भर्खरै :

कम्युनिष्ट घोषणापत्रको १७० वर्ष

शनिबारबाट कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सकृत ‘कम्युनिष्ट घोषणापत्र’ पहिलो पटक प्रकाशन भएको १ सय ७० वर्ष पुगेको छ । १८४८ मा पहिलो पटक प्रकाशन भएको यो महान् कृतिले विश्व इतिहासको गति नै परिवर्तन गरिदियो । तात्कालीन युरोपेली समाजमा जरा फैलाउँदै गरेको शोषणमूलक पूँजीवादी बन्दोबस्तका केस्रा–केस्रा केलाएर त्यसको अवश्यम्भवी विनाशको इतिवृत्तान्त यो कृतिको विशेषता हो । त्यस्तो पूँजीवादी बन्दोबस्तको जरा खन्ने काम स्वंय त्यही बन्दोबस्तले जन्माएको सर्वहारा वर्गबाट हुने र श्रमजीवी सर्वहारा वर्ग नै पूँजीवादी बन्दोबस्तमा क्रान्तिकारी वर्ग हुने विचारले संसारमा श्रमिक आन्दोलनको लहर नै उठ्यो । युगौंदेखि शोषणको जाँत्तोमा पिल्सिएका श्रमजीवी वर्ग आफै क्रान्तिकारी परिवर्तनको बाहक बनेर अग्रपङ्क्तिमा देखापरे । युरोपको पृष्ठभूमिमा लेखिएको कृति भएर पनि कम्युनिष्ट घोषणापत्रको प्रभाव युरोपेली चौघेरामा मात्र सीमित भएन । बरु संसारभरका श्रमजीवी वर्गसम्म यो विचार र दर्शन व्यापक बन्यो । शताब्दियौंदेखि उपनिवेशवाद शासन भोग्दै आएका उपनिवेशका जनतालाई पराधीनताबाट मुक्त गर्न ‘कम्युनिष्ट घोषणापत्र’ आफैमा एउटा दिशानिर्देशक कृति बन्यो ।
निसन्देह हिजोको पूँजीवाद र आजको पूँजीवादबीच धेरै अन्तर भइसकेको छ । हिजोको औद्योगिक पूँजीवाद आज वित्तीय पूँजीवादसम्म आइपुग्दा पूँजीवादले आफ्नो स्वरुपमा धेरै ठूलो परिवर्तन गरिसकेको छ । उसले हिजो प्रयोग गर्ने गरेका शब्दावली र भाषावली आजसम्म आइपुग्दा धेरै ठूलो अन्तर भइसकेको छ । तर पूँजीवाद नाफा र शोषणमा टिक्ने ‘कम्युनिष्ट घोषणापत्र’को मूलकथनमा कुनै भिन्नता आएको छैन । विज्ञान–प्रविधिको विकासले धेरै उचाई लिइसकेको आजको अवस्थामा शोषण गर्ने र नाफा कमाउने तरिकामा धेरै अन्तर आइसकेको छ । तर नाफाको लागि शोषण गर्ने पूँजीवादको शोषणमूलक चरित्रमा भने कुनै भिन्नता आइसकेको छैन ।
कम्युनिष्ट घोषणापत्र पहिलो पटक प्रकाशन भएको झण्डै दुई शताब्दी हुन लागेको छ । तथापि त्यसले बोकेको सुत्रात्मक विश्लेषण भने आज अझ सान्दिर्भक बन्दै गएको छ ।
संसारभरका शोषित पीडित जनताको लागि यो कृति आफैमा एउटा मुक्तिको दर्शन बनेको छ । पूँजीवादको बिस्तार आज युरोपबाट निस्केर संसारका सबै भूभागमा पुगिसकेको अवस्थामा त्यो शोषणमूलक बन्दोबस्तबाट मुक्त हुन संसारभरका श्रमिक जनताबीच ‘कम्युनिष्ट घोषणापत्र’ दिनानुदिन लोकप्रिय बन्दै गएको छ ।
जबसम्म पूँजीवादी बन्दोबस्त बाँकी रहनेछ, तबसम्म संसारमा ‘कम्युनिष्ट घोषणापत्र’को खाँचो रहिरहनेछ । जहाँ–जहाँ शोषणमूलक पूँजीवादी बन्दोबस्त विकास र बिस्तार हुन्छ, त्यहाँका श्रमिक जनताले ‘कम्युनिष्ट घोषणापत्र’को खोजी गर्नेछन् र त्यसले देखाएको बाटोमा अघि शोषणरहित समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गरिरहनेछ । संसारका सयौं भाषामा अनुवाद भइसकेको यो कृति संसारका श्रमिक जनताले बोल्ने सबै भाषामा अनुवाद हुँदै जानेछ किनभने ‘कम्युनिष्ट घोषणापत्र’ मात्र एउटा किताबको नाम होइन, बरु मुक्तिकामी श्रमिक जनताको मुक्तिको गीत हो–‘कम्युनिष्ट घोषणापत्र’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *