शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
फेब्रुअरी २८ को दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवन ह्वाइट हाउसको ओभल कक्षमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्कीसँग वार्तारत थिए । त्यही बेला ठट्यौलो पारामा ट्रम्पले भने, “मलाई शान्ति बहाल गर्ने व्यक्तिको रूपमा स्मरण गरिने मेरो विश्वास छ ।”
रूस र युक्रेनबिच सम्झौताको आवश्यकताबारे ट्रम्पले बोल्दै गर्दा जेलेन्स्की चल्मलाए । दुई फरक स्वार्थको प्रतिनिधित्व गर्ने दुई व्यक्तिले एकअर्कालाई आँखामा आँखा जुधाएर पनि हेरेनन् । युद्धको प्रकृति र त्यसलाई टुङ्ग्याउने सम्भावनाबारे खुलस्त कुरै भएन । जेलेन्स्की रूसलाई ठाडै आक्रमणकारी मान्छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिल्यै पनि स्थायी शान्तिको पक्षमा उभिन नसक्ने उनको अनुभूति छ । अर्को शब्दमा जेलेन्स्की पुटिन सत्तारुढ भएसम्म सीमा जोडिएको देश रूससँग कहिल्यै शान्ति कायम हुन नसक्ने देख्छन् । नेटोले आक्रमण गर्छ भन्ने भयको बादल नलागेसम्म रूस नलत्रने उनको बुझाइ छ । यसको विपरीत ट्रम्प नेटोलगायत अस्थीरता मच्चाउने शक्तिले रूसलाई युद्धमा धकेलेको विश्वास गर्छन् ।रूसले युक्रेनमा ट्याङ्क पठाउनुभन्दा धेरै अघि नै ती शक्तिले रूसलाई उसले पुटिनले चाहेको सुरक्षा ग्यारेन्टी दिन सक्थ्यो भन्ने ट्रम्पको बुझाइ हो । ट्रम्पको ठम्याइमा क्रिमिया र डोनबास क्षेत्रलाई छोडी बाँकी युक्रेनबाट रूसी सेना फिर्ता बोलाए बापत रूसलाई एक हदको सुरक्षा ग्यारेन्टी दिन सकिन्छ । क्रिमिया र डोनबासमा पहिल्यै रूसी भाषा बोल्नेहरू बहुमतमा हुनाले तिनलाई अपवादमा राखिएको हो । उनीहरू रूसविरोधी युक्रेनमा भन्दा रूसमा बस्न रुचाउँछन् । ट्रम्प र जेलेन्स्कीबिचको सोचाइमा रहेको यही खाडलले गर्दा क्यामराको सामुन्ने वार्ता खल्बलियो । घटनाक्रमका विभिन्न कडीबारे अमेरिकी राष्ट्रपतिको दृष्टिकोणलाई जेलेन्स्कीले पटकपटक चुनौती दिन खोजेपछि वार्ता बिथोलियो ।
चालिस मिनेटसम्मको धकेलाधकेलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ताभित्र घुसे । सन् २०२४ को निर्वाचनमा डेमोक्र्याटहरूको पक्षमा प्रचार गरेको भनेर उनले जेलेन्स्कीलाई पर धकेले । ट्रम्पप्रति अनुगृहित नभएको र विगत तीन वर्षमा युक्रेनलाईसहयोग गरे तापनि अमेरिकी जनतालाई असम्मान गरेको भन्दै उनले जेलेन्स्कीलाई पेले । यसपछि वार्ता टुङ्गियो । सम्झौता भएन । ट्रम्पले चिढिएको स्वरमा जेलेन्स्कीले ‘तेस्रो विश्वयुद्धको जुवा खेलिरहेको’’ दोहो¥याए ।
छलफलपछि युक्रेनमा युद्धको भविष्यलाई लिएर सर्वत्र हल्ला चल्यो । संरा अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग फिर्ता लिए युक्रेनका युरोपेली साझेदारले त्यति नै सहयोग गर्न सक्लान् त भन्ने प्रश्न उठ्यो । (युक्रेन युद्धको पहिलो महिनामै इलन मस्कले युक्रेनको टेलिसञ्चारका लागि स्टारलिङ्क भूउपग्रहले सहयोग गरेका थिए । यो निर्णायक सहयोग पनि अमेरिकाले रोक्न सक्छ ।)
ओभल कक्षमा ट्रम्पले भनेको एउटा वाक्यपछि सम्मै गुञ्जियो । उनले आफूलाई शान्ति बहाल गर्ने व्यक्ति भनेर पछि पनि दोहो¥याइरहे । यो दाबीलाई यत्तिकै हावामा उडाउनु सही हुन्न । यसको गतिलै खण्डन गरिनुपर्छ । युक्रेनमा ट्रम्पको पछिल्लो चाल र अमेरिकी सेनाको बजेटमा कटौती गर्ने उनको प्रस्ताव हेरेर शान्ति बहाल गर्ने संकेत भनी गलत निष्कर्ष निकाल्न सकिन्छ । कतिपयले निकालेका पनि छन् । तर, यो हावादारी बुझाइ हो । अमेरिकी साम्राज्यवाद जिउँदो र ठिकठाक छ । यसमा कुनै परिवर्तन आएको छैन । परिवर्तन भएको उसको रणनीति मात्र हो । आगामी दिनमा उसको रणनीति फरक हुनेछ । यसलाई बुझ्न पालैपालो दुइटा पक्षलाई केलाऔँ – युक्रेन र सैन्य कटौती ।
युरेसिया हत्याउने लडाइँ
चोइटिएको युक्रेनमा शान्ति बहाल गर्नुट्रम्पको चासोको विषय होइन । उनको ध्यान अमेरिका र रूसबिचको तनाव कम गर्नुमा छ । ट्रम्प रूसलाई पश्चिमाहरूको स्वाभाविक मित्र ठान्छन् । उनको गोरो क्राइस्टेली अनुदार विश्व दृष्टिकोण यही भन्छ । यो दृष्टिकोणले उदारवाद, (पहिचान, लैङ्गिक झुकाव तथा नश्लमा आधारित) वोकवाद र साम्यवादलाई पश्चिमा सभ्यताको लागि खतरा देख्छ । सन् २०२५ को जनवरीमा डाभोस सहरमा विश्व आर्थिक गोष्ठी भयो । त्यहाँ ट्रम्प र इलन मस्कका साथीर अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेइले ‘वोक विचारलाई मानसिक भाइरस’ र ‘पश्चिमा सभ्यताको जग भत्काइरहेको महामारी’ भने । त्यसपछि उनले भटाभट ‘महिलावाद, समानता, लैङ्गिक विचार, जलवायु परिवर्तन, गर्भपात र आप्रवासन’ लाई ‘एकै मगजका राक्षस’ भने । मिलेइले भने, “पश्चिम खतरामा छ र वोक विचारको क्यान्सरलाई नष्ट गर्नुपर्छ ।” यस दृष्टिकोणलाई ट्रम्पका पूर्व सल्लाहकार स्टीभ बानोनले पनि सही ठ¥याएका छन् । रूसमा पनि यस्तो दृष्टिकोण राख्ने मानिस छन् । रूसी मूल्यमान्यता पश्चिमा ‘सैतानी’ मूल्यमान्यताभन्दा गतिलो भन्ने दक्षिणपन्थीहरूले रूसमा ‘वोकविरोधी’ धर्मयुद्ध नै छेडेका छन् । (सन् २०२२ मा क्रेमलिनमा दिएको भाषणमा पुटिनले यी दुई शब्दको प्रयोग गरेका थिए ।) रूसी पुँजीपति वर्गको एउटा तप्का पुटिनले संरा अमेरिकासँग शान्ति कायम गरे आफूविरुद्धको आर्थिक प्रतिबन्ध खुकुलो हुने देख्छन् । रूस र चीनबिचको घनिष्टता घट्यो भने पनि उनीहरू यसको विपरीत नजाने देखिन्छ । (रूस र चीनबिचको व्यापार असन्तुलनका कारण कतिपय रूसी वित्तपतिहरू मुर्मुरिएको अवस्था छ ।)
साझा मूल्यमान्यताको वर्तमान विश्वबिच पनि पुटिनको शासक वृत्तमा ठूलो मतभेद छ । सेर्गेइ लाभरोभ जस्ता अधिकांश महत्वपूर्ण व्यक्तित्वले चीनसँगको ‘असीमित’ साझेदारीमा खलल पुग्छ भने पश्चिमसँग सम्बन्ध सुधार्न नहुने धारणा राख्छन् । (रूसले सन् २०२२ मा चीनसँग उक्त साझेदारीमा सही गरेको थियो ।) लाभरोभ लगायत यथार्थवादी राजनीतिज्ञहरू वैचारिकरूपमा वोकविरोधी छैनन् । बोरिस एल्सिनमातहत रहेर काम गरेको र जेलेन्स्कीलाई अमेरिकाले च्यात्तै छोडेको देखेका पुटिन पनि साम्राज्यवादी गुटसँगको सम्बन्ध कहिल्यै स्थायी वा परस्पर लाभदायी नहुने राम्रोसँग बुझ्छन् । (ट्रम्पको ध्याउन्न कसरी हुन्छ अमेरिकालाई बढीभन्दा बढी फाइदा दिलाउनु हो । यसको अर्थ अमेरिकासँग चिनियाँहरूले भन्दै आएको ‘जित–जित’ सम्झौता हुन सक्दैन ।) अर्कोतर्फ, ट्रम्पका भनाइहरू सुन्दा उनी रूसलाई सहुलियत दिने वचनमा पूर्ण प्रतिबद्ध देखिन्नन् । किनभने, उनले पटकपटक युक्रेन युद्धको खर्च अमेरिकाले नभई युरोपेली देशहरूले व्यहोर्नुपर्ने बताउँदै आएका छन् । युरोपेली देशहरूले यसको लागि खर्च जुटाउने छाँट छैन । तिनले चाहिँदो सेना जुटाउन सक्ने पनि देखिन्न । तर, युरोपले यी दुवै काम गरेछ नै भने पनि ट्रम्पले पछाडि बसेर तिनलाई पूर्वी र उत्तरी युक्रेनका साना सहरका सानातिना भिडन्तमा फसेको हेर्ने काम मात्र गर्नेछन् । ट्रम्पको चासोको विषय युद्ध बन्द गर्ने होइन । बरु, युद्धमा अमेरिकी सहयोग बन्द गर्ने हो ।
ट्रम्पले संसारमा शान्ति ल्याउन युक्रेनलाई दिँदै आएको अमेरिकी सहायता बन्द गर्न चाहेका होइनन् । बरु, अमेरिकी सम्पत्ति एक ठाउँ जम्मा गरी अमेरिकामा औद्योगिक आधार खडा गर्नु उनको अभीष्ट हो । चीनलाई सताउन र धम्क्याउन अमेरिकाको सैन्य सामथ्र्य पुनः स्थापित गर्नु ट्रम्पको अर्को लक्ष्य हो ।
सैन्य मामिलामा क्रान्ति
ट्रम्पको सैन्य टोलीको नेतृत्व रक्षामन्त्री पिट हेगसेठको हातमा छ । हेगसेठले अमेरिकाको सैन्य बजेटमा ८ प्रतिशत कटौती गर्ने बताए । तर, अमेरिकाका सबै सैन्य क्रियाकलापको खर्चमा कटौती हुने छैन । उनीहरू यो रकम सेनाबाट नभई पेन्टागतको कर्मचारीतन्त्रबाट गर्न चाहन्छन् । त्यसबाट जोगिएको रकम उनीहरू ‘आइरन डोम’ रक्षा परियोजनामा सार्न चाहन्छन् । अमेरिकी सरकारको प्राणघाती प्रतिरक्षात्मक आणविक नीतिको हिस्साको रूपमा यो परियोजना चल्नेछ । (अर्को शब्दमा ‘पहिले आक्रमण नगर्ने’ नीतिमा अमेरिका प्रतिबद्ध रहने छैन ।) सैन्य बजेटमा कटौती हुने छैन, बरु ट्रम्पको दोस्रो कार्यकाल सक्किने बेला अमेरिकाको समग्र सैन्य बजेट बढ्ने निश्चित छ । यो शान्ति बहाल गर्ने व्यक्तिको सेना होइन, संसारभरि दबदबा बढाउन चाहिरहेको अझ खतरनाक अमेरिकी सेना हो ।
सन् २००१ मा जर्ज डब्लु बुशका रक्षामन्त्रीको पदको लागि डोनाल्ड रम्सफेल्ड संसदीय समिति सामू हाजिर भए । त्यहाँ उनले ‘सैन्य मामिलामा क्रान्ति’ को आवश्यकताबारे बेलिबिस्तार लगाए । रम्सफेल्डले अमेरिकी सेनाले अब भियतनाम वा कोरियामा लडे जस्तो युद्ध लड्ने छैन भने । यसको सट्टा अझ लचिलो युद्ध गर्ने र अझ घातक र उन्नत प्रविधिको प्रयोग गर्ने उनले बताए । यसले गर्दा युद्धमा बलप्रयोग अझ प्रभावकारी हुने उनको तर्क थियो । यो ‘क्रान्ति’ लाई रम्सफेल्ड नीति भनियो । यसका तीन तत्व थिए – शत्रुको सशस्त्र बल ध्वस्त पार्न मिसाइल आक्रमण लगायत बढीभन्दा बढी हवाइ हमलामा निर्भर हुने† यसले शत्रुको सशस्त्र बल ध्वस्त पारेपछि शत्रुको आँखामा पर्ने डर नमानी ससाना विशेष दस्तालाई परिचालन गर्ने† विशेष दस्तालाई सञ्चार तथा ‘इस्टार’ (गुप्तचरी, निगरानी, निसाना छनोट र रेकी) को लागि उन्नत प्रविधि प्रयोग गर्न दिने । रम्सफेल्ड नीति इराकमा फेल खायो । हवाइ हमलाले इराकी नेतृत्वलाई खतम गर्न सकेन; (हमलापछि पुनः सङ्गठित भएर गुरिल्ला दलको रूपमा प्रकट भएको) इराकी सेनालाई नष्ट गर्न सकेन । अमेरिकी सेनाका विशेष दस्ताहरू विष्फोटक धरापमा परिने डर, अन्योल र खतराबिच लड्नुप¥यो ।
रम्सफेल्ड आफ्नो समत्न्दा अगाडि थिए । सन् २००० मा रणमैदानको प्रविधिमा नाटकीय सुधार आयो । ड्रोनको प्रयोगले हवाइ आड र ‘इस्टार’ दुवै दियो । ड्रोनको महत्वकै कारण ट्रम्प–जेलेन्स्की प्रेस वार्तामा सुरुमा जेलेन्स्कीले ट्रम्पको कुरा काटेनन् । युक्रेनले रैथाने ड्रोनको विकास गरेको र अमेरिकी सेनालाई पनि त्यसको लाइसेन्स दिने जेलेन्स्कीले बताएनन् । सेनामा सुधार गर्नेट्रम्पका रक्षामन्त्री पिट हेगसेठको योजनामा बजेट कटौती मात्र छैन । उनी सेनाको ‘विनाशकारिता, लडाइँको चुस्तता र तत्परता’ सुधार गर्ने पक्षमा पनि छन् । ‘सैन्य मामिलामा क्रान्ति’ नल्याउने रखेर गइरहेको क्षेत्रबाट मात्र सेनाको बजेट काटिनेछ । यसको अर्थ अमेरिकी सेना अझ सबल हुनेछ । ट्रम्प सरकारको ‘प्रोजेक्ट २०२५’ योजनामा सैन्य खण्ड ट्रम्पका पूर्व सैन्य अधिकारी क्रिस्टोफर मिलरले लेखेका हुन् । मिलर थलसेनामा थप ५० हजार नयाँ भर्ती गर्ने, जलसेनाले जल–थल दुवैमा चल्ने युद्धबेडा प्रयोग गरिरहने र वायुसेनाले एफ–३५ए को सङ्ख्या बढाउने लेख्छन् । बजेट कटौतीफलाको मात्र होइन । भएका कर्मचारीको उचित प्रयोग गर्न र सशस्त्र सेनालाई (ध्यान बाँड्ने) छुद्र जिम्मेवारीबाट मुक्त गर्न यो नीतिको प्रयोग गरिनेछ । अन्यथा ‘प्रोजेक्ट २०२५’ मा रम्सफेल्ड नीतिसँग बाझिने कुनै नौलो कुरा छैन । यसको अर्थ ट्रम्पको योजना सफल भएमा अमेरिकी सेना (शान्ति बहाल गर्ने राष्ट्रपतिको) शान्तिप्रिय सेना होइन, झन् घातक सेना बन्नेछ । यो भनाइ हेगसेठकै हो ।
ट्रम्पको कुरा बुझ्नै गाह्रो छ । उनको शब्दमा मात्र ध्यान दिने हो भने अलमलमा परिन्छ । ट्रम्प र उनको ‘मागा’ टोलीका थरीथरी भनाइले चिढिनु वास्तवमा भड्किनु हो । ट्रम्पको दोस्रो कार्यकालबारे अझ गहिराइमा गएर विभिन्न कोणबाट विश्लेषण गर्न जरुरी छ । ट्रम्प शान्ति बहाल गर्ने व्यक्ति होइनन् । प्यालेस्टिनीहरूलाई थाहा छ – उनी कब्जाकारी र युद्धपिपासु हुन् । विश्वको सबैभन्दा शक्तिशाली मुलुक बनिरहने ध्याउन्नमा ट्रम्पले अमेरिकालाई सशक्त बनाउन नयाँ बाटो खोज्दै छन् ।
(लेखक विजय प्रसाद भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन् । उनी ‘लेफ्टवर्ड बुक्स’ का सम्पादक हुन् । उनी अनुसन्धान संस्था ‘ट्राइकन्टिनेन्टल’ का निर्देशक पनि हुन् । उनी चीनको रेनमिन विश्वविद्यालयको ‘वित्तीय अध्ययनका लागि चोङयाङ संस्थान’ का गैरआवासीय वरिष्ठ अनुसन्धाता हुन् । उनले बीसभन्दा बढी पुस्तक लेखेका छन् । ‘धुमिल मुलुकहरू’ र ‘दरिद्र मुलुकहरू’ उनका चर्चित कृति हुन् । उनका पछिल्ला पुस्तक ‘सङ्घर्षले हामीलाई मानव बनाउँछ : समाजवादी आन्दोलनहरूको शिक्षा’ र (नोम चोम्स्कीसँगै मिलेर लेखिएको) ‘बहिर्गमन ः इराक, लिबिया, अफगानिस्तान र अमेरिकी सत्ताको कमजोरी’ हुन् ।
स्रोत : एमआर अनलाइन ।सम्यक)
Leave a Reply