पृथ्वीको तापमान बढ्दाको शिकार – नेपाल ?
- भाद्र १४, २०८३
भदौ १० गते बिहान ९ बजेतिर भोटेकोसीमा विनाशकारी भेलबाढी आयो । केही प्रत्यक्षदर्शीले यो भेलबाढीको उचाइ १०० मिटर पुगेको पनि बताए । सरकारले भेलबाढी पीडितको लागि देश र विदेशमा उठाएको चन्दा २ खर्ब रूपैयाँ नाघेको सार्वजनिक भयो भने नुवाकोटको बेत्रावतीका एक पीडितको गुनासो बाहिरियो, “यो महाविपत्तिमा सरकारले आफ्ना उपस्थिति देखाउने हो, सकेसम्म सरकार जनताको घरमा आउनुपर्छ, बासको समस्या टारिदिए हुन्थ्यो ।” हो, यति धेरै सहयोग रकम सरकारले कसरी खर्च गर्दै छ ?
नेपालले बेत्रावती हुँदै सयौँ वर्षदेखि चीनसँग व्यापार गर्दै आएको र नेपाल–तिब्बत युद्धपछि यही ठाउँमा भएको सन्धिलाई ‘बेत्रावती सिन्धु भनिएको पनि सार्वजनिक भयो । सायद त्यतिबेला बस्ती खोला छेउमा थिएन होला । बसाइँसराइ बढेसँगै बेत्रावतीमा बस्ती खोला छेउमा पनि सुरु भएको हुनु पर्दछ । यसकारण, पनि भेलबाढीले बेत्रावती र आसपास क्षेत्रलाई तहसनहस बनाएको हुनुपर्छ । यहाँको बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध सुरु भएको पनि सार्वजनिक भयो । अब सरकारले सुरक्षित क्षेत्रमा आवास विस्तार गर्नु जरुरी छ ।
स्थानीयको गुनासो छ, “विद्युत् आपूर्ति नहुँदा खाना पकाउनेदेखि मोबाइल चार्जमा समस्या भएको छ । घरभित्र पुरिएका शवहरू जतिसक्दो छिटो निकाल्न पाए हुन्थ्यो ।” यसमा सिंहदरबारको ध्यान जानु जरुरी छ । नेपालमा जोसुकै प्रधानमन्त्री भए पनि सरकार सिंहदरबारको पर्खालभित्र कैदजस्तै भइरहेको पुरानो रोग हो । चीनका प्रधानमन्त्री लिछियाङ नेपाल–चीन सिमानामा क्षतिको अवस्था बुझ्न पुगिसके भने नेपालको भन्सारलगायत सरकारी कार्यालयका के कति कर्मचारी बेपत्ता अवस्थामा छन्, सरकार बेखबर किन ?
बेत्रावतीका एक बासिन्दाले दियो पोस्टमा बोले–“गाउँका नब्बे प्रतिशत मानिस भेलबाढीमा पुरिएको र सरकारको हेलिकप्टरमात्र गाउँमाथि उडिरहेको, घर आँगनमा पीडा बुझ्न सरकारका कोही नआएको अवस्था छ । लाश कुहिएर दुर्गन्ध फैलिँदै छ । भेलबाढीको सूचना समयमा भएन । खोइ यहाँ सरकार ?”
बेत्रावतीमा राहत सामग्री एक ट्रक पु¥याइएको पनि स्थानीय आमा समूह र एक महिलाबिच तँछाडमछाड भइरहेको सार्वजनिक भयो । सरकारको एकद्वार प्रणालीमा वितरण भनिएको के हो प्रभावकारी नहुँदा यो उपद्रव भएको हुनुपर्दछ । रास्वपाका एकजना सांसद उद्धारको निहुँमा लेदोमा पुगेको र उनैलाई उद्धार गरिएको सामाजिक सञ्जालमा आएपछि पीडितको पीडामा नुनचूक दल्नेजस्तो भएकोमा विरोध भइरहेको छ ।
पीडितहरूको गुनासो सरकार बेत्रावतीपारि उद्धार र राहतको लागि पुग्नै नसकेको सार्वजनिक भयो । रसुवास्थित त्रिशुली ‘ए’ जलविद्युत् टनेलभित्र कति फसेका छन्, सरकार बेखबर भएको पनि सार्वजनिक भयो । केही पीडितले गुनासो गरे– “बिहान ८ बजे माथि बाढी आएको विषय तल बजारमा ९ बजेमात्र सूचना आयो । सूचना दिँदा खतरा र भयावहबारे सचेत गराइएन, गराइएको भए सबै भाग्ने थिए । सरकारले बजारको पसल बन्द गराएको भए मानवीय क्षति कम हुन सक्थ्यो ।” यस्तै यस्तै पीडा छ, भेलबाढी पीडितको ।
Leave a Reply