चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
समाज परिवर्तनबिना सुख र शान्तिको आशा गर्न सकिन्न । समाज परिवर्तनमा राजनीतिक दलको महत्वपूर्ण भूमिका हुन्छ । समाज परिवर्तनको निम्ति लागेका राजनीतिक नेता र कार्यकर्ताहरूको ठुलो हात हुन्छ । दलका नेताहरूले मार्ग निर्देश गरेबमोजिम राजनीतिक कार्यकर्ताहरू गाउँ–बस्ती र सहर बजारमा बसेर जनतालाई सुझबुझ बनाउने प्रयासलाई निरन्तरता दिएमा परिवर्तन अलि छिटो हुन्छ र वास्ता नगरे परिवर्तन ढिलो हुन्छ । यो जिम्मेवारी राजनीतिक कार्यकर्ताहरूको मात्र होइन । समाजको विभिन्न समुदाय, क्षेत्र र सङ्घ–संस्थामा रहेका व्यक्तिहरूको पनि त्यतिकै हात हुन्छ । समाज परिवर्तन चाहने, देश र समाजप्रति आस्था राख्ने र विश्वास गर्ने प्राध्यापक, शिक्षक बुद्धिजीवी, कानुनविद्, लेखक, कलाकार, गायक, सञ्चारकर्मी, कर्मचारी, समाजसेवी, अग्रजहरूको पनि त्यतिकै महत्वपूर्ण साथ र सहयोगको खाँचो छ । जनतालाई सुसूचित पार्ने राजनीतिक पशिक्षण या कक्षाबाहेक विभिन्न सञ्चारमाध्यमले पनि देश विदेशका विभिन्न खबर र विषयबारे सूचना प्रवाह गरेर जनतालाई सुसूचित पार्न सकिन्छ ।
तर, परिवर्तन चाहने व्यक्तिहरूको दोहोरो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । शिक्षक, प्राध्यापक, कर्मचारी या अन्य सरकारी तथा सङ्घ संस्थामा बसेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । त्यसपछिको बाँकी समय जोसँग जस्तो सीप, कला, क्षमता र अनुभव छ त्यो भनेर, बुझाएर, सिकाएर या लेखेर विद्यार्थी, युवा, महिला, किसान तथा सर्वसाधारण जनतालाई सुझबुझ बनाउनुपर्छ । उनीहरूको अमूल्य समय पसल÷होटेलभित्र पसेर चिया गफमा बिताउने होइन । चिया गफमा भुलेर, पारिवारिक या व्यक्तिगत या अनावश्यक बखान गरेर समय बिताउने होइन । लेखक, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, बुद्धिजीवीहरू भोजन र खानेकुरासँगै जाँड, रक्सी खाएर गफ थाल्ने, डिस्को डान्स गर्ने, डान्सको टिकटक बनाएर आफ्नो गरिमा घटाउने होइन; मजाक या खिसीटिउरी गरेर जीवन बिताउने होइन । लेखकले समाजका नराम्रो पक्ष केलाएर सुधार्ने खालको लेख लेखेर छपाउनुपर्छ । शिक्षक, प्राध्यापक र बुद्धिजीवीहरूले पनि युवा, विद्यार्थी, महिला, किसान, कर्मचारी तथा सर्वसाधारण जनतालाई जागरूक बनाउन जल्दोबल्दो समस्याबारे लेख लेख्नुपर्छ र पत्रपत्रिकामा छाप्नुपर्छ । आफ्नो अमूल्य समय चियागफमा बिताउने होइन† रक्सी सेवन गरेर दिमागलाई खराब बनाउने होइन ।
भूगोल, इतिहास, विज्ञान, सामाजिक, अर्थशास्त्री, प्राविधिक अध्ययन गरेका विद्यार्थी तथा शिक्षकहरूले देशको वस्तुस्थितिसित मिल्ने खालका लेख–रचना लेख्न सक्छन् । बेलाबखत लेख लेखेमा आफ्नो दिमाग तिखारिन्छ; व्यक्तित्व विकास हुन्छ र त्यो विचार पत्रिकामा छपाए सबैलाई सुसूचित पार्ने बाटो खुल्छ । समाजमा विद्यालय र कलेजमा पढाउने विभिन्न विषयविज्ञ शिक्षक र प्राध्यापकहरू छन् । तर, तिनीहरू आफ्नो जागिर पचाउनेबाहेक अरू समुदायको निम्ति हित हुने काम गर्दैनन् । उनीहरू गफ छाँटेर साथीभाइलाई मजाक बनाउन समय खर्च गर्छन् तर लेख लेखेर आफ्नो बुद्धि र विवेकलाई सदुपयोग गर्दैनन् । समाज परिवर्तन हुनुपर्छ भनी बखान गर्ने शिक्षक, प्राध्यापक, बुद्धिजीवी या अन्य विशेषता हासिल गरेका व्यक्तिहरूले आफूसँग भएको कला, सीप, अनुभव र ज्ञान बाँड्नुपर्छ ।
उनीहरूलाई समाजको स्थिति र संरचना राम्रोसँग थाहा हुन्छ; समाज र समाजमा रहेका विभिन्न मानिसहरूको कमीकमजोरी पनि थाहा हुन्छ । तर, तिनीहरू त्यसलाई सुधार्ने, सुधार्न पहल गर्ने काम गर्दैनन् । उनीहरू आफूलाई पठित, शिक्षित, बुद्धिजीवी या जानकार भएको ठान्छन् तर त्यसअनुसार काम गर्दैनन् । सचेत र शिक्षित व्यक्तिहरू नै अघि सर्दैनन्, अघि सर्न पहल गर्दैनन् भने समाज कसरी चाँडै परिवर्तन हुन्छ ? समाजका सबै नागरिकलाई सचेत र सङ्गठित बनाउन सके पो त्यो समाज सभ्य र सुसंस्कृत हुन्छ । खराब, गलत काम गर्ने व्यक्तिहरूको समाज कहिले पनि सभ्य र सुसंस्कृत बन्दैन । सबैले आ–आफ्नो व्यक्तिगत स्वार्थमात्र पूरा गर्छ; समाजको मतलब राख्दैन भने समाज परिवर्तन हुँदैन । सिद्धान्त र विचारको राजनीतिमा प्रत्यक्ष या अप्रत्यक्षमा लागेर हरेकले आ–आफ्नो बुद्धि, विवेक, ज्ञान, अनुभव र समय आफ्नै माटोमा खनिनुपर्छ; अन्धविश्वास, विकृति र विसङ्गतिलाई अन्त्य गरेर विज्ञानसम्मत उन्नत समाज स्थापना गर्नुपर्छ; गर्नेतिर लाग्नुपर्छ । अतः राजनीतिक विश्लेषक, शिक्षक, प्राध्यापक, लेख, कवि, कलाकार, बुद्धिजीवी, समाजसेवी र राजनीतिक कार्यकर्ताहरूले आ–आफूसँग भएको बुद्धि र विवेक समाजको निम्ति अर्पित गर्नुपर्छ । समाजप्रति समर्पित नभएका लेखक, शिक्षक, प्राध्यापक, वकिल, बुद्धिजीवी बन्नुको के अर्थ ? देश, समाज र जनताको पीडा बुझेर समाजको उत्थानमा लागे आफ्नो इज्जत, प्रतिष्ठा बढ्छ, जीवनको महत्व हुन्छ र बाँच्नुको सार हुन्छ । बाँचेर पनि मरितुल्य जीवन बिताउनु पठित या शिक्षित व्यक्तिलाई सुहाउँदैन ।
Leave a Reply