भर्खरै :

नेपालमा जनस्वास्थ्य अवस्था : समस्या, सम्भावना र समाधान

नेपालमा जनस्वास्थ्य अवस्था : समस्या, सम्भावना र समाधान

जनस्वास्थ्य भन्नाले व्यक्तिको मात्र नभई सम्पूर्ण समुदाय वा जनसमूहको स्वास्थ्यलाई सम्बोधन गर्ने विषय र अभ्यासलाई बुझिन्छ । यसले रोगको उपचार भन्दा बढी रोगको रोकथाम, स्वास्थ्य प्रवर्धन, वातावरणीय स्वास्थ्य, पोषण, सरसफाइ, सुरक्षित पानी, मातृ–शिशु स्वास्थ्य तथा स्वास्थ्य नीति निर्माणजस्ता पक्षलाई प्राथमिकता दिन्छ । जनस्वास्थ्यले व्यक्तिगत चिकित्सक सेवाभन्दा फरक तरिकाले कार्य गरी सामाजिक, आर्थिक, सांस्कृतिक तथा व्यवहारिक पक्षलाई समेत ध्यानमा राखी सामूहिक स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ । यसले “रोकथाम उपचारभन्दा उत्तम हो” भन्ने अवधारणालाई आधार मानी, स–साना व्यक्तिगत प्रयासलाई सामूहिक रणनीतिमा रूपान्तरण गरी दिगो स्वास्थ्य लाभ दिलाउने काम गर्दछ ।

ऐतिहासिक विकास
प्रारम्भमा प्राचीन सभ्यताहरू—मिस्र, भारत र ग्रीसमा सरसफाइ, पानीको व्यवस्थापन र रोग रोकथामका अभ्यासहरू जनस्वास्थ्यका आधारशिला बने । रोमन सभ्यताले ढल निकास प्रणाली, स्नानगृह र खानेपानी आपूर्ति प्रणाली विकास गरी सामुदायिक स्वास्थ्य सुधारमा योगदान गरेको देखिन्छ । मध्ययुगमा महामारीहरू (जस्तै– ब्ल्याक डेथ) ले जनस्वास्थ्यको महत्व झन् प्रष्ट ग¥यो । १८ औँ र १९ औँ शताब्दीमा औद्योगिक क्रान्तिले शहरीकरणसँगै स्वास्थ्य सङ्कट निम्त्यायो र त्यसको समाधानका लागि स्वच्छता आन्दोलन, सरसफाइ कानुन, भ्याक्सिनको प्रयोग र सार्वजनिक स्वास्थ्य संस्थाहरूको स्थापना भयो । २० औँ शताब्दीमा रोग नियन्त्रण, स्वास्थ्य शिक्षा, प्राथमिक स्वास्थ्य सेवाको अवधारणा र विश्व स्वास्थ्य सङ्गठनको स्थापनाजस्ता महत्वपूर्ण कार्यहरू भए । अहिलेको २१ औँ शताब्दीमा जनस्वास्थ्य जैव–प्रविधि, डिजिटल स्वास्थ्य, स्वास्थ्यमा नीतिगत सुधार र विश्वव्यापी सहकार्यसँग जोडिँदै विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधारस्तम्भ बन्दै गएको छ ।

नेपालमा जनस्वास्थ्यको विकास
नेपालमा जनस्वास्थ्यको विकास आधुनिक चिकित्सा सेवासँगै सुरु भएको पाइन्छ । परम्परागत रूपमा स्वास्थ्य सेवामा आयुर्वेदिक र जडीबुटी उपचार प्रचलित भए पनि १९ औँ शताब्दीमा राणा शासनकालमा पहिलो आधुनिक अस्पताल (श्री ३ रणोदिपको शासनमा, १८९० को दशकतिर) स्थापना भई आधुनिक स्वास्थ्य सेवा प्रवेश भयो । १९५० को दशकपछि लोकतान्त्रिक व्यवस्थाको सुरुवातसँगै स्वास्थ्य सेवा विस्तारको पहल भयो र १९५६ मा स्वास्थ्य मन्त्रालय स्थापना गरियो । १९७८ को आल्मा–आटा घोषणापछि प्राथमिक स्वास्थ्य सेवाको अवधारणा नेपालमा अङ्गिकार गरियो र स्वास्थ्य चौकी, उप–स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममार्फत सामुदायिक स्तरसम्म सेवा विस्तार भयो । १९९० पछि जनस्वास्थ्य शिक्षा, अनुसन्धान र नीति विकासलाई जोड दिइयो भने सुरक्षित मातृत्व, दादुरा नियन्त्रण, पोलियो उन्मूलन र हाल विश्वव्यापी स्वास्थ्य कभरेज तथा डिजिटल स्वास्थ्य प्रणालीतर्फ प्रयास जारी छन् । यसरी नेपालमा जनस्वास्थ्य परम्परागत उपचार पद्धतिबाट सुरु भई आधुनिक र सामुदायिक स्वास्थ्य प्रणाली हुँदै आजको समग्र सार्वजनिक स्वास्थ्य नीतिगत संरचनासम्म विकसित भएको छ ।

उपचारात्मक स्वास्थ्य
उपचारात्मक स्वास्थ्य व्यक्तिको रोग वा चोटपटकको निदान र उपचारमा केन्द्रित हुन्छ जसमा चिकित्सक सेवा, औषधि, शल्यक्रिया वा अस्पताल सेवाहरूले प्रमुख भूमिका खेल्दछन् र रोग पहिले नै भइसकेपछि उपचार गरिन्छ । जबकि जनस्वास्थ्य समुदाय वा सम्पूर्ण जनसङ्ख्याको स्वास्थ्य सुधारमा केन्द्रित हुन्छ । यसको उद्देश्य रोगको रोकथाम, स्वास्थ्य प्रवद्र्धन, पोषण, सरसफाइ, सुरक्षित पानी र वातावरणीय स्वास्थ्य सुनिश्चित गर्नु हो । सरल रूपमा भन्दा उपचारात्मक स्वास्थ्यले व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन्छ भने जनस्वास्थ्य सामूहिक स्वास्थ्य सुरक्षा र दीर्घकालीन स्वास्थ्य सुधारमा केन्द्रित हुन्छ ।

नेपालमा जनस्वास्थ्यको अवस्था
नेपालमा जनस्वास्थ्यको अवस्था मिश्रित देखिन्छ जहाँ उल्लेखनीय प्रगति र अझै चुनौती दुबै रहेका छन् । बाल तथा मातृ मृत्युदर घटाउन, सङ्क्रामक रोगहरू (जस्तै पोलियो, दादुरा) नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ र औसत आयु पनि बढ्दो क्रममा छ । प्राथमिक स्वास्थ्य सेवा संरचना गाउँ–गाउँसम्म विस्तार भइसकेको छ । महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले समुदायस्तरमा जनस्वास्थ्य सुधारमा ठूलो योगदान पु¥याएको छ । तथापि, गरिबी, असमानता, भौगोलिक विकटता, स्वास्थ्य पूर्वाधार तथा जनशक्तिको अभाव, नसर्ने रोगहरूको बढ्दो बोझ, तथा स्वास्थ्यमा बजेट कम हुनु जस्ता समस्या अझै विद्यमान छन् । हाल डिजिटल स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम र सार्वभौमिक स्वास्थ्य कभरेजलाई अगाडि बढाउने प्रयास भइरहेको छ जसले आगामी दिनमा नेपालको जनस्वास्थ्यलाई अझ मजबुत बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ तर कार्यान्वयनमा समस्या देखिन्छ ।

जनस्वास्थ्य समस्याहरू र व्यवस्थापन
नेपालका प्रमुख जनस्वास्थ्य समस्याहरू अझै पनि बहुआयामिक छन् । एकातिर सङ्क्रामक रोगहरूजस्तै क्षयरोग, डेङ्गु, हैजा, टाइफाइडजस्ता रोगहरू चुनौती बनेका छन् भने अर्कोतिर उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोगहरूको बढ्दो बोझ छ । मातृ तथा शिशु मृत्युदर घटेपनि ग्रामीण क्षेत्रमा अझै उल्लेखनीय चुनौती रहिरहेको छ । बालबालिकामा कुपोषण, अविकसित वृद्धि र महिलामा रक्तअल्पता व्यापक देखिन्छ । मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याको दर पनि उच्च छ तर उपचार पहुँच न्यून छ । त्यसैगरी खानेपानी, सरसफाइ, वायु प्रदूषण र जलवायु परिवर्तनसम्बन्धी पर्यावरणीय स्वास्थ्य चुनौती गम्भीर बन्दै गएका छन् । यी सबै समस्याहरूमा स्वास्थ्य पूर्वाधारको कमी, दक्ष जनशक्ति अभाव, असमान पहुँच र न्यून बजेटले थप जटिलता ल्याएको छ ।
नेपालमा जनस्वास्थ्यका प्रमुख समस्याहरू तथ्याङ्कले पनि स्पष्ट देखाउँछन् । पछिल्लो नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS २०२२) अनुसार, पाँच वर्षमुनिका करिब २५ प्रतिशत बालबालिका अविकसित वृद्धि (Stunting) को समस्यामा छन् भने १९ प्रतिशत कुपोषित (Underweight) छन् । मातृ मृत्युदर अझै पनि १५१ प्रति एक लाख जीवित जन्म (Ministry of Health and Population, Nepal, २०२१) रहेको छ, जुन प्रगति भए तापनि क्षेत्रीय असमानता विद्यमान छ । सङ्क्रामक रोगतर्फ, हरेक वर्ष क्षयरोगका करिब ६८,००० नयाँ बिरामी देखिन्छन्, भने डेङ्गु हाल बर्सेनि महामारीका रूपमा देखा पर्न थालेको छ । नसर्ने रोगतर्फ, करिब २५ प्रतिशत वयस्कमा उच्च रक्तचाप पाइन्छ र १५ प्रतिशतभन्दा बढीमा मधुमेह देखिन्छ (WHO, २०२३) । मानसिक स्वास्थ्यतर्फ, नेपालमा हरेक वर्ष झन्डै ७,००० भन्दा बढी आत्महत्या हुने गरेको तथ्याङ्क छ जुन सार्वजनिक स्वास्थ्य सङ्कटको रूपमा मानिन्छ । त्यस्तै, शुद्ध खानेपानीमा ९५ प्रतिशत पहुँच भए पनि सुरक्षित फोहर व्यवस्थापन र वायु प्रदूषण अझै गम्भीर चुनौतीका रूपमा छन् । यी तथ्याङ्कहरूले देखाउँछन् कि नेपालमा जनस्वास्थ्य समस्या बहुआयामिक छ र रोकथाममुखी रणनीति तथा पर्याप्त लगानी अपरिहार्य छ ।
नेपालका प्रमुख जनस्वास्थ्य समस्याहरू समाधान गर्न रोकथाममुखी र नीतिगत रणनीतिलाई प्राथमिकतामा राख्नु आवश्यक छ । सङ्क्रामक रोग नियन्त्रणका लागि खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित खानेपानी, सरसफाइ र सरसफाइ अभ्यास (WASH) विस्तार गर्नुपर्छ । भेक्टर–जन्य रोगहरू नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण, जनचेतना र रोगको प्रारम्भिक पहिचान तथा उपचार प्रणाली मजबुत पार्नुपर्ने हुन्छ । नसर्ने रोग (NCDs) नियन्त्रणका लागि जीवनशैली परिमार्जन (सन्तुलित आहार, नियमित व्यायाम, धूम्रपान/मद्यपान नियन्त्रण) तथा प्रवद्र्धन गर्नुपर्छ साथै सामुदायिक स्तरमै रोगको प्रारम्भिक परीक्षण (screening) र दीर्घकालीन उपचार सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक छ । मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि सुरक्षित प्रसूति सेवा, गर्भावस्था र प्रसूति पश्चातको नियमित स्वास्थ्य परीक्षण र महिला स्वास्थ्य स्वयंसेविकामार्फत ग्रामीण क्षेत्रमा सचेतना अभिवृद्धि गर्नुपर्छ ।
यसैगरी पोषण, मानसिक स्वास्थ्य र वातावरणीय स्वास्थ्य क्षेत्रमा पनि बहुआयामिक हस्तक्षेप आवश्यक छ । बालबालिकाको पोषण सुधारका लागि स्तनपान प्रवद्र्धन, विद्यालय पोषण कार्यक्रम र गर्भवती–किशोरीमा सूक्ष्म पोषक तत्व आपूर्ति गर्नुपर्छ । मानसिक स्वास्थ्य समस्यालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै परामर्श सेवा र आत्महत्या रोकथाम कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ । वातावरणीय स्वास्थ्य सुधारका लागि वायु प्रदूषण नियन्त्रण, खानेपानी र फोहर व्यवस्थापन प्रणाली सुदृढीकरण तथा जलवायु परिवर्तन अनुकूलन रणनीति स्वास्थ्य क्षेत्रमा लागू गर्नुपर्छ । यी सबै समस्याको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन, स्वास्थ्य पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन तथा परिचालन, डिजिटल स्वास्थ्य प्रवद्र्धन र सामाजिक–सांस्कृतिक रूपमा समावेशी नीतिहरू आवश्यक छन् जसले दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउन सहयोग पु¥याउनेछ ।

जनस्वास्थ्य किन कम प्राथमिकतामा छ ?
नेपालमा जनस्वास्थ्यलाई जनसमुदाय र सरकारी स्तरबाट कम प्राथमिकतामा राखिनुका प्रमुख कारणहरू संरचनात्मक, आर्थिक र सामाजिक सन्दर्भसँग सम्बन्धित छन् । एकातिर जनसमुदायमा अझै रोग भएपछिको उपचारलाई बढी महत्व दिइन्छ र रोग नलागोस भन्ने रोकथाममुखी अवधारणा (Preventive approach) कम प्राथमिकतामा रहेको देखिन्छ । अर्कोतिर सरकारको स्वास्थ्य बजेट कुल राष्ट्रिय बजेटको ४–५ प्रतिशत वरिपरिमात्र सीमित हुँदा जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक लगानी पुग्दैन । ग्रामीण भेगमा स्वास्थ्य सेवा पहुँच कमजोर छ र प्राथमिक स्वास्थ्य सेवा संरचना मात्र कागजमा बलियो देखिने तर कार्यान्वयनमा कमजोरी रहने समस्या छ । साथै, असमान भौगोलिक स्थिति, जनशक्ति अभाव, राजनीतिक अस्थिरता र स्वास्थ्य नीतिमा निरन्तरता नहुँदा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न सकिएको छैन । यसका अतिरिक्त आम नागरिकमा स्वास्थ्य सचेतनाको कमी, गरीबी र शिक्षा स्तर कमजोर हुनु पनि जनस्वास्थ्यलाई प्राथमिकता नदिने प्रमुख कारणहरू हुन् ।

अन्त्यमा
स्वास्थ्य केवल व्यक्तिगत मुद्दा नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो । रोगको रोकथाम, पोषण, सरसफाइ, सुरक्षित पिउने पानी, मानसिक स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा सचेत रहनु व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक कल्याणसँग प्रत्यक्ष सम्बन्धित छ । सरकारी, सामुदायिक र व्यक्तिगत स्तरमा निरन्तर प्रयास र सहकार्य आवश्यक छ जसले रोग नियन्त्रण, औसत आयु वृद्धि र दिगो स्वास्थ्य प्रणाली निर्माणमा सहयोग पु¥याउँछ । यसर्थ, स्वास्थ्य सचेतना, रोकथाममुखी अभ्यास र सार्वजनिक स्वास्थ्य कार्यक्रममा सक्रिय सहभागिता हरेक नागरिकको कर्तव्य हुनुपर्छ किनकि स्वस्थ समाज नै समृद्ध राष्ट्रको आधारशिला हो ।
(लेखक जनस्वास्थ्यविज्ञ तथा पोखरा विश्वविद्यालयका प्राध्यापक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *