भर्खरै :

शिक्षक आन्दोलनमा सहभागी एक शिक्षकको मनोदशा

शिक्षक आन्दोलनमा सहभागी एक शिक्षकको मनोदशा

‘हेलो, हेलो… …, म आन्दोलनमा छु । भीडमा छु, तिम्रो कुरा केही सुन्न सकेको छैन । म्यासेन्जरमा म्यासेज पठाऊ न है ।’
राजधानीमा लामो समयदेखि चलिरहेको शिक्षक आन्दोलनमा सहभागी एक शिक्षक फोनमा कुरा गर्दै थिए । उनी फोनमा कुराकानीकै बिचमा … जिन्दावाद !… मुर्दावाद ! … लागु गर ! … जारी छ र लगायतका नाराहरू पनि लगाइरहेका थिए ।
हजारौँ सङ्ख्यामा शिक्षकहरूको जुलुस अगाडि बढिरहेको थियो । बिजुलीबजारको पुलमा पुगेपछि एकछिन सभा भयो । शिक्षक नेताले चर्को भाषण गर्दा ताली पड्किरह्यो । उनी पनि थपडी बजाउँदै थिए । फोनमा टुङ … घण्टी बज्यो । म्यासेज आएको रहेछ । उनले म्यासेन्जर खोले । म्यासेज लामै थियो । बिस्तारै पढ्न थाले ।
“हजुर आन्दोलनमा सहभागी भइरहेको फेसबुकमा हेरिरहेको छु । आरामै हुनुहुन्छ भन्ने लाग्छ । आन्दोलन अझै कति चल्ने हो ? घर फर्कने कहिले हो ? हजुरहरूको आन्दोलनप्रति मेरो गुनासो होइन । तर, छोरोलाई कहाँ पढाउने ? के गर्ने ? भन्ने चिन्ता बढ्न थाल्यो । नयाँ शैक्षिक सत्र सुरु भएको हप्ता दिनभन्दा बढी भयो । आफ्ना सङ्गीहरू नजिकको बोर्डिङ स्कूलमा जान थालेको छोरो टोलाउँदै हेरिबस्छ । उसको स्कूलमा तालाबन्दी छ, शिक्षक कर्मचारी सबैजना आन्दोलन भन्दै स्कूल आएका छैनन् । हामी १० जना स्थानीय अभिभावकहरू प्रधानाध्यापकको घर पुगेर स्कूल खोल्न आग्रह गर्दा प्र.अ.को जवाफ आयो, “तपार्इँकै सर काठमाडौँमा आन्दोलनमा हुनुहुन्छ । उहाँहरूले स्कूल खोलेमा कारबाही गर्छौँ भन्नुभएको छ । आन्दोलन नसकिएसम्म स्कूल खौल्दैनौँ ।”
“अनि बच्चाहरूको भविष्य ?” हाम्रो प्रश्न भुइँमा खस्न नपाउँदै उत्तर आइहाल्यो, “तपाईँको सरलाई सोध्नुभएन ?” म नाजवाफ भएँ ।
छोरो दिनहुँ आँगनमा बस्दै टोलाइरहन्छ । बोर्डिङ स्कूलमा पढाउने क्षमता छैन, सरकारी स्कूल खुल्दैन । के गरुँ ?
छिमेकी जोगमती दिदी हिजो घरमा आएर मसँग फटफटाउँदै हुनुहुन्थ्यो । उहाँको नातिले आठ कक्षाको अन्तिम परीक्षा दिएको रहेछ । शिक्षक आन्दोलनको कारण अहिलेसम्म नतिजा नआएकोले रिसाउँदै भन्नुहुन्थ्यो, “तपाईँको सरहरूको आन्दोलनले मेरो नातिको भविष्य बिगार्दै छ । सीमापारि भारतीय स्कूलमा ग्रेड ९ मा भर्ना गर्न खोजेको, यहाँको रिजल्ट नआएर समस्या भयो । उसलाई भारतमा पढाएर राम्रो इन्जिनियर बनाउँला भनेको, तपाईँको सरले गर्दा उसको सपना चकनाचुर हुने भयो ।”
अर्को छिमेकी चौधरी बा पनि कराउँदै हुनुहुन्थ्यो, “कक्षा १२ को परीक्षा भएन भने घर परिवार छोडेर अहिले नै कतार जान्छु भनी एक्लो छोरोले जिद्दी गर्दै छ । उसलाई गाउँमै कलेज पढाएर गाउँकै स्कूलमा मास्टर बनाउँला भन्ने योजना बनाएको । तपार्इँको सरहरूको आन्दोलनले मेरो सपना भताभुङ्ग हुने भयो ।”
बुधबार हाटबजारमा मेला भर्न जाँदा पारि गाउँका थारु आइमाईहरू मलाई खाउँलाझैँ झम्टिन लागे । “किन ?” भनी सोध्दा “शिक्षकहरू आन्दोलनका नाउँमा काठमाडौँका सडकमा नाच्ने, अनि स्कूल जान नपाएका हाम्रा सन्तानहरू यहाँ धमिलो माछा पोखरीमा पौडी खेल्ने र तपाईँका सरहरूको त नपढाए पनि तलब पाकिहाल्छ, हाम्रो पो बच्चाहरू बिग्रने भए ।” उनीहरूले मेरोसामु तपार्इँलाई अपशब्द बोलेको मैले सहनै सकिनँ ।
मैले दिनहुँ यस्तै अपगाल सहनु पर्ने भो र हजुर ? अनि हाम्रो छोरो … ? उसको भविष्य उज्यालो बनाउनु छैन र ? यस्तै यस्तै पिरलोले राति निद्रा लाग्दैन हजुर ।
मैले समाचार सुनेको, हजुरका नेताहरूले त मन्त्री, प्रधानमन्त्री र सभामुखलाई पनि भेटिसक्नु भयो रे । तैपनि, दिनहुँ सडकमा बसिरहनुभएको छ । मैले त बुझ्नै सकेकी छैन । चुनावमा तिनै नेताका पार्टीको झन्डा बोकेर गाउँ चहार्ने, सभा सम्मेलन र जुलुसमा तिनै नेताका पछाडि कुद्ने शिक्षक होइनन् र भन्या ? अनि किन अहिले तिनका कुरा नसुन्या हँ ?
२०६२/०६३ को आन्दोलनमा पनि ती शिक्षकहरूले काठमाडौँ गएर सडक तताएका होइनन् र ? जनआन्दोलनको बलमा नयाँ संविधान आएपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भनेर उफ्रेका होइनन् र ? अनि अहिले गाउँपालिका र नगरपालिकामा विद्यालय शिक्षाको अधिकार आएपछि फेरि त्यो अधिकार सिंहदरबारलाई बुझाउन तिनै शिक्षकहरू काठमाडौँमा जुलुस गर्दै छन् । मैले नबुझेको कुरा नि हजुर !
म पनि त कक्षा १२ पास गरेकी नारी हुँ हजुर । मलाई पनि मानव अधिकारको विषयमा थोरै जानकारी छ । शिक्षकका जायज पेसागत माग राख्दै आन्दोलन गर्ने हजुरहरूको राजनैतिक अधिकार हो । तर, हजुरहरूले आफ्नो अधिकार प्रयोग गर्ने नाममा देशभरिका सरकारी विद्यालयहरू यत्रो दिन बन्द गर्दा लाखौँ गरिब जनताका छोराछोरीहरू विद्यालय शिक्षाबाट वञ्चित गर्दा तिनीहरूका मानव अधिकार उल्लङ्घन भएन र हजुर ? वर्ष दिन मेहनत गरेर परीक्षा दिएर नतिजा नआउँदा विचरा बाबुनानीहरूको दिमागमा कस्तो असर प¥यो होला ? हातमा परीक्षाको प्रवेश पत्र बोकेर रातदिन किताब घोकिरहेका विद्यार्थीहरूको परीक्षा अनिश्चयको भूमरीमा पार्ने अधिकार हजुरहरूलाई कसले दियो ? हजुरहरू त हजारौँको सङ्ख्यामा सडकमा हुनुहुन्छ, ती विद्यार्थी र तिनका अभिभावकहरू लाखौँको सङ्ख्यामा आप्mनो अधिकार खोसिएको विरोधमा सडकमा ओर्लिए वा हाम्रै घरमा घेरा हाल्न आए भने के होला ? हजुरहरूले सोच्नुभएको छ कि ? मलाई त डर लाग्न थाल्यो हजुर ।
जायज माग राख्ने र आन्दोलन गर्ने पनि त तौरतरिका होला नि । शिक्षकहरू त समाजका अगुवा, मार्गनिर्देशक । संसारका अन्य देशहरूमा पनि त शिक्षकहरूका आन्दोलन भएका इतिहास होलान् । ठुलठुला युद्ध भएका देशहरूमा त शिक्षकहरूले नयाँ पुस्तालाई विद्यालय शिक्षाबाट वञ्चित गराएका थिएनन्, बरु देशभक्तिको पाठ पढाएको सुनेका छौँ । अनि हजुरहरू आफ्नो पेसागत माग राख्दै नयाँ पुस्ताको भविष्य अँध्यारोमा जाक्दै त हुनुहुन्न ? मलाई त शङ्का छ । यो पनि त पापै हो नि, होइन र हजुर ?
स्नातक पढिरहेकी एकजना बहिनी मलाई सुनाउने हेतुले बोल्दै थिइन्, “३६५ दिनमा मुश्किलले २०० दिन हाजीर गरेर १३ महिनाको तलब, भत्ता र सुविधाको नाममा राज्यको ढुकुटी दोहन गर्ने शिक्षक कर्मचारीहरूले आफूले खाइरहेको थालमा थुक्न पटक्कै सुहाउँदैन ।”
मेरो कुरा बुझ्नु भयो कि नाइँ ? दिनहुँको मानसिक तनावले बिरामी परुँला भन्ने डर भो । तपार्इँलाई अहिले नै फर्किनुस् भन्न सक्दिनँ । तर, मेरो पीडा र छोराको बेहाल बुझ्ने कष्ट चाहिँ गर्न नभुल्नुहोला । आगे हजुरको मर्जी ।”
मोबाइलमा म्यासेज पढ्दा पढ्दै सरको अनुहारमा कालो बादल लाग्न थालेको प्रस्टै देखियो । बिचरा शिक्षक अँध्यारो मुख लगाउँदै पिसाब फेर्ने निहुँमा भीडबाट बाहिरिए । भीडमा एउटा समूह ‘म त ढलेँ ढलेँ’ भन्ने गीतमा नाचिरहेका थिए भने अर्को समूहमा ‘कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर’ भन्ने गीत बज्दै थियो । टिकटक बनाउने शिक्षक शिक्षिकाहरू सभास्थल अगाडि विभिन्न भावभङ्गीमा अभिनय गर्दै गरेको दृश्य पनि देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *