चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
यो जातिसंहारको अन्तिम अध्याय हो । प्यालेस्टिनीहरूलाई गाजाबाट खेद्ने अन्तिम रक्तपातपूर्ण अभियान हो । आहार छैन । ओखती छैन । बास छैन । सफा पानी छैन । बिजुलीबत्ती छैन । इजरायलले तीव्र गतिमा गाजालाई मानव दुर्भाग्यको रौरव नर्कमा परिणत गरेको छ । झिङ्गा मरे जस्तो दैनिक सयौँ प्यालेस्टिनीहरू मारिँदै छन् । अबको केही समयमै हजार वा दसौँ हजारको सङ्ख्यामा प्यालेस्टिनीहरूलाई कहिल्यै घर फर्किन नपाउने गरी जबरजस्ती बाहिर खेदिनेछ ।
यो अन्तिम अध्यायसँगै इजरायलले बोल्दै आएका झूटको अनि अन्त्य हुनेछ । दुई–राज्य समाधानको बकबक बन्द हुनेछ । इजरायलले के मात्र झूट बोलेन – इजरायलले सर्वसाधारणको रक्षा गर्नुपर्ने युद्धको विधानको पालन गर्छ रे । हमासले मुख्यालय बनाएको हुनाले मात्र इजरायलले अस्पताल र विद्यालयमा बमबारी गरेको रे । हमासले सर्वसाधारणलाई मानव ढाल बनाउँछ रे । (जब कि प्यालेस्टिनीहरूलाई पक्राउ गरेर तिनलाई अघिअघि लगाउँदै इजरायली सैन्य दस्ता नियमितजसो धराप हुन सक्ने सुरुङ र भवनमा प्रवेश गरेका थिए ।) हमास र प्यालेस्टिनी इस्लामी जिहाद नै अस्पताल, राष्ट्रसङ्घका भवन वा प्यालेस्टिनीहरूको सामूहिक हत्याका दोषी हुन् रे । हमासले ट्रक हाइज्याक गरेर तिनमा हातहतियार र युद्धसामग्री तस्करी गरेको हुनाले गाजामा मानवीय राहत रोकिएको हो रे । इजरायली बच्चाको टाउको काटियो र प्यालेस्टिनीहरूले इजरायली महिलालाई सामूहिक बलात्कार गरे रे । गाजामा मारिएका हजारौँ हजार मानिसमध्ये ७५ प्रतिशत हमासका ‘आतङ्ककारी’ हुन् रे । हमासले लगातार नयाँ लडाकुलाई भर्ती गर्दै हातहतियार दिने उद्यम गरेको हुनाले युद्धविराम सम्झौता भङ्ग गरिएको रे ।
इजरायलको जातिसंहारको मकुन्डो उदाङ्गिएको छ । उसले उत्तरी गाजामा आफ्नो घरका भग्नावशेषहरूबिच पाल टाँगेर बसिरहेका असहाय प्यालेस्टिनीहरूलाई ठाउँ खाली गर्न आदेश दिइसकेको छ । अब पालो आम भोकमरीको हो । गत मार्च २१ गते प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय राहत एजेन्सी ‘उन्रा’ ले आफूले अबका ६ दिनलाई मात्र पिठो पु¥याउन सक्ने जनायो । त्यसैले, पालो अब दूषित पानी र खानाबाट लाग्ने रोग र त्यसले गर्दा हुने मृत्युको हो । यसबाहेक प्रतिदिन इजरायलले जथाभावी फाल्ने बमबारुद, गोली र मिसाइलबाट पनि मानिसहरू मारिइरहनेछन्, कतिपय घाइते भइरहनेछन् । बेकरी, पानी उपचार केन्द्र र ढलनिकास – केहीले पनि काम गर्ने छैन । अस्पताल, विद्यालय, राहत वितरण केन्द्र अथवा क्लिनिकहरू – सबै निष्क्रिय हुनेछन् । मार्च २१ मा इजरायलले जीर्ण तुर्क–प्यालेस्टिनी अस्पतालमाथि बमबारी ग¥यो । प्यालेस्टिन रेडक्रिसेन्ट सोसायटीले सञ्चालन गर्ने ५३ आपत्कालिन गाडीमध्ये इन्धन अभावका कारण आधामात्र क्रियाशील छन् । छिट्टै ती पनि ठप्प हुनेछन् ।
इजरायलको सन्देश फेरिएको छैन – गाजा बसोबासका लागि अयोग्य हुनेछ । भाग कि मर ।
गत मङ्गलबार ठुलो बमबारी गर्दै इजरायलले युद्धविराम तोड्यो । त्यो बमबारीमा ७ सय प्यालेस्टिनीहरू मारिए । तीमध्ये २ सय बालबालिका थिए । २४ घन्टाभित्र थप ४ सय प्यालेस्टिनीहरू मारिए । यो त सुरुआत मात्र हो । संरा अमेरिकालगायत इजरायललाई जातिसंहारका लागि हातहतियार दिइरहेका कुनै पनि पश्चिमा देशले जातिसंहार रोक्ने मनसाय देखाएका छैनन् । झन्डै १६ महिनादेखि गाजामा भइरहेको अटुट आक्रमणका दृश्य पीडादायी थिए । तर, अब स्थिति झन् हृदयविदारक बन्नेछ । बीसौँ शताब्दीका सबैभन्दा नृशंस युद्धअपराध पनि अब फिक्का लाग्नेछन् । नाजीहरूले आम भोकमरी रचेर लाखौँ यहुदीहरूको सामूहिक हत्या गरेका थिए र सन् १९४३ मा वार्सा यातनागृहमा सबथोक सोत्तर पारेका थिए । इजरायलले अब गाजामा जे गर्छ, त्यसले ती नाजी कुकर्मलाई पनि माथ दिनेछ ।
अक्टोबर ७ ले एउटा विभाजक रेखा खिच्यो । प्यालेस्टिनीहरूप्रति घृणा फैलाउने र तिनलाई दबाएर राख्ने इजरायली नीति त्यो दिन प्यालेस्टिनीहरूलाई मार्ने र तिनको पुख्र्यौली थलोबाट लघार्ने नीतिमा फेरियो । इतिहासमा ठिक यस्तै घटना सन् १८७६ को जून महिनामा लिटिल बिगहर्नको लडाइँमा भएको थियो । त्यो लडाइँमा अमेरिकाका आदिवासी जनताले जर्ज आर्मस्ट्रङ कस्टरको २०० सिपाहीको कब्जाकारी दस्तालाई एकै चिहान पारे । त्यो लज्जास्पद हारपछि आदिवासीहरूको आमहत्या गरियो । बचेखुचेकालाई युद्ध शिविरमा बन्दी बनाइयो । ती शिविरमा हजारौँको सङ्ख्यामा आदिवासीहरू रोगले छटपटाएर मरे । कब्जाकारी सेनाले उनीहरूको चित्कार सुनेको नसुन्यै ग¥यो । तिनका आँखै अगाडि आदिवासी बन्दीहरू निरासा र अभावको सिकार भएर पालैपालो मर्दै गए । मलाई लाग्छ, गाजाका प्यालेस्टिनीहरूको हाल पनि त्यस्तै हुनेछ । तिनलाई विश्वको कुनै नारकीय कुण्डमा थन्को लगाइनेछ अनि संसारले तिनलाई बिर्सँदै जानेछ ।
इजरायली रक्षामन्त्री इजरेल कात्जले धम्कीको भाषामा भने, “गाजावासीहरू हो, यो तिमीलाई अन्तिम चेतावनी हो । पहिलो सिन्वारले गाजालाई ध्वस्त पा¥यो । दोस्रो सिन्वारले त्यसलाई सखाप पार्नेछ । हमास आतङ्ककारीहरूविरुद्ध हवाई हमला सुरुआत मात्र हो । अब यो झन् कडा हुनेछ र तिमीहरूलै पूरा मूल्य चुकाउनुपर्नेछ ।.. बन्धकजति फिर्ता गर र हमासलाई लघार । तबमात्र अन्य विकल्पका ढोका खुल्नेछन् । त्यो भनेको विश्वका अन्य ठाउँमा भाग्न चाहनेलाई मौका दिइनेछ । नत्र पूर्ण विनाशको ढोका खुल्नेछ ।”
इजरायल र हमासबिच तीन चरणमा युद्धविराम सम्झौता हुने तय भएको थियो । ४२ दिने पहिलो चरणमा आक्रमण बन्द गर्ने भन्ने थियो । हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका ३३ इजरायलीलाई रिहा गर्नुपर्ने थियो । ५० वर्ष उमेर नाघेका महिला तथा बिरामीहरूलाई प्राथमिकता दिने तय भएको थियो । त्यसको बदलामा इजरायलले २ हजार प्यालेस्टिनी महिला, पुरुष तथा बालबालिकालाई रिहा गर्नुपर्ने थियो । (मार्च १८ सम्ममा इजरायलले करिब १९ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको खबर छ ।) हमासले १४७ बन्धकलाई रिहा ग¥यो । तीमध्ये आठजना मृत थिए । हमासले थप ५९ बन्धकलाई नछोडेको इजरायलको आरोप छ । इजरायलको भनाइमा ती बन्धकमध्ये ३५ जना मरिसकेका छन् ।
युद्धविरामको पहिलो चरणको पहिलो दिन इजरायली सेना गाजाबासीहरूको बाक्लो उपस्थिति रहेको गाजा सहरबाट पछि हट्ने भन्ने थियो । सातौँ दिनमा विस्थापित प्यालेस्टिनीहरूलाई उत्तर गाजामा फर्किन अनुमति दिने तय भएको थियो । त्यसको बदलामा इजरायलले गाजामा दैनिक ६ सय ट्रक खाना र औषधि पस्न दिनुपर्ने थियो ।
युद्धविरामको सोह्रौँ दिनमा दोस्रो चरणको सम्झौता वार्ता हुने भन्ने थियो । त्यस चरणमा बाँकी इजरायली बन्धक रिहा गर्नुपर्ने र बदलामा इजरायलले फिलाडेल्फी कोरिडोरका केही भागमा बाहेक अन्यत्रबाट आफ्नो अन्तिम दस्तालाई हटाउनुपर्ने थियो । (गाजा र इजिप्टको सीमैसीमा जाने आठ माइल चाक्लो भूखण्डलाई फिलाडेल्फी कोरिडोर भनिन्छ ।) इजरायलले इजिप्टमा खुल्ने रफाह नाकामाथिको नियन्त्रण त्याग्नुपर्ने तय भएको थियो ।
तेस्रो चरणमा युद्ध टुङ्ग्याउन र गाजाको पुनर्निमाण गर्न सम्झौता हुने थियो ।
किस्ता–किस्तामा सम्झौता गर्ने इजरायलको बानी नै हो । क्याम्प डेभिड समझदारी र ओस्लो शान्ति सम्झौता त्यसैका उदाहरण हुन् । सम्झौताको पहिलो चरणमै इजरायलले चाहेको कुरा लिन्छ र पछिल्ला चरणलाई खारेज गर्छ । (यसपालि उसले बन्धक फिर्ता लग्यो) इजरायलको यो कार्यशैली बदलिएको छैन ।
इजरायलले सम्झौता तोडेर दोस्रो चरणमा जान इन्कार ग¥यो । उसले सम्झौता भङ्ग गर्नुभन्दा दुई हप्ता अगाडिदेखि नै गाजामा मानवीय सहायता पस्न दिएन । यो सम्झौताको घोर उल्लङ्घन हो । यसबाहेक इजरायलले युद्धविरामको पहिलो चरणमा कम्तीमा १३७ प्यालेस्टिनीको हत्या ग¥यो । तीमध्ये ९ जना इजरायली ड्रोनले उद्दार टोलीमाथि आक्रमण गर्दा मारिएका थिए । उत्तरी गाजाको बेतलाहियामा मार्च १५ गते त्यो आक्रमण गरिएको थियो । ९ मध्ये तीनजना पत्रकार थिए ।
मार्च १८ गते इजरायलले गाजामाथि बाक्लो बमबारी र गोलाबारी ग¥यो । त्यो बेला अधिकांश प्यालेस्टिनीहरू सुतिरहेका थिए । कतिपय प्यालेस्टिनीहरू रमादानको पवित्र महिनाभरि एकाबिहानै खाइने प्रसाद सहूर तयार पार्दै थिए । अब बाँकी बन्धकलाई रिहा गरे पनि इजरायलले आक्रमण बन्द गर्ने छैन । यो आक्रमणको उद्देश्य गाजामाथि पूर्ण कब्जा हो ।
प्यालेस्टिनीहरूको विभत्स नरसंहार चलिरहँदा ट्रम्पको ह्वाइट हाउस ताली बजाउँदै छ । अमेरिकी सरकार जातिसंहारको विरोध गर्नेलाई ‘यहुदीविरोधी’ को बिल्ला लगाउँदै छ । उसले यस्ता ‘यहुदीविरोधी’ लाई चुप लगाउने, अपराधी करार गर्ने वा तिनकै देश फिर्ता पठाउने नीति लिएको छ । सँगै इजरायललाई हतियार उपलब्ध गराउन अमेरिकाले राजकोषबाट अरबौँ डलर लुटाउँदै पनि छ ।
गाजामाथि इजरायलको जातिसंहारक आक्रमण बसोबासी उपनिवेशवाद तथा जातिभेदी परियोजनाकै सिलसिला हो । मेरो विचारमा पुरानो प्यालेस्टिनका सबै भूभाग कब्जा गर्ने यहुदीवादको घोषित लक्ष्य पूरा गर्न अब इजरायलले चाँडै पश्चिम किनारलाई पनि हस्तगत गर्नेछ । सम्पूर्ण प्यालेस्टिनीहरूलाई खेदेपछि यहुदीवादको अभीष्ट पूरा हुनेछ ।
इजरायलको नृशंस रूप सन् १९४८ र १९६७ का युद्धहरूमा देखिएको थियो । त्यसबेला उसले पुरानो प्यालेस्टिनबाट ठुलठुला हिस्सा लुटेको थियो । ती युद्धमा हजारौँ प्यालेस्टिनीहरू मारिएका थिए भने लाखौँको सङ्ख्यामा जातीय सफायामा परेका थिए । यी युद्धबिच समेत पूर्वी जेरुसेलम लगायत पश्चिम किनारभरि मन्द गतिमा जमिनको चोरी, साङ्घातिक आक्रमण र सुस्त जातीय सफाया जारी थियो ।
त्यो तौलीतौली तान्डव गर्ने क्रम टुङ्गियो । हामी पुछारमा छौँ । चालु आक्रमणले प्यालेस्टिनीहरूले विगतमा भोगेका सबै विभत्स आक्रमणलाई होचो तुल्याएको छ । इजरायलको फुक्काफाल भएर जातिसंहार गर्ने सपना पूरा हुँदै छ । उसको सपना प्यालेस्टिनी जनताको दूःस्वप्न बनेको छ । यसबिच इजरायलले एउटा पश्चिमा मिथकलाई सदाका लागि रसातलमा मिल्क्यायो । पश्चिमा मुलुकहरू विधिको शासनलाई सम्मान गर्छन् तथा मानवअधिकार, लोकतन्त्र र पश्चिमा सभ्यताका तथाकथित ‘सदाचार’ को रक्षा गर्छन् भन्ने भ्रम सदाका लागि मेटिएको छ । इजरायलको बर्बरता हामी पश्चिमाहरूको बर्बरता पनि हो । हामीले यो कुरा नबुझ्न सक्छौँ तर बाँकी विश्वले बुझेको छ ।
(लेखक क्रिस हेजेज पुलित्जर पुरस्कार विजेता पत्रकार हुन् । उनले ‘द न्युयोर्क टाइम्स’ मा मध्यपूर्व ब्युरो प्रमुख भएर पन्ध्र वर्ष काम गरेका थिए । सोही अखबारका लागि उनले बाल्कन ब्युरो प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । उनी एम्मी पुरस्कारमा मनोनित अमेरिकी टिभी कार्यक्रम ‘अन कन्ट्याक्ट’ का प्रस्तोता हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply