जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

साम्राज्यवादी शब्दकोशमा हिन्द–प्रशान्त शब्दावलीको लामो इतिहास छ । भू–राजनीतिका जर्मन सिद्धान्तकार कार्ल हाउसोफरले पहिलोपल्ट यस शब्दावलीको प्रयोग गरेका थिए । सन् १९२४ मा प्रकाशित उनको पुस्तक ‘प्रशान्त महासागरको भू–राजनीति’ लगायत उनका धेरै रचनामा यसको प्रयोग भएको थियो । सन् १९०८–१९०९ मा जापानमा हाउसोफर जर्मन सेनाका अधिकारी थिए । त्यसबेला उनले पूर्वी एसियाको विस्तृत भ्रमण गरेका थिए । यिनै अनुभवका आधारमा उनी प्रमुख भू–राजनीतिक विश्लेषककारूपमा उदाएका थिए । प्रथम महायुद्धमा उनी ब्रिगेड कमान्डर थिए । युद्धको अन्त्यसम्ममा उनी मेजर जनरलको पदमा उक्लिसकेका थिए । सुरुमा हाउसोफरका सहयोगी रुडोल्फ हेस पछि उनका प्रमुख शिष्य बने । सन् १९२० को दशकमा हेस नाजी पार्टीमा आबद्ध भए । सन् १९२३ को बियर हल विद्रोहपछि एडोल्फ हिटलर र हेसलाई ल्यान्ड्स्बर्ग किल्लामा कैद गरियो । कारागारमा हाउसोफरले हिटलर र हेस दुवैलाई भूराजनीतिबारे सिकाए । त्यही हिटलरले हेसलाई आफ्नो आत्मवृत्तान्त ‘मेन क्याम्फ’ टिपाएका थिए । त्यसको एक दशकपछि हिटलर जर्मनीमा सत्तासीन भए । हेसलाई नाजी पार्टीको सह–फ्युहरर नियुक्त गरियो । म्युनिख विश्वविद्यालयमा हाउसोफरका लागि रक्षा–भूगोलको विशेष प्रोफेसरी पैदा गरियो ।
हाउसोफरले विश्व साम्राज्यको रणनीति अघि सारे । त्यसमा हिन्द प्रशान्तलाई अलग्गै भूराजनीतिक क्षेत्र बनाइयो । यसअघि अमेरिकी प्रभुत्ववादअन्तर्गत अखिल–अमेरिका पैदा गरिएको थियो । त्यसरी नै सुदूर–पूर्व क्षेत्र काटेर नयाँ ‘क्षेत्र’ हिन्द–प्रशान्त क्षेत्र पैदा गरियो । सुदूर–पूर्वमा जर्मनी, जापान र सोभियत÷रूसको नेतृत्व हुने देखिएको थियो । हिन्द महासागर तथा पश्चिम प्रशान्त क्षेत्रमा बेलायत र अमेरिकाको औपनिवेशिक नियन्त्रणलाई माथ दिने लक्ष्य थियो । जर्मन–जापानी प्रभुत्ववादमुनि नौलो हिन्द–प्रशान्त सत्ता स्थापना गर्नुका साथै युरो–एट्लान्टिक क्षेत्रका पुराना उपनिवेशवादी शक्तिको दबदबालाई विश्व स्तरमा चुनौती दिन सक्षम बन्ने सोच थियो । हिन्द–प्रशान्त क्षेत्रमाथिको (युरो–एट्लान्टिक वा) बेलायती–अमेरिकी साम्राज्यवादको नियन्त्रण हाउसोफरले जर्मन–युरेसियाली गठबन्धनसामू नटिक्ने देखेका थिए । हाउसोफरको विश्लेषण ‘साम्राज्य निर्माणका दृष्टिले विवादित प्रशान्त’ भन्ने मान्यतामा आधारित थियो ।
दोस्रो विश्वयुद्धसम्म हाउसोफरको विचारले संरा अमेरिकामा धेरैको ध्यान तान्यो । सन् १९४२ मा विदेश मामिला परिषद्को प्रकाशन ‘फरेन अफियर्स’ मा हान्स विगर्टले एउटा लेख लेखे । हाउसोफरको पुस्तक ‘प्रशान्त महासागरको भूराजनीति’ उनको विचारमा “जर्मन भूराजनीतिको बाइबल” थियो तर अमेरिकामा त्यसलाई “उच्च विज्ञान” भनियो । शान्तिकालमा होस् वा युद्धकाल, दुवैमा हिटलर विजयी हुनुमा हाउसोफरलाई नै श्रेय दिइयो । विगर्टले आफ्नो लेखमा ‘गोरो जातिको एकता’ नष्ट गरेकोमा हाउसोफरको निन्दा गरे । बेलायत, संरा अमेरिका र फ्रान्सको विरोधमा जापान तथा अन्य युरेसियाली शक्तिसँग गठबन्धन गर्नुपर्ने हाउसोफरको मतको समेत खण्डन गरिएको थियो । (खासमा हाउसोफर आफै जातिवादी थिए । उनले फ्रान्सलाई ‘अर्धअफ्रिकी शक्ति’ भन्थे भने ‘मालिक जाति’ को सिद्धान्तमा विश्वास गर्थे ।) विगर्टले लेखे, “१९३९ अगस्ट ९ को जर्मनी र रूसबिच सम्पन्न अनाक्रमण सन्धि हाउसोफरको महाविजय थियो ।” यसले मध्य युरोपेली–युरेसियाली गठबन्धन सम्भव छ भनी देखायो । साथै, यसले युरेसियाले रचेको ‘विश्व द्वीप’ ले विश्वभरि दबदबा कायम गर्ने बाटो खुल्यो । भूराजनीतिका बेलायती जनक हाल्फोर्ड म्याकिन्डरले यस्तो वर्चस्व गलत हुने चेतावनी दिएका थिए । अनाक्रमण सन्धिपछि हाउसोफरले लेखे, “अब धुरीराष्ट्र र सुदूर पूर्वबिचको साझेदारी जर्मन आत्मासामू प्रस्टिएको छ । अन्त्यमा, पश्चिमा प्रजातान्त्रिक देशहरूको (चेपुवा घेराबन्दीको) एनाकोन्डा नीतिविरुद्ध पनि अस्तित्व सम्भव छ भन्ने आशा जागेको छ ।”
“साम्राज्यवादको उत्कृष्ट उपलब्धि’ मा हाउसोफरले खुसियाली मनाए । ‘माक्र्सवादी भौतिकवादीहरू’ ले मानव जातिको शत्रु ठान्ने साम्राज्यवाद उनको नजरमा “जीवनको संरक्षण” का लागि डार्विनवादी सङ्घर्षको अभिव्यक्ति थियो† “शक्ति प्राप्तिको आकांक्षा” को फल थियो† र थियो “फस्टाउने क्षेत्र” को खोजी । उनी अमेरिकी साम्राज्यवादको अचाक्ली हिंसात्मक इतिहासबारे अवगत थिए । तर, उनी त्यसको मात्र होइन, अमेरिकी साम्राज्यवादको छवि साम्राज्यवादविरोधी देखाउन जुटिरहेका अमेरिकी लेखक इजा बोमनको पनि तारिफ गर्थे । इजा बोमन भूराजनीतिक चिन्तक थिए । हाउसोफर अमेरिकाको वास्तविक तथा सम्भावित साम्राज्यवादी शक्ति विश्वमै ‘अप्राप्य’ मान्थे ।
हाउसोफरको भूराजनीतिक विश्लेषण पश्चिमा उपनिवेशवादी महाशक्तिहरूका नगरमा खतरनाक थियो । खासगरी दोस्रो विश्वयुद्धपछि उपनिवेशवादविरोधी सङ्घर्षको छाल उर्लिँदा उनीहरू आत्तिएका थिए किनभने हाउसोफरले बेलायती र अमेरिकी साम्राज्यवादको सच्चाइ उदाङ्ग्याइदिएका थिए । उनीहरूकतिसम्म थर्कमान थिए भने दसकौँसम्म शीतयुद्धको वैचारिक बहस हुँदा पश्चिममा सार्वजनिक रूपमा ‘भूराजनीति’ शब्द उच्चारण गर्नमा रोक लगाइएको थियो । सन् १९९० को दशकको आरम्भमा सोभियत सङ्घको विघटन भयो र त्यसपछि मात्र साम्राज्यवादको नाङ्गो रूप पुनः प्रकट भयो । यो ‘नाङ्गो साम्राज्यवाद’ विश्वमा एकछत्र दबदबा कायम गर्ने यात्रामा निस्कियो । हालसालै टिमोथी डोयल र डेनिस रुम्लेको पुस्तक आएको छ – ‘हिन्द–प्रशान्तको उदय र पुनआगमन’ । यो पुस्तकमा पुरानो भूराजनीतिलाई चीनसँगको अमेरिकाको पछिल्लो आमनेसामनेको स्थितिले पैदा गरेको ‘नयाँ शीतयुद्धको सन्दर्भमा राखेर ब्यूँताइएको’ छ । शीतयुद्धको अवधि (१९४६–१९९१) मा भूराजनीतिलाई उसको सक्कली रूपमा प्रचार नगरे पनि यसकै आधारमा संरा अमेरिकाको बृहत् साम्राज्यवादी रणनीतिको विकास गरिएको थियो । यस्तो विचारपछाडि निकोलस, स्पाइकमेन, ड्वाइट आइजनहावर, डीन एचिसन, जर्ज केन्नान, पाउल नित्ज, जोन फोस्टर डलेस, हेनरी किसिन्जर, युजिन रोस्तो, जिबिगन्यु ब्रेजिन्स्की र अलेक्जान्डर हेग जस्ता व्यक्ति थिए । यो लहरमा विदेश मामिला परिषद्लाई पनि राख्न सकिन्छ । बोलचालको भाषामा यो परिषद्लाई ‘साम्राज्यवादी सोचको सङ्घ’ पनि भनिन्छ ।
‘भूराजनीति’ को मामिलामा जस्तै ‘हिन्द–प्रशान्त’ शब्दावलीलाई पनि धेरै वर्षसम्म सार्वजनिक छलफलबाट गायब पारियो । दोस्रो विश्वयुद्धका धुरी देशहरूसँग जोडिएको हुनाले पनि त्यसमाथि बन्देज थियो । अर्कोतिर, त्यो शब्दावलीको पृष्ठभूमि लुकाउन जरुरी ठानियो । दक्षिण तथा पूर्वी एसियामा बेलायती, अमेरिकी र फ्रान्सेली उपनिवेशवादलाई चुनौती दिनका लागि त्यो शब्दावली जन्मेको थियो । सारमा त्यो शब्दावली विरोधी खेमाको साम्राज्यवादी दृष्टिकोण नै थियो । तर पनि त्यसलाई ढाकछोप गरियो । आज ‘साम्राज्यवादी दृष्टिबाट विवादित प्रशान्त क्षेत्र’ को त्यो सुरुआती विचार टाउको टेकी उभिएको छ । हाउसोफरको मूल विचारमा जस्तो आज यो अवधारणाले हिन्द महासागर र पश्चिम प्रशान्तमा अमेरिका र बेलायतको साम्राज्यवादी दबदबालाई चुनौती दिन्न । बरु, आजभोलि ‘हिन्द–प्रशान्त’ शब्दावलीले चीनलाई घेराबन्दीमा पार्ने र रणनीतिक रूपले बाटो छेक्ने बृहत् साम्राज्यवादी रणनीतिलाई जनाउँछ । चीनलाई अहिले अमेरिकी प्रभुत्वमा रहेको ‘विधिमा आधारित व्यवस्था’ लाई खतरामा पार्ने ‘संशोधनवादी शक्ति’ को रूपमा प्रचार गरिएको छ । संरा अमेरिकाले विगत केही वर्षमा आधिकारिक रूपमै आफूलाई हिन्द–प्रशान्त क्षेत्रको महाशक्ति घोषणा गरेको छ । यसबाट उसले आफूलाई यस क्षेत्रमा आफ्नो सार्वभौम सत्ता स्थापित गर्न खोज्दै छ । सन् २०२१ मा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उद्घोष गरे, “संरा अमेरिका धेरै अघिदेखि हिन्द–प्रशान्त राष्ट्र रहँदै आएको छ र सदा रहनेछ । हाम्रो प्रशान्त तटको राज्य गुआमदेखि लिएर प्रशान्तभरि छरिएका हाम्रा भूभाग (उपनिवेश) सम्म यो एउटा भौगोलिक तथ्य हो ।”
सार्वभौम शासन स्थापना । अमेरिकाका मित्र जापानी प्रधानमन्त्री सिन्जो आबेले सन् २००७ मा यो बृहत् रणनीतिमा सङ्क्रमणको ढोका खोले । यसको लागि उनले हिन्द र प्रशान्त महासागरहरूको सङ्गमको विचार अघि सारे । चीनविरुद्ध उनले भारतसँग एउटा सामरिक सम्वाद स्थापित गर्ने प्रयास गरे । यसै सिलसिलामा त्यो सङ्गमको विचार आएको थियो । यद्यपि दोस्रो विश्वयुद्ध पहिलोपल्ट ‘हिन्द–प्रशान्त’ शब्दावली प्रयोग गर्ने प्रमुख राजनीतिज्ञ हिलारी क्लिन्टन थिइन् । अमेरिकी विदेशमन्त्रीको हैसियतले विस्तृत एसिया भ्रमणको सुरुआत गर्दै उनले सन् २०१० मा हवाइ टापुमा दिएको मन्तव्यमा त्यो शब्दावलीको प्रयोग भएको थियो । मन्तव्यमा उनले एसियामा नयाँ र फराकिलो रणनीतिक साझेदारीका निम्ति भूराजनीतिक अवधारणाको रूपमा हिन्द–प्रशान्तलाई अघि सारिन् । उनको मन्तव्य र समग्र एसिया भ्रमण खासमा लगत्तै अर्को वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले ल्याएको ‘धुरी एसियातिर’ नीतिको प्रस्तावना मात्र थियो । क्लिन्टनको मन्तव्यमा ‘हिन्द–प्रशान्त घाटी’ लाई अमेरिकी र भारतीय जलसेनाले मिलेर काम गर्ने इलाका बनाइयो । ‘विस्तृत संलग्नता’ र ‘अग्र तैनाथी’ को सिलसिलामा खासगरी दक्षिण चीन सागरमा यस्तो कारबाही हुने जनाइयो । नयाँ हिन्द–प्रशान्त रणनीति सिधै जनगणतन्त्र चीनविरुद्ध केन्द्रित थियो भन्ने तथ्य क्लिन्टनको मन्तव्यमा सिधै अभिव्यक्त नभए पनि हरफभित्र लुकेको थियो ।
सन् २०१० को क्लिन्टनको मन्तव्यको अर्को उद्देश्य संरा अमेरिका, जापान, अस्ट्रेलिया र भारतबिचको ‘क्वाड’ (चौपक्षीय सुरक्षा सम्वाद) ब्युँताउनु थियो । अस्ट्रेलियामा केभिन रुड प्रधानमन्त्री बनेपछि क्वाड सम्वादमा विराम लागेको थियो । क्लिन्टनको मन्तव्य आउनुभन्दा केही महिनाअघि मात्र अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री जुलिया गिलार्ड आइन् र उनले सम्वाद अघि बढाइन् । ‘हिन्द–प्रशान्त घाटी’ लाई भारतसँगै अमेरिकी सेनाको नयाँ खेल मैदानको रूपमा अघि सार्दै गर्दा क्लिन्टनले मौका छोपेर पुनर्जीवित क्वाडको सामरिक महत्व बढाइदिइन् । यसरी भारतका साथै चीनविरुद्ध सम्भावित फराकिलो तालमेल हुनसक्ने सङ्केत गरियो । (यद्यपि संरा अमेरिकासँग भारतको कुनै रक्षा सम्झौता भएको थिएन ।) क्लिन्टनले छोटकरीमा उल्लेख गरेको भए पनि हिन्द–प्रशान्तले नाटकीय रङ देखाउन थालिहाल्यो । अर्को वर्ष त्यो शब्दको तीव्र प्रसार भयो । पश्चिम प्रशान्त क्षेत्रमा अमेरिकाका दुई महत्वपूर्ण साझेदार जापान र अस्ट्रेलियाले त्यसको भारी प्रचार गरे र अमेरिकाका रणनीतिक दस्तावेजहरूमा पनि तिनको प्रयोग बढ्यो । यद्यपि ओबामाको कार्यकालमा हिन्द–प्रशान्त अफ्रिको पूर्वी तटदेखि फैलेर पश्चिम प्रशान्तसम्म पुग्ने दुई महासागरको सङ्गमस्थल मात्र रह्यो । त्यतिबेला त्यसलाई गुआम र अमेरिकी सामोआ लगायत त्यस भेगका अमेरिकी उपनिवेशसँगै जोडिएको तर अमेरिकी सार्वभौमसत्ताको प्रभावबाहिरको इलाका ठानियो ।
सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा संरा अमेरिकाको ‘राष्ट्रिय सुरक्षा रणनीति’ तयार भयो । त्यो रणनीतिमा हिन्द–प्रशान्तलाई विश्वकै प्रमुख रणनीतिक इलाका बनाइएको थियो र रणनीति विशेषतः चीनविरुद्ध सम्भावित युद्धमा केन्द्रित थियो । यो नयाँ अवधारणामा रहेर अमेरिकाको प्रशान्त कमान्ड (युएसप्याकम) को नाम फेरेर अमेरिकाको हिन्द–प्रशान्त कमान्ड (युएसइन्डोप्याकम) राखियो । हिन्द–प्रशान्त क्षेत्रको नयाँ सामरिक नक्सा बन्यो । त्यसमा ‘युएसइन्डोप्याकम’ को कार्यक्षेत्र अथवा हिन्द–प्रशान्तलाई चीनसँग भिड्ने मूल सामरिक स्थलको रूपमा अघि सारियो । यो मुठभेडलाई अहिले अमेरिकी शासकीय तथा रणनीतिक वृत्तमा चीनविरुद्ध ‘नयाँ शीतयुद्ध’ पनि व्यापक उल्लेख गरिएको छ । यसरी ‘युएसइन्डोप्याकम’ (नक्सा १) ले हिन्द–प्रशान्तको समग्र नक्सालाई ओबामा सरकारको अघिल्लो अवधारणामा सङ्केत गरिएकोभन्दा पनि पूर्वतिर सा¥यो । अब यसले भारतको पश्चिमी सीमादेखि अमेरिकाको प्रशान्त तटसम्मको भूभाग जनाउने भयो । यसमा हवाइ टापुदेखि प्रशान्त क्षेत्रका सबै औपनिवेशिक इलाका समेटियो र संरा अमेरिका आफै पनि हिन्द–प्रशान्तको हिस्सा बन्यो । यो ‘युएसइन्डोप्याकम’ ले अघि सारेको सैनिक–रणनीतिक नक्सा हो । संरा अमेरिकाले उप–इलाकाबारे गर्ने सम्पूर्ण सामरिक छलफलमा अहिले यो नक्सा हावी छ । यसभित्र अमेरिकाका धेरै सैन्य अखडा छन् । यी सबैलाई अमेरिकाको केन्द्रीय कमान्ड (युएससेन्टकम) सँग जोड्ने हो भने चीनवरपर एउटा ‘ठूलो फन्दा’ को आकार बन्छ । क्यानडाले भनेजस्तो हिन्द–प्रशान्तको आर्थिक व्याख्यामा अमेरिका (वा क्यानडा) पर्दैनन् । बरु हिन्द–प्रशान्त त्यस भेगका ‘चालिस अर्थतन्त्र’ मा सीमित छ । यसमा प्रशान्त महासागरका टापु देशहरू (जसमध्ये केही अमेरिकी उपनिवेश हुन्) लाई एउटै एकाइको रूपमा राखिएको छ ।
रणनीतिक दस्तावेजहरूमा संरा अमेरिकाले चीनलाई आधिकारिकरूपमै रूसको आड पाइरहेको ‘संशोधनवादी शक्ति’ भनेको छ भने रूसलाई ‘हानिकारक राज्य’ भनेको छ । यसका साथै उसले प्रजग कोरियालाई ‘बदमास राज्य’ को बिल्ला लगाएको छ । चिनियाँ अर्थतन्त्र तीव्र गतिमा बढिरहेको हुनाले चीनलाई अमेरिकाको बृहत् साम्राज्यवादी रणनीतिको प्रमुख शत्रुको रूपमा हेरिएको छ । चिनियाँ अर्थतन्त्र अहिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो भने छिट्टै उसले यस मामिलामा संरा अमेरिकालाई उछिन्ने सम्भावना छ । दोस्रो विश्वयुद्धको अन्त्यसँगै अमेरिकी दबदबामा स्थापित भएको साम्राज्यवादी ‘विधिमा आधारित विश्व व्यवस्था’ सामू घुँडा टेक्न नमानेकैले चीनलाई प्रमुख शत्रु बनाइएको हो । अमेरिकी रक्षा मन्त्रालयको सन् २०१९ को दस्तावेज ‘हिन्द–प्रशान्त रणनीति’ मा उल्लेख छ – हिन्द–प्रशान्तलगायत सारा विश्वमा संरा अमेरिकाको ‘सर्वश्रेष्ठ सैन्य शक्ति’ को स्थान जोगाइराख्नु नै अमेरिकाको मूल रणनीतिक उद्देश्य हो । यसैबाट चीनको लमक सुस्त पार्ने र विश्वमा उसको शक्तिको प्रभावलाई निस्तेज पार्ने अमेरिकी प्रयासहरूको अर्थ पहिल्याउन सकिन्छ । चीनविरुद्ध नयाँ शीतयुद्ध जित्न अमेरिकाले अपनाएका सबैजसो रणनीति चीनको सामरिक–भूराजनीतिक पराजयमा केन्द्रित छन् । खासगरी चिनियाँ राष्ट्रपतिलाई सत्ताच्युत गर्ने र चिनियाँ कम्युनिस्ट पार्टीको भव्य प्रतिष्ठा चकनाचुर पार्दैै चीनभित्रैबाट सत्तापरिवर्तन गराउने र बाहिरबाट चीनलाई अमेरिकी साम्राज्यवादको जुवामुनि जोताउनु अमेरिकाको लक्ष्य हो ।
झट्ट हेर्दा हिन्द–प्रशान्त क्षेत्रमा चीनको तथाकथित ‘जोडबल र आक्रामकता’ को प्रतिक्रियामा यी क्रियाकलाप भइरहेको दलिल दिइएको छ । तर, यस्तो आक्रामकताको एउटा उदाहरण दिन पनि वासिङ्टनलाई हम्मेहम्मे छ । अन्य महाशक्तिजस्तै चीनले रणनीतिक र आर्थिक कारणहरूले गर्दा दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकता र नियन्त्रण सुदृढ बनाउन खोजेको कुरा साँचो हो । यसैकारण आज फिलिपिन्सलगायत केही देशसँग चीन कानुनी विवादमा मुछिएको छ । पेइचिङ आफ्नो एक चीन नीतिमा पनि त्यस्तै अडिग छ । विश्वका सबैजसो देशले उसको नीतिमा समर्थन जनाएका छन् । आधिकारिक रूपमा संरा अमेरिका आफैले पनि यो नीति मान्छ । एक चीन नीति अनुसार अलग्गै सरकार भए पनि ताइवान चीनको अंग हो र एक दिन चीनको मूल भूमिसँग उसको एकीकरण हुनेछ भन्ने कुरामा कानुनी रूपमा अमेरिका पनि सहमत छ । अर्कोतिर, यीमध्ये कुनै पनि चिनियाँ स्वार्थका कारण सग्लो हिन्द–प्रशान्त क्षेत्रमा सैन्य आक्रमणको खतरा देखापर्दैन । पूर्वी एसियाका प्रायः सबै देशको प्रतिव्यक्ति सैन्य खर्च पछिल्लो दुई दशकमा घट्दो क्रममा छ । अमेरिकासँग रक्षा सम्झौता गरेका र नगरेका दुवैथरी देशको स्थिति यस्तै छ । यद्यपि, पछिल्ला केही वर्षमा अमेरिकाले यस स्थितिमा परिवर्तन ल्याउन खोजेको छ । बरु चीनको उदयलाई आफ्नो विश्व वर्चस्वको लागि खतरा देख्ने देश संरा अमेरिका हो । उसैले हिन्द–प्रशान्त खण्डलाई नयाँ शीतयुद्धका लागि मुख्य रणमैदानको रूपमा हेर्दै छ । उसको यही सोचले सामग्र मानव जातिलाई तेस्रो विश्वयुद्धतर्फ धकेलिरहेछ ।
(लेखक जोन बेलमी फोस्टर ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सम्पादक तथा अरेगन विश्वविद्यालयमा समाजशास्त्रका विशिष्ट प्रोफेसर हुन् । हालै मात्र उनको पुस्तक ‘पर्यावरणको द्वन्द्ववाद’ (२०२४) प्रकाशित भएको छ । अर्का लेखक ब्रेट क्लार्क ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सहायक सम्पादक तथा उताह विश्वविद्यालयमा समाजशास्त्रका प्रोफेसर हुन् । उनी जोन बेलमी फोस्टरसँगै ‘प्रकृतिको लुट’ (२०२०) पुस्तकका सहलेखक हुन् ।
स्रोत : मन्थ्ली रिभ्यू । पूर्णाङ्क ७६ । अङ्क ३ । सन् २०२४ । अनु. सम्यक)
Monthly Review – Imperialism in the Indo-Pacific-An Introduction
Leave a Reply