत अतिथि बोलाइएको कार्यक्रममा विद्यार्थीहरुलाई भारतीय राष्ट्रिय गान गाउन दिइएको समाचारले नेपाली पत्रपत्रिकाहरुमा स्थान पाएको थियो । भारतको गुणगान गर्ने आशयका गीतहरु गउन दिइएको थियो । यो नेपालको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप हो । नेपाली शिक्षण संस्था र स्वास्थ्य संस्थाहरुलाई सहयोग उपलब्ध गरेजस्तो देखाए पनि नेपालका विभिन्न ठाउँमा भारतको गणतन्त्र दिवस मनाउन दिने षड्यन्त्रको रुपमा हामीले बुझ्नु आवश्यक छ । भारतको नेपाललाई निस्वार्थ सहयोग गर्ने नै मनशाय हो भने उसले हरेक सहयोग नेपाल सरकार मार्फत् उपलब्ध गराउनु पर्दथ्यो । नेपालका विद्यालय कलेजहरुमा सिधै सम्बन्ध बनाउने उसलाई अनुमति छैन । यसकारण उसको एउटै उद्देश्य भनेको नेपालमा आफ्नो प्रभाव जमाउनु नै हो ।
वीरगञ्जमा खोलिएको भारतीय महावाणिज्य दुतावास पनि उसले विशेषतः तराई क्षेत्रमा जासुसी गर्ने र त्यहाँका मधेसवादी दलहरुलाई परिचालन गर्ने उद्देश्यले खोलेको थियो । व्यापार व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य भनिए पनि महावाणिज्य दुतावासले विशेषतः राजनीतिक चलखेलका गतिविधिहरु नै सञ्चालन गरेको देखिन्छ । त्यसकारण नेपालको सार्वभौमिकता र स्वतन्त्रता जोगाइरहने हो भने राजनीतिक उद्देश्यले खोलिएको वीरगञ्जको भारतीय महावाणिज्य दुतावास बन्द गरिनुपर्छ र भारतीय राजदुतावासलाई कपुरधारामै मात्र सीमित राख्नुपर्छ ।
– प्रजापति
Leave a Reply