भर्खरै :

‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ पढेपछि

  • श्रावण ३२, २०८२
  • अनुराग नेपाली
  • विचार
‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ पढेपछि

ब्रिटिश साम्राज्यका नेपाली मोहरा पुस्तक झलक सुवेदीद्वारा लेखिएको गैरआख्यान पुस्तक हो । यस पुस्तकमा नेपालका ब्रिटिश सेनाको कथा, इतिहास, जीवन, सम्मान, दुःखसुख र उनीहरूमाथि भएको शोषण र अन्यायको बारेमा लेखिएको छ । ब्रिटिश सेनाको हकहितको लागि आवाज उठाउने गेसो भन्ने संस्थाको बारेमा उल्लेख गरेको छ ।
यस पुस्तकमा पदमबहादुर गुरुङ प्रमुख पात्र छन् । उनी एक भूपू ब्रिटिश सेना हुन् । उनी म्याग्दी जिल्लाको गुरुङ परिवारको एक्ला छोरा हुन् । परिवारमा आमा र दुई दिदी छन् । पदमबहादुरका बुबा पनि एक भूपू सैनिक थिए । उनलाई गाउँमा समकाजी र कसैले काजी भनेर चिन्दछन् । एकाबिहान समकाजी र उनका साथीहरू लाहुरतिर हिँड्दछन् । उनीहरू पारिवारिक सल्लाहअनुसार लाहुर गएका थिए । यसरी समकाजी गाउँले केटाबाट लाहुरे बन्न पुग्दछन् । गाउँमा लाहुरेहरूको बेग्लै मानसम्मान, इज्जत र पहिचान हुन्छ । समाजको मनोविज्ञानले पनि लाहुरे पेसालाई प्रगति गरेको मान्दछ ।
यस पुस्तकको आधारमा ब्रिटिश सेनाको इतिहास अमरसिंह थापा र अक्टरलोनीबिच भएको समझदारी पत्रबाट सुरु भएको पाइन्छ । उक्त सम्झौता पत्रको धारा ५ मा नेपाली युवाहरू ब्रिटिश सेना हुन पाउने प्रावधान छ । विसं १८१४–१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबिच युद्ध चलेको थियो । उक्त युद्धमा नेपालले पराजय भोग्नुप¥यो । त्यस युद्धमा इस्ट इन्डिया कम्पनीका लेफ्टिनेन्ट फ्रेडरिक थोङ गोर्खालीको कब्जामा परेका थिए । युद्धको बेला उनी गोर्खालीको बहादुरी देखेर आकर्षित भएका थिए । उनले गोर्खालीलाई आफ्नो देशका सैनिक बनाउने योजना बनाए । पछि उनको योजना सफल पनि भयो । उनी अहिले फादर अफ गोर्खाज उपनामले चिनिन्छन् ।
सुरुमा ब्रिटिश सरकारले करिब २ लाख जति गोर्खाली सेना भर्ती लिएको थियो । आकर्षक तलब, राम्रो लुगा–कपडा र मीठो खानाको व्यवस्था थियो । यसको प्रलोभनले पनि गोर्खालीहरू आफ्नो ज्यान, परिवार र समाजको पर्वाह नगरी लाहुरतिर हिँडे । सोझा गोर्खालीहरूले ब्रिटिश साम्राज्यको स्वार्थ बुझेनन् । ब्रिटिश सेनामा भर्ती हुनेमा बहुसङ्ख्यक मगर, गुरुङ जातिका युवा थिए । पछि मात्र खस, ब्राह्मण, राई र लिम्बु जातिका युवा भर्ती भए । यसरी ब्रिटिश सेनाका युवाहरूलाई उपयोग गरेर ब्रिटिश सेनाले आफ्नो साम्राज्यवाद पछिसम्म कायम ग¥यो ।
पहिलो र दोस्रो विश्वयुद्धको समयमा गाउँगाउँमा ब्रिटिश सरकारबाट हुन्डीहरू आउँथे । उनीहरू गुरुङ र मगर जातिका युवालाई खोजीखोजी ब्रिटिश सेनामा भर्ती गराउँथे । यसो गरेबापत उनीहरूलाई कमिसन आउँथ्यो । उनीहरूको पेसा नै यही हुन्थ्यो । कति गाउँहरू पुरुषविहीन बन्न पुगेका थिए । यसरी भर्ती गरिएका युवाहरू विश्वका विभिन्न कुनामा पुग्दथे । प्रथम विश्वयुद्धदेखि अहिलेसम्मका युद्ध, विद्रोह र झडपमा गोर्खाली समावेश नभएको कमै सुनिन्छ । गोर्खालीले अहिलेसम्म सयौँ युद्धहरू प्रत्यक्ष रूपमा लडिसकेका छन् । नेपालसँग कहिल्यै शत्रुता नभएका देशमा पनि गोर्खालीहरूले युद्ध लडेका छन् । उनीहरूलाई परास्त गरेका छन् । ती राष्ट्रका जनता गोर्खालीहरूलाई घृणा गर्छन् । गोर्खालीहरू दानव हुन् भनी संज्ञा दिएका छन् । मान्छेले मान्छेको मासु खाने दानव हुन् गोर्खाली भन्ने प्रचार छ ।
नेपालको लागि यो भन्दा लाजमर्दो कुरा अरु के होला ? तर हामी लाज मान्दैनौँ । बरु यसलाई आफ्नो बहादुरी ठान्दछौँ । गोर्खालीको सन्तान भनी गर्व गर्दछौँ । यो कस्तो बहादुरी ? यो कस्तो फोस्रो गर्व ? वास्तवमा भन्नुपर्दा यो दासताको नयाँ रूप हो । यो कुरा ब्रिटिश सेनाको गोरा अफिसरले पनि स्पष्ट पारेका छन् । उनीहरूले गोर्खालीहरूमाथि गर्ने दोस्रो दर्जाको व्यवहारले स्पष्ट पार्दछ । गोर्खालीहरूलाई नीच स्तरको गाली गर्छन् गोरा अफिसरहरू । गोराहरूले गोर्खालीहरूको मौलिक हक खोसेका छन् । उनीहरू गोर्खालीहरूको आत्मसम्मान र इज्जतमाथि धावा बोल्छन् । बेलायतका गोरा अफिसरहरू उच्च पदमा पुगेका गोर्खाली अफिसरहरूलाई अनैतिक गाली गर्न लगाउँछन् । जसले बढी यस्तो गाली गर्दछ गोरा अफिसरले उसको दर्जा बढाइदिन्छ । गोरा अफिसरहरू भन्छन्, “तिमीहरू भाडाका सिपाही हौ, हामीले तिमीहरूलाई तिमीहरूको देशबाट खरिद गरिसक्यौ, त्यसैले वार्षिक रूपमा तिम्रो सरकारलाई रोयल्टी बुझाउँछौ, अब तिमीहरूको काम र कर्तव्य हाम्रो सेवा गर्नु, हाम्रो सरकारको रक्षा गर्नु हो” । गोर्खाली सैनिकले गर्ने सानो गल्तीमा पनि ठुलो सजाय दिन्छन् । गोर्खालीको मानसम्मान र इज्जतमाथि आँच आउने गरी गाली गर्छन् । यसलाई बहादुरी भन्ने कि दासता ?
गोर्खालीका दुःखपीडा र पीरमर्का अनेक छन् । कोही युद्धमा परी मर्छन् । कोही लुलालङ्गडा भई घर फर्किन्छन् । कोही बेपत्ता हुन्छन् । कोही अपहरणमा पर्छन् । अपहरणमा परी निर्मम तवरले हत्या पनि हुन्छ गोर्खाली सैनिकहरूलाई । कोही त ज्याला नै नपाई रित्तो हात घर फर्किन्छन् । कोही अपाङ्ग भएर राम्रो उपचार नपाई, ज्याला नपाई रित्तो हात घर फर्किन्छन् । यसरी घरमा कुरिबसेका बुबाआमा आफ्नै हातले छोराको दाहसंस्कार गर्न बाध्य छन् । कतिका बुबाआमाको आसभरोसा टुट्छ । कतिका बालबालिका टुहुरा हुन्छन् । कति नवयुवतीको सिन्दुर पुछिन्छ । योभन्दा दुःखको क्षण अरु के होला ? यसरी गोर्खालीहरू बिनाशत्रुता आफ्नो ज्यानको आहुति दिन्छन् ब्रिटिश साम्राज्यको लागि ।
सन् १९९० मा गेसो संस्थाको स्थापना भयो । यो संस्थाका संस्थापक सभापति भूपू सैनिक पदमबहादुर गुरुङ हुन् । यो संस्था भूपू सैनिकको साझा सङ्गठन हो । यसको मुख्य कार्य ब्रिटिश सेनामा गएका नेपालीहरूको पक्षमा आवाज उठाउने हो । पहिले यो संस्थाले भूपू सेनाको तलबको लागि सङ्घर्ष गरेको थियो । यो संस्थाले ब्रिटिश सेनाको हकहित, अधिकार तथा प्रजातान्त्रिक अधिकारका लागि सङ्घर्ष गरेको छ । यो संस्थाको पहलमा सन् २००९ मा ब्रिटिश सेनामा गएका नेपालीले बेलायतमा घर बनाउन पाउने आदेश पारित ग¥यो । अहिले यो संस्थाको पहलमा सेनाका छोराछोरी बेलायतमा पढ्न पाउने व्यवस्था लगायत विभिन्न समसामयिक मुद्दामा पनि सङ्घर्ष गरिरहेको छ ।
यो पुस्तक पढ्दा मैले कतै भावुक, कतै चिन्तित र कतै खुसी अनि गर्वको महसुस गरेँ । सबै नेपाली युवाले यो पुस्तक पढ्न जरुरी छ । हाम्रा शासकहरूले देशका सोझासाझा जनतालाई विदेशी साम्राज्यवादको चरणमा अर्पण गरेर यो देशलाई युवा जोश जाँगरबाट वञ्चित गरिरहेको समस्या आजको मात्र रहेनछ । सुगौली सन्धिदेखि नै नेपाली युवाहरूलाई साम्राज्यवादको सेवक बन्ने भाग्य लेखिदिएका नेपालका शासकहरू राणा, पञ्च वा गणतान्त्रिक जे नाम दिऔँ, सबै एउटै हुन् । उनीहरूले यसो गरेबापत ब्रिटिश सरकारले आर्थिक सहयोग पठाउँछ । भन्न त यो रकम विकासको लागि भनिन्छ । तर, यो रकम शासकहरूको खल्तीमा जान्छ । यसरी हाम्रो सरकारले हामी सोझासाझा युवालाई ब्रिटिश सरकारसँग बेचेको छ । युवालाई ज्ञान, सीप सिकाउन वैदेशिक रोजगारीमा पठाएको भन्छन् शासकहरू । तर, यो रोजगारी नभई साम्राज्यवादको दास बन्न पठाएको हो । यो कुरा सबै नेपाली युवाले बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *