भर्खरै :

आर्थिक समानता भएपछि मात्र समृद्धि

भक्तपुर, ३ चैत । समाजमा आर्थिक समानता भएपछि समृद्धि आउँछ । मागेर समृद्धि आउने होइन । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला भएपछि समानता पाउनेछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको वार्षिक भेटघाटमा व्यक्त गर्नुभएको हो ।
धुलिखेलमा भएको सो कार्यक्रममा उहाँले भन्नुभयो, ‘दास युगमा भोका–नाङ्गा धेरै हुन्थे । अहिले पनि गरीवीको खाल्डो गहिरो छ, सरकारले भनेको समृद्धि के हो ?’
निर्वाचनले समाजमा नयाँ खान्दानी वर्गको उदय भएको स्पष्ट पार्दै उहाँले अहिलेका प्रायः जनप्रतिनिधिहरू पैसा र बलमा जितेकाले उनीहरूले बनाउने कानुन बहुसङ्ख्यक काम गरी खाने जनताको हितमा नभई सीमित पूँजीपति वर्ग र तस्करहरूको हितमा हुने बताउनुभयो ।
पूँजीवादी समाजमा शोषण गर्ने शैली फरक हुने औंल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, ‘तस्करहरूले जनप्रतिनिधिहरूलाई अगाडि राखेर प्राकृतिक स्रोत र साधन कब्जा गर्दैछन् ।’
भारतमा ५४ प्रतिशत सांसदहरू अपराधी रहेको र नेपालमा पनि यस्तै गलत प्रवृत्ति हावी हुँदै आएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
‘स्वयं कर निर्धारण चोरलाई सिढींमात्र भएको छ’, अध्यक्ष रोहितले भन्नुभयो ।
पूँजीवादको विकृतिलाई समाजवादी व्यवस्थाले मात्र समाप्त गर्न सकिने विचार राख्दै अध्यक्ष रोहितले सङ्घीयतामात्रै विकासको आधार नभएको बताउनुभयो ।
‘छलफल नै नगरी संसदबाट ऐन नियम पारित हुनु विडम्बना नै हो’, उहाँले भन्नुभयो ।  नयाँ पुस्तालाई देशको स्थितिबारे सचेत बनाउन सकेमात्र देश अगाडि बढ्ने धारणा राख्दै अध्यक्ष रोहितले शिक्षकहरूले देश र जनताको निम्ति सङ्घर्ष गर्ने विद्यार्थी तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसदमा नियमापति गर्ने अधिकार संविधानले दिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख तटस्थ हुनुपर्छ, सरकारलाई संसदप्रति जिम्मेवार बनाउनुपर्छ । संसद बौद्धिक बहस गर्ने थलो हुनुपर्छ । संसदलाई जीवन्त बनाउन सभामुखले भूमिका खेल्नुपर्छ ।’
सरकारमा बस्नेले देश र जनताको हितमा गर्ने काम, नीति र योजनाहरू स्पष्ट पार्नुपर्नेमा जोड दिंदै उहाँले नेमकिपाले विरोधको लागि विरोध गर्ने नभई देश र जनताको हितको लागि सरकारको आलोचना गरेको र गर्दै जाने धारणा राख्नुभयो ।
निजीकरणले हुने क्षतिबारे नयाँ पुस्तालाई शिक्षित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सांसद सुवालले देश र जनताको हितमा चिन्तन गर्ने विद्यार्थी तयार गर्न शिक्षकहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
सरकारमा बस्नेहरूको सोच राणा र पञ्चहरूको जस्तै भएकोले ख्वप विश्वविद्यालयको स्वीकृति नभएको उल्लेख गर्दै उहाँले अनुसन्धानमा जोड दिन र अनुसन्धानको वातावरण तयार गर्न ख्वप विश्वविद्यालय स्थापनार्थ निरन्तर लागिरहने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य, कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले सरकारको भरमा केही काम नहुने भएकोले भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
विदेशीको दबाबमा नेपालमा सङ्घीयता लागू भएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले साम्राज्यवादी र विस्तारवादीहरू नेपाललाई असफल बनाउन योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
विदेशीको पहुँच न्यायालयमा समेत पुगिसकेको उल्लेख गर्दै उहाँले आस्थाको केन्द्र न्यायालय पनि विवादको घेरामा परिरहेको बताउनुभयो ।
उहाँले स्थानीय पाठ्यक्रम तयार गर्न नगरपालिका लागिपरेको र भक्तपुरको इतिहास, संस्कृति, सम्पदालगायतको विषय स्थानीय पाठ्यक्रम संलग्न हुने जानकारी दिनुभयो ।
भनपाद्वारा सञ्चालित कलेजहरू देशकै नमुना कलेजको रूपमा विकास हुनुमा जनप्रतिनिधि, शिक्षक र नेमकिपाको धेरै लगानी रहेको उहाँको भनाइ थियो ।
प्रदेश नं. ३ का सदस्य सुरेन्द्रराज गोसाईंले समृद्धिको लागि कडा मेहनत आवश्यक छ भन्दै मानिसहरूको स्वभाव र विचारमा परिवर्तन नआएसम्म समृद्धि प्राप्त नहुने ठोकुवा गर्नुभयो ।
अध्ययन र तालिमको लागि चिनियाँ युवाहरू विदेश जाने गरेको उल्लेख गर्दै उहाँले सरकारले घोषणा गरेको समृद्धि मिडियाबाजी, छलछाम र छलकपटमात्र भएको बताउनुभयो ।
‘राजनीति विकृतिर्फ अगाडि बढिरहेको हुँदा बौद्धिक वर्ग राजनीतिकरूपमा अगाडि आउनुपर्छ,’ उहाँले भन्नुभयो ।
प्रदेश नं. ३ का अर्का सदस्य सृजना सायजूले शिक्षाविना विकास असम्भव प्रायः भएकोले शिक्षाको माध्यमबाट भनपाले सेवा गरिरहेको बताउनुभयो ।
देशको सार्वभौमिकता रक्षाको लागि सिपाहींजस्तै उभिने विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *