भर्खरै :

अमेरिका—चीन व्यापार युद्धमा टिकटकको प्रवेशको अन्तर्य

अमेरिका—चीन व्यापार युद्धमा टिकटकको प्रवेशको अन्तर्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापारिक साझेदारहरूविरुद्ध प्रतिशोधात्मक भन्सार करहरूसहित ‘मुक्ति दिवस’ घोषणा गर्दा विश्व शेयर बजारमा रक्तपात मच्चिएको छ । अमेरिकालाई ‘पुनः महान्’ बनाउने भनेर घोषणा गरिएको भन्सार शुल्क विशेषगरी चीनमाथि लक्षित छ । तर, यो कदम अमेरिकाको निम्ति ‘बुमराङ’ भएको छ । अरुलाई अप्ठेरो पार्ने मनसायले गरेको निर्णयले उल्टै अमेरिकी शेयर बजारले एकै दिनमा खरबौँ डलर गुमाउनुपरेको छ । बढ्दो विश्वव्यापीकरणको यो संसारमा भन्सार शुल्कजस्ता संरक्षणवादी उपायहरूलाई प्रायः राष्ट्रिय उद्योग, रोजगारी र सुरक्षाको रक्षा गर्ने उपकरणको रूपमा हेरिन्छ । मोलमोलाइ गर्ने उपकरणको रूपमा भन्सार शुल्क प्रयोग गर्दा छोटो अवधिमा प्रभावकारी देखिन सक्छन् । तथापि, दीर्घकालीनरूपमा अरु देशलाई मात्र नभई अमेरिकालाई पनि भन्सार शुल्कले सहयोग गर्नुभन्दा बढी हानि गर्नेछ ।
व्यापार युद्धमा टिकटकको प्रवेश
अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक र चिनियाँ सामानहरूमा लगाएको कर वरिपरिका हालैका घटनाक्रमले जटिल वास्तविकतालाई उजागर गर्दछ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छोटो–भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक विशेषगरी संयुक्त राज्य अमेरिकालगायत विश्वभर लोकप्रिय छ । यसको लत लाग्ने एल्गोरिथ्म र युवाहरूको विशाल फलोअर्सको साथ टिकटक नृत्य र लिप्सिङको लागि केबल एक प्लेटफर्म रहेन बरु यो राजनीतिक बहस, आर्थिक प्रभाव र सांस्कृतिक संलग्नताको लागि माध्यम बनेको छ ।
तर, यसको लोकप्रियतासँगै राष्ट्रिय सुरक्षाको बहाना बनाउँदै पश्चिमेली मुलुकले यो एप्समाथि अवरोध गरेको छ । चीनको कडा डेटा कानुन र राष्ट्रिय सुरक्षा जोखिमलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूले चिनियाँ सरकारले बाइटडान्समार्फत अमेरिकी प्रयोगकर्ताहरूको डेटामा पहुँच पुग्न सक्ने चिन्ता व्यक्त गरेका थिए । यही निहुँमा तत्कालीन बाइडेन प्रशासनले टिकटकमा प्रतिबन्ध लगाएको थियो । ट्रम्प आएपछि फेरि टिकटक फुकुवा भयो तर गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने भनेर दबाब दिइयो । टिकटकले डेटा चुहावट हुने आरोप अस्वीकार गर्दै ‘प्रोजेक्ट टेक्सास’ जस्ता पहलहरूमार्फत अमेरिकी डेटा अमेरिकामै रहने गरी ओरेकलद्वारा अमेरिकी सर्भरहरूमा भण्डारण गरिएको छ । तर, निहुँ खोज्ने नै मनसाय भएको अमेरिकाले यसलाई मानेको छैन । अहिले आएर राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बेचेमा भन्सार करहरू हटाइने पनि बताए । यस कदमले भन्सार महशुललाई ‘बार्गेनिङ चिप’ को रूपमा प्रयोग गर्दै डिजिटल सुरक्षालाई व्यापार नीतिसँग जोड्यो । तर, दुई मुद्दाहरूको यो संयोजनले त्यस्ता रणनीतिहरू त्रुटिपूर्ण रहेको प्रस्ट हुन्छ ।
अमेरिकी कम्पनीलाई टिकटक बेच्दा राष्ट्रिय सुरक्षा सुनिश्चित हुन्छ भन्ने तर्क हास्यास्पद छ । डेटा सुरक्षा स्वामित्वको बारेमा मात्र होइन – यो पूर्वाधार, अनुगमन र कार्यान्वयनको बारेमा हो । अमेरिकी स्वामित्वमा भए पनि, डेटा उल्लङ्घन र एल्गोरिथ्म हेरफेर हुनसक्छ । यदि टिकटकले साँच्चै राष्ट्रिय सुरक्षाको लागि खतरा निम्त्याउँछ भने कानुनी प्रक्रिया पालना गर्दै संवैधानिक अधिकारको सम्मान गर्दै राष्ट्रव्यापी प्रतिबन्ध किन नलगाएको त ? अभिव्यक्ति स्वतन्त्रताको उपकरणको रूपमा रहेका लाखौँ मानिसहरूले प्रयोग गर्ने एपलाई प्रतिबन्ध लगाउनुबाट जन असन्तोष सिर्जना हुने डर हुन्छ । त्यसैले ट्रम्प र अन्य अधिकारीहरूले लामो बाटो रोजे । भन्सार शुल्कजस्ता आर्थिक दबाब दिएर टिकटक हात पार्ने चेष्टा गर्दै छ ।
वास्तवमा आर्थिक दबाबमा विदेशी व्यवसायलाई बेच्न बाध्य पार्नु जोखिमपूर्ण उदाहरण हो । यदि प्रत्येक देशले यसो गर्यो भने, विश्वव्यापी लगानी घट्नेछ । जफत वा जबरजस्ती विनिवेशको डरले व्यवसायहरू विदेशमा विस्तार गर्न हिचकिचाउने छन् । यसले खुला बजार र नवप्रवर्तनको सिद्धान्तलाई कमजोर बनाउँछ ।
संयुक्त राज्य अमेरिका फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ट्विटर, युट्युब, रेडिट, लिड्ढडइन, स्न्यापच्याटजस्ता प्रभावशाली सामाजिक सञ्जालहरूको जन्मस्थल हो । विश्वव्यापी डिजिटल क्षेत्रको नेतृत्वमा अमेरिका लामो समयदेखि रहँदै आएको छ । यी प्लेटफर्महरूले अर्बौँ मानिसका संवाद, संस्कृति र व्यापारलाई आकार दिएका छन् । यही सन्दर्भमा, टिकटकजस्तो विशाल पहुँच भएको गैर–पश्चिमा प्लेटफर्मको उदयले नयाँ चुनौती खडा गरेको अमेरिकालाई लागेको हुनुपर्छ । टिकटकमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने अमेरिकी प्रयास केबल डेटा सुरक्षा र डिजिटल प्रभावको चिन्तासँग सीमित छैन; यसले अमेरिकाले सामाजिक सञ्जाल क्षेत्रमा राख्न खोजेको बर्चस्वको गहिरो सङ्केत दिन्छ । जब सामाजिक सञ्जालहरू नै शक्ति–प्रदर्शनका माध्यम बन्दै जान्छन्, अमेरिकी कम्पनी र टिकटकजस्ता नयाँ अन्तर्राष्ट्रिय खेलाडीबिचको प्रतिस्पर्धा इन्टरनेटको भू–राजनीतिकतामा नयाँ अध्यायको सुरुआत हो ।
अमेरिकालाई महान् बनाउने भनेर बढाएको भन्सार शुल्कले थप समस्या सिर्जना गर्नेछ । भन्सार शुल्कले सबैको लागि मूल्य बढाउँछ । भन्सार महसुल मूलतः आयातीत सामानहरूमा लाग्ने कर हो । अमेरिकाले चिनियाँ विद्युतीय सवारी साधनहरूमा १०० प्रतिशत कर लगाउँदा त्यसको लागत चीनमा मात्र पर्दैन । अमेरिकी उपभोक्ताहरूले ती सवारी साधनहरूको लागि दोब्बर मूल्य तिर्नुपर्ने हुन्छ । ब्याट्री, सौर्य प्यानल वा सामान्य उपभोक्ता इलेक्ट्रोनिक्समा पनि यही कुरा लागु हुन्छ । संरक्षणवादी बयानबाजीले प्रायः स्थानीय रोजगारीहरूको संरक्षणमा जोड दिन्छ तर यसको तत्काल परिणाम मुद्रास्फीति हो । उत्पादन लागत बढ्दै जाँदा उत्पादकहरूले ती लागतहरू उपभोक्ताहरूमा सार्छन् । यसले क्रयशक्तिलाई हानि पु¥याउँछ र आर्थिक वृद्धिलाई सुस्त बनाउँछ ।
प्रतिशोधले निर्यातलाई हानि पु¥याउँछ । भन्सार शुल्कले प्रतिशोधलाई उक्साउँछ । अमेरिकी भन्सार शुल्कका लक्षित चीन, मेक्सिको र अफ्रिकी देशहरूले आफ्नै भन्सार शुल्क लगाएर प्रतिक्रिया दिएका छन् । यो प्रतिशोधले अमेरिकी निर्यातकर्ताहरूलाई विशेषगरी विश्वव्यापी बजारमा पहुँच पु¥याउन खोज्ने साना व्यवसायहरूलाई नोक्सान पु¥याउँछ । झनै नराम्रो कुरा भनेको भन्सार शुल्कले व्यापारिक साझेदारहरूबिचको विश्वास तोड्छ ।
भन्सार शुल्कले घरेलु कम्पनीहरूलाई बलियो बनाउँदैन बरु यसले उनीहरूलाई प्रतिस्पर्धाबाट जोगाउँछ । यसले स्टील, ईभी वा सेमिकन्डक्टरजस्ता अमेरिकी उद्योगहरूलाई अस्थायी राहत प्रदान गर्न सक्छ । तर, यसले नवप्रवर्तनको प्रोत्साहनलाई पनि कम गर्छ भने अर्कोतिर उपभोक्ता मारमा पर्नेछ । दक्षता वा अत्याधुनिक प्रविधिमा लगानी गर्नुको सट्टा, संरक्षित कम्पनीहरू बजार प्रदर्शनको सट्टा सरकारी आश्रयमा भर पर्छ । यसले प्रतिस्पर्धालाई कमजोर बनाउँछ ।
कर युद्धमा कसैको पनि जित हुँदैन
२१ औँ शताब्दीमा राष्ट्रहरू पर्खाल खडा गरेर होइन, विश्वास र नवीनताको पारिस्थितिक प्रणालीहरू विकास गरेर अघि बढ्छन् । बलियो अर्थतन्त्र अरूलाई सजाय दिएर होइन, आफ्ना नागरिकहरूलाई खुला विश्वव्यापी बजारमा नेतृत्व गर्न सक्षम बनाएर बन्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *