भर्खरै :

भक्तपुरमा सहिष्णु र सभ्य समाज निर्माण : चीनको सिकाइ

भक्तपुरमा सहिष्णु र सभ्य समाज निर्माण : चीनको सिकाइ

मेरो साथी नरेन्द्र मूल केही वर्षअघि चीन पुगेका थिए । सहरको भीडभाड, अग्ला भवनहरू र अपरिचित भाषाले उनलाई अलि हतार र अलमलमा पारेको थियो । एक दिन उनीले आफ्नो गन्तव्य खोज्दै सडकमा लामो समय भौतारिए । कुन दिशातिर जाने ? कुन मोड समाउने ? यो सबै उनले नजानेको ठाउँमा अलिकति तनावको विषय बन्दै गयो ।
अन्ततः उनले बाटोमा हिँडिरहेका एक चिनियाँ युवकलाई रोक्दै सोधे, “यो ठेगानातिर कसरी जान सकिन्छ ?”
त्यो चिनियाँ युवक मुस्कुराउँदै उत्तर दिनै लागे जस्तो देखिन्थे, तर आश्चर्य के भयो भने, ती युवकले दिशा मात्र देखाइदिएनन् बरु, उनी सीधै साथीको नजिकै आएर भने, “तपाईंलाई मैले नै पु¥याइदिन्छु ।”
साथी सोच्दै थिए, यत्रो व्यस्त सहरमा अपरिचित मानिसले आफ्नो समय खर्चेर अरूलाई किन यसरी सहयोग गरे ? तर त्यो युवक झर्को नमानी बाटोमा अघि–अघि हिँड्दै, मित्रवत् व्यवहार गर्दै अन्ततः साथीलाई सही गन्तव्यमा पु¥याइदिए ।
गन्तव्यमा पुगेर साथीले धन्यवाद दिँदै भने, “तपार्इँको यो सहयोगको कारण म साँच्चिकै छक्क परेको छु । यो दुःख किन गरिदिनुभयो ?”
त्यो युवकको उत्तर अझै अनौठो लाग्यो, “हाम्रो स्थानीय सरकारको प्रणाली यस्तो छ, हामीले समाजमा देखाएको व्यवहार, सहयोग र जिम्मेवारीको मूल्याङ्कन हुन्छ । यसरी सहयोग गर्दा हामीलाई उच्च मूल्याङ्कन र सम्मान मिल्छ ।”
त्यो क्षणमा मात्रै साथीको मनमा कुरा प्रस्ट भयो– सडकमा देखिएको त्यो सद्भाव व्यक्तिगत सेवा मात्र होइन, बरु प्रणालीगत प्रोत्साहन र सामाजिक संस्कारको परिणाम थियो । तर, उनको नजरमा त्यो सहयोगको न्यानोपन, त्यो सहज मुस्कान– कागजमा अङ्कित कुनै अङ्कभन्दा धेरै मानवीय थियो ।
चीनको ‘सामाजिक क्रेडिट प्रणाली’ (Social Credit System) हालको विश्वमा नागरिकको व्यवहार सुधारको सबैभन्दा चर्चित उदाहरण हो । यस प्रणालीमा देशभर फैलिएका सीसीटीभी क्यामेरा र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर सार्वजनिक स्थानमा मानिसहरूको गतिविधि निरन्तर निगरानी गरिन्छ । अरूलाई मद्दत गर्ने, ट्राफिक नियम पालना गर्ने, सफा राख्नेजस्ता नागरिकले सकारात्मक काम गरे भने अङ्क (Points) पाउँछन्, जसले उनीहरूको ‘सामाजिक क्रेडिट स्कोर’ बढाउँछ । यो उच्च स्कोर हुनेहरूले ऋण पाउन सजिलो, यातायातमा छुट, रोजगारीमा प्राथमिकता वा अन्य सरकारी सुविधा पाउँछन् । झगडा गर्ने, नियम तोड्ने, धोखाधडी गर्नेजस्ता नकारात्मक व्यवहारले स्कोर घटाउँछ, जसका कारण यातायात प्रतिबन्ध, सेवा नपाउने वा सामाजिक कलङ्क भोग्नुपर्छ । यसको उद्देश्य प्रारम्भमा बाह्य दबाब र पुरस्कारमार्फत अनुशासन स्थापना गर्ने हो, ताकि समयसँगै यो बानीमा परिणत होस् ।
जापानमा भने यस्तै व्यवहार सुधार बाल्यकालदेखि घर, विद्यालय र समाजको दैनिक शिक्षाबाट हुन्छ । त्यहाँको सांस्कृतिक मूल मन्त्र “अरूलाई दुःख नदेऊ” (meiwaku o kakenai) हो । सामाजिक सञ्जालमा देखेको एउटा घटना हो । १२–१३ वर्षको एक बालकले साइकल चलाउँदा सडक छेउमा पार्क गरिएको कारमा हल्का क्षति पु¥याउँछ । कार मालिक त्यहाँ थिएनन्, तर बालकले आफ्नो सम्पर्क नम्बर र क्षतिपूर्ति दिने इच्छा लेखेर कारमा टाँसिदिन्छ । उनले यो पुरस्कार वा डरका कारण नभई केवल आन्तरिक विवेकका कारण गरे । जापानको यो अवस्था पनि एकै दिनमा आएको होइन, द्वितीय विश्वयुद्धपछि कडा कानुनी संरचना, नैतिक शिक्षा र सामुदायिक दबाबको संयोजनबाट सुरु भएर पुस्तौँसम्म बानी र संस्कारमा परिणत भएको हो ।
सिङ्गापुरको उदाहरण अझै व्यवहारिक छ । १९७० देखि ९० को दशकसम्म त्यहाँका सडकमा फोहोर, भीडभाड र सार्वजनिक अशान्ति सामान्य थियो । सरकारले “Keep Singapore Clean” अभियान चलाउँदै कठोर जरिवाना, CCTV निगरानी र निरन्तर जनचेतनामूलक सन्देशहरू फैलायो । सुरुमा मानिसहरूले जरिवानाको डरले सफाइ र शिष्टाचार पालना गरे तर केही वर्षमै सफा सडक र अनुशासनलाई राष्ट्रिय गर्वको हिस्सा मान्न थाले । आज सिङ्गापुर संसारकै सफा र सुरक्षित सहरहरूमध्ये एक हो ।
नेपालको सन्दर्भमा भने अवस्था फरक छ । यहाँ सार्वजनिक स्थानमा सानो विवादमा पनि शारीरिक झगडा, आक्रामक बोली र नियम उल्लङ्घन सामान्य देखिन्छ । हालैमात्र गाईजात्राको दिन तीन चार जना युवा मिलेर एकजना मान्छेलाई टौमढीजस्तो सार्वजनिक ठाउँमा लछारपछार गरी पिटे । कानुनी कारबाही ढिलो, कमजोर वा अनिश्चित हुने, सामाजिक दबाबको कमी, विद्यालयमा भावनात्मक नियन्त्रण वा विवाद समाधानको शिक्षा नहुनु र सार्वजनिक पूर्वाधारको अव्यवस्था — यी सबैले आक्रामक र नियमविहीन व्यवहारलाई बढावा दिएको छ । भीड भएको सडक, असङ्गठित यातायात र सार्वजनिक स्थानमा तनावपूर्ण वातावरणले समस्या झन् बढाउँछ ।
यसलाई सुधार गर्न भक्तपुर नगरपालिकाले पनि चीनजस्तो निगरानी प्रणाली र प्रोत्साहन, जापानजस्तो नैतिक शिक्षा र सिङ्गापुरजस्तो जनचेतना अभियानको संयोजन गर्न सकिन्छ कि भनेर यस्तै अभियानको पहल गर्ने हो कि ? यदि सफल भएमा शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको पहल उदाहरणीय कार्य भएजस्तै यो पनि समग्र नेपालको लागि उदाहरणीय कार्य हुनेछ । प्रारम्भिक चरणमा, भीडभाड हुने ठाउँ, चोक, सरकारी कार्यालय र यातायात केन्द्रमा CCTV जडान गरी हिंसात्मक वा अव्यवस्थित व्यवहारमा तत्काल कारबाही गर्नुपर्छ । सकारात्मक व्यवहार देखाउनेलाई स्थानीय तहबाट सार्वजनिक प्रशंसा, प्रमाणपत्र वा सानो आर्थिक सुविधा प्रदान गर्न सकिन्छ । विद्यालयस्तरदेखि नै सहिष्णुता, आत्म–नियन्त्रण र जिम्मेवारीबारे व्यवहारिक पाठ सुरु गर्नुपर्छ, जसमा भूमिका खेल (role play) र वास्तविक जीवनका अभ्यासहरू समावेश हुन्छन् । अभिभावकलाई पनि यस प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउन आवश्यक छ, ताकि घरमै यी मूल्यहरू बलियो रूपमा स्थापित होस् ।
दीर्घकालीन रूपमा, यो प्रक्रिया तीन चरणमा अघि बढ्छ — पहिलो, कडा कानुन र प्रोत्साहनमार्फत बाह्य नियन्त्रण† दोस्रो, निरन्तर अभ्यासबाट बानीमा परिणत गर्ने र तेस्रो, पुस्तौँसम्मको अभ्यासबाट संस्कार र आन्तरिक विवेकको रूपमा स्थिर बनाउने । यसरी मात्र हामी नेपालमा सार्वजनिक सहिष्णुता र सभ्यता पुस्तौँसम्म कायम राख्न सक्छौँ, जसले सडकमा झगडा होइन, सहयोग र सम्मानको वातावरण निर्माण गर्नेछ । अन्ततः, नेपाली समाज पनि चीन, जापान र सिङ्गापुरजस्तो अनुशासन र शान्त वातावरणका लागि चिनिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *