भर्खरै :

भ्रष्टाचारको जड सिंहदरबार !

भ्रष्टाचारको जड सिंहदरबार !

फलफूल प्रशोधन उद्योग सञ्चालन गर्ने रिजाल क्यानिड एन्ड कम्पनीको नाममा मोरङ र सुनसरी जिल्लामा हदबन्दीभन्दा बढीको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा रहेको थियो । कम्पनीको विराटनगर महानगरपालिका वडा नं. ३ कि.नं. ४८ र ७१ को ४ बिघा ५ कट्ठा ९ धुर जग्गा बिक्री गरी मोरङको साविक बनिगामा जग्गा किन्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्ले २०६६ सालमा स्वीकृति दिएको थियो । ८ करोड ३८ लाख ६२ हजार ५ सय रुपैयाँमा जग्गा बिक्री गरेकोमा १२ लाख ८५ हजार रुपैयाँको मात्र जग्गा खरिद गरेको समाचार छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो भ्रष्टाचार काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपाल, नेपाली काङ्गे्रसका पूर्वमन्त्री मिलेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले उक्त भ्रष्टाचारमा ७३ करोड ४९ लाख ५६ हजार बिगो कायम गरेको छ ।
नेपाली युवालाई मलेसिया पठाउँदा स्वास्थ्य परिक्षण र बायोमेट्रिक जाँचका नाममा प्रत्येक युवाबाट एक सय मलेसियन रिङ्गिट (३१६० नेपाली रुपैयाँ) असुल गरेको थियो । म्याक्रोटेक प्रालि नामको कम्पनीलाई स्वास्थ्य परिक्षण र बायोमेट्रिक जाँच गराउन दिएर र सरकारले ठगी गरिरहेको थियो । सो ठगीको ९० प्रतिशत रकम मलेसियाको बेस्टिनेट कम्पनीलाई पठाउन तत्कालीन श्रममन्त्रीहरूले स्वीकृति दिएका थिए । अख्तियारले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका सचिव, सहसचिव र उच्च अधिकारीहरूमाथि नेपाली युवाबाट ठगी गरेको रकम मलेसिया पठाएको भनी मुद्दा दर्ता ग¥यो ।
सो भ्रष्टाचार काण्डमा तत्कालीन एकीकृत समाजवादीका शेरबहादुर कुँवर र माओवादीका रामेश्वर राय यादवसहित ६ जनालाई सीआईबीले पक्राउ गरेको छ । ८३ लाख ७० हजार ४३१ अमेरिकी डलर तथा ३७ लाख १७ हजार ८० पाउन्ड विभिन्न मितिमा मलेसिया पठाइएको थियो । विदेशमा रकम पठाउन ४ पटक निर्णय गरे पनि अघिल्लो निर्णयकै मिति उल्लेख गरी १७ पटक रकम पठाउँदा १ अर्ब ७९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबर विदेशी मुद्रा पठाएको अख्तियारको दाबी हो । नेपाली युवासँग गैरकानुनी रूपमा रकम असुल गरी अर्बौँ रकम विदेशी कम्पनीलाई पठाएर मन्त्री र उच्च अधिकारीहरूले देशघात गरे ।
त्यस्तै, तत्कालीन एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध पनि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा रहँदा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति आर्जन गरेको भनी अख्तियारले सोडारीविरुद्ध मुद्दा दायर गरेको थियो । एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । भ्रष्टाचार, अनियमितता र ठगीमा शासक दलका नेताहरू एकपछि अर्को तानिनुले भ्रष्टाचारको जड सिंहदरबार नै भएको पुष्टि हुन्छ । सिंहदरबारमा पुग्ने शासकहरूलाई जनताले चिन्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *