भर्खरै :

सिक्किम विलयको वियोगान्त

सिक्किम विलयको वियोगान्त

स्कटल्यान्डका पत्रकार एन्ड्र् डफ पुस्तक लेख्ने उद्देश्य बोकेर सिक्किम गएका थिएनन् । भारतमा बेलायती उपनिवेशकालमा डफका हजुरबुबाले भारतको उत्तरमा अवस्थित भौगोलिकरूपमा सानो तर अलग अधिराज्य सिक्किमको यात्रा गरेका थिए । हजुरबुबा हिँडेको त्यही बाटो हिँड्ने सानैदेखिको चाहना पूरा गर्न उनी पुगेका थिए– सिक्किमको पेमायाङत्से गुम्बा । त्यहाँ उनको भेट हुन्छ सोनाम योङ्दासँग । सिक्किमका अन्तिम चोग्याल (राजा) थनडप नामग्यालका अङ्गरक्षक सोनाम आफ्नो देश भारतले कब्जा जमाएपछि पेमायाङत्से गुम्बामा भिक्षु बनेर बसेका थिए । पेमायाङत्से गुम्बामा केही दिनको बसाइँको क्रममा डफले पढेका थिए–सोनामले दिएको पुस्तक ‘स्म्यास एन्ड ग्य्राबः एनेक्सेसन अफ सिक्किम’ ।
हजुरबुबाका केही पुराना तस्वीर र सिक्किमसम्बन्धी केही लेखरचना पढेका डफ आफूलाई सिक्किमबारे धेरै कुरा थाहा भएको ठान्थे । तर, सोनामसँगको भेट र उनले दिएको सो पुस्तक पढेपछि डफले कञ्चनजङ्घा हिमालको काखमा बसेको प्राकृतिकरूपमा अत्यन्त सुन्दर त्यो पहाडी देशको गहिराइमा लुकेको ऐतिहासिक वियोग अनुभव गरे । डफले सोनामलाई सन् २००९ को अप्रिलमा भेटेका थिए । सोनामसँगको त्यही भेट ‘सिक्किम ¥याकुएम फर अ हिमालयन किङडम’ पुस्तक लेखनको आरम्भबिन्दु बन्यो ।
भारतमा विलय हुनुअघि अलग देश सिक्किम नेपालको छिमेकी देश थियो । तर, नेपालमा सिक्किमको चर्चा कुनै बेलाको छिमेकी देशको रूपमा भन्दा पनि भारतले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा नकारात्मक उदाहरणको रूपमा चर्चा हुने गरेको छ । ‘सिक्किमलाई निल्ने भारतले नेपाललाई पनि आफ्नो भूभागमा विलय गर्नसक्छ’ भन्ने तर्कको निम्ति सिक्किम सधैँ बलियो उदाहरण हुने गरेको छ । नेपालको राजनीतिक वृत्तमा ‘सिक्किमीकरण’ निकै प्रयोग भइरहने शब्द हो । नेपालका कति मानिसहरू ‘सिक्किमीकरण’ लाई राजनीतिक मिथकको रूपमा मात्र बुझ्नुपर्ने तर्क गर्छन् । अर्थात्, उनीहरू ‘सिक्किमीकरण’ को कुरा ‘भारतलाई औँल्याएर नेपालमा आफ्नो राजनीति बिकाउने’ राजनीतिक शक्तिहरूको प्रचारबाजीमात्र भएकोमा विश्वास गर्छन् । ‘सिक्किमीकरण’ कुनै राजनीतिक लक्ष्य प्राप्तिको निम्ति गरिएको अवस्तुगत प्रचारबाजीमात्र होइन । यो ऐतिहासिक सत्य हो र सिक्किमले भोगेको त्यो वियोग एउटा विशेष परिस्थितिमा नेपालले पनि भोग्नुपर्ने हुनसक्छ भन्ने कुरा बुझ्न डफको यो पुस्तक उपयुक्त सन्दर्भ कृति हो ।
निःसन्देह, सिक्किमको तत्कालीन परिस्थिति र नेपालको आजको (अथवा त्यत्तिबेलाकै पनि) परिस्थितिमा धेरै अन्तर छन् । जतिबेला सिक्किमलाई भारतले आफूमा विलय ग¥यो, त्यत्तिबेला सिक्किमको अलग कुनै सशस्त्र सेना थिएन । केही सयको सङ्ख्यामा रहेका सिक्किम गार्डहरूको भूमिका पनि त्यत्तिबेलासम्म खुम्च्याएर चोग्यालको दरबारका पहरेदारमा सीमित भइसकेको थियो । चोग्यालले धेरै प्रयत्न गरेर पनि सिक्किमलाई अन्तर्राष्ट्रिय दबुमा स्थापित बनाउन सकेनन् । सिक्किमी राजाका आफन्त भुटानका राजा आफ्नो देशलाई संयुक्त राष्ट्र सङ्घमा सदस्य बनाउन सफल भए । तर, सिक्किम यो काममा असफल भयो । फलतः सिक्किमलाई आफ्नो भूभागमा गाभ्न भारतलाई सहज बन्यो । भारतले विशेषतः उत्तरतिरका तीन वटा देशहरू नेपाल, भुटान र सिक्किमबारे एकै थरी योजना बनाएको देखिन्छ । यी तीनै देशको सांस्कृतिक अस्तित्व कायम राखी राजनीतिक अस्तित्व भने समाप्त पार्ने जवाहरलाल नेहरूको सोचले त्यत्तिबेला उचाइ हासिल गरेको थियो । आज पनि नेहरूको यो चिन्तन भारतीय शासक वर्गबाट विभिन्नरूपमा अभिव्यक्ति भइरहने गरेको छ । तथापि, एउटा सत्य के हो भने सिक्किमको तत्कालीन अवस्थाको तुलनामा नेपालको राजनीतिक, कूटनीतिक र सुरक्षा अवस्था भने केही सुदृढ थियो । नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यतामात्र प्राप्त गरेको थिएन, बरु दुवै छिमेकी देश (भारत र चीन) सँग औपचारिक कूटनीतिक सम्बन्ध पनि स्थापित गरिसकेको थियो । उत्तरी छिमेकी चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न नसके पनि भुटान संयुक्त राष्ट्र सङ्घको सदस्य बनिसकेको थियो । भुटानले आफ्नो परराष्ट्र र रक्षा मामिला भारतको हातमा छोडे पनि आफ्नो अलग अस्तित्व भने कायम गर्न सफल छ । तर, सिक्किमको शासक यसमा असफल भयो । आज संसारको भूगोलमा सिक्किम एउटा अलग देशको रूपमा छैन ।
थनडप नामग्याल सन् १९४१ को डिसेम्बरमा सिम्लामा आफ्नो पढाइ सकेर सिक्किम फर्के । उनी राजा तासीका दुई छोरामध्ये कान्छा थिए । गान्तोक पुगेर थनडप तिब्बत वा भुटानका आफ्ना आफन्तहरूसँग भेट्न जाने योजना बुन्दै थिए । त्यही बेला भारतको पिलजोरमा भारतीय हवाई सेनासँग तालिम लिइरहेका थनडपका दाजुको विमान दुर्घटनामा निधन भयो । थनडपको योजना तुहियो । राजा तासीले कान्छो छोरोलाई राजा बनाउन आवश्यक तालिम दिन सिक्किमका लागि बेलायती प्रतिनिधि बासिल गोल्डलाई गुहार मागे । गोल्डकै सल्लाहमा उनलाई देहरादुनस्थित उच्चपदस्थ सरकारी कर्मचारी तालिम केन्द्रमा पठाइयो । सन् १९४२ मा थनडप तालिम सकेर सिक्किम फर्किँदासम्म राजा तासीले राजकाजमा सक्रिय नहुने मनस्थिति बनाइसकेका थिए । उनले एकैबाजी राजाको पद नत्यागे पनि राजकाजको सबै जिम्मेवारी भने क्रमशः थनडपमा हस्तान्तरण हुँदै गयो ।
सन् १९४० को दशक दक्षिण एसियाली अधिकांश देशको निम्ति ज्यादै महत्वपूर्ण र निर्णायक दशक थियो । बेलायतीहरू भारत छोड्ने योजना बनाइरहेका थिए । चीनमा कम्युनिस्ट पार्टीले जापानलाई पराजित गरेपछि कोमिङ ताङसँगको लडाइँ जित्दै थियो । लामो समयसम्म बेलायती हैकम चलेको क्षेत्रमा बेलायती शासनको अन्त्यपछि राजनीतिक शक्ति सन्तुलन कुन दिशामा अघि बढ्ला भन्नेमा सबैतिर अन्योल र अस्पष्टता थियो । सन् १८९० मा बेलायत र चीनबिच एउटा सम्झौता भएको थियो । त्यसलगत्तै सन् १८९३ मा सिक्किम र तिब्बतको विषयमा अर्को सम्झौता भएको थियो । ती सम्झौतामा बेलायतले सिक्किमलाई आफ्नो संरक्षणमा राख्ने र तिब्बतलाई चीनको भूभाग स्वीकार्ने उल्लेख थियो ।
सिक्किमको राजधानी गान्तोकमा चोग्यालको दरबारको माथिल्तिर बेलायती रेसिडेन्सी भवन थियो । पहाडको फेदमा बनाइएको त्यो रेसिडेन्सी भवन एसियाकै सबभन्दा सुन्दर र मनोरम बेलायती रेसिडेन्सी मानिन्थ्यो । अधिकांश बेलायती अधिकारीहरूलाई गान्तोकको त्यो रेसिडेन्सी भवनमा बस्ने लोभले तानिरहेको हुन्थ्यो । सिक्किमसँग उत्तिसारो राजनीतिक वा आर्थिक समस्या वा किचलो नहुने अवस्थामा बेलायती प्रतिनिधिको मूल काम नै त्यो सुन्दर भवनमा आराम गर्नुहुन्थ्यो ।
भारतमा बेलायती शासन छँदा बेलायतीहरूसँग सिक्किमी राजदरबारको खास ठुलो अन्तरविरोध थिएन । अर्को शब्दमा भन्दा बेलायतले सिक्किमको अलग अस्तित्व मानेको थियो, सिक्किमले पनि बेलायतको अघोषित उपनिवेश स्वीकारेको थियो । बेलायती रेसिडेन्सीको अनुमतिबिना राजपरिवारले पनि खास केही गर्दैनथ्यो । बेलायतीहरूले पनि सिक्किमलाई अलग अधिराज्यको रूपमा मानेका थिए । तर, जब बेलायत दक्षिण एसियाबाट बिदा हुने तर्खरमा लाग्यो, सिक्किमी शासकहरू आगामी भविष्यबारे चिन्तिन हुनथाले ।
सन् १९४७ मा भारतबाट बेलायत फर्कियो । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरूको शासन सुरु भयो । नेपाल, भुटान र सिक्किमबारे भारतीय नेताहरूबिच मतान्तर देखियो । नेहरू ती तीनवटै देशलाई चीन र भारतबिचको ‘बफर जोन’ को रूपमा राख्ने पक्षमा थिए । तर, बल्लवभाइ पटेलहरू भारतका अन्य रजौटा शासनलाई जस्तै यी तीन देशलाई भारतमै गाभ्ने पक्षमा गए । खासमा नेहरूले अन्तर्राष्ट्रिय जगतमा ती तीन देशलाई स्वतन्त्र देखाउनमात्र चाहेका थिए, व्यवहारमा तिनीहरूलाई पूर्णतः भारतकै तखतमा राख्ने सिङ्गो भारतीय शासकहरूको योजना थियो । नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरसँग प्रजातान्त्रिक आन्दोलनको आँधी देखाएर जसरी सन् १९५० को सन्धिमा नेहरूले हस्ताक्षर गराएका थिए, त्यस्तै अर्ध औपनिवेशिकता लाद्ने सम्झौता त्यही बेला भुटान र सिक्किमसँग पनि गरेका थिए । तिब्बत मुक्त गर्न ल्हासा पुगेका चिनियाँ जनमुक्ति सेनालाई देखाएर ती तीन देशको सार्वभौमिकता र स्वतन्त्र अस्तित्व नेहरू सरकारले नियन्त्रणमा लिन चाहेको थियो । चिनियाँ जनमुक्ति सेनालाई औँल्याएपछि उत्तरका ती देशमाथिको अतिक्रमणलाई पश्चिमा शक्ति र तत्कालीन महाशक्ति सोभियत सङ्घले पनि अनुमोदन गर्ने अवस्था थियो ।
थनडपका पिता राजा तासी राजकाज त्यागेर धार्मिक गतिविधि र चित्रकलामा बढी केन्द्रित भइसकेका थिए । शासनको सबै जिम्मेवारी थनडपकै नियन्त्रणमा थियो । बेलायत फर्केपछि बेलायती रेसिडेन्सीमा अब भारतले पठाउने गरेको ‘कूटनीतिक’ प्रतिनिधि बस्न थालेका थिए । तर, भारतीय ‘कूटनीतिक’ प्रतिनिधि दुई स्वतन्त्र देशबिच आदानप्रदान हुने कूटनीतिक प्रतिनिधिजस्ता थिएनन् । बरु सिक्किमका हरेक निर्णयमा भारतीय प्रतिनिधिको प्रत्यक्ष संलग्नता हुन्थ्यो । नेपालको तत्कालीन मन्त्रिमण्डलको बैठकमा भारतका ‘राजदूत’ सहभागी हुने र राजाको सल्लाहकारसमेत भारतीय नै हुने अवस्थासँग सिक्किमको तत्कालीन अवस्था मेल खान्छ ।
इन्दिरा गान्धीले प्रधानमन्त्री नबन्दै आफ्ना पिता जवाहरलाल नेहरूसँग सिक्किमको भ्रमण गरेकी थिइन् । त्यत्तिबेलाबाट नै थनडप र इन्दिराबिच राम्रो सम्बन्ध थियो । भारतको प्रधानमन्त्री पदमा इन्दिरा निर्वाचित बनेपछि थनडपको श्वास अझ माथि उठेको थियो । दिल्लीसँग काम गर्न सहज हुने उनले अनुमान गरेका थिए । त्यही बेला नेपाली बाहुल्यता रहेको दक्षिण सिक्किमबाट प्रजातान्त्रिक र राजतन्त्रविरोधी आन्दोलनको थालनी भयो । सिक्किम नेसनल काङ्ग्रेसका नेता काजी लेन्डुप दोर्जे त्यो आन्दोलनका अगुवा थिए । उनकी बेलायती श्रीमती एलिसा मारिया (कजिनी) ले कालिङपोङमा बसेर त्यो आन्दोलनलाई वैचारिक आधार दिने र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने काम गरिरहेकी थिइन् । राजतन्त्रविरोधी उनीहरूको मुद्दालाई भारतको गुप्तचर विभाग ‘रअ’ ले सघाइरहेको थियो ।
इन्दिरा गान्धीको सरकार सुरुदेखि नै थनडपले चिताएजस्तो सिक्किमको लागि सहज बनेन । थनडप सिक्किममाथि भारतीय दबदबाबाट मुक्त हुन सिक्किमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित र स्थापित बनाउन चाहन्थे । यो काममा उनलाई आफ्नी अमेरिकी श्रीमती होप कुकले पनि सहायता गरिन् । विशेषतः अमेरिकी राजनीतिक नेतृत्वमा उनको प्रभाव थियो । कुकका काका आफैँ पनि अमेरिकी कूटनीतिक सेवा क्षेत्रका व्यक्ति थिए । केही पुस्तकमा कुकलाई अमेरिकी गुप्तचर विभाग सीआईएका एजेन्ट भनी लेखिएको छ । तर, यो पुस्तकका लेखक डफले यसको स्वतन्त्र पुष्टि गर्न नसक्ने दाबी गर्छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क र सम्बन्ध विस्तार गर्ने सिक्किमको यो प्रयास भारत सरकारलाई स्वीकार्य थिएन । उनी नेपाल र भुटानजस्तै सिक्किम पनि अन्तर्राष्ट्रिय दबुमा अलग पहिचानसहित उठ्नेमा सजग थियो । अन्तर्राष्ट्रिय मञ्चमा सिक्किम पनि सदस्य भए भारतको पक्षमा कुनै पनि विषयमा एकमत बढ्ने भनी थनडपले इन्दिरा गान्धीलाई चित्त बुझाउन खोजे । तर, उनका यस्ता हरेक प्रयास विफल भए ।
भूराजनीतिक कोणबाट हेर्दा सिक्किमको उत्तरमा अवस्थित तिब्बतको चुम्बी उपत्यका तिब्बतको दक्षिण एसिया जोड्ने सबभन्दा सहज र पुरानो मार्ग थियो । दलाई लामा त्यही बाटो भएर भारत पसेका थिए । त्यो बाटोमाथि नियन्त्रणको निम्ति पनि भारत सरकार सिक्किममाथि आफ्नो बलियो पकडमा राख्ने कुरामा स्पष्ट थियो ।
इन्दिरा गान्धी सरकारले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गर्नु पछाडिको मूल कारण सिक्किमी राजतन्त्रले खोजेको अन्तर्राष्ट्रिय सम्बन्ध हो भन्ने समझदारी डफको पुस्तकमा देखिन्छ । तत्कालीन समयमा नेपाललाई छिमेकी देश चीनसँग कूटनीतिक सम्बन्ध राख्न नदिने र अन्तर्राष्ट्रिय दबुमा नपठाउन भारतीय शासकहरूले गरेको प्रयासको इतिहासले सिक्किममाथि उनीहरूको यस्तो व्यवहार सत्य भएको पुष्टि गर्छ । भारतकै आन्तरिक राजनीतिका तत्कालीन केही घटनाक्रमले पनि गान्धी सरकारले सिक्किमलाई आफ्नो भूभागमा विलय गरेको देखापर्दछ ।
लन्डुप दोर्जेको नेतृत्वमा भएको आन्दोलनको सफलतापछि सम्पन्न चुनावमा उनकै दलले बहुमत प्राप्त ग¥यो । चुनावले स्थापना गरेको संसद् पूर्णतः भारतकै प्रभावमा थियो । दोर्जे, नरबहादुर खतिवडाजस्ता नेताहरू सिक्किमलाई भारतकै भूभाग बनाउनुपर्नेमा गइसकेका थिए । भारतको यो लाइनभन्दा तलमाथि बोल्न र विरोध गर्ने अवस्थामा उनीहरू थिएनन् । राजा थनडपसँग उनीहरूको सम्पर्क पूर्णतः विच्छेद गराइएको थियो । सरकारी कार्यालयमा भारतीय कर्मचारीहरूको बाहुल्य थियो । सिक्किमको उत्तरमा भारतीय सशस्त्र बल तैनाथ गरिएको थियो । दिल्लीले पठाएको अधिकारी नै वास्तवमा सिक्किमको शासक थियो । लेन्डुप दोर्जेहरू बुँख्याचामात्र थिए । संसद्मा सिक्किमलाई भारतको प्रान्त बनाउने विषयमा मतदान हुँदा सबै कागज अङ्ग्रेजी भाषामा तयार गरिएको थियो । संसद् बैठकमा सहभागी कति सांसदहरूलाई आफूले हस्ताक्षर गरेको कागजमा के लेखिएको छ, केही पनि थाहा थिएन । तर, उनीहरूकै हस्ताक्षरले सिक्किमको अलग अस्तित्व गुमिसकेको थियो । अन्ततः सन् १९७५ को मे महिनामा एउटा गोली पनि नचलाई भारतले सिक्किममाथि कब्जा ग¥यो ।
थनडपसँग भारतीय कब्जाको प्रतिरोधमा लड्न आफ्नो सेना थिएन । केही सुरक्षा अधिकारीहरूले लड्ने प्रस्ताव गर्दा आफू बौद्धमार्गी भएकोले हिंसाको पक्ष नभएको भनी प्रतिरोधको बाटो बन्द गरेका थिए । उनका भरपर्दा सुरक्षा अधिकारी सोनामलाई पनि भारतले जेलमा थुनेको थियो । कुनै बेला सधैँ रात्रिभोजको आवाज कहिल्यै बन्द नहुने गान्तोकको राजदरबार त्यो क्षण चिसो वियोगान्त भोगिरहेको थियो । त्यो समय थनडपसँग न उनकी श्रीमती होप कुक थिइन् न उनका छोराछोरी र दिदीबहिनी नै । उनका जेठो छोरा र उनी अनिश्चितताबिच गान्तोकको घटनाबारे संसारलाई जानकारी दिने बाटो खोजिरहेका थिए ।
सिक्किम भारतको पोल्टामा बुझाउने लेन्डुप दोर्जेलाई कुनै बेला दिल्ली दरबारमा रातो कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो । जसै सिक्किम भारतको प्रान्त बन्यो, तिनै इन्दिरा गान्धीसँग छोटो र चिसो भेटघाटको लागि घण्टौँ कुर्नुपर्ने अवस्था बन्यो । नरबहादुर खतिवडा गान्तोकमा वकिल बनेर आज पनि सायद बाँचिरहेका छन् । लेन्डुपको निधन हुँदा मलामी जाने मानिस भेटिएन ।
डफको पुस्तक मुख्यतः सिक्किमका अन्तिम चोग्याल थनडपको जीवन वरिपरि रहेर लेखिएको छ । सिक्किमको तत्कालीन अवस्थाको साक्षी रहेका स्कटल्यान्डका दुई जना शिक्षिकाहरूले त्यहाँको अवस्थाबारे आफ्नो ‘घर’ मा लेखेका पत्रलाई आधार बनाएर उनले त्यहाँको अवस्थाबारे आधिकारिक व्याख्या गरेका छन् । पुस्तकमा गान्तोक दरबारका सदस्यहरूका कतिपय निजात्मक विषयको चर्चाले पठन रोचक बनाएको छ । ३८० पृष्ठको यो पुस्तक सिक्किमको भारतमा विलय र त्यसको पृष्ठभूमिबारे बुझ्न पठनीय धेरै पुस्तकमध्ये एउटा उल्लेखनीय पुस्तक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *