भर्खरै :

इजरायलले गाजालाई उजाडिसक्यो

इजरायलले गाजालाई उजाडिसक्यो

इजरायलले दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठुलो जातीय सफाया चलाइरहेको छ । यो वर्ष मार्च २ यता उसले गाजामा जाने सम्पूर्ण खाद्यान्न तथा राहत सामग्रीको बाटो बन्द गरेको छ । गाजाको विद्युत् आपूर्ति बन्द गरेको छ । बिजुली नहुँदा गाजाको अन्तिम (नुन हटाउने) पानी प्रशोधन केन्द्र बन्द भएको छ । इजरायली सेनाले (२५ माइल लामो र ४–५ माइल चौडा) गाजाको आधा भूभाग कब्जा गरिसकेको छ । गाजाको दुईतिहाइ जनतालाई इजरायली सेनाले अन्तै जान आदेश दिएको छ । अर्कोतिर ‘जाने कुनै ठाउँ’ पनि दिइएको छैन । रफाह नाका पनि इजरायली सेनाको घेराबन्दीमा छ ।
इजरायली रक्षामन्त्री इजरेल कात्जले गत शुक्रबार इजरायलले हमासविरुद्ध युद्ध ‘चर्काउने’ बताए । उनले ‘सबैखाले सैन्य तथा नागरिक दबाबका उपाय प्रयोग गर्ने’ भने । उनले ‘गाजाका जनतालाई दक्षिणतर्फ धकेल्ने र तिनका निम्ति अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्रम्प) को स्वेच्छिक बसाइँसराइको योजना लागू गर्ने’ बताए ।
इजरायलले मार्च १८ गते एकतर्फी रूपमा युद्धविराम भङ्ग ग¥यो । यो युद्धविरामलाई इजरायलले कहिल्यै सम्मान गरेको थिएन । युद्धविरामको अवधिमा उसले सर्वसाधारण जनताविरुद्ध लगातार बमबारी गरिरह्यो । त्यसमा परेर १४ सय प्यालेस्टिनीहरू मारिए भने ३६ सत्न्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घको तथ्याङ्कअनुसार दिनकै औसत १ सय बालबालिका मारिँदै छन् । यति नै बेला इजरायलले इजिप्टसँग जोरी खोज्दै छ । प्यालेस्टिनीहरूलाई इजिप्टको साइनाइ क्षेत्रतिर ठेल्न यसैलाई निहुँ बनाइने मेरो अनुमान छ ।
वित्तमन्त्री बेजालेल स्मोत्रिचले पनि कात्जकै लयमा हमासलाई ‘पराजित’ नगर्दासम्म र बाँकी ५९ इजरायली बन्धक नछुट्दासम्म नाकाबन्दी पूर्णतः नहटाइने बताए । उनले कसम नै खाए, “गाजामा एक दाना अन्न पनि भित्रिने छैन ।”
गाजाको विनाशमा हमास कमजोर बनेको छ तर नरसंहारबिच ऊ हराएकै भने छैन । फेरि इजरायल वा गाजामा रहेको कोही पनि हमासले आत्मसमर्पण गरोस् वा हमास नामेट होस् भन्ने चाहँदैनन् ।
के प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर लघारिनेछ ? आज यो प्रश्न गर्नुपर्ने विषय नै होइन । कहिले लघारिन्छ ? वा, तिनलाई कहाँ पु¥याइन्छ त ? प्रश्न यी हुन् । इजरायली नेतृत्व अहिले यस विषयमा विभाजित बनेको छ । प्यालेस्टिनीहरूलाई इजिप्टको नाकाबाट धपाउने कि जहाजमा राखेर अफ्रिका पठाउने ? विवाद यहाँ छ । संरा अमेरिका र इजरायलले पूर्वी अफ्रिकाका तीन सरकारसँग कुरा चलाएका छन् । सुडान, सोमालिया र सोमालियाबाट अलग्गिएको सोमालील्यान्ड नामक क्षेत्रका सरकारसँग जातीय सफाया गरिएका प्यालेस्टिनीहरूलाई पुनर्बास गराउने छलफल चल्दै छ ।
सबै गाजावासीको जातीय सफायाको परिणाम विनाशकारी हुनेछ । अरबी देशहरूसँगको अमेरिकाको सम्बन्ध अक्करमा पर्नेछ र अरबी देशहरूभरि विरोध–प्रदर्शनको डढेलो लाग्नेछ । इजरायल र उसका छिमेकी देश जोर्डन र इजिप्टबिचको कूटनीतिक सम्बन्ध चिसिनेछ । अहिले नै पनि यो सम्बन्ध चुँड्ने अवस्थामा पुगिसकेको छ । पूर्ण जातीय सफाया भयो भने पश्चिम एसिया युद्धतर्फ धकेलिनेछ ।
सन् १९७९ मा क्याम्प डेभिड समझदारीमा हस्ताक्षर गरेयता कूटनीतिक सम्बन्ध सबैभन्दा कमजोर बनेको अहिले नै हो । कायरो र अम्मानमा रहेका इजरायली राजदूतावासहरू लगभग खाली छन् । सन् २०२३ अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकु समूहले इजरायल प्रवेश गरे यता सुरक्षाका लागि भन्दै इजरायली कर्मचारीहरूलाई फिर्ता बोलाइएको थियो । इजिप्टले गत सेप्टेम्बरमा इजरायलले राजदूत नियुक्त गरी पठाएको उरी रोथमानको ओहोदाको प्रमाणपत्र बुझ्न अस्वीकार गरेको छ । गत वर्ष इजिप्टले इजरायलका लागि पूर्व राजदूत खालिद आजमीलाई फिर्ता बोलाएको थियो । त्यस यता उसले इजरायलका लागि नयाँ राजदूतको नाम दिएको छैन ।
इजरायली अधिकारीहरूले इजिप्टले उत्तरी साइनाइ क्षेत्रमा सेना राखेर र थप सैन्य पूर्वाधार बढाएर क्याम्प डेभिड समझदारी उल्लङ्घन गरेको आरोप लगाउँदै छन् । यी आरोप कपोलकल्पित भएको इजिप्टको जवाफ छ । शान्ति सम्झौताको परिशिष्टअनुसार साइनाइमा इजिप्टले थप सैन्य पूर्वाधार राख्न पाउने स्पष्ट उल्लेख छ ।
इजरायलका पूर्वसेनाप्रमुख हेर्जी हालेभीले इजिप्टको ‘सुरक्षा खतरा’ बारे चेतावनी दिए । रक्षामन्त्री कात्जले इजिप्टलाई इजरायलले सन् १९७९ मा दुई देशबिच हस्ताक्षर भएको ‘शान्ति सन्धि उल्लङ्घन गर्न’ नदिने बताएका छन् ।
जवाफमा इजिप्टका उच्च अधिकारीहरूको भनाइअनुसार फिलाडेल्फी कोरिडोर कब्जा गरेर इजरायलले नै सो सन्धि उल्लङ्घन गरेका हुन् । सलाहुद्दीन धुरी पनि भनिने त्यो ९ माइल लामो कोरिडोर गाजा र इजिप्टको सीमामा पर्छ । दुई देशबिच भएको सन्धिअनुसार त्यहाँ सेना तैनाथ गर्न पाइँदैन ।
जनरल मोहम्मद रशिद इजिप्टका पूर्वसैन्य गुप्तचरी प्रमुख हुन् । उनले एक अन्तर्वार्तामा भने, “इजिप्टसँगको गाजाको सीमामा इजरायलले गर्ने प्रत्येक क्रियाकलाप इजिप्टको राष्ट्रिय सुरक्षाविरुद्ध आक्रामक व्यवहार हो ।” यसमा थप्दै उनले भने, “यस्तो खतराको बेला इजिप्ट हात बाँधेर बस्न सक्दैन । इजिप्ट जस्तोसुकै परिस्थितिको लागि तम्तयार रहनुपर्छ ।”
इजरायली अधिकारीहरू प्यालेस्टिनीहरूलाई इजिप्टमा ‘स्वेच्छिक स्थानान्तरण’ गराउनुपर्ने खुलेआम आह्वान गर्दै छन् । इजरायली सांसद एभिग्डोर लिबेरमानले भने, “गाजाका सबैजसो प्यालेस्टिनीहरूलाई इजिप्टको साइनाइ क्षेत्रमा विस्थापित गर्नु नै व्यवहारिक र प्रभावकारी समाधान हो ।” गाजा पृथ्वीकै बाक्लो बसोबास भएको स्थान हो । त्यहाँको जनघनत्वलाई लिबेरमानले उत्तरी इजिप्टमा पर्ने ठुलो ‘प्रयोगमा नआएको भूमि’ साइनाइसँग दाँजे । उनले प्यालेस्टिनीहरू र इजिप्टको भाषा र संस्कृति पनि मिल्ने हुनाले प्यालेस्टिनीहरूको विस्थापन ‘प्राकृतिक’ हुने बताए । उनले इजरायल र हमासबिच मध्यस्थकर्ताको भूमिकामा इजिप्टले ‘वर्तमान राजनीतिक अवस्थाबाट आर्थिक लाभ उठाएको’ आरोप लगाए । इजिप्टले ‘भूमिगत सुरुङ र रफाह नाकाबाट तस्करी चलाएर नाफा हसुरिरहेको’ मा लिबेरमानले निन्दा गरे ।
राष्ट्रिय सुरक्षाका लागि इजरायली विज्ञ समूह मिस्गाभ संस्थानमा इजरायलकै पूर्वसुरक्षा तथा सैन्य अधिकारीहरू हुन्छन् । सो समूहले सन् २०२३ अक्टोबर १७ मा प्रकाशित गरेको एक अध्ययनपत्रमा सरकारलाई एउटा सुझाव दिइएको थियो । सो अध्ययनपत्रमा ‘पूरै गाजापट्टीलाई खाली गर्ने असामान्य र दुर्लभ मौका’ को लाभ लिन र इजिप्ट सरकारको सहयोग लिएर प्यालेस्टिनीहरूलाई कायरोमा पुनर्बास गराउन भनिएको थियो । हालै इजरायली गुप्तचरी मन्त्रालयबाट एक गुप्त दस्ताबेज बाहिरियो । त्यसमा गाजाका प्यालेस्टिनीहरूलाई उत्तरी साइनाइमा पुनर्बास गराउन र तिनको घरफिर्ती रोक्न बिचमा बफर क्षेत्र वा तगारो निर्माण गर्नुपर्ने सुझाव छ ।
इजरायली सेनाले प्यालेस्टिनीहरूलाई फटाफट निष्कासित गर्ने सोचेको देखिन्छ । अहिले उसले निर्दयी पाराले प्यालेस्टिनीहरूलाई खेदीखेदी गाजाका साँघुरा स्थानमा जम्मा गर्दै छ । त्यसरी जालमा परेका प्यालेस्टिनीहरूमाथि बेलाबेला बमबारी गर्दै इजिप्टको सीमातिर खुला छोडिएका दरारहरूबाट भाग्न बाध्य गरिँदै छ । इजरायली सेनाको यस्तो क्रियाकलापका कारण इजिप्टको सेनासँग घातक मुठभेड हुने सम्भावना छ । यसले गर्दा इजिप्टमा अब्देल फतेह अल–सिसीको सत्ता सङ्कटमा पर्न सक्छ । प्यालेस्टिनी जनताको जातीय सफायालाई अल–सिसीले ‘खतराको सङ्केत’ हुने बताएका छन् । त्यो बिन्दुबाट क्षेत्रीय द्वन्द्व सुरु हुन धेरै बेर लाग्ने छैन ।
इजरायलले सिरिया र दक्षिणी लेबनानका केही भूभाग कब्जा गरेको छ । यी भूभाग उसको ‘अखण्ड इजरायल’ को नक्सा–योजनामा पर्छन् । ‘अखण्ड इजरायल’ बनाउनका लागि इजिप्ट, जोर्डन र साउदी अरबका भूभाग कब्जा गर्नुपर्ने हुन्छ । इजरायलको यो योजनामा गाजाको समुद्री तटमा रहेका ग्यासका खानीमाथि कब्जा र स्वेज नहरको विकल्पको रूपमा नयाँ नहरको निर्माण पनि पर्छ । नयाँ नहरले लालसागरमा रहेको इजरायलको रित्तो बन्दरगाहलाई भूमध्य सागरसम्म जोड्ने सोचिएको छ । यो योजना पूरा गर्न इजरायलले गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर खेदेर त्यहाँ यहुदी बस्तीहरू बसाल्नुपर्ने खाँचो देखेको छ ।
केही महिनादेखि मैले इजिप्ट, जोर्डन, पश्चिम किनार र कतारका सहरहरू घुम्दै छु । मैले त्यहाँ आक्रोशित जनतालाई भेटिरहेछु । प्यालेस्टिनीहरूलाई विस्थापित गरेको खण्डमा त्यो आक्रोश स्वाभाविक विस्फोटमा परिणत हुनेछ । आआफ्ना सत्ता जोगाउन अरबी सरकारहरूले केही न केही गर्नुपर्नेछ । सङ्गठित समूह वा आक्रोशित व्यक्तिहरूले इजरायल र पश्चिमाहरू (खासगरी संरा अमेरिका) लाई तारो बनाएर आतङ्ककारी हमला गर्ने क्रम बढ्दै जानेछ ।
जातिसंहार इस्लामवादी लडाकु समूहहरू मौलाउने मौका पनि हो । प्यालेस्टिनविरुद्धको बर्बरताले गर्दा ठुलो मूल्य चुकाउनुपर्नेछ भनेर इजरायल र अमेरिकाले बुझ्नुपर्छ । झट्ट हेर्दा उनीहरू परिणाम झेल्न तयार रहेको बुझिन्छ । त्यसैले ‘नरपशु’ भन्दै उनीहरूले प्यालेस्टिनीहरूलाई नामेट पार्न खोज्दै छन् । प्यालेस्टिनीहरूका सजातीय राष्ट्रहरू बाहिर पनि रहेको स्थितिमा जातीय सफायाको पश्चिमा प्रयासलाई मूर्खतापूर्ण भन्नुपर्छ ।
सयौँ वर्षसम्म बसोबास गरेको भूभागबाट प्यालेस्टिनीहरूलाई निकाला गर्दा कस्तो परिणाम आउला ? यसबारे इजरायल र वासिङटनको बुझाइ के छ ? निराश, हतास, गरिमाच्युत र बाँच्ने हकबाट वञ्चित जनतालाई विश्वकै उन्नत प्रविधिले लैस सेनाले धमाधम मार्दै छ । ती जनताको प्रतिक्रिया कस्तो होला ? यसबारे इजरायल र वासिङटनको बुझाइ के छ ? के इजरायल र वासिङटनले प्यालेस्टिनी जनतालाई यन्त्रणादायी नर्कमा धकेलेपछि आतङ्कवाद हट्ने, आत्मघाती आक्रमण रोकिने र शान्ति मौलाउने सोचेका हुन् ? के मध्यपूर्वमा मडारिरहेको आक्रोशको बादललाई इजरायल र वासिङटनले नदेखेकै हुन् ? त्यसबाट रोपिने घृणाले दशकौँसम्म पश्चिमाहरूलाई सताइरहनेछ भनी के इजरायल र वासिङटनले नदेखेकै हुन् ?
गाजाको जातिसंहार यो युगकै सबैभन्दा ठुलो अपराध हो । यो अपराधको प्रेतले इजरायललाई राम्ररी सुत्न दिने छैन । यसले हामी पश्चिमाहरूलाई पनि सताइरहनेछ । प्यालेस्टिनी जनतामाथि हामीले मच्चाएको विनाशले हाम्रो ढोका ढक्ढक्याउनेछ ।
जे रोपिन्छ त्यही उम्रिन्छ । हामीले नृशंस घृणा र हिंसाको बीउ रोपेका छौँ । फसल पनि त्यस्तै हुनेछ ।

स्रोत : एमआर अनलाइन 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *